+
+

ए डिभिजन लिगमा आजदेखि आठौं चरणका खेल

संकटा र सातदोबाटो तथा जावलाखेल र एपीएफ भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १०:४८

२३ पुस, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि आठौं चरणका खेलहरु सुरु हुँदैछ । आज दुई खेल हुनेछ । जसमा अपराजित संकटाले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग खेल्नेछ भने जावलाखेलले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।

जारी लिगमा अपराजित तिन क्लबमध्ये एक रहेको संकटा ७ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ । सातदोबाटो विरुद्ध जित हात पारे संकटाले दोस्रो स्थानमा रहेको मानाङसँग अंक बराबरी गर्नेछ । सातदोबाटो भने ७ खेलबाट ८ अंकसहित आठौं स्थानमा छ ।

यस सिजन संकटाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दाबेदार दुई क्लब मछिन्द्र र मनाङलाई पछ्याइरहेको छ । अर्कोतर्फ ए डिभिजनमा नवप्रवेशी सातदोबाटोले सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेपनि पछिल्ला खेलहरुमा लय कायम राख्न सकेको छैन ।

दुई टोली शुक्रबार १ बजे मैदान उत्रँदा दुवै टिमसँग एक/एक विदेशी खेलाडी हुने छैनन् । जारी लिगमा ह्याट्रिक गर्ने एक्लो खेलाडी सातदोबाटोमा फरवार्ड दुई पहेँलो कार्डका कारण संकटा विरुद्ध खेल गुमाउनेछन् । उता संकटाका डिफेण्डर एर्नेस्ट थम्पी चोटका कारण मैदान बाहिर छन् ।

संकटाका प्रशिक्षक विष्णु गुरुङले थम्पीको स्थानमा खेल्न सक्ने अरु खेलाडी भएपनि उनी जस्तो नहुने बताएका छन् । बिहीबार भएको प्रि म्याच कन्फ्रेन्समा उपस्थित संकटाका सहायक प्रशिक्षक राजकुमार केसीले भने थम्पी नहुँदा टिमलाई घाटा हुने भन्दै सातदोबाटोको पनि मार्टिन नहुँदा दुवैको अवस्था उस्तै रहेको बताए । थम्पीको चोट ठूलो भएकोले उनले लिग नै गुमाउने केसीले बताएका छन् ।

उता सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जनले पनि संकटा राम्रो टिम रहेको भन्दै त्यही अनुसार तयारी गरेको र राम्रो प्रदर्शन गर्ने बताए ।

यस्तै पौने ५ बजे हुने खेलमा जावलाखेल र एपीएफ दुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रनेछन् । अंकतालिकामा अघिपछि रहेका यी दुई क्लबलाई माथि उक्लने अवसर पनि छ । जावलाखेल ७ अंकसहित नवौं स्थानमा रहँदा ६ अंक रहेको एपीएफ दशौँ स्थानमा छ ।

जावलाखेलका प्रशिक्षक किशोर केसीले आठौं चरणको लागि टिमले शतप्रतिशत तयारी गरेको र राम्रो खेल्ने बताए । ‘आठौं चरणमा खेलाडीले नआतिकन धर्यताका साथ खेल्छ भन्ने विश्वास छ,’ केसीले भने, ‘एपीएफले सुधारिएको खेल पस्किदै आएको छ । विदेशी खेलाडी समेत राखेको छ । ट्याक्टीकल्ली र टेक्निकल हिसाबले हामी माथि हो की जस्तो लाग्छ । त्यो प्रमाणित गर्ने खेल भोलिको खेलले बताउनेछ ।’

उनले स्कोर धेरै हुन नसकेको स्वीकार गर्दै गोलकै लागि अभ्यास गरिरहेको बताए ।

यस्तै एपीएफका सहायक प्रशिक्षक रत्न काजी महर्जनले पनि विपक्षी राम्रो रहेको र त्यही अनुसार तयारी गरेको बताए । उनले यसअघिका खेलहरुमा गोल गरेपनि गोल पनि खाइरहेकोले त्यसमा सुधार गर्नुपर्ने बताए । ‘हाम्रो स्कोरिङ भएपनि गोल खाइराई । डिफेण्समा ध्यान दिइरहेका छौँ,’ महर्जनले भने, ‘जावलाखेल टिम राम्रो टिम हो । दुर्भाग्य उनीहरुको स्कोर निस्किएको छैन । समग्रमा भन्दा राम्रो टिम छ । उनीहरुको बलियो र कमजोर पक्षलाई केलाएर तयारी गरेका छौँ ।’

महर्जनले रेलिगेसन क्षेत्रमात्र छाडेको तर रेलिगेसन पूरै छाडिनसकेको बताउँदै ३ अंककै लागि खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?