+
+

ओमिक्रोन बढी सङ्क्रामक : खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह

रासस रासस
२०७८ पुष २८ गते १४:३५

२८ पुस, चितवन । कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरूमा यसको जोखिम बढी हुने चिकित्सकहरूले बताएका छन् ।

खोप नलगाउने व्यक्तिमा तत्काल रोगको सङ्क्रमण हुनसक्ने उनीहरूको दाबी छ । भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारीले खोप (भ्याक्सिन) नलगाएको समुदायमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढी खतरा हुने बताए ।

अहिलेसम्मको अध्ययनले खोप लगाएको तर, ओमिक्रोनबाट सङ्क्रमित भएका व्यक्तिमा जटिल समस्या अत्यन्त कम देखिएको छ भने खोप नलगाएको व्यक्तिमा यसको जोखिम बढी हुने उनले बताए । चिकित्सक अधिकारीले भने, ‘कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा छिटोछिटो फैलिएको छ ।’ २४ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट पत्ता लागेको कोभिडको तेस्रो म्युटेसन भेरियन्ट ओमिक्रोन भएको भन्दै उनले कुनै पनि भाइरस स्वरुपपरिवर्तन अथवा म्युटेसन हुँदा यो बढी गम्भीर भएर जानसक्छ अथवा सामान्य भाइरस बनेर हराएर जान पनि सक्ने बताए । कोभिडमा भएका अहिलेसम्मका म्युटेसन हेर्दा तुरुन्त हराउने प्रकृतिको नभइ स्थिर पान्डेमिकको रुपमा बदलिइरहेर दुःख दिइरहन सक्ने देखिएको उनको भनाइ छ ।

ओमिक्रोन सबैभन्दा धेरै म्युटेसन भएर देखिएकाले यसको सर्ने तरिका, गम्भीरता र भ्याक्सिनको प्रभाव फरक हुनसक्ने देखिएको उनले बताए । उनले भने,’अहिलेसम्मको तथ्याङ्कले यो धेरै छिटो फैलन सक्ने, श्वासप्रस्वासको माथिल्लो अङ्ग नाक र स्वाशनलीमा बढी रहने तर फोक्सोको भित्री भागसम्म कम पुग्ने हुनाले गम्भीर निमोनिया कम हुने गर्दछ ।’ यसले गर्दा अस्पताल भर्ना धेरै नहुने तर, धेरै जनालाई एकैचोटी सङ्क्रमित गर्नसक्ने देखिएको चिकित्सक अधिकारीको भनाइ छ । खोपले समेत कम सुरक्षा दिनसक्ने भन्दै उनले थपे, ‘खोपले काम गर्ने भाइरसको प्रोटिनमा म्युटेसन भएकाले खोपले कम सुरक्षा दिनसक्ने खतरा देखिन्छ ।’ पहिलेको भेरियन्टभन्दा सर्ने अवधि औसत तीन दिन देखिएको बताउँदै उनले भने ‘यो सर्ने समय पहिलेको भेरियन्टभन्दा चाँडो हो ।’

भरतपुर सामुदायिक अस्पतालका फिजिसियन डा. महेन्द्र अग्रहरीले खोप लगाउनेलाई भन्दा नलगाएका व्यक्तिलाई यसले छिटो असर गर्ने बताए । ज्वरो आउने, नाकबाट हल्का पानी बग्ने, घाँटी खसखसाउने, सुख्खा खोकी लाग्ने, ज्यान दुख्ने, थाक्ने जस्ता लक्षण यो भेरियन्टमा देखिने गरेको उनको भनाइ छ । चिकित्सक अग्रहरीले भने, ‘मौसमी फ्लूजस्तो मानेर मानिस परीक्षण नगरी आफ्नो दैनिकी गरिरहे धेरैलाई सार्न सक्छन् ।’ अहिले दैनिक १० प्रतिशतका दरले बिरामी बढ्दै गएको बताउँदै उनले यो रोग छिटो सर्ने भएकाले स्वास्थ्य मापदण्डपालना गर्नसमेत सबैलाई आग्रह गरे ।

उनले भने, ‘पहिलाको जस्तो लक्ष्यण नभएकाले कोभिड नदेखिए पनि पिसिआर नेगेटिभ आउँदैमा ओमिक्रोन होइन भन्न सकिने अवस्था छैन ।’ जिल्लामा हालसम्म ओमिक्रोनको परीक्षण गर्ने प्रयोगशाला नरहेको बताउँदै उनले छिट्टै यस्तो प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिए ।

धेरैभन्दा धेरैलाई खोपको दायरामा ल्याएर जोखिममा रहेकालाई पहिचान गरी उनीहरूलाई बुस्टर डोज दिनसमेत चिकित्सकहरूले सुझाएका छन् । भेला, महोत्सव, मेला, सभासम्मेलन, भौतिक रुपमा विद्यालय र भीड्भाड हुने ठाउँलाई स्मार्ट लकाडाउनमार्फत व्यवस्थित गर्न जरुरी रहेको उनीहरूको भनाइ छ । परीक्षणलाई सजिलो, दायारा फराकिलो र द्रूत रिपोर्टिङको संयन्त्र बनाउँदै अस्पतालमा तेर्सो लहर सामना गर्न व्यापक तयारी गरी विगतमा भएका कमजोरी सच्याउनुपर्ने चिकित्सक अग्रहरीले बताए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले खोप नलगाएकामा जोखिम रहेको बताए । उनले भने, ‘खोप नलगाउनेलाई जोखिम मात्रै नभएर सङ्क्रमण देखिएमा सिकिस्त बन्ने सम्भावना बढी हुन्छ ।’ खोप लगाएकाभन्दा नलगाएका बिरामी अस्पताल धेरै आउने गरेको विदेशी तथ्याङ्कले देखाएको छ । खोपले सके रोग रोक्ने नभए गम्भीर बिरामी हुनबाट रोक्ने उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?