+
+

सबै मन्त्रालयका विभागहरू एकै ठाउँमा, बबरमहलमा सरकारले अग्ला भवन बनाउने

संघीय सरकारका मन्त्रालयहरू माताहतका विभागहरू एकै ठाउँबाट सञ्चालन गर्ने गरी सरकारले काम अघि बढाउने भएको छ । शहरी विकास मन्त्रालयले काठमाडौंको बबरमहलमा सबै मन्त्रालयहरू माताहतका विभागहरूको कार्यालय व्यवस्थापन गर्ने तयारी शुरु गरेको हो ।

रोयल आचार्य रोयल आचार्य
२०७८ पुष २५ गते २३:४८

२५ पुस, काठमाडौं । संघीय सरकारका मन्त्रालयहरू माताहतका विभागहरू एकै ठाउँबाट सञ्चालन गर्ने गरी सरकारले काम अघि बढाउने भएको छ । शहरी विकास मन्त्रालयले काठमाडौंको बबरमहलमा सबै मन्त्रालयहरू माताहतका विभागहरूको कार्यालय व्यवस्थापन गर्ने तयारी शुरु गरेको हो ।

अहिले सिंहदरबारभित्र स्वास्थ्यबाहेकका सबै मन्त्रालयहरू छन् । सिंहदरबार परिसर भन्नेवित्तिकै सबै मन्त्रालयहरूको कार्यालय भन्ने बुझिन्छ । विभागहरू काठमाडौं र ललितपुर जिल्लामा छरपस्ट अवस्थामा छन् ।

कृषि तथा पशुपंक्षी मन्त्रालय माताहतको कृषि विभाग ललितपुरको हरिहर भवनमा छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय माताहतको सडक विभाग पनि ललितपुरको पाटन ढोका नजिकै छ । अन्य मन्त्रालयहरूका विभिन्न विभागहरू विभिन्न ठाउँहरूमा छरिएर रहेका छन् । यी सबै विभागहरू एकै ठाउँमा रहने गरी प्रशासनिक परिसरको रुपमा बबरमहलमा अग्ला भवनहरू निर्माण गर्ने मन्त्रालयको तयारी छ ।

‘अहिले वन परिसर रहेको क्षेत्रमा हामी आवश्यकताअनुसार ठूला र अग्ला भवन बनाउँछौं, त्यसलाई एड्मीस्ट्रेटिभ हव नाम दिएर सबै विभागहरू त्यहाँ सार्ने तयारी हो’ मन्त्रालयका एक अधिकारीले भने । यसका लागि मन्त्रालयले ‘मास्टर प्लानसमेत बनाइसकेको छ ।

‘अहिले सबै मन्त्रालयहरूका ५७ वटा विभागहरू छन्, सबै विभागहरू अट्ने गरी हव बनाउन मास्टर प्लानसमेत बनाइसकिएको छ’ उनले भने, ‘मास्टर प्लान आजको भने होइन, पुरानो मास्टर प्लानमा केही संशोधन गरेर काम अगाडि बढाउने कुरा भएको छ, सम्भवतः कामहरू अब चाँडै अघि बढ्नेछन् ।’ यसका लागि बबरमहलमा ५९ रोपनी जग्गामा भवन बन्ने उनले बताए ।

मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले अहिले ठोस निर्णय केही नभए पनि मास्टरप्लानका विषयमा छलफल भइरहेको बताए । ‘अहिले हाम्रा विभाग र माताहतका धेरै कार्यालयहरू त्यहीं छन्, हाम्रो विभाग र माताहतका कार्यालयहरूको भवन बनाउने विषय हो’ उनले भने, ‘यस विषयमा अहिले छलफल चलिरहेको छ ।’ यसका लागि आवश्यक पर्ने बजेटका विषयमा समेत मन्त्रालयले छलफल अघि बढाएको उनले बताए ।

यस्तो छ मास्टर प्लान

मन्त्रालयले एड्मीस्ट्रेटिभ हवका लागि मास्टरप्लानसमेत तयार गरेको छ । मास्टर प्लान अनुसार अहिले वन परिसर रहेको क्षेत्रमा तीन ब्लक हुने गरी ठूला भवन निर्माण हुनेछ ।

ब्लक ‘ए’ १८ वटा तला भएको, ब्लक ‘बी’ मा २० वटा र ब्लक सीमा १८ वटा तला भएको भवन निर्माण हुनेछ । अहिलेको मास्टर प्लानअनुसार तीन भवनमा ५८ वटा फ्लोर हुनेछन् । यसलाई केही संशोधन गरेर फ्लोर संख्या बढाउने मन्त्रालयको योजना छ ।

तीनवटै भवनकोमा जमिनमुनि दुईवटा तला (बेसमेन्ट) हुनेछन् । दुवै तलालाई पार्किङको रुपमा प्रयोग गरिनेछ भने भुई तल्ला (ग्राउन्ड फ्लोर) पसल, क्लिनिक र रिपोर्टिङ अफिसहरू हुनेछ । त्यस माथिका तलाहरू सबै प्रशासनिक कामका लागि प्रयोग हुने प्लानमा उल्लेख छ ।

यहाँ रोचक कुरा चाहिँ तीनवटा भवन छट्टाछुट्टै निर्माण हुने भए पनि बीचमा एउटा भवन (ब्ल्क बी) रहने र ब्लकबीबाट अरू भवनहरू ब्लक ए वा सीमा जान आउनका लागि १७औं तलामा पुलसमेत बनाइनेछ ।

एउटा भवनबाट अर्को ब्लकको भवनमा आउन जानका लागि भुई तलासम्म झर्नुपर्ने छैन । ५९ रोपनीमा बन्ने यो योजनाका भवनहरूले ३० हजार २१ दशमलव २१ स्क्वायर मिटर ओगट्नेछन् । भवनको हरेक तला ३.६ मिटरका हुनेछन् भने भवनको उचाई ७२.६३ मिटरसम्मको हुनेछ भने बानेश्वर-माइतीघर सडकबाट सहजै प्रवेशका लागि ठूलो सडक निर्माण हुनेछ ।

विशेष अदालतसमेत यहीँ भवनभित्र राख्ने मास्टर प्लानमा उल्लेख छ । यसबाहेक कानून किताब व्यवस्था समिति, न्याय सेवा तालिम केन्द्र, वन विभाग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, भूमि व्यवस्था विभाग, वाणिज्य तथा आपूर्ति विभाग, हुलाक कार्यालय, आन्तरिक राजश्व कार्यालय, सुकुम्बासी समस्या समाधान आयोग, राहत तथा पुनर्स्थापना केन्द्रलगायत प्रशासनिक कार्यालय यस भवनभित्र हुनेछन् ।

यसैगरी केन्द्रीय वन तालिम केन्द्र, टिम्बर कर्पोरेशन अफ नेपाल, भूसंरक्षण विभाग, वन उत्पादन विकास बोर्ड लगायत कार्यालयहरू पनि यहाँ हुनेछन् ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?