+
+

हिमालयन शेर्पालाई हराउँदै थ्रीस्टार पाँचौं स्थानमा उक्लियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते २०:०८

२५ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएको खेलमा थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई २-० ले पराजित गरेको छ ।

यस सिजन तेस्रो जित हात पारेको थ्रीस्टार हिमालयन शेर्पालाई नै पछि पार्दै पाँचौं स्थानमा उक्लेको छ भने अपराजित यात्रालाई लगातार छैटौं खेलसम्म निरन्तरता दिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भयो । एक गोल आत्मघाती थियो भने अर्को गोल विदेशी खेलाडी घानेफो अंशुमानाले गरे । ५७ औं मिनेटमा थ्रीस्टारका ऋतिककुमार खड्काले हानेको बल हिमालयन शेर्पाका अम‌ृत श्रेष्ठले क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल भयो । गोलकिपर दीप कार्कीले रोक्ने कुनै अवसर पाएनन् ।

यस्तै इन्जुरी टाइममा विदेशी खेलाडी घानेफो अंशुमानाले लाकेन लिम्बुको पासमा थ्रीस्टारका लागि दोस्रो गोल गरे । पहिलो हाफमा थ्रीस्टारले गोलको दुईवटा अवसर पाए पनि फिनिसिङ गर्न सकेन । जितपछि ८ खेलबाट थ्रीस्टारले १३ अंक जोडेको छ भने ११ अंक रहेको हिमालयन शेर्पा छैटौं स्थानमा झरेको छ ।

थ्रीस्टारका प्रशिक्षक उर्जेन श्रेष्ठले जितपछि धेरै खुशी रहेको बताए । ‘पहिलो हाफ खेल मिलाउन गाह्रो भयो । दोस्रो हाफमा गोल भयो’ श्रेष्ठले भने, ‘प्रोपर स्ट्राइकर भएपछि खेल सुधारिएको छ । अट्याकिङ थर्डमा कम्बिनेसन प्ले राम्रो भएको छ ।’

प्रशिक्षक श्रेष्ठले लगातार दुई जितपछि दबाब कम भएको बताए । ‘प्रेसर त रिलिज भएको छ । अब मुख्य लक्ष्य भनेको खेल्दै जित्दै जाने हो ।’

हिमालयन शेर्पाका प्रशिक्षक युगल किशोर राईले पाएको अवसर सदुपयोग गर्न नसकेको स्वीकार गरे । ‘पहिलो हाफ सोचेजस्तो खेल्यो । तर पाएको अवसरमा स्कोर भएन । आत्मघाती गोल नै टर्निङ प्वाइन्ट भयो’ राईले भने, ‘आज जितेको भए टफ थ्रीमा टार्गेट थियो । अब पोजिसनको लागि गाह्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?