
२७ पुस, काठमाडौं। नेपालले गत असोज अन्तिम साता बढाएको भन्सार शुल्कका कारण चाँदीको आयातमा नाटकीय गिरावट आएको छ । चाँदी नेपालमा आयात भएर भारततर्फ तस्करी हुने गरेको सूचनाका आधारमा सरकारले भन्सार शुल्क बढाएको थियो ।
नेपालमा भन्दा भारतीय बजारमा चाँदी महँगोमा बिक्री हुने भएपछि नेपालमा उच्च मात्रामा भित्रिने गरेको चाँदी आयातमा कडाई गरिएको अर्थसचिव मधुकुमार मरासिनीले बताए ।
उच्च आयात र तस्कारी रोक्न गत असोज १९ गते अर्थ मन्त्रालयले चाँदीको भन्सार शुल्क प्रति १० ग्राम ८५ रुपैयाँबाट बढाएर १०७ रुपैयाँ पुर्याएको थियो । त्यसयाता चाँदीको आयातमा उच्च गिरावट देखिएको छ ।
गत साउनमा ३ अर्ब चार करोड ६७ लाख १० हजार रुपैयाँ बराबरको ३१ हजार ६४० किलो चाँदी आयात भएकोमा मंसिरमा यस्तो आयात ५ हजार किलोमा झरेको छ । आयात रकम पनि ४८ करोड १४ लाख ६५ हजारमा सिमित भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ ।
भदौमा यस्तो आयात बढेर ४९ हजार ९५२ किलो पुगेको थियो भने असोजमा ४४ हजार ७४८ किलो चाँदी नेपाल भित्रिएको थियो । कात्तिकमा २४ हजार २० किलो र मंसिरमा आइपुग्दा चाँदीको आयात ५ हजार किलोमा झरेको विभागको तथ्यांक छ । यस अवधिमा नेपालमा एक लाख ८१ हजार ३४० किलो चाँदी आयात भएको विभागको रेकर्डमा देखिन्छ ।
चाँदीको आयात विवरणअनुसार प्रतिकिलो औसत मूल्य ९६ हजार २९३ रुपैयाँ रहेको छ । जसबाट यस अवधिमा १७ अर्ब ४६ करोड १८ लाख रुपैयाँ बराबरको चाँदी नेपाल भित्रिएको थियो ।
नेपालमा आयात भएको चाँदी सजावटका वस्तु तथा गहनाका रुपमा विदेश निर्यात गर्न पाइन्छ तर ढिक्का काँचो चाँदीमा निर्यात पूर्ण बन्देज छ ।
प्रतिक्रिया 4