+
+

‘काम खोज्न भारत गएका तीन छोरा उतै हराए’

गुल्टी धामी, दोधारा–चाँदनी नगरपालिका–९ गुल्टी धामी, दोधारा–चाँदनी नगरपालिका–९
२०७८ पुष ३० गते १९:५५

म सानै उमेरदेखि कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा बस्दै आएकी छु। बाजुराबाट आमाबुवा बसाइँ आएपछि उहाँहरूसँगै करीब ५०/५५ वर्ष अगाडि तराई झरेकी थिएँ । अहिले म ७० वर्षकी भएँ । यहाँ बसाइँ सरेर आएपछि आमाबुवाले सानै उमेरमा विवाह गरिदिनुभयो ।

श्रीमान् पनि उमेरले सानै हुनुहुन्थ्यो । उहाँ भारतमा मजदूरी गर्नुहुन्थ्यो । म मेलापात गरेर घर व्यवहार चलाउँथे । श्रीमान् कामका लागि भारत ओहोरदोहोर गरिरहनुहुन्थ्यो । त्यो बेला सासू–ससुरा पनि जवान नै थिए । वैवाहिक जीवन राम्रै चलिरहेको थियो । विवाह भएको केही वर्षमै छोरालाई जन्मदिएँ ।

त्यसपछि पनि उसका पाँच जना भाइहरू जन्मिए । ६ जना छोरा श्रीमान्ले भारतमै ज्यालादारी गरेर जेनतेन हुर्काउनुभयो । त्यो बेला स्कूल पढाउने चलन चलिसकेको थिएन । तर श्रीमान्ले छोराहरूलाई ५/६ कक्षासम्म भए पनि दु:ख गरेर पढाउनुभयो । श्रीमान्ले कमाएको पैसाले मात्र छोराहरूको पालनपोषण गर्न नभ्याउने भएपछि केही वर्ष हामी बूढाबूढी नै भारत गएर काम गर्‍यौं। छोराहरू विस्तारै जवान भएपछि हामी बूढाबूढीको दु:ख, वेदना बुझ्ने भएँ ।

जेठो छोरो दोधारा–चाँदनीमै खेतीपाती गर्दथ्यो । अरू छोराहरू सानै उमेरदेखि बुवाले जस्तै रोजगारी गर्न भारत जान थालेका हुन् । करीब २२ वर्ष पहिलेको कुरा हो, मेरो बूढा (श्रीमान्) एक्कासी बिरामी पर्नुभयो । बिरामी भएको केही समयपछि उहाँ बित्नुभयो । बुवाको काजकिरिया सकेर जेठो छोरो पनि घरका नाति–नातिनाको पालनपोषण र घर–व्यवहार चलाउन कामको खोजीमा भारत गएको थियो ।

म कति अभागी रहेछु, श्रीमान् गुमाएपछि बुढेसकालको सहारा जेठो छोरो बेपत्ता भयो । हुँदाहुँदा रोजगारीका लागि भारत गएको माइलो छोरा धनबहादुर र साहिंलो छोरा पदम पनि घर नफर्किएको वर्षौं बित्यो

गाउँका अरू मानिसहरू भारतको सिमला पहाडमा स्याउ टिप्न भनेर गएका थिए । तर छोरासँगै गएका गाउँका मानिस घर फर्किए; ऊ अहिलेसम्म फर्किएको छैन । कहाँ गयो होला ? जिउँदो छ कि मर्‍यो होला ? कहिलेकाहीं टुप्लुक्क घरको आँगनमा आइपुग्छ कि भनेर सोच्छु तर खै अब आउला र ? छोरो भारत जाने बेला नाति तीन वर्षको हुँदो हो, नातिनी त्योभन्दा सानी थिई । उनीहरूलाई सुख, दु:ख गरेर म आफैंले हुर्काएँ ।

नाति सुस्तमनस्थितिको छ । दुःख गरेर हुुर्काएकी नातिनी उहिल्यै बितीसकी । छोरो बेपत्ता भएपछि नाति–नातिना बुवा छँदैका टुहुरा भए । उसको सानो र सुखी परिवारको बिचल्ली भयो । बुहारी अहिले नातिलाई लिएर भारतमै काम गर्छिन् ।

म कति अभागी रहेछु, श्रीमान् गुमाएपछि बुढेसकालको सहारा जेठो छोरो बेपत्ता भयो । हुँदाहुँदा रोजगारीका लागि भारत गएको माइलो छोरा धनबहादुर र साहिंलो छोरा पदम पनि घर नफर्किएको वर्षौं बित्यो । धनबहादुर दिल्लीमा काम गर्थ्यो । हात भाँचिएपछि नेपालमै उपचार गरेर दिल्ली गएपछि सडेकोले उसको एउटा हात काटेर फालेको थियो ।

अपाङ्ग भए पनि आफ्ना छोराको पालनपोषण र श्रीमतीलाई दैनिक खर्च बनाउन त्यहाँ पसलहरूमा काम गर्दथ्यो । बीचमा घर आउने–जाने पनि गर्‍यो । ऊ १२ वर्षको उमेरदेखि नै भारत आउने–जाने गर्थ्यो । मेरा अरू छोराहरू भन्दा धनबहादुर टाठोबाठो पनि थियो । तर पनि १२ वर्षदेखि उसको पनि अत्तोपत्तो छैन ।

दिल्लीबाटै कहाँ गयो खोइ ? जेठो छोरा (मेरो नाति) चार वर्षको हुँदा ऊ हराएको हो । त्यो नाति अहिले १६ वर्ष पुग्यो । उसको बुवा बेपत्ता भएपछि मैले नै नातिलाई हुर्काउनुपर्‍यो । जेसुकै होस् भगवानले दिएको दु:ख भनेर पीडा लुकाएर पनि नातिको पालनपोषण गरे । अहिले ऊ मसँगै छ । उसकी आमा पनि काम गर्न भारततिरै छ ।

जेठो र धनबहादुर भन्दा कान्छो छोरा पदम उनीहरू भन्दा पनि पहिले हराएको हो । १३ वर्षको उमेरमा पैसा कमाउँछु भनेर दिल्ली गएपछि कहिल्यै पनि नेपाल फर्केर आएन । दिल्ली गएपछि उसलाई न गाउँका मान्छेहरूले देखे न त उसले नै हामीसँग सम्पर्क गर्‍यो । उसको विवाह नगरेका कारण धनबहादुरको जस्तो छोराछोरी र बुहारीको लालनपालन मैले गर्नुपरेन । तर ऊ पनि मेरै कोखबाट जन्मिएको सन्तान हो । माया लाग्छ, घरी–घरी याद आउँछ । अहिले कहाँ होला ? के गर्दै होला ? भनेर सोच्दा भक्कानो फुटेर आउँछ । तर के गर्नु आखिर दैवले दिएको चोट सहनै पर्ने रहेछ ।

छोराहरूको खोजीमा आफैं भारततर्फ जाऊँ जस्तो लाग्छ तर हामी अनपढ, दुई अक्षर चिन्न नसक्ने मान्छे कहाँ–कहाँ खोज्नु जानु । केही वर्ष पहिले एक जना गाउँकै मान्छेले जेठो छोरालाई दिल्लीमा काम गरिरहेको अवस्थामा भेटेको खबर ल्याए । छोरालाई घर ल्याउन पैसाको बन्दोबस्त गरेर उनी भएको ठाउँमा जाने तयारी गरें । तर देख्ने मान्छेले हामीसँग जान नमानेपछि त्यो बेला खोजीमा जान सकिएन ।

उनी भन्दा कान्छा छोराहरूलाई हराएदेखि कसैले पनि देखेका छैनन् । छोराहरू हराएका छन् भन्ने थाहा पाएपछि घरमा के–कसरी हराएका हुन् भनेर सोध्ने धेरै आउँछन् । तर हामी खोजिदिन्छौं भन्नेहरू कोही आएका छैनन् । अब म ७० वर्षकी बूढी मान्छे कहाँ–कहाँ जानु ? प्रहरीमा गएर खोजीका लागि निवेदन दिनुस् भनेर पछि धेरैले भनेका थिए । तर अहिलेसम्म दिएको छैन ।

पुलिसहरू हिजोआजका घटनामा त राम्ररी काम गर्दैनन् भन्छन् । भारत गएर धेरै वर्ष पहिले हराएका मेरा छोराहरूको खोजी गरिदेलान् भन्ने विश्वास पनि छैन । के गर्ने दुःखी कर्म यस्तै भयो भनेर चित्त बुझाउँछु ।

जीवितै रहेका कान्छा छोराहरू पनि भारतको बैङ्लोरमा काम गर्छन् । उनीहरूका नातिनातिना पनि मैले नै स्याहारसुसार गरिरहेकी छु । जीवन नै दाउमा राखेर जन्माएर हुर्काएका छोराहरू लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा बेपत्ता भएपछि कतिबेला त अब ती नातिनातिनाको के विश्वास भन्ने लाग्छ ।

अचेल स्थानीय सरकार र प्रदेश सरकार पनि आएका छन् । ती सरकारले बेपत्ता छोराहरूको खोजी गरिदिए आभारी हुनेथिएँ । तर हामी जस्ता मान्छेलाई कसले नै वास्ता गर्छ र खै ? एउटा मनले सधैं सोच्छु, बेपत्ता भएका तीनै छोराहरू घर आइदिए हुन्थ्यो । उनीहरूलाई कसैले खोजिदिए हुन्थ्यो । तर सबै कुरा मान्छेले सोचे जस्तो नहुने रहेछ । आफ्नो तागत छैन । के गरुँ अब ?

विदेशमा हराएका मान्छेलाई सरकारले खोजेर लास भए पनि बाकसमा ल्याएर परिवारलाई बुझाउँछ भन्ने सुनेकी छु । हाम्रा छोराहरूको न सास न लास नै भेटिने भो । कहिलेकाहीं सरकारले पनि कसैलाई काखा कसैलाई पाखा लगाउँदो रहेछ भन्ने लाग्छ । यदि सरकारले मेरा छोराहरूलाई खोजेर ल्याइदिएमा जयजयकार गर्ने थिएँ । छोराहरू जिउँदा छन् कि छैनन् तर म मर्नुभन्दा अगाडि एकदिन उनीहरू घर फर्किनेछन् भन्ने आशा भने राखेकी छु ।

(कञ्चनपुर जिल्लाको दोधारा–चाँदनी नगरपालिका–९ नमूना टोल बस्ने धामीसँग अनलाइनखबरकर्मी जनक विष्टले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?