+
+

फाइजर खोपका लागि साढे ६ लाख बढी सिरिन्ज आइपुग्यो

काठमाडौं उपत्यकाका बालबालिकालाई मात्रै फाइजर खोप दिइने

कोभिड –१९ विरुद्धको फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल आइपुगेको छ । कतार एयरलाइन्सको नियमित उडानमार्फत मंगलबार ६ लाख ६६ हजार थान सिरिन्ज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १७:२६

२० पुस, काठमाडौं । कोभिड –१९ विरुद्धको फाइजर खोपका लागि प्रयोग हुने साढे ६ लाखभन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ ।

कतार एयरलाइन्सको नियमित उडानमार्फत मंगलबार ६ लाख ६६ हजार थान सिरिन्ज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख सुरेन्द्र चौरासियाले फाइजर खोपमा प्रयोग हुने ०.३ एमएलको सिरिन्ज मंगलबार दिउँसो आएको जानकारी दिए ।

सिरिन्ज अभावकै कारण काठमाडौं उपत्यकासहित ८ जिल्ला बालबालिकालाई १३ पुसदेखि दिने भनिएको खोप अभियान प्रभावित भएको थियो ।

उपत्यकाका बालबालिकालाई मात्रै फाइजर खोप

फाइजर खोपमा प्रयोग हुने सिरिन्ज आइपुगेपनि काठमाडौं उपत्यकाका तीन जिल्लाका बालबालिकालाई मात्रै फाइजर खोप दिइने भएको छ ।

थप फाइजर खोप आउने सुनिश्चितता नभएका कारण काठमाडौं, भक्तपुर र ललितपुरका १२ देखि १७ बर्षसम्मका बालबालिकालाई मात्रै यो खोप दिइने परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लाल कर्णले जानकारी दिए । २/३ दिनभित्रै यी तीन जिल्लाका बालबालिका लागि फाइजर खोप दिइने उनले बताए ।

उनका अनुसार फाइजर खोपको दोस्रो डोज सुनिश्चिता गरेर काठमाडौं उपत्यकाका बालबालिकालाई मात्रै फाइजर खोप दिन लागिएको हो ।

यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्लासहित काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतका बालबालिकालाई पुस १३ गतेदेखि नै फाइजर खोप दिने निर्णय गरेको थियो ।

फाइजर खोप कोभ्याक्स सुविधाअन्तर्गत ९ पुसमा ६ लाख ६४ हजार डोज खोप नेपाल आइपुगेको थियो ।

‘थप फाइजर खोप आउने सुनिश्चितता नभएपछि काठमाडौं उपत्यकाका बालबालिका लागि मात्रै खोप दिने निर्णय गरेका हौं,’ डा. कर्णले भने, ‘मोर्डनाको खोप केही हप्तापछि आउने जानकारी प्राप्त भइरहेको छ । त्यसपछि अन्य जिल्लामा पनि सञ्चालन गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?