+
+

मेसुके र स्टेफेनको गोलमा एनआरटी पाँचौ स्थानमा, फ्रेण्ड्स अझै जितविहीन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १९:१२

१६ पुस, काठमाडौं।शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा एनआरटीले फ्रेण्ड्सलाई ३-२ ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीका लागि विदेशी खेलाडी मेसुके ओलोमोउले दुई तथा स्टेफेन समिरले एक गोल गरे।

फ्रेण्ड्सका लागि पनि विदेशी खेलाडी जमाउल एन्थोनी फ्रानकोईस र नाथनियल जुड गार्सियाले गोल गरे । खेलमा भएको सबै पााँच गोल विदेशी खेलाडीले गरे ।

खेलको पाँचौ मिनेटमै स्टेफेन समिरले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । उनले नविन गुरुङले मिलाएको पासमा गोल गरेका थिए ।गोल गरेपछि एनआरटीले फ्रेण्ड्समाथि दबाब जारी राख्यो ।

२०औं मिनेट मेसुके ओलोमोउले एकल प्रयासमन गोल गर्दै एनआरटीको अग्रता दोब्बर पारे । नविन गुरुङले आफ्नै क्षेत्रबाट सप्लाई गरेको बललाई मेसुकेले मध्यभाग नजिकैबाट कन्ट्रोल गर्दै अघि बढाएर उत्कृष्ट गोल गरेका थिए ।

त्यसपछि पनि एनआरटीले लगातार दबाब बनायो । २५ औं मिनेटमा फ्रेण्ड्स गोल नजिक पुगेपनि गोल पोष्ट बाधक बन्यो । फ्रेण्ड्सका नाथनियल जुड गार्सियाले करिब २५ यार्ड टाढा गरेको फ्रिकिक प्रहार टप बारमा लागेर बाहिरियो ।

यस्तै ४१ औं मिनेटमा एनआरटीका स्टेफेनको प्रहार पनि बारमा लागेर फर्कँदा गोल अन्तर बढाउने अवसर गुमेको थियो ।दोस्रो हाफमा तीन गोल भयो ।

अन्तिम १५ मिनेट फ्रेण्ड्सले एनआरटीमाथि दबाब बनाउँदै गोल फर्काएको हो । ८० औं मिनेटमा फ्रेण्ड्सका जमाउल एन्टोनी फ्रानकोईसले सकल रेग्मीको क्रसमा हेड मार्फत गोल गर्दै गोल अन्तर घटाए । तर ईन्जुरी टाईममा मेसुकेले काउन्टर अट्याकमा गोल गर्दै एनआरटीलाई ३-१ को अग्रता दिलाए ।

ईन्जुरी टाईमको अन्तिम मिनेटमा फ्रेण्ड्सका लागि नाथनियल जुड गार्सियाले गोल फर्काएपनि हार टार्न सकेन ।जारी लिगमा एनआरटीको यो दोस्रो जित हो । ७ खेलपछि २ जित ४ बराबरी र १ हारको नतिजाबाट १० अंक जोडेको एनआरटी पाँचौ स्थानमा उक्लेको छ ।

पहिलो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबसँग पराजित भएको एनआरटी लगातार ६ खेलमा अपराजित छ । जितपछि एनआरटीका प्रशिक्षक राजु काजी शाक्यले ३ अंकका लागि खेलेको र त्यसमा सफल भएकोमा खुशी व्यक्त गरे ।

उता फ्रेण्ड्सको भने यो चौथो हार हो र टोली ७ खेलसम्म जितविहिन छ । ७ खेलबाट जम्मा ३ अंक मात्र जोडेको फ्रेण्ड्स अैकतालिकामा पुछारमा छ र रेलिगेसन जोन छाड्न संघर्ष गरिरहेको छ ।

फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिशले चाँडै गोल खाँदा हार्नु परेको बताए । उनले ईक खेल पनि नजित्दा टिममा दबाब परेको बताउँदै रेलिगेसनबाट जोगिने एक मात्र लक्ष्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?