
२५ पुस, काठमाडौं। दोस्रो संस्करणको टाइगर कप पुरूष तथा महिला आमन्त्रण भलिबल प्रतियोगितामा राष्ट्रिय महिला टिमकी कप्तान अरुणा शाही यसपटक स्थानिय टिमको प्रतिनिधित्व गर्दै खेल्दैछिन् ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा मंगलबारदेखि सुरु हुने प्रतियोगितामा यसपटक महिला र पुरुष दुवैमा एक एक टिम थप गरिएको छ । जसमध्ये अरुणाले गण्डकी टिमको कप्तानी गर्नेछिन् । गतवर्ष भएको पहिलो पहिलो संस्करणमा स्थानिय टिम नहुँदा अरुणाले अरु नै टिमबाट खेल्नुपरेको थियो ।
यसपटक माहिलातर्फ गण्डकी र पुरुषतर्फ हेल्प नेपाल थपिएको छ । दुवैमा ५-५ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
आयोजककै टिमको रुपमा गण्डकीको टिम रहनेछ । अरुणाको कप्तानीमा रहने टिममा तीन जना श्रीलंकाका खेलाडी छन् ।
‘बंगलादेशमा सेन्ट्रल जोन खेलेकै श्रीलंकन टिमका ३ खेलाडी आउँदैछन् । अरु पुरानै खेलाडी पनि छन् ।’ अरुणाले घरेलु टिमबाट खेल्न उत्साहित रहेको बताइन् ।
यस्तै टिमको अन्य खेलाडीमा परिक्षा गुरुङ, पवित्रा विसी, रुपा थापा, ममता डगौरा, रोश्मीना गुरुङ, यमकली कुँवर,भावना डाँगी र रेविना घर्ती मगर रहेकी छन् ।
श्रीलंकाबाट स्पाइकर प्रितिका प्रमोधानी, काभिशा लक्षिणी पेरेरा र शिवानी शाक्य आउन लागेकी हुन् । उनीहरु आइतबार आइपुग्ने टोलीकी कप्तान अरुणा शाहीले जानकारी दिइन् ।
राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा महिला र पुरुषमा समान ५ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
महिलामा साविक विजेता नेपाल पुलिससहित एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमण्ड र गण्डकी छन् । यस्तै पुरुषामा साविक विजेता गण्डकीसहित उपविजेता त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीबल (एपिएफ) र हेल्प नेपाल छन् ।
प्रतियोगिताको खेलहरु पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ ।
प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले नगद ३-३ लाख तथा उपविजेताले समान १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
तेस्रो हुनेले ७५ हजार तथा सान्त्वना हुने टिमले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको टिकट दर भने २ सय र ३ सय रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4