+
+

आयल निगममा सुरेन्द्र पौडेलको तीन वर्ष : सुधारको जस, मूल्य वृद्धिमा अपजस

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ पुष २६ गते १५:१७

२६ पुस, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकको तीन वर्षे कार्यभार पूरा गरेर सुरेन्द्रकुमार पौडेल गत बिहीबार निगमबाट बिदा भए । पेशाले चाटर्ड एकाउण्टेण्ट पौडेल यसअघि उदयपुर सिमेन्टको महाप्रबन्धक थिए । २५ वर्ष देखि घाटामा रहेको उद्योग उनकै नेतृत्वमा पहिलो पटक नाफामा गएपछि सार्वजनिक संस्थान सुधारमा उनको नयाँ पहिचान बनेको थियो ।

उदयपुर सिमेन्टमा कुशलता देखाएका पौडेलले निगमबाट बाहिरिँदै गर्दा गत बिहीबार समाजिक सञ्जालमार्फत निगमको हितलाई सर्वोपरि ठानी आफ्नो ज्ञान र बुद्धिले भ्याएसम्म अहोरात्र खटेको जनाए । उपभोक्ताको हित र निगमको श्रीवृद्धिका काम गरेको दाबी गरेका उनले आफ्नो कामले कति सहजीकरण भयो या भएन भन्ने मूल्यांकन गर्न भने इतिहासलाई छाडेको बताएका छन् ।
पौडेलले लेखेका छन्– नेपालको इन्धन आपूर्तिको सरल र बक्र दुवै गहिराइका तीता मीठा अनुभूतिसहित उपभोक्ता र निगमको श्रीवृद्धिका निम्ति आफूले कति सहजीकरण गर्न सकेँ या सकिन यसको समग्र मूल्यांकन इतिहासलाई छाडेको छु ।

पौडेलको कार्यकाललाई निगमका सहकर्मीहरु ‘सुसाशन, पूर्वाधार विकास र समन्वनयको समय’ भन्छन् । निगमको प्रत्यक्ष सेवाग्राहीका रुपमा काम गर्ने ग्यास र पेट्रोलियम व्यवसायीहरु पौडेल विवादरहित र स्वार्थभन्दा टाढा रहेर काम गरेको बताउँछन् ।

उपभोक्ता अधिकारकर्मीहरु भने निगममा पौडेलको कार्यकाललाई ‘महँगी युग’को रुपमा ब्याख्या गर्छन् । पौडेलले नेतृत्व सम्हालेपछिको पहिलो वर्ष आर्थिक वर्ष २०७५/७६ मा निगम ८ अर्ब ६५ करोड रुपैयाँ नाफामा गएको थियो । यस्तै दोस्रो वर्ष आव ०७६/७७ मा निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमायो । आव ०७७/७८ मा भने निगम ४ अर्ब नोक्सानीमा गएको थियो ।

पेपरलेस निगम

अपारदर्शी लेखा प्रणाली, नगद कारोबार र शुसासनको विषय धेरै प्रश्न उठ्ने निगममा पौडेलले निकै सुधार गरेको निगमका अधिकारीहरु बताउँछन् । आयल निगम कर्मचारी संघका निवर्तमान अध्यक्ष गोपाल राई पौडेलको कार्यकाललाई संकटमा पनि आपूर्ति व्यवस्था सहज बनाएको, पूर्वाधार विकासको जग निर्माण गरेको र निगमको पारदर्शीतालाई व्यवस्थित गर्न सूचना प्रविधिमा फड्को मारेको समयको रुपमा सम्झिन्छन् ।

‘सिलिगुडी चारआली दोस्रो पेट्रोलियम पाइपलाइन अघि बढ्नु, झापामा निगमको आफ्नै बोटलिङ प्लान्ट निर्माण काम थालिनु, पोखरामा इन्धन भण्डारण डिपो बिस्तार पनि उनको कार्यकालको सम्झना लायक पूर्वाधार विकासको थालनी हो,’ राईले भने, ‘विमानस्थलहरुमा हवाई इन्धन डिपोको क्षमता बिस्तारमा पनि उनको पालामा काम भएको छ ।’

अनियमितताको जडको रुपमा मानिने निगमको कागजी ढड्डामा आधारित लेखा प्रणालीलाई उनकै पहलमा एकीकृत सूचना प्रविधिमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली (इआरपी) मा लगिएको निगम कर्मचारी संघका अध्यक्ष मधुमास कोविड पुनको भनाइ छ ।

इन्धन चोरी र मिसवाटका कारण सबै बदनाम हुने निगम पौडेलको पालामा निस्कलंक रहेको उनको दाबी छ । ‘निगम इतिहासमै पहिलो पटक उनकै पालामा मिसावट र चोरीमा संलग्नलाई कालोबजारी तथा सामाजिक अपराध मुद्धामा थुनामा पठाइनु अर्को सफलता हो । पौडेलकै पालामा निगमको सबै प्रणाली पेपरलेस भएको छ’ पुनले भने ।

गण्डकी प्रदेशमा भण्डारण डिपो बनाउन भन्दै तनहुँमा निगमको पैसाले जग्गा किन्ने प्रयास पौडेलकै अडानका कारण असफल भएको निवर्तमान अध्यक्ष राई बताउँछन् । प्रोत्साहनसहित काममा लगाउन सिपालु पौडेलकै कारण कोरोना महामारीमा पनि निगमका कार्मचारीले घरघरै पुगेर ग्यास वितरण गरेको उनले सम्झिए ।

‘आम्दानी अड्डा’ मानिने निगमको डिपोहरुका प्रमुखलाई एक–एक वर्षमै सरुवा गरेर लाभको चेन बन्न नदिएको, पाइपलाइन बिस्तारमा सफल कुटनीतिक भूमिका खेलेको, झापाको पाइपलाइनलाई निर्माणको चरणमा पुर्‍याउनु पौडेलको कार्यकालको सफल काम भएको निगमका अधिकारीहरु बताउँछन् ।

निगमकै नेतृत्वमा रहेर ग्यास बिस्थापनको आवाज उठाउनू, निगमको ल्याबहरुको अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण थालिनु, अध्ययन नगरी वितरण गर्न लागिएको दुई हजार पेट्रोल पम्प खारेज गर्नु र व्यवसायीको हड्तालरहित कार्यकालको सुखद पक्ष रहेको पुनले बताए । कर्मचारीलाई बोनश खुवाउन भने पौडेल अक्षम भएको उनले बताए ।

आपूर्ति, वितरण र गुणस्तरमा अब्बल

नीजि क्षेत्रले निगममा पौडेलको नेतृत्वलाई जवाफदेही र नतिजामुखी मानेका छन् । कोभिड १९ महामारीका कारण आपूर्ति चेन टुटेको विश्वव्यापी अवस्थामा पनि नेपालले पेट्रोलियम पदार्थ सहज वितरण गर्न सक्नुमा पौडेलको मेहनतले काम गरेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान बताउँछन् ।

‘आपूर्ति र वितरणमा उहाँ सफल हुनुभयो, पूर्वाधारमा पनि काम गर्न खोजेको देखिन्छ । पहिले आपूर्तिमा गुहार माग्नु पर्दथ्यो तर त्यस्तो भएन । गुणस्तरको मामिलामा पनि पौडेल सफल रहनुभयो’ प्रधानले भने ।

पौडेलेको कार्यकालमा डिलर्ससँग हुने प्रशासनिक काममा विकेन्द्रीकृत हुनु पर्नेमा केन्द्रीकृत भएको, ईआरपी कार्यन्वनय नभएको र पम्पहरुको लागत तथा मुनाफाबारेको तुलनात्मक अध्ययन पनि नभएको प्रधानको भनाइ छ ।

एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारी पौडेलको कार्यकाललाई समग्रमा खराब भन्ने स्थिति नभएको बताए । निगमको राम्रो गर्न खोजेको र पेट्रोलियम उद्योगमा सुधार गर्नुपर्छ भन्नेमा उनी स्पष्ट रहेको भण्डारीले बताए ।

‘आपूर्ति सहजताका लागि पौडेल आफैं खट्नुभयो’, उनी भन्छन्, ‘स्वतन्त्र प्रतिष्पर्धाबाट आएका कारण पनि हुन सक्छ, प्रणाली सुधारको काममा पनि उहाँमा निकै रुची देखिन्थ्यो ।’

महँगी बढाएर गए

कार्यकाल सकिँदा आफू निकै सफल भएको दाबी गरे पनि पौडलका कारण मुलुकमा मूल्यवृद्धि भएको राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल मर्हजन बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा मूल्य नघटाउने तर एक डलर बढ्दा पनि मूल्य धेरै बढाउने काम निगमले गरेको उनले बताए ।

‘पौडेलले नाफाको लोभमा स्वचालित मूल्य निर्धारण प्रणाली नै भत्काए,’ मर्हजनले भने, ‘पेट्रोलियम पदार्थका कारण भएको समग्र मूल्य वृद्धिको अपजस उनलाई जान्छ । निगमभित्र लोकप्रिय हुन उनी उपभोक्तालाई महँगीको मारमा पार्न तयार भए ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?