+
+
युद्ध संस्मरण :

राइफल भिरेर सेन्ट्री बस्दा…

केएल पीडित केएल पीडित
२०७८ पुष १७ गते १०:३५

‘कमरेड ! ओ कमरेड !!’ मध्यरातको समयमा मलाई एक अपरिचित युवकले जोडले झक्झकायो ‘उठ्नुस् त ।’

म घोर निद्रामा थिएँ । त्यो झकझकाहटले झसँग भएँ । एकाएक मेरो निद्रा खलबलियो । तर बोल्ने जाँगर थिएन । ‘उँः’ गरेर खुट्टा तनक्क तन्काएँ र निद्रामै फर्किएँ ।

‘ओ कमरेड ! उठ्नुस् त ।’ अलि ठूलो आवाजमा फेरि त्यो युवकले झक्झकायो । यसपटक उसको आवाज र झक्झक्याई अझ कडा थियो ।

मलाई नमज्जा लाग्यो । नमज्जा मात्र हैन हल्का झोंक नै चल्यो । हैन को मान्छे हो यो मध्यरातमा कराउने ? मीठो निद्रामा डुबेको बेला अर्कालाई बिनासित्ती तनाव दिने ? रिसले मेरो कन्सिरी तातेर आयो । उठेर गाला फुट्नेगरी बजाइदिउँ जस्तो पनि लाग्यो । तर दाँत किटेर थामिएँ ।

‘किन होला ?’ आँखा नउघारी शान्तसँग बोले म । भित्रभित्रै भने खुब मुर्मुरिएको थिएँ ।

‘तपाईं केएल पीडित हो ?’ उसले मेरो मुखतिर टर्च बाल्यो, झललल । ‘हो, म केएल पीडित हुँ ।’ हाइ काढ्दै केही झर्केर बोलें म ।

उसको हर्कतले म चिढिंदै गएको कुरा युवकलाई बोध गराउनु थियो मलाई । ताकि अब उप्रान्त उसले मेरो निद्रा बिथोल्ने धृष्टता नगरोस् ।

‘तपाईंको सेन्ट्री बस्ने पालो छ कमरेड । उठ्नुस् है । टाइम भइसक्यो ।’ युवक झन् तात्न पो थाल्यो ।

सेन्ट्री बस्ने रे !? एकछिन ट्वाँ परेर उसलाई हेरे ।

१७/१८ वर्षको खाइलाग्दो युवक अघिल्तिर दृढ उभिएको थियो र एकनासले मलाई घुर्दै थियो ।

‘म त पत्रकार हुँ । घोराहीबाट आएको हुँ । म तपाईंहरुको इन्चार्ज कमरेड हिरामणि दुःखीको साथी हुँ । उहाँले मलाई यहाँ रिपोर्टिङको लागि ल्याउनु भएको हो ।’ मैले एकै सासमा सम्पूर्ण बेलिविस्तार लगाएँ ।

कुन्नि किन हो एकदम हलुका महसुस भयो यसपटक मलाई । एउटा पत्रकार छापामार बनेर सेन्ट्री बस्ने कुरा त भएन नि । पत्रकारले त केवल रिपोर्टिङ गर्ने हो । खासमा कुरा यस्तो हो नि त ! अब बल्ल युवक ठाउँमा आउने भो । अब भने सेन्ट्रीको गलपासोबाट छुट्कारा पाउने कुरामा म शतप्रतिशत ढुक्क थिएँ । म उसैघरि निश्चिन्त भएर घुर्न लागे- घुँर्र, घँर्र ।

‘मैले त तपाईंलाई चिन्दिन कमरेड । पत्रकार हो कि अरु केही ? बेलुका सेन्ट्रीको लिस्ट बनाउँदा कमाण्डर कमरेडले तपाईंको नाम टिपाई दिनुभएको हो । अब तपाईंले सेन्ट्री गर्नै पर्छ ।’

यसपटक युवक उर्दीको शैलीमा बोल्यो- ‘उठिहाल्नुस् कमरेड । हामी श्वैत इलाकामा छौं । जुनसुकै बेला पनि हामीलाई दुश्मनले घेर्न सक्छ । हाम्रो सानो लापरबाहीले पार्टी र क्रान्तिलाई ठूलो क्षति पुग्न सक्छ । हामी अत्यन्त संवेदनशील अवस्थामा छौं । यो बेला अलमलिने र बहस गर्ने समय होइन कमरेड । तपाईं सेन्ट्रीको लागि छिटो तयार हुनुहोस् । तपाईंको टाइम शुरु भइसक्यो ।’

युवक पूरापूर टकटकियो ।

उफ् ! गर्दागर्दै स्थिति त एकाएक भयंकर तनावपूर्ण पो बन्न थाल्यो त ! अब के गर्ने ? कसो गर्ने ? भयंकर अलमलमा परें म । यसो छड्के नजरले युवकलाई हेरें । युवक अधैर्य भावमा मलाई घुरिरहेको थियो । प्रष्ट थियो अब ऊ मेरो ल्याङल्याङ एक मिनेट सहने मुडमा थिएन ।

छापामारहरुको संस्मरणमा पढे बाहेक मलाई सेन्ट्रीबारे ‘क’ पनि थाहा थिएन । कसरी बस्ने सेन्ट्री ? पत्रकार हुँ भन्दा पनि युवक सुन्दैन । एकोहोरो आफ्नै नियमको रटान मात्र गर्छ । आज ठूलो विपतको भूमरीमा परें म । थकान र निद्राले पनि एक हाल गरेको छ । यस्तोमा अझ सेन्ट्री ! वाफ रे ! आज साँच्चिकै बाह्र बज्ने भो मेरो । उफ् !!!

निरुपाय भएपछि आँखा मिच्दै उठें म । अरु कुनै गुञ्जाइस् थिएन अब । ‘म त कहिल्यै सेन्ट्री बसेको छैन । सेन्ट्री बस्दा के के गर्नुपर्छ । केही थाहा छैन,’ मैले अत्यन्त निरीहभावमा सुस्केरा काढ्दै आफ्नो अवस्था जाहेर गरें ।

मेरो निरीहताप्रति युवकले केही न केही सहानुभूति देखाउँछ भन्ने झिनो आशा मेरो मनमा थियो । अहँ ! यसपटक पनि उसमा कुनै बदलाव देखिएन । बरु उल्टो झन्झन् अडिग र कठोर पो देखिँदै थियो ऊ । मान्छे लालसेना जो पर्‍यो । क्रान्तिको लागि सबथोक न्योछावर गरेको मान्छे । ऊ कहाँ चुक्थ्यो र ? ऊ कहाँ झुक्थ्यो र ? उसको यो क्रान्तिकारितालाई भने मैले उच्च सम्मान गर्नैपर्छ । यो बेला ऊसँग अनावश्यक रुपमा बाझ्नु किमार्थ सही हुने छैन । किमार्थ क्षम्य हुने छैन ।

अब यो महाविपत्तिको सामना नगरी मैले धर पाउने अवस्था रहेन । अतः ढुंगाझैं गह्रुँगो मन लिएर धौ धौ उठे म, खुइय्य गर्दै ।

‘यता आउनुस् कमरेड ।’ युवकले जमिनतिर घोप्टो पारेर टर्च बाल्यो र कोठाबाट बाहिर निस्कियो । मैले ज्ञानी बालकझैं उसलाई पछ्याएँ लुखुरलुखुर । अर्को कोठाको भर्‍याङ छेउ पुगेपछि युवक रोकियो ।

‘तपाईं २ घण्टा सेन्ट्री बस्नु पर्नेछ । त्यसपछि अर्को कमरेडलाई उठाउनुहोला ।’ टर्चको उज्यालोमा एउटा सानो चिर्कटो हेर्दै उसले भन्यो- ‘तपाईं पछि पालो आउने कमरेडलाई चिन्नुहुन्छ ?’

‘अहँ चिन्दिन ।’ म टकटकिए ।

‘ल आउनुस् म चिनाइदिन्छु ।’ युवकले पुनः पहिलेकै कोठामा पुर्‍यायो मलाई । त्यो कोठामा करीब १५/२० जना युवक खाँदिएका थिए । ती सब जनयुद्धका लालसेना थिए ।

यसअघि म पनि यही कोठामा गुइँठिएको थिए । उनीहरूलाई यसअघि मैलै कहिल्यै देखेको र भेटेको थिइनँ । उनीहरुसँग म बिल्कुल अपरिचित थिएँ ।

‘ऊ उहाँ हुनुहुन्छ ।’ युवकले कोठाको पूर्व-दक्षिण कुनामा गुइँठिएको एक युवकतिर टर्च बालेर संकेत गर्‍यो- ‘तपाईंको पालो सकियो भने उहाँलाई उठाउनुहोला ।’

‘हुन्छ ।’ स्वीकारोक्तिमा मैले सुस्तरी टाउको हल्लाएँ । अब म सम्पूर्ण हिसाबले युवकको लाइनमा आइसकेको थिएँ ।

युवक र म त्यहाँबाट निस्केर पुनः भर्‍याङ भएको कोठामा आयौं ।

‘अबको २ घण्टाको लागि हाम्रो जीवन तपाईंको हातमा छ कमरेड । कुनै किसिमको लापरबाही नगर्नुहोला ।’ युवक एकाएक केही भावुक र गम्भीर देखियो ।

‘हुन्छ ।’ मैले सुस्तरी लामो सास फेरे- स्वाँ ।

युवकले आफूसँग भएको राइफल, ग्रिनेड, खुकुरी, टर्च, घडी र सेन्ट्री बस्नेहरूको सूचीसहितको एउटा चिर्कटो मलाई थमाइदियो ।

अहिलेसम्म गुलेली बाहेक मैले कुनै हतियार चलाएको थिइनँ । अब यो राइफल र ग्रिनेट कसरी भिर्ने ? कसरी चलाउने ?

अब सेन्ट्री शुरु हुनेवाला थियो । तर म भने झन्झन् हतास र विचलित हुँदै थिएँ । चल्ती गाडीको इञ्जिनझैं शरीर भित्रभित्रै उधुमले थर्थराइरहेको थियो । दिमागमा दशथरीका कुरा एकैचोटि आइरहेका थिए ।

अब जे भए पनि अबको २ घण्टा यी सब चुपचाप झेल्नुको कुनै विकल्प थिएन मसँग । जे होला देखाजाला भनेर होमिनु नै मेरो परिस्थिति थियो । म साँच्चिकै सबै हिसाबले एकदम विवश र लाचार थिएँ ।

‘कमरेड ! मैले यी हतियार अहिलेसम्म कहिल्यै देखेको र छोएको थिइनँ । मलाई केही मेसो लगाइदिनुस् है,’ भित्र जे गुज्रेको भएपनि बाहिर भने सेन्ट्रीको लागि आफू तयार र केही हदसम्म उत्साहित र रोमाञ्चित भएको छनक देखाउँदै बोलें म, ‘लालसेनाहरूको संस्मरणमा त यी हतियारबारे केही पढेको त थिएँ, तर पहिलोपटक आज देखें ।

तपाईंहरुको क्रान्तिलाई धेरै बुझेको छु मैले । पत्रकार जो परे नि कमरेड !’

मैले फेरि एकपटक उसलाई आफू पत्रकार भएको सम्झाउने धृष्टता गरे । त्यो फगत एउटा धृष्टता मात्र थियो । जिन्दगीको कुनै मोडमा आत्मसन्तुष्टिको लागि धृष्टता पनि आवश्यक हुँदोरहेछ । आज यो कुरा बहुत गज्जबले महसुस भो मलाई । मेरो पेशाप्रति त्यो युवकमा पाँच पैसाको रुचि थिएन भन्ने कुरा मलाई राम्रैगरी बोध भइसकेको थियो । र, पनि मैले फगत एउट धृष्टता गरें, आत्मतृष्टिको लागि । युवकलाई त यतिबेला केवल पार्टी र क्रान्तिको रक्षासँग मात्र मतलब थियो । लालसेना जो पर्‍यो ।

वास्तवमा म पनि उसको बारेमा शतप्रतिशत स्पष्ट थिएँ । उसको संकल्प, उसको यात्रा र उसको सपनाबारे ममा कुनै द्विविधा र भ्रम थिएन । निमुखाजनहरुलाई न्याय दिलाउन र यो ‘जनमारा’ व्यवस्था उखेल्न ऊ जनक्रान्तिमा होमिएको एक सुरवीर क्रान्ति-योद्धा थियो ।

यसपटक पनि उसले मप्रति कुनै अतिरिक्त रुचि देखाएन । मप्रति उसको रवैयामा एक रौं जति पनि बदलाव आएन । उसले मेरो आग्रह भने अत्यन्त सहजताका साथ स्वीकार गर्‍यो । यतिबेला यही नै मेरो लागि ठूलो कुरा थियो । मेरो मन पनि क्रमशः शान्त हुँदै थियो ।

युवकले बडो स्नेहीभावका साथ मेरो काँधमा राफल झुण्ड्याइदियो । कम्मरमा ग्रिनेडको ब्याग बाँधिदियो र कम्मरको देब्रेतिर बडेमानको खुकुरी लट्काइदियो । हातमा टर्च र घडी । हुलियामा म अब बिल्कुल लालसेना जस्तो देखिएँ । एक ख्याउटे र डरपोक पत्रकारको छवि मबाट क्रमशः गायब हुन खोज्दै थियो । मभित्र क्रमशः सौर्यभाव जागृत हुँदै थियो ।

हतियार भिराइदिएपछि युवकले मलाई सेन्ट्रीको नियम र अपनाउनुपर्ने सावधानीबारे बताउन आँगनमा ल्यायो र उत्तरतिर रहेको सानो थुम्काछेउ ओत लागेर उभिन निर्देशन दियो ।

‘यहींबाट चारैदिशा नजर राख्नुहोला । दुश्मन जहाँबाट पनि आउन सक्छ । प्रत्येक १५/२० मिनेटमा यो एरिया एकपटक पूरै घुम्नु होला । कतैबाट दुश्मन आएको संकेत मिल्यो भने तु खबर गर्नुहोला ।’ अन्तिम निर्देशन दिएर युवक सुत्न गयो ।

जुनेली रात थियो । आकाशभरि चहचह जून लागेको थियो । जूनको उज्यालोले पर परसम्मका घरगोठ, बुट्याँन र रुखहरु प्रष्ट देख्न सकिन्थ्यो । मैले एकदम चंख भएर एक झपट चारैदिशा नजर डुलाएँ । सब करिब-करिब ठीकठाक लाग्यो । सब चिज शान्त र अटल थिए, म बाहेक । म त एकदम अशान्त र अस्थिर थिएँ । म भित्र अनेक विचार, भावना र तर्कनाहरुको जब्बर ज्वारभाटा सल्बलाइरहेका थियो । भित्र म उधुमले हल्लिँदै थिएँ ।

‘स्वाँ’ मैले सुस्तरी लामो सास फेरे । डगमगाउँदै गरेको शरीरलाई थाम्ने अनेक प्रयत्न गरें । एकछिन सास रोकें, आँखा चिम्ले । आफू एक सुरवीर क्रान्तियोद्धा भएको कल्पना गरें । कवि कृष्णसेन इच्छुक, पूर्ण विराम, ईश्वरचन्द्र ज्ञवालीका अनेक युद्ध-कविताहरु स्मरण गरे । मन-मस्तिष्कलाई शान्त बनाउन खुब प्रयास गरे । तर सब बेकाम भएँ । मेरो मनोदशामा बीसको उन्नाइस जति पनि सुधार भएन ।

युवकले दिएको घडी गोजीमा थियो, निकाले र हेरें । रातको सवा बाह्र बजेको थियो । मैले २ बजेसम्म सेन्ट्री गर्नुपर्ने थियो । अझै पौने २ घण्टा थियो । यत्रो समय कसरी गुजार्ने होला ? उफ् !!

जुनको उज्यालोमा मैले एकपटक आफूलाई नियालें । ओहोहो मेरो हुलिया ? ! लिखुरे र काँतर ज्यानको काँधमा बडेमानको राइफल ! कम्मरमा गि्रनेट र खुकुरी ! हातमा टर्च ! ओहोहो !!??

सुनसान मध्यरातमा थुम्को मुन्तिर ठिंग उभिएको छु । उभिएको भएपनि अनेक शंका र भयले विचेत छु । घरि यता हेर्छु, घरि उता हेर्छु । फनफनी घुमेको घुम्यै छु । जहाँबाट पनि जुनसुकै बेला पनि ‘दुश्मन’ आउन सक्छ । बस्, यही कुराले दिमाग घोचेको घोच्यै छ । यस्तो जगजगीमा एक ख्याउटे र काँतर पत्रकारले बाँच्न र बचाउन कसरी सक्ला ?! मेरो हंसले ठाउँ छोडिसकेको थियो ।

एकातिर दुश्मन आएर कतिखेर छातीमा ड्याम्म गोली हान्ने हो र मलाई केराको थामझैं लडाउने हो भन्ने भयले मुटु काँपिरहेको थियोे भने अर्कोतिर भिरेका हतियारले तर्साइरहेका थिए । कुनबेला यी हतियार पड्केर चोक्टा चोक्टा हुन्छु भन्ने डरले विचेत थिएँ । स्थिति यति भयावह थियो कि मैले भोलिको बिहान देख्ने कुनै छाँटकाँट थिएन ।

‘दुश्मन’ आउला नआउला तर यो सुकुटे जीउमा झुण्डिएका बम र बन्दूक जुनसुकै बेला पड्किन सक्छन् । मलाई मनको बाघले आधा निलिसकेको थियो ।

अहो ! मृत्युको यो कस्तो भय हो ?

मेरो मनमा अनेकथरी विचार, भावना र प्रश्नहरु उर्लिरहेका थिए । म चैते हुरीमा परेको पिपलको पातझैं शंका र भयले एकमिसै फर्फराइरहेको थिएँ ।

केही पर खल्याङबल्याङ सुनियो । आवाज एकदम मधुरो र अस्पष्ट थियो । त्यो आवाजसँगै रातको सन्नाटा केही हदसम्म खलबलियो । ओहो ! कतै ‘दुश्मन’ पो आयो कि ? मेरो मनमा एकाएक चिसो पस्यो । शरीरमा कम्पन तीव्र भयो । मुटुको धड्कन हृवात्तै चौगुणा बढ्यो ।

अब के गर्ने होला ? म एकदम चंख र सतर्क भएँ । खुर्र दगुरेर घरभित्र जाउँ कि जस्तो लाग्यो । भाँडमा जाओस् सेन्ट्री भन्ने पनि सोचें । तर क्रान्तिकारीहरुको जीवनसँग यो तहको गैरजिम्मेवारी र खेलाँची किमार्थ उचित हुँदैनथ्यो । यो तहसम्म गिर्न मलाई मेरो नैतिकताले पनि किमार्थ दिँदैनथ्यो । न्यायपूर्ण समाज निर्माणका लागि लडिरहेका लालसिपाहीहरुको जीवन जोखिममा पारेर म मोर्चाबाट कुनै हालतमा भाग्न मिल्दैनथ्यो । म मरेर भएपनि क्रान्ति-योद्धाहरुलाई बचाउनैपथ्र्यो । यो समय कायर बनेर ‘दुश्मन’ को अघि पीठ फर्काउने एक रौं पनि छूट थिएन मलाई ।

म एकाएक सम्हालिएँ, अनि एकदम दृढ र जोसिलो भावका साथ खुकुरी निकालें । थोरैबेरका लागि भएपनि म एक सूरवीर योद्धाझैं भएँ र स्थिति नियाल्न केही पर निस्किएँ । एकदम चंख भएर छिटोछिटो त्यो परिवेशलाई एक चक्कर लगाएँ ।

लगभग १ बजेतिर एकाएक कुकुरहरू जोडजोडले भुक्न थाले । लौ यसपालि त पक्कै गाउँमा ‘दुश्मन’ घुस्यो । अब बिना बाजै सिलटिम्मुर खाने भएँ मैले । मनमा त्रासको आँधीबेहरी चल्यो, हुइयँ, हुइयँ । म उत्तिखेरै जमिनमा घोप्टो परें । त्यो बेला ज्यान जोगाउने अचूक उपाय त्यही थियो । सास थामेर केही बेरसम्म म घोप्टो परिरहें । ‘दुश्मन’सँगै जीउका हतियार पड्केलान् भन्ने डर पनि उस्तै थियो । तर चुपचाप सब व्यहोर्नु थियो मलाई ।

कुकुरहरु लगातार भुकिरहे, घ्वाङ ! घ्वाङ !!

एकमुठी सास बिनासित्ति जाने भयो आज । हे भगवान ! मेरो रख्खे गर । मान्छे त नास्तिक हुँ, तर हरहिसाबले लाचार भएपछि त्यहाँ मैले ‘भगवान’ गुहारे पटक-पटक । मलाई प्रष्ट थाहा थियो कि त्यो बेला ‘भगवान’ भन्दा मेरो सौर्य र चातुर्यताले नै मलाई बचाउन सक्थ्यो । तर आफूलाई सम्हाल्न समेत नसकिरहेको म त्यहाँ एकाएक सूरवीर बन्ने रत्तिभर गुञ्जायस थिएन ।

उफ् !’ कस्तो महाचक्रमा परे म ? एउटा पत्रकार र लेखकको रुपमा जनयुद्धमा जनताको उभार र क्रान्तिवीरहरुको संकल्प र सपनाहरु नजिकबाट नियाल्न आएको मान्छे म आज कहाँ फसे ? ! यो महाविपत्तिबाट आज मलाई कसले पार लाउला ? हे ‘भगवान’ !

ठीक यहीबेला मैले लेखक, कवि एवं राजनीतिज्ञ हीरामणि दुःखीलाई सम्झिएँ । उनलाई सम्झेर मलाई खुब झोंक चल्यो । खासमा मलाई यो महाविपत्तिको भुंग्रोमा जाक्ने कमरेड हीरामणि दुःखी हुन् । एउटा पत्रकारलाई बम र राइफल भिराएर मध्यरातमा त्यो पनि ‘दुश्मन’ को एरियामा सेन्ट्री बस्न पठाउने ? उनी भने कतै तातो ओच्छयानमा मस्तले घुर्दै होलान् । उनी कहाँ उम्किए थाहा छैन । म भने यो विरानो ठाउँमा ‘दुश्मन’को गोली खाएर बिनाबाजै मर्ने भए । कथंकदाचित् बाँचेछु भने हीरामणिसँग मज्जाले बदला लिनेछु ।

त्यसको केही दिनअघि भूमिगत रुपमा घोराहीको एक छिमेकी कहाँ पुगेका कमरेड हीरामणिले मलाई घोराहीबाट दाङको पश्चिमी पहाडी गाउँ हुँदै सल्यानका केही वस्तीहरुमा घुमाएर बाघ मारेको बोलाहा खोलाको तीरैतीर धनौरीको देवीपुरसम्म ल्याएका हुन् । नेकपा (माओवादी) दाङको एरिया नम्बर ७ को इन्चार्ज थिए उनी । यो ७ नम्बर एरियामा पश्चिम दाङका गाउँवस्ती सहित सल्यान जिल्लाको तत्कालीन लक्ष्मीपुर-९ को ओखेला लगायतका केही पहाडी वस्तीहरु पनि पर्दथे । हामी देवीपुर र्झनुअघि बाघखोर डाँडा, काभ्रा, अखेला, टोड्के, रामनगर लगायतका थुप्रै गाउँवस्तीहरु घुमेका थियौं । त्यहाँको ग्रामीण जीवन परिवेशका अनेक घामछाँया, दुःखसुख, गरिबी, अभाव, भेदभाव, उत्पीडन र उनीहरुको संघर्ष एवं मुक्तिको आकांक्षालाई नजिकबाट उधिन्ने एक अवसर पाएको थिएँ मैले ।

सोही दिन साँझ मात्र हामी एक विशेष सैन्य दस्ता (स्क्वायड)सँग यहाँ आएका थियौं । आफ्नो एरियामा पहिलोपटक एक विशाल खुला जनसभाको व्यापक तयारीमा थिए कमरेड हीरामणि । हामी यहाँ आइपुदा अँध्यारो छिप्पिँदै थियो । हामी आएको घरमा एरिया पार्टीका नेता, कार्यकर्ता, लालसेना र जनमिलिसियाहरुको ठूलो घुइँचो थियो । विशेष भेटघाट र छलफलमा व्यस्त भएका हीरामणि अबेरसम्म पनि देखा परेनन् । म त्यहाँ एक्लो र निरीह । बिरानो ठाउँ, बिराना मान्छेहरु । न कसैले मलाई चिन्थ्यो न मैले कसैलाई । दुःखसुख बुझ्ने कोही थिएन । यतिका दिनसम्म हरक्षण मलाई सँगै डोर्‍याएका कमरेड हीरामणि अहिले भने कता गायब कता । मलाई बिरानो ठाउँमा एक्लो र अलपत्र पारेर साँच्चै उनी कहाँ गए हँ ?

केही ढिलो भएपनि मेसमा घुसेर पेटपूजा गरें । पेटको मूसा अब शान्त भयो । सुत्नेबेला भने मलाई ठूलै सकस पर्‍यो । केही दिनको लगातारको हिंडाइले म लखतरान थिएँ । निऽाले आँखा टालिन थालिहाल्यो । तर अझै सुत्ने ठाउँको कुनै ठेगान थिएन । खाना खाइवरी सब लाखापाखा लागिसकेका थिए । घरका सबै कोठामा मान्छे टनाटन थिए । म पो अलपत्रमा परें । कुनै सुइँको नदिएर एकाएक गायब भएका कमरेड हीरामणिलाई एकछिन मनमनै खुबसँग गाली गरें ।

अन्त्यमा, हार भएर त्यो घरको दक्षिण कोठामा गएर कोच्चिएँ, जहाँ १५/२० जना युवाहरु खाँदिएर सुतेका थिए ।

ओहो ! कतिखेर कुकुरहरु थामिएछन्, थाहै भएन । कमरेड हीरामणिलाई सम्झेर म त कता कता हराएछु ।

उठेर एकपटक फेरि चारैतिर नियालें । बिरालोका चालमा अलि परसम्म पुगें । सब ठीकठाक थियो ।

आकाशमा जुन उस्तैगरी चम्किरहेको थियो र ताराहरु पनि उस्तैगरी चम्किरहेका थिए । त्यतिबेला सिंगो परिवेश बिल्कुल शान्त र अटल थियो । आँखामा घरहरु, गोठहरु, बुट्याँनहरु र रुखहरु सबका सब शान्त थिए । सबका सब अटल थिए । म भने अझै पनि उस्तै अशान्त र विचलित थिएँ । आफैंले भिरेका ज्यानमारा बम र बन्दुकले मलाई शान्त हुन पटक्कै दिइरहेका थिएनन् । यिनीबाट कतिखेर छुट्कारा पाइने हो ?

अन्ततः रातको २ पनि बज्यो ।

अब बाँचें म । अहो ! बडो मुस्किलले यो महाविपत्तिबाट त्राण पाएँ मैले । छिटछिटो भित्र पुगेर अर्को कमरेडलाई हतियार र पालो बुझाएँ । मन र शरीरमा बेग्लै किसिमको स्फूर्ति महसुस गरें मैले । वाह ! क्या गज्जब । भोलिको सुन्दर बिहान नियाल्ने पाउने भएँ मैले । उत्तिखेरै मेरो ज्यानमा प्राण भरिएर आयो ।

भोलिपल्ट बिहान उठ्ने बित्तिकै मैले राति सेन्ट्री बसेको आँगन, थुम्को, त्यो घर, परपर देखिने बस्ती, रुख, बुट्याँन र बाटाहरु एकछिनसम्म नियालें ।

एउटा नयाँ अनुभवसँगै जनक्रान्तिमा पनि मैले केही योगदान दिएको गौरवबोधले छाती चौडा भयो । फेरि एकपटक कमरेड हीरामणिलाई सम्झिएँ । अहिले भने उनीप्रति मभित्र अगाध श्रद्धाभाव जागेर आयो । मलाई जनक्रान्तिको उभार र भव्यतामा प्रत्यक्ष सामेल हुने दुर्लभ अवसर जुराइदिएकोमा उनलाई मनमनै धन्यवाद दिएँ ।

एकैछिनमा गज्जबको फूर्तिका साथ कमरेड हीरामणि पनि टुपुल्किए । उनी निकै हतारो र धपेडीमा थिए । उनको क्षेत्रमा उनको नेतृत्वमा पहिलो विशाल खुला जनसभा हुँदै थियो । यसको व्यवस्थापनको उच्च चाप उनमा थियो नै । तर पनि उनी उत्तिकै उत्साहित र फूर्तिला थिए । सबैतिर एकनासले माहुरीझैं खटिरहेका थिए । यसै पनि उनी हमेशा उत्साहित र जाँगरिला मान्छे हुन् ।

‘ठीक छ नि ?’ उनले जोशिलो हात मिलाउँदै सोधे ।

‘ठीक छ ।’ म मुस्कुराएँ ।

२०५७ सालको माघ महिनाको एक बिहान थियो त्यो । अरु दिन भन्दा आज कमरेड हीरामणि निकै उत्साहित र रोमाञ्चित भइरहेका थिए । आज उनी पहिलो खुला विशाल जनसभाद्वारा जनमारा व्यवस्था र त्यसका मतियारहरुलाई क्रान्तिकारी जनसमुदायको असली ताकत र सामथ्र्य देखाउँदै थिएँ । यो कुराले पनि उनी जस्तै उत्तिकै उत्साहित र रोमाञ्चित बनिरहेको थिएँ ।

बिहानको खाना खाइवरी हामी कार्यक्रमस्थलतर्फ लाग्यौं । गाउँ-गाउँबाट हजारौं जनता रातो झण्डा हल्लाउँदै र गगनभेदी नारा उराल्दै अघि बढिरहेका थिए- जनयुद्ध-जिन्दाबाद !

नेकपा (माओवादी) – जिन्दाबाद !
वीर शहीद- अमर रहून् !
प्रतिक्रियावादी राज्यसत्ता- मूर्दावाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?