+
+

कोरोना खोप लगाएकाहरु पनि किन भइरहेका छन् संक्रमित ?

डा. किरणराज पाण्डे, जनस्वास्थ्यविद् डा. किरणराज पाण्डे, जनस्वास्थ्यविद्
२०७८ पुष २९ गते २१:४१

कोरोनाभाइरस (कोभिड–१९) को महामारी शुरु भएको दुई वर्षमा विभिन्न चरण पार गर्दै हामी यो अवस्थासम्म आइपुगेका छौं । दुई महीनादेखि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले व्यापकता पाएको छ ।

डेल्टा भेरियन्टपछि तीव्र गतिमा कोरोना फैलिंदैन भन्ने आम मानिसको आशा थियो । तर जनस्वास्थ्य र महामारीलाई नजिकबाट अध्ययन गर्ने हामीहरुले भने नयाँ भेरियन्ट क्रमिक रुपमा आउँछन्, अझै बढी संक्रामक भएर स्वरुप फेरिनसक्छ । विशेषगरी महामारीको अवस्थामा भाइरसको जेनेटिक म्युटेसन अर्थात् आनुवंशिक उत्परिवर्तन भइरहने क्रम चलिरहन्छ भन्ने मान्छौं ।

कोरोनाको महामारीलाई नै हेर्ने हो भने ६ वटा भेरियन्ट धेरै फैलिएको देखिए पनि यसबाहेक अरु थुप्रै भेरियन्ट बनेका छन् । धेरै परिवर्तन र फैलावट नभएका भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्न मानेको छैन ।

अहिले विश्वभर फैलिएको ओमिक्रोनलाई भने भेरियन्ट अफ कन्सर्नमा राखेको छ ।  पहिलाका अन्य भेरियन्टभन्दा डेल्टा बढी संक्रामक र घातक थियो । तर अहिलेसम्मको अध्ययनले ओमिक्रोन, डेल्टाभन्दा पनि धेरै संक्रामक पाइएको छ, तर त्यति नै घातक भने देखाएको छैन । कोही संक्रमित हुनु व्यक्तिगत रुपमा नराम्रो हो । तर जनस्वास्थ्यको नजरमा संक्रमण धेरै फैलिए पनि डेल्टा भेरियन्टले जति क्षति पुर्‍याउँदैन कि भन्ने आकलन गर्न सकिन्छ ।

हामीले के बिर्सनुहुँदैन भने ओमिक्रोनले यसअघिका लहरहरुभन्दा २०० देखि ३०० प्रतिशत संक्रमण फैलाउने भएकाले यो भेरियन्ट कम घातक हुँदाहुँदै पनि अस्पताल जानुपर्ने र गम्भीर समस्या आउनेहरुको संख्या यसअघिकै लहरमा जस्तै हुन सक्ने आकलन गर्न सकिन्छ । ओमिक्रोनले आउँदा दिनमा कति प्रभाव पार्छ भन्ने अझै स्पष्ट भइसकेको छैन । त्यसैले हामीले ठूलो चुनौतीको सामना गर्ने गरी पूर्वतयारी गर्नुपर्छ ।

खोपको प्रभावकारिता

कोरोना महामारी शुरु भएको दुई वर्ष भन्दा बढी भइसक्यो र कोरोना विरुद्धको खोप प्रयोग गर्न थालेको पनि एक वर्षभन्दा बढी भइसक्यो । तर अहिलेसम्म पनि किन संक्रमण फैलिरहेको छ भन्ने जनमानसमा प्रश्न उब्जिनु स्वाभाविक हो । तर तथ्य र तथ्यांकलाई केलाउने हो भने यो अनपेक्षित होइन ।

खोपबारे हामीले दुई–तीन वटा कुराहरु बुझ्नुपर्ने हुन्छ । खोप विकास गर्दा नै यो लगाएपछि संक्रमण नै हुँदैन भनेर बनाइएको थिएन । प्रभावकारिता हेर्दा नै अस्पताल जानु नपर्ने वा जानु परे पनि गम्भीर समस्या नहुने भनेर खोपको विकास गरिएको हो । त्यो हिसाबले अझै पनि खोपलाई प्रभावकारी मान्नुपर्छ ।

किनकि ओमिक्रोन पहिलो पटक भेटिएको दक्षिण अफ्रिकामै फाइजरको दुवै डोज खोप लगाएकाहरुमा ७० प्रतिशतसम्म प्रभावकारिता देखिएको छ । तेस्रो डोज (बुस्टर) लगाएका मानिसमा त खोपको प्रभावकारिता ९० प्रतिशतसम्म छ ।

अहिलेसम्म हेर्दा ओमिक्रोन, स्पाइक प्रोटिनमा ३२ वटा म्युटेसन मिलेर बनेको नयाँ भेरियन्ट हो । अहिलेसम्म विकास भएका खोपहरु स्पाइक प्रोटिनविरुद्ध नै थिए । जुन प्रोटिनविरुद्ध खोप विकास गरेको हो, त्यही प्रोटिन परिवर्तन भएकाले ओमिक्रोन भेरियन्ट विरुद्ध खोपको प्रभावकारिता कम हुने नै भयो । स्पाइक प्रोटिनले संक्रमणदर बढाउन वा शरीरका भित्र गएर कोषहरुमा टाँसिन महत्वपूर्ण भूमिका खेल्छ । त्यस कारणले पनि अहिले संक्रमणले व्यापकता पाएको हो ।

यसका बाबजूद ओमिक्रोन भेरियन्टमा खोप लगाएकालाई संक्रमित बनाउन सक्ने क्षमता भए पनि शरीरमा छिटो–छिटो संख्या बढाउने क्षमता कमजोर भएको पाइएको छ । किनभने आनुवंशिक परिवर्तनले गर्दा शरीरको कोषभित्र प्रवेश गर्न गाह्रो बनाउँछ । ओमिक्रोनले घाँटी, नाकतिर संक्रमण गर्ने देखिए पनि फोक्सोमा प्रवेश गर्न गाह्रो भएकाले गम्भीर बनाउने सम्भावना कम छ ।

खोप लगाएकाहरु पनि संक्रमित हुनुको अर्को कारण हो, एन्टीबडीको मात्रा घट्दै जानु । खोप लगाएपछि हाम्रो शरीरमा एन्टिबडी (रोग प्रतिरोधात्मक क्षमता) बढ्छ । खोप लगाएको १५ हप्तापछि एन्टिबडीको मात्रा घट्दै जान्छ । अहिलेसम्म भएको अध्ययनहरुले के देखाएको छ भने डेल्टा भेरियन्ट विरुद्ध काम गर्न जति एन्टिबडी आवश्यक हुन्थ्यो, ओमिक्रोन विरुद्ध त्योभन्दा १० गुणा बढी एन्टीबडी आवश्यक पर्ने देखिएको छ । एन्टीबडी कम भएकाले पनि खोप लगाएका मानिसहरु संक्रमित भएका हुन् ।

साथै कुन खोप लगाएको भन्नेमा पनि एन्टीबडी निर्भर रहन्छ । अहिलेसम्मको अध्ययनले फाइजर तथा मोडर्नाको खोपको प्रभावकारिता धेरै पाइएको छ भने कोभिसिल्डको केही कम । भेरोसेलबारे त्यति धेरै तथ्य तथ्यांक उपलब्ध छैन । तर, हाम्रो क्लिनिकल अनुभवमा भेरोसेलको प्रभावकारिता कोभिसिल्डको भन्दा पनि कम देखिएको छ । जबकि नेपालमा भेरोसेलको प्रयोग धेरै भएको छ ।

यति हुँदाहुँदै पनि कोरोना भाइरस विरुद्ध जुन खोप उपलब्ध छ, त्यो नै लगाउनु उपयुक्त हुन्छ । किनकि थोरै मात्रामा प्रभावकारी भए पनि संक्रमण भएको अवस्थामा गम्भीर हुनबाट जोगाउँछ । शुरुमा खोप बनाउने बेलामा ५० प्रतिशत प्रभावकारी भए पनि प्रयोग गर्न सकिन्छ भन्ने विश्व स्वास्थ्य संगठनले मापदण्ड तोकेको थियो ।

अहिले विश्व बजारमा उपलब्ध भएका कतिपय खोप ९० प्रतिशतसम्म प्रभावकारी भएकाले अरु खोप कम प्रभावकारी जस्तो लागेको हो । साथै व्यक्तिगत रुपमा प्रभावकारिता कम भएपनि धेरै मानिसले खोप लगाउने हो भने त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको पर्खाल बनाउँछ र एकअर्कामा संक्रमण सर्ने सम्भावना घटेर जान्छ ।

किन आवश्यक छ बुस्टर डोज ?

खोपको पहिलो डोज लगाएको ६ महीना र दोस्रो डोज लगाएको पाँच महीनापछि तेस्रो डोज (बुस्टर) लगाउँदा शरीरमा एन्टिबडीको मात्रा लगभग २० गुणाले बढेको देखिन्छ । विशेषगरी फाइज र मोडर्नाको खोप लगाएका व्यक्तिले त्यही कम्पनीको बुस्टर डोज लगाएमा प्रभावकारिता बढेको देखिन्छ ।

फाइजर वा मोडर्नाको बुस्टर डोज लगाउँदा २० देखि २४ गुणासम्म एन्टिबडी बढेको देखिन्छ भने कोभिसिल्डको दुई डोज लगाएका मानिसले तेस्रो डोज लगाउँदा तीन गुणासम्म एन्टिबडी बनेको देखिएको छ । साथै फाइजर र मोडर्नाको बुस्टर डोज ओमिक्रोन विरुद्ध पनि प्रभावकारी रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

नेपाल र दक्षिण अफ्रिकाको तुलना

त्यसो हो भने नेपालमा खोप लगाएकामा किन गम्भीर समस्या देखिएको छ भन्ने प्रश्न आउँछ ।

हामीकहाँ अवस्था फरक छ । परीक्षण नै कम भएको छ । स्वास्थ्य अवस्था कमजोर नभएसम्म अस्पताल जाँदैनौं । ढिलो अस्पताल पुगेकाले खोप लगाएका मानिसमा पनि गम्भीर समस्या देखिएको हो ।

स्वास्थ्य सेवा राम्रो र सहज भएको ठाउँहरुको तथ्यांक फरक छ । अमेरिकाको तथ्यांक हेर्दा खोप नलगाएका ९० प्रतिशत मानिसहरु अस्पताल भर्ना हुनु परेको छ भने खोप लगाएका १० प्रतिशत जति मात्र । चिलीलाई हेर्नुस्, त्यहाँ लगभग ९० प्रतिशत मानिसले दुई डोज खोप लगाएका छन् भने बुस्टर डोज लगाउने मानिसको संख्या ६० प्रतिशत पुगेको छ । त्यहाँ ओमिक्रोनको संक्रमण फैलिएको छ । तर, अस्पताल भर्ना हुने दर एकदमै कम छ मृत्युदर केही महीना अगाडि जस्तै छ ।

पोर्चुगल लगायत खोपको पहुँच पुगेका देशमा संक्रमण फैलिए पनि मृत्युदर भने बढेको छैन ।

दक्षिण अफ्रिका र नेपालको अवस्था एउटै देखिएको छ । दक्षिण अफ्रिकामा ४५ प्रतिशतले दुई डोज लगाएका छन् भने नेपालमा ३५ प्रतिशतले । उमेर बनावट पनि नेपालको युरोपेली देशभन्दा दक्षिण अफ्रिकासँग मिल्दोजुल्दो छ । त्यसकारण दक्षिण अफ्रिकामा जे भयो, नेपालमा पनि त्यस्तै हुने आकलन गर्न सकिन्छ ।

दक्षिण अफ्रिकामा नोभेम्बर २० देखि संक्रमण निकै फैलिएर डिसेम्बरको मध्यतिर घट्न थालेको थियो । मृत्युदर पनि शुरुआती हप्तामा बढेपनि हाल कम हुँदै गएको छ । यो हिसाबले हेर्दा ओमिक्रोन फैलिरहेको छ, तर अस्पताल जाने वा गम्भीर हुने सम्भावना कम हुन्छ भन्ने देखिएको छ । तर डरलाग्दो कुरा के छ भने घरमा एक जना संक्रमित भएमा अन्य व्यक्ति पनि संक्रमित हुने सम्भावना उच्च छ । त्यसैले ओमिक्रोनलाई नजर अन्दाज गर्न मिल्दैन ।

कोरोना पुरै निस्तेज नहुनसक्छ

ओमिक्रोनको संक्रमण निकै तीव्र गतिमा उकालो लाग्दैछ भने कतिपय देशमा त्यही गतिमा ओरालो पनि लाग्दैछ । विशेषगरी दक्षिण कोरियाको तथ्यांकले यस्तो देखाउँछ । कोरोनाको शुरुआतका चरणमा एक जना व्यक्ति संक्रमित भएको ५–६ दिनसम्म अर्को व्यक्तिलाई संक्रमण सार्ने देखिएको थियो । अहिले दुई दिन जतिमा सारिसक्ने देखाएको छ ।

त्यसैले जसरी संक्रमण उकालो लागेको छ, त्यही गतिमा घट्नसक्छ भन्ने आशा गर्न सकिन्छ । यसका लागि स्वास्थ्य सम्बन्धी मापदण्डहरुको कडाइपूर्वक पालना गर्ने वा सकेसम्म खोप लगाउनुपर्छ ।

तर कोरोना पूरै निस्तेज भएर जान्छ भन्ने आश गर्न सकिंदैन, अलिअलि सधैं नै रहिरहन्छ । खोपको पहुँच कम भएका र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति रहेको ठाउँमा नयाँ भेरियन्ट बन्ने सम्भावना जहिल्यै रहन्छ ।

दक्षिण अफ्रिकाबाटै दुईवटा महत्वपूर्ण भेरियन्ट उत्पत्ति भएको छ । किनकी त्यहाँ एचआईभी एड्स भएको मानिसहरु २० प्रतिशतभन्दा बढी छन् । यस्ता मानिसहरुमा आनुवंशिक परिवर्तन जम्मा भएर बसिरहने र केही समयपछि बाहिर निस्कने सम्भावना हुन्छ ।

साथै नयाँ जन्मिएका बालबालिका तथा प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा पनि संक्रमण हुनसक्छ । धेरै जीवाणु रहेका संक्रामक रोग यस्तै प्रकृतिका हुन्छन् । टीबी, इन्फ्लुएन्जा पनि यस्तै हुन्छ । एक सय वर्ष अगाडि महामारीको रुप लिएको इन्फ्लुएन्जा अहिले पनि हामीसामू छ । इन्फ्लुएन्जाले सामान्यतया बालबालिका र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई संक्रमित गराउँछ । कोभिड-१९ ले पनि यस्तै हुन्छ भन्ने आशा गर्न सकिन्छ ।

(जनस्वास्थ्यविद् डा. पाण्डेसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानाीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?