
२७ पुस, काठमाडौं। पहिलो लकडाउनका बेला १ सयभन्दा बढी कर्मचारीलाई भोजका लागि निम्तो दिएको इमेल बाहिरिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन थप तनावमा परेका छन् ।
बाहिरिएको एक इमेलमा डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयका १ सयभन्दा बढी कर्मचारीलाई बेलायतमा पहिलो पटक भएको लकडाउनका बेला एक भोज (पार्टी) लागि आफै रक्सी लिएर आउन भनिएको छ । उक्त इमेल मे २०२० मा कर्मचारीलाई पठाइएको थियो ।
प्रधानमन्त्री कार्यालयभित्रको बगैचामा भएको भोजमा जोनसन र उनकी श्रीमती क्यारीसहित झण्डै ४० जना सहभागी भएको बताइन्छ । रक्सीसहितको उक्त भोजका बेला बेलायतमा पहिलो पटक लकडाउन गरिएको थियो ।
तर बाहिर हुने जमघटमा २ जनाभन्दा बढी मानिस भेला हुन नपाइने नियम लागू गरेर कार्यालयभित्रै भोज गरेको इमेल बाहिरिएपछि जोनसनको थप आलोचना भएको छ ।
सरकारी अधिकारीले आफैं कोभिडसम्बन्धी प्रतिबन्धात्मक नियम पालना नगरेको तथ्य बाहिरिएपछि जनआक्रोश समेत बढेको छ । जोनसनको नेतृत्वमा रहेको सरकारले भने कोभिड-१९ का मापदण्ड उल्लंघन नगरेको बताउँदै आएको छ ।
हाल वरिष्ठ सरकारी अधिकारी सु ग्रेइले मे २० मा भएको उक्त भोज कार्यक्रमको छानबिन गरिरहेकी छन्। लण्डन प्रहरीले समेत प्रधानमन्त्री कार्यालयको सम्पर्कमा रहेको जनाएको छ ।
यसैबीच, प्रधानमन्त्रीसहित वरिष्ठ अधिकारीहरूले कोभिड-१९ सम्बन्धी प्रतिबन्धात्मक नियम उल्लंघन गर्दै विभिन्न खाले जमघट गरेको तथ्य बाहिरिएपछि विपक्षी नेताहरू जोनसनमाथि खनिएका छन् । लेबर पार्टीले जोनसनमाथि कोभिड-१९ सम्बन्धी निमय बेवास्ता गरेको आरोप लगाएको छ ।
‘बोरिस जोनसनले बाँकी मानिसका लागि आफैंले ल्याएका नियमलाई निरन्तर बेवास्ता गरिरहेका छन्’, लेबरकी उपनेता एंगेला रेनरले भनिन् । त्यस्तै, लिबरल डेमोक्रेटका नेता सर इड डेभीले प्रधानमन्त्री कार्यालयमा भएको भोजले महामारीका बेला धेरै कुरा त्याग गरेका मानिसको अपमान गरेको बताए ।
‘यो अधिकांश मानिसले नियम पालना गरिरहेका बेला नं १० (प्रधानमन्त्री कार्यालय) का कर्मचारीले भने उल्लंघन गरेको थप प्रमाण हो’, डेभीले भने । मे २० को भोजसहित प्रधानमन्त्री कार्यालयमा भएका अन्य जमघटको छानबिनका क्रममा सु ग्रेइले जोनसनसँग समेत सोधपुछ गर्नुपर्ने उनको भनाइ थियो । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4