
२३ पुस, काठमाडौं । चलचित्र ‘लभ लभ लभ’बाट कलाकारको रुपमा नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका सुरज पाण्डे अब निर्देशक बन्ने भएका छन् । उनको निर्देशनमा नयाँ चलचित्र ‘परस्त्री’को शुक्रबार घोषणा गरिएको छ ।
काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुरजको डेब्यु निर्देशन रहेको चलचित्रको नाम र लिड नायकको घोषणा गरिएको हो । यो चलचित्रमा अभिनेता कोशिश क्षेत्रीको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने अडिसनबाट छनोट गरिने निर्माणपक्षले बताएको छ ।
यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । शर्मिलाले यसअघि चलचित्र घर, आमा र चिसो मान्छे निर्माण गरिसकेकी छन् ।
निर्देशक सुरजले डार्क थ्रिलर कथामा यो चलचित्र निर्माण हुने बताए । चलचित्रका लागि एक पुरुष र दुई महिला कलाकारको आह्वान समेत गरिएको छ । मुख्य कलाकार अडिसनबाट छनोट हुनेछन् ।
निर्मात्री पाण्डेले छोरा सुरजले निर्देशनमा डेब्यु गर्न लागेकोमा खुशी व्यक्त गरिन् । उनले चलचित्र बनाउनु आफ्नो पहिले रहर र अहिले कर्म भएको बताइन् ।
प्रतिक्रिया 4