+
+
राष्ट्रिय सभामा गण्डकीका उम्मेदवार :

बादल र बाबुराम छाडेर आएका नेताहरुलाई टिकट

अमृत सुवेदी अमृत सुवेदी
२०७८ पुष २० गते १६:३७

२० पुस, पोखरा । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस नेता गोविन्दराज जोशीको एकछत्र राज थियो । तीन पटक प्रतिनिधि सभा सदस्य र गृह, शिक्षा, स्थानीय विकास लगायतमा पटक पटक मन्त्री भएका जोशीको रजगज भएको क्षेत्रमा प्रतिस्पर्धीका रुपमा उभिए, सुरेश आलेमगर ।

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा जोशी र सुरेश आमनेसामने भए । संविधान सभाको निर्वाचन अघि नै गठित अन्तरिम व्यवस्थापिकाको सदस्य समेत रहेका आलेले जोशीलाई टक्करमात्रै दिएनन्, करिब सात हजार मतान्तरले जित हासिल गरे ।

जोशीलाई हराएर आएका आले पहिलो संविधानसभाको अवसानसँगै गुमनाम भए । त्यसको मुख्य कारण थियो, माओवादी विभाजित भएपछि आले रामबहादुर थापा ‘बादल’सँगै मोहन वैद्यको मोर्चामा उभिए ।

उनीहरुले दोस्रो संविधान सभाको निर्वाचन नै बहिस्कार गरे । वैद्यसँग पनि विभाजित भएर करिब तीन वर्षपछि नेता बादलले फेरि माओवादीसँगै एकता गरे । बादलसँगै आले पनि फेरि माओवादी केन्द्रमै फर्किए । माओवादी र एमाले एकीकरण भएर नेकपा बन्यो । नेकपामा विवाद हुँदा बादल ओलीतिर उभिए भने आले पनि दोधारमा थिए ।

ओली नेतृत्वको सरकारमा मन्त्रीसमेत दिन सक्ने आश्वासन बादलले आलेलाई दिएका थिए र उनले प्रचण्ड रोजे । ‘बादलसँग लामो समय सहकार्य गरेको थिएँ । नेकपा विभाजनपछि बरु मन्त्री नै बनाउँला सँगै बसौं भनेर बादलले नै भन्नुभएको थियो,’ नेता आलेले भने, ‘माओवादी नेताहरुसँग पनि कुरा भयो । बादललाई साथ दिँदै के केपी ओलीको पछि लाग्ने भनेर प्रचण्ड नै रोजें ।’ उनै आलेलाई प्रचण्डले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएका छन् ।

गण्डकीमा तीन स्थानका लागि हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट आलेलाई उम्मेदवार बनाइएको छ । ‘लामो समय कम्युनिस्ट तथा माओवादी आन्दोलनमा होमिएँ । त्यसबाट केही उपलब्धिको रक्षा पनि गर्नु छ,’ ६८ वर्षीय नेता आलेले भने, ‘पार्टीले राष्ट्रिय सभामा उम्मेदवार बनाएको छ । पार्टी र जनताकै हितमा काम गर्ने छु ।’

२०३६ सालपछि नै राजनीतितर्फ आकर्षित भएका आले नेकपा मसाल हुँदै कम्युनिस्ट आन्दोलनमा जोडिएका थिए । मोटो मशालदेखि नै मोहन वैद्यसँगै एकता केन्द्र हुँदै नेकपा माओवादीमा लागे ।

आले माओवादी सल्लाहकार, वैकल्पिक हुँदै केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य बनेका थिए । उनी हालै सम्पन्न महाधिवेशनबाट पनि केन्द्रीय सदस्य छानिएका छन् ।

माओवादी केन्द्रले उम्मेदवार बनाएका भुवन सुनार भने बाबुराम भट्टराईलाई छाडेर प्रचण्डतिर लागेका नेता हुन् ।

गोरखा पालुङटारका सुनार माओवादी सशत्र संघर्ष ताका नै दलित अधिकारको आन्दोलनमा होमिएका थिए । दलित मुक्ति मोर्चा गोरखाको अध्यक्ष हुँदा २०५५ मा पक्राउ परे । गोरखादेखि भैरहवा जेलसम्म पुर्याइए र दुई वर्ष जेल जीवन बिताए । फर्केर फेरि आन्दोलनमै जोडिएका सुनारले तत्कालीन माओवादीको आन्तरिक संघर्षमा सधैंभरि बाबुरामलाई साथ दिइरहे । संविधान जारी भइसकेपछि आधा गिलास भरिएको र आधा खाली नै रहेको भन्दै बाबुरामले विकास र समृद्धिका लागि भन्दै माओवादी पार्टी नै छाडे, नयाँ शक्ति पार्टी गठन गरे ।

२०७३ जेठमा दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टी घोषणा हुँदा सुनार पनि सोही अभियानमै थिए । ‘ज्यान जाला बरु बाबुराम छोडिन्न भनेर लागेको हुँ । दुई लाइन संघर्षमा सधैं बाबुरामसँगै उभिएँ,’ सुनारले भने, ‘नयाँ शक्ति निर्माण अभियानमा सँगै जोडिएँ । तर पार्टी कम्युनिस्ट नहुने भन्ने भयो, त्यसमा मलाई चित्त बुझेन ।’

सुनार माओवादी अध्यक्ष प्रचण्डकै नेतृत्वमा फर्किए । जीवनको जटिल परिस्थितिमा पनि बाबुराम भनेर हिँडेका सुनार बाबुरामले चुनाव जितेकै क्षेत्र पालुङटारका हुन् । २०६८ सालमा सुनारलाई बाबुरामले नै राष्ट्रिय दलित आयोगको सदस्य सचिव बनाएका थिए । तर, राजनीतिक हिसाबले बाबुरामको साथ लाग्दा फड्को मार्न नसकेको बताउने सुनारलाई अहिले प्रचण्डले राष्ट्रिय सभाको उम्मेदवार बनाएका छन् । ‘लामो समय दलित आन्दोलनमा खर्चिएँ, अहिले पार्टीले मूल्यांकन गर्यो,’ सुनारले भने, ‘आन्दोलन जारी राखे एक दिन अवसर पाइने रहेछ ।’

चार दशकदेखि दलित आन्दोलनमा लागेका सुनारले अहिले दलित कोटाबाटै गण्डकीबाट राष्ट्रिय सभामा टिकट पाएका हुन् । उनी नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलका पूर्वस्ववियू सभापति समेत बनेका थिए । अहिले माओवादी प्रदेश समिति सदस्य रहेका सुनार राष्ट्रिय सभा छिर्ने प्रतिस्पर्धामा सहज अवस्थामा छन् ।

गण्डकीका ३ सिटमध्ये ५ दलीय गठबन्धनमा १ कांग्रेस र २ माओवादीले भागबण्डा लगाएका छन् । कांग्रेसले महिला सदस्यमा नेतृ कमला पन्तलाई उम्मेदवार बनाएको छ । माओवादीले खुल्लामा सुरेश आले र दलितमा भुवनलाई उम्मेदवार बनाएको हो ।

एमालेले खुलामा कास्कीका पुण्यप्रसाद पौडेल, महिलातर्फ नवलपुरकी लिला थनेत र दलिततर्फ स्याङ्जाका अर्जुनकुमार सुनामलाई उम्मेदवार बनाएको छ । गण्डकी प्रदेशमा ८५ स्थानीय तहका १७० र ६० सदस्यीय प्रदेश सभाका ५९ गरी २ सय २९ जना मतदाता छन् । गण्डकीमा ५ दलीय गठबन्धनसँग एमाले ६ सय ९६ मतभारले पछाडि छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?