+
+
एकालाप :

त्यो रात आखिर के भएको थियो ?

भूमिकाकुमारी विष्ट भूमिकाकुमारी विष्ट
२०७८ माघ १ गते १४:०६

बसन्तीका श्रीमान् पाँच वर्षपछि भारतबाट घर फर्किएका थिए । धेरैपछि श्रीमानलाई देख्दा उनको मन तरङ्गित भइरहेको थियो । श्रीमान् घर पुग्ने बित्तिकै अँगाल्न मन थियो उनलाई । तर कति उत्ताउली भएकी भन्लान् भनेर उनले आफूलाई सम्हालिन् । बरु श्रीमान्ले नै गम्ल्याङ्ग अँगालो हालिदिए हुन्थ्यो भन्ने सोचेर उनी श्रीमान्कै वरिपरि घुमिरहिन् । श्रीमान्ले कुरा गर्दागर्दै बेलाबेला उसको शरीरमा आँखा डुलाउँदा उनी लजाएर बाहिर निस्कन्थिन् । बसन्तीले श्रीमान्लाई मन पर्ने खाना छिनभरमै तयार गरिन् । पाँच वर्षको उनको छोरो पाँच वर्षपछि बाउसँग कुरा गर्दै खेल्दै थियो । बाउछोराको कुरामा बीचबीचमा बसन्ती पनि सहभागी हुन्थिन् ।

खाना पकाउँदै गर्दा उनले आफ्नो प्रेमका शुरुआती दिनलाई सम्झिइन् । बसन्ती सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा ब्राहृमण परिवारमा जन्मिएकी हुन् । ९ कक्षा पढ्दै गर्दा स्कूल बाहिरको पसलमा काम गर्ने प्रेमसँग उनको माया बसेको थियो । प्रेम गाउँकै दलित परिवारको छोरा हुन् । गरीबीका कारण उनले स्कूल पढ्न पाएका थिएनन् । ‘तल्लो जात’ भन्दै छोइछिटो गर्ने चलन गाउँमा सर्वत्र थियो ।

उनीहरू दिन प्रतिदिन मायामा डुब्दै जान थाले । शुरु-शुरुको आँखा जुधाइ विस्तारै स्कूल अघिपछिको समयमा भेटघाटमा परिणत हुन थाले । दलितको छोराको बाहुनीकी छोरीसँगको हिंडडुलको हल्ला, डढेलोको आगो जस्तै गाउँभरि फैलियो ।

प्रेमले काम गर्ने पसलका साहू पनि बाहुन थिए । प्रेमको बाहुनकी छोरीसँग लसपसको कुराले उनी निकै रिसाए । उनले पे्रमलाई कामबाट मात्र निकालेनन्, गाउँमा बसे बसन्तीको परिवारले उसलाई मारिदिने धम्की समेत दिए । १७ वर्षीय प्रेमले गाउँको संस्कार र बाहुनहरूको प्रवृत्तिलाई राम्रोसँग बुझेका थिए । प्रेम त्यही रात गाउँ छोडेर तराई झरे ।

प्रेम अचानक गाउँबाट बेपत्ता भएपछि बसन्ती निकै निराश भइन् । उनलाई प्रेमले धोका दिएको आभास भयो । प्रेम गाउँबाट भागेपछि कति दिन बसन्ती स्कूल पनि गइनन् । कति रात उनले रोएर नै काटिन् । उता ज्यान बचाउन भनेर तराई झरेका प्रेमलाई बसन्तीको विछोडले पोलिरहेको थियो । बसन्तीसँग गरेका माया-प्रेमका वाचाहरूले उनलाई सधैं पोल्न थाल्यो । प्रेम पनि दिनभरि टोलाएरै घरमा बस्थे । प्रेमकी बूढीआमाले उनलाई भूतप्रेत लाग्यो होला भनेर झारफुक पनि गरिन् । तर प्रेमलाई आफ्नो समस्याबारे थाहा थियो । पहाडबाट भागेर बसन्तीका आफन्तबाट जोगिए पनि बसन्तीसँगको विछोडमा बाँच्न मुश्किल छ भन्ने अनुभूति भएपछि प्रेम फेरि पहाड उक्लिए ।

तराईबाट पहाड सजिलै उक्लिए पनि प्रेमलाई गाउँमा पुगेर बसन्तीलाई भेट्न भने सकस भयो । गाउँमा खुलेआम हिंड्न पनि प्रेमलाई डर थियो । त्यसैले बसन्तीलाई लुकीछिपी भेट्न मौका खोजिरहन्थे । धोखा दिएर भागेको सम्झिएकी बसन्तीले प्रेमलाई बाटोमा देख्दा पनि बोल्न इच्छा गरिनन् । तर प्रेमले हार मानेनन् । निरन्तरको प्रयास पछि बसन्तीको मन पग्लियो । पहिलो भेटमै प्रेमले गाउँ छोडेर भाग्नुको बेलिबिस्तार लगाए । प्रेमको कुरा सुनेपछि बसन्तीले पहिलो पटक प्रेमलाई अँगालो हालेकी थिइन् ।

वर्षौंपछि श्रीमान् घर आउँदा बसन्तीलाई त्यसरी नै अँगालो मार्ने चाहना थियो तर उनका कदम रोकिए ।

त्यो भेटपछि बसन्ती र प्रेम भागेर तराई झरे । बाटोमा भेटिएको मन्दिरमा भगवानलाई साक्षी राखेर प्रेमले बसन्तीको सिउँदो भरिदिए । दुवै जना सीधै तराईको घरमा पुगे । तर अन्तरजातीय बिहे गरेको जोडीलाई सजिलै समाजले स्वीकार्ने अवस्था थिएन । बसन्तीका परिवारले उनलाई फर्काएर लैजाने धेरै कोशिश गरे । तर बसन्तीले प्रेमको साथ नछोड्ने अड्डी कसेपछि दुवैको मायाले सार्थकता पाएको थियो । बसन्तीको परिवार र आफन्त सधैंको लागि उनीहरूसँग टाढिए । तर बसन्तीलाई कत्ति पनि पीर लागेन ।

उनी आफ्नो माया पाएर खुशी थिइन् । उनीहरूको मायाको नासो बसन्तीको पेटमा हुर्किन थालिसकेको थियो । तर माया-प्रेमले मात्र संसार नचल्दो रहेछ । प्रेमको परिवार गरीब थियो । खान लाउन धौ-धौ हुने अवस्था भइसकेको बेला प्रेमले काम गर्न भारत जाने निर्णय गरे । अलग भएर बस्न त बसन्तीलाई मन थिएन तर परिवार चलाउनको लागि उनीहरू अलग हुनै पर्ने थियो । दुई जीउकी बसन्तीलाई बूढीआमाको भरमा छोडेर प्रेम काम खोज्न भारत गएका थिए । बसन्ती सुत्केरी हुने समय आउदा प्रेम गाउँ फर्किए तर उनले राम्रो काम पाउन सकेका थिएनन् । त्यो बेला प्रेम तीन महीना घर बसे । बच्चा ठूलो हुँदै गएपछि उनी फेरि काम गर्न भन्दै भारत पसे । यसपटक उनी पाँच वर्षपछि घर फर्किएका थिए । त्यसैले पनि बसन्ती दङ्ग थिइन् ।

बसन्तीले खाना पकाइसकेपछि दुवै जना पिंढीमा बसेर कुरा गर्न थाले । बसन्ती आफू एक्लो हुँदाका सबै पीडा प्रेमलाई सुनाउँदै गइन् । प्रेम पनि उसको कुरामा टाउको हल्लाउँदै थिए । अरू दिन अबेरसम्म पनि बसन्तीलाई बाउको कुरा सोध्ने छोरो आज भने छिट्टै निदाए । प्रेम र बसन्ती भने पिंढीमा बसेर कुराकानीमै हराइरहेका थिए । प्रेमिल क्षणको प्रतीक्षामा भए पनि दुवै जना विछोडको समयमा बिताएका पलहरूको बेलिबिस्तार लगाउँदै थिए ।

प्रेमले यो पटक राम्रो काम पाएको कुरा सुनाएपछि बसन्तीले आफ्नो लागि स्क्रिनटच मोबाइल किनिदिनुपर्ने माग राखिन् । झोलामा रक्सी पनि बोकेर आएका प्रेम भने बिस्तारै रक्सीले झुम्न थालेका थिए । बसन्तीले भनेका कुनै पनि कुरामा उनले आपत्ति जनाएनन् । बरु बसन्तीले मागेभन्दा बढी बाचा गर्दै गए । कुरै कुरामा दुवै जना पिंढीमै निदाए । बसन्तीले श्रीमान्लाई मन पर्ने भन्दै पकाएको खाना पनि खाने मेसो मिलेन ।

बिहान बसन्ती बिउँझिंदा उज्यालो भइसकेको थियो । बसन्तीले उठेर प्रेमलाई खोजिन् । तर भेटिएनन् । घरमा शौचालय थिएन, त्यसैले खोलातिर गएका होलान् सोचेर बसन्ती घरको सरसफाइमा लागिन् । राति भोकै सुतेको श्रीमान्लाई बिहान तात्तातो केही खुवाउने सोचेर उनले बारीमा गएर एक मुठो तोरीको साग टिपिन् । मकैको रोटी र तोरीको साग प्रेमलाई मन पर्ने खाना हो । उनी छिटोछिटो पकाउन लागिन् ।

तर उनले पकाइसक्नु अघि नै गाउँका मान्छेले कराउँदै बसन्तीलाई बोलाए । धेरैजना कराएको सुनेर बसन्ती आत्तिंदै घरबाट बाहिर निस्किन् । गाउँलेले बसन्तीले पत्याउनै नसक्ने खबर प्रेमलाई गाउँ छेउको जंगलमा झुण्डिएको अवस्थामा देखेको सुनाए । गाउँलेको कुरामा बसन्तीलाई विश्वासै लागेन । उनी दगुर्दै गाउँलेले भनेको ठाउँतिर गइन् ।
नभन्दै आफूले माया गरेको मान्छेलाई झुण्डिएको अवस्थामा देखेर बसन्ती ढुङ्गा जस्तै भइन् । प्रहरीले लासको मुचुल्का उठाउँदा बसन्तीलाई पनि धेरै प्रश्न गरे । हिजो मात्र भारतबाट आएको मान्छेले एक्कासी आत्महत्या गरेको कुराले बसन्तीलाई पनि प्रहरीले धेरै केरकार गरे । श्रीमान् गुमाएको आघातमाथि प्रहरीको केरकारले उनको मन छियाछिया भयो ।

श्रीमान् आउने बित्तिकै उसलाई अँगालोमा कस्न चाहेकी बसन्तीले लासलाई पनि अँगालो मार्न पाइनन् । पोस्ट-मोर्टम गर्नुपर्ने भन्दै प्रहरीले लासलाई छुन पनि दिएन । बसन्ती छिनछिनमै बेहोश हुन थालिन् । बसन्तीे होशमा आउँदा प्रेमको लासलाई बाँसमा बाँधिसकेका थिए ।

अनुहार मात्र हेर्न मिल्ने गरी कात्रोमा बाँधिएको प्रेमलाई अन्तिम पटक बसन्तीले अँगालो मारिन् । तर त्यो अँगालोलाई प्रेमको मृत शरीरले महसूस पनि गरेन । पहिलो पटक बसन्तीले अँँगालो मार्दा प्रेमले पनि बसन्तीलाई कसेर अँगालो मारेको थियो । बसन्ती प्रेमको मृत शरीरबाट पनि त्यही कसिलो अँगालोको अपेक्षा गरिरहेकी थिइन् । तर बसन्तीका सबै अपेक्षाहरू पूरा हुन सकिरहेका थिएनन् । गाउँलेले प्रेमको लासलाई लिएर गए । बसन्ती फेरि मूर्छा परिन् । बसन्ती होशमा आउँदा सबैले एउटै प्रश्न गरिरहेका थिए- त्यो रात आखिर के भएको थियो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?