+
+
Shares

राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते २०:१६

काठमाडौं । ‘पापी र भ्रष्टहरूलाई अन्त्य गर्न आइरहनेछु युगदेखि युगसम्म…’

अभिनेता राजेश हमालले ८ वर्षपछि पुनरागमन गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’मा भनेको संवाद हो यो । आफ्नो डेब्यु फिल्मको नाम लिएर उनले भ्रष्टविरुद्ध लड्ने उद्घोष फिल्ममा गरेका छन् ।

अन्ततः पर्खाइ समाप्त भएको छ र हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’को प्रतीक्षित ट्रेलर विहीबार सार्वजनिक भएको छ । ३ मिनेटभन्दा लामो ट्रेलरमा हमाललाई ‘नरसिंहा अवतार’को रुपमा देख्न पाइन्छ ।

शोषण, अन्याय र अन्याचारको विरुद्ध लड्ने नायकको भूमिकामा हमालले यो फिल्ममा अभिनय गरेका छन् । हमालले यसमा आफ्नो बहुचर्चित ‘हे’ डायलग बोल्दा यसले दर्शकलाई नोस्टाल्जिक तुल्याउने पक्का छ ।

ट्रेलरमा हमाल पुरै एक्सन अवतारमा प्रस्तुत छन् । राज कटुवाल हमाललाई साथ दिने भूमिकामा छन् । हमालको जोडीको रुपमा नीति शाह र कटुवालको अपोजिटमा सनिशा भट्टराईलाई कास्ट गरिएको छ । प्रशान्त ताम्राकार खलपात्रको रोलमा छन् । फिल्ममा नीर शाह, सरोज खनाल, उषा खड्गी लगायतको पनि महत्वपूर्ण रोल छ ।

ट्रेलर सार्वजनिक गर्न विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । जहाँ हमालसहितका कलाकारले फिल्मबारे कुराकानी गरे । ८ वर्षपछि हमालको कमब्याक भएकाले पनि दर्शकमाझ यो फिल्म प्रतीक्षित छ ।

क्रिएटिभ सिने आर्टको ब्यानरमा यो फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुब न्यौपाने निर्माता हुन् । ‘नरसिंहा अवतार’ जेठ ९ गतेदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?