
२१ पुस, काठमाडौं । हेमन्त शर्मा नेपाली सुगम संगीतमा रुचाइएका गायक हुन् । झण्डै दुई दशकदेखि संगीत क्षेत्रमा क्रियाशील शर्माका माया साह्रै महँगो, जाला उडेर मेरो जाले रुमाल, मूल हौ भने रसाइदेऊ, माया त यस्तो होस्, आउँदै गर मालती लगायत दर्जनौं गीत लोकप्रिय छन् ।
घरको काममा भन्दा संगीतकै काममा बढी सक्रिय हुन रुचाउने गायक शर्माको दिनचर्या कस्तो छ ? उनका रुचिहरु के छन् ? लगायतका विषयमा गरिएको कुराकानी :
बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ कि छैन ?
नियमित नै छ । ६ देखि साढे ६ बजेसम्म उठिसकेको हुन्छु ।
उठ्नासाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ वा पूजापाठ गर्नुहुन्छ ?
उठ्नासाथ पाँचदेखि सात मिनेट मोबाइल चलाउँछु ।
बिहान फ्रेस भइसकेपछि योग ध्यान वा एक्सरसाइज गर्नुहुन्छ ?
बिहान ४० मिनेटसम्म ब्याडमिन्टन खेल्छु, यो मेरो दुई वर्षदेखिको रुटिन हो । एक-दुई योगको अभ्यास पनि गर्छु ।
बिहान नास्ता खानुहुन्छ कि हुन्न ?
बिहान मलाई नास्ता खानै पर्छ ।
नास्तामा के खानुहुन्छ ?
तीनवटा अण्डा (पहेंलो भाग फालेर), चनासँगै मनतातो पानी ।
बिहानको खाना कति बजे खानुहुन्छ ?
केटाकेटीदेखि नै बानी पर्यो, साढे नौ बजे खाना खाने । अहिलेसम्म पनि त्यही छ ।
कस्तो खाना रुचाउनुहुन्छ ?
नेपाली खाना दाल, भात र तरकारी ।
तपाईंको खानामा छुट्दै नछुट्ने चिज के हो ?
मूला थिचेर, टमाटर पोलेर बनाएको चट्नी अनि साग ।
माछा-मासु कत्तिको खानुहुन्छ ?
माछा खान त्यति जान्दिन म । मासु धेरै खान्छु, कुखुरा र खसीको ।

मदिरापान गर्नुहुन्छ ?
मन मिल्नेसँग गरिन्छ ।
भान्सामा काम गर्ने जाँगर कति चल्छ ?
पटक्कै चल्दैन, भान्साको काममा अल्छी छु ।
बाहिर रेष्टुरेन्टको खाना मीठो कि घरमा बनाएको ?
रमाइलो बाहिर हुन्छ, मीठो त घरको हुन्छ ।
एकदमै भोक लागेको तर खाना खाने अनुकूलता नमिलेको कुनै क्षण छ ?
एकदमै भोक लागेको क्षण धेरै छन् । २०५९ सालमा माया साह्रै महँगो भन्ने गीतको सुटिङ भक्तपुरमा गर्दै थियौं । बिहानको नास्ता सात बजे खायौं । काम जति ढिलो खर्च उति हुने, त्यसैले काम सकेर खाना खाँदा साढे तीन बजेको थियो । भोकले एकदमै गलाएको त्यो क्षण एकदमै सम्झन्छु ।
घरमा कुचो लगाउने, सरसफाइ गर्ने, भाँडा माँझ्ने, लुगा धुने काम आफैं गर्नुहुन्छ ?
म अल्छी छु यसमा । घरको काम खासै गर्न मन लाग्दैन ।
घरबाट बाहिर निस्कनुअघि तयार हुन कति समय लाग्छ ?
पाँच मिनेट ।
बाहिर हिँडडुल गर्दा कस्तो लुगा सहज लाग्छ ?
कस्तो ठाँउमा जाँदैछु भन्ने कुराले प्रभाव पार्छ । लामो यात्रामा जाँदा म ट्राउजर र टिसर्ट लगाउँछु । अघिपछि त जिन्स र सर्ट सहज लाग्छ ।
गरगहनामा कत्तिको आशक्ति छ ?
गरगहनामा पटक्कै रुचि छैन ।
तपाईं कस्तो सवारी साधन प्रयोग गर्नुहुन्छ ?
हुण्डाईको आई–ट्वान्टी ।
प्रायः दिन कसरी बित्छ ?
संगीतकर्ममा भुल्छु । स्टुडियोमा गीत रेकर्डिङ गरेर, गीत सुनेर, आफन्तसँग भेटघाट यस्तै काममा बित्छ ।
एक दिनमा कति वटासम्म गीत रेकर्ड गर्न भ्याउनुहुन्छ ?
म आफ्नै गीत गाउने भएकाले दिनमै भन्ने पनि हुँदैन । किनकि, म अरुको गीत कमै गाउँछु ।
साँझ कति बजे घर फर्कनुहुन्छ ?
६ देखि साढे ६ सम्म घर फर्कंन्छु ।
रातिको खाना कति बजे खानुहुन्छ ?
सात बजेसम्म खाइसक्छु ।
रातिको खानामा के खानुहुन्छ ?
मैले राति भात खान छोडेको सात वर्ष भइसक्यो । खानाको रुपमा दूधमा ओट्स मिसाएर खान्छु । हलुका खान मन पराउँछु ।
कति बजे सुत्नुहुन्छ ?
जाडोमा १० बजे, गर्मीमा ११ बजेसम्म ।
प्रतिक्रिया 4