
२९ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. भुपेन्द्र बस्नेतलाई नै निरन्तरता दिन निर्देशन दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मंगलबार केही उच्च अधिकारीको जिम्मेवारी हेरफेर गर्दै डा. गुणराज लोहनीलाई युनिफाइड केन्द्रीय अस्पतालमा पठाएका थिए । यससँगै वीर अस्पतालमा कार्यरत डा. बस्नेतले पाएको युनिफाइड केन्द्रीय अस्पतालका सीईओको जिम्मेवारी खोसियो ।
तर प्रधानमन्त्री देउवाले मन्त्रीस्तरीय निर्णयमाथि हस्तक्षेप गर्दै डा. लोहनीलाई युनिफाइड अस्पताल नलैजान निर्देशन दिएका छन् । डा. बस्नेतलाई सीआईओमा निरन्तरता दिने गरी निर्देशन दिँदा १२औं तहको कर्मचारी सरुवा प्रधानमन्त्रीलाई जानकारी नदिई गरिएको र राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागेको तर्क गरिएको छ । ‘प्रधानमन्त्री कार्यलयबाट डा. लोहनीको सरुवा रोक्न भनी निर्देशन आएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सम्भवतः सरुवा निर्णय रोकिन्छ होला ।’
डा. लोहनीलाई सीईओ बनाउने निर्णयको बुधबार केही कर्मचारीले विरोध गरेका थिए । डा. बस्नेतको पक्षमा कांग्रेस निकट चिकित्सकहरूले लबिइङ गरेका थिए ।
प्रतिक्रिया 4