+
+

भारतमा सोमबारदेखि कोरोनाविरुद्धको बुस्टर डोज

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १७:२३

२६ पुस, काठमाडौं । भारतमा सोमबारदेखि फ्रन्टलाइनमा काम गर्ने व्यक्ति, स्वास्थ्यकर्मी र जोखिममा रहेका वृद्धवृद्धालाई बुस्टर डोज लगाउन सुरु गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘पूर्वसावधानी डोज’ (प्रिकशन डोज) स्वरुप गत महिना कोभिड खोपको तेस्रो डोज लगाउने घोषणा गरेका थिए । सोही घोषणाअनुसार आजदेखि अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्ति, स्वास्थ्यकर्मी र जोखिममा रहेका वृद्धवृद्धालाई बुस्टर डोज लगाउन सुरु गरिएको हो ।

झण्डै पाँच करोड ७५ लाख मानिसलाई कोभिड खोपको तेस्रो डोज लगाइने भारतीय समाचार माध्यमले जनाएका छन् । बुस्टर डोज लगाउनेमध्ये दुई करोड ७५ लाख मानिस ६० वर्ष उमेर समूहका छन् । त्यस्तै, दोस्रो डोज लगाइसकेका एक करोड स्वास्थ्यकर्मी र दुई करोड फ्रन्टलाइनमा काम गर्ने व्यक्तिलाई समेत बुस्टर डोज लगाइनेछ ।

मधुमेह, उच्च रक्तचापजस्ता दीर्घ रोगबाट पीडित ६० वर्षमाथिका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार बुस्टर लगाउन पाउने भारतीय समाचार माध्यमले जनाएका छन् । पहिलो र दोस्रो पटक जुन खोप प्रयोग गरिएको थियो त्यही खोप नै बुस्टर डोजको रुपमा प्रयोग गरिने समाचारमा उल्लेख छ ।

तीव्र गतिमा फैलिइरहेको कोभिड-१९ को ओमिक्रोन भेरियन्टका कारण भारतमा झण्डै आठ गुणाले दैनिक संक्रमित थपिन थालेका बेला बुस्टर डोज दिन सुरु भएको हो । त्यहाँ सोमबार एक लाख ७९ हजार ७२३ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितसमेत बढिरहेका छन् । त्यहाँ हालसम्म चार हजार ३३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै छन् ।

केन्द्रीय मन्त्रालयका अनुसार महाराष्ट्रमा सोमबारसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या एक हजार २१६ पुगेको छ । दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनका संक्रमितको संख्या ५२९ पुगेको छ । त्यस्तै, हालसम्म दिल्लीमा ५१३ र कर्नाटकमा ४४१ जना यो भेरियन्टबाट संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?