+
+
कथा :

राजहरि अधिकारीका दुई दिन

वसन्त गौतम वसन्त गौतम
२०७८ माघ १ गते १५:५७

ऊ मानव स्रोत आयोग पुग्दा पौने ३ बजेको थियो । अन्तर्वार्ता ३ बजेदेखि थियो ।

नेपाल राष्ट्रिय विश्वविद्यालयको मानव स्रोत आयोगको भुईंतल्लाको प्रतीक्षा कक्षमा पाँच–छ वटा लामा स्टीलका कुर्सीहरु थिए । ती कुर्सीमा दश–बाह्र जना मान्छेहरु बसिरहेका थिए । सबै ऊजस्तै अन्तर्वार्ताका लागि आएका थिए । बिहान दश बजेदेखि विभिन्न विषयका अन्तर्वार्ताहरु भइरहेकाले मान्छे आउने जाने क्रम चलिरहेको थियो ।

ऊ पनि एउटा कुर्सीमा बस्यो र झोला अगाडि भुईंमा राख्यो । रुमालले अनुहार र गर्धनको पसिना पुछ्यो । पल्लो छेउमा बसेको एउटा मान्छेमाथि आँखा पर्‍यो उसको । उसले तुरुन्तै अन्तैतिर आँखा घुमायो । ऊ भन्दा केही वर्ष कान्छो देखिने त्यो मान्छे आजको अन्तर्वार्तामा उसको एउटैमात्र प्रतिद्वन्द्वी थियो । प्रतिद्वन्द्वी अरुसंगै गफमा थियो ।

प्रतिद्वन्द्वीले उसलाई देखेन वा शायद देखेर पनि वास्ता गरेन ।

‘…ट्रान्सपोर्टेसन इन्जिनियरिङ… माथि आउनुस् ।’ एउटा कर्मचारी भर्‍याङमा आएर करायो । ऊ पहिलो तल्लाको अन्तर्वार्ता कक्षतिर लाग्यो । प्रतिद्वन्द्वी पनि उसको पछिपछि माथि उक्लियो । अन्तर्वार्ता कक्षको ढोका अगाडि बसेर चाउमिन खाइरहेको कर्मचारीले उनीहरुसंग प्रवेश पत्र माग्यो र ‘राजहरि अधिकारी, मदन कट्टेल’ भन्दै आफूसंग भएको सूचिमा नाम रुजु गर्‍यो ।

‘एकछिन बस्दै गर्नुस्’ भनेर कर्मचारी आफ्नो चाउमिनतिर फर्किएपछि उनीहरु दुबैजना नजिकै राखिएका थोत्रा सोफाहरुमा बसे ।

आफ्नो प्रतिद्वन्द्वीसंग बस्न उसलाई साह्रै सकस भयो । प्रतिद्वन्द्वदीको बारेमा उसलाई थाहा थियो तर प्रत्यक्ष चिनजान थिएन । अहिले परिचय गरेर बोल्न मन लागेन । उनीहरु एउटै अध्ययन संस्थानका फरक–फरक कलेजमा अध्यापन गर्ने उपप्राध्यापकहरु थिए । त्यो पाँच मिनेटजतिको समय उसले झोलाबाट प्रमाणपत्रहरुको फाइल निकालेर त्यही मिलाएजस्तो गरेर बितायो ।

‘मदन कट्टेल…, भित्र जानुस् ।’ कर्मचारी करायो । कर्मचारीले रुजु गरेको सूचिमा हस्ताक्षर गरेर प्रतिद्वन्द्वी मदन कट्टेल भित्र पस्यो ।

मदन कट्टेल र राजहरि अधिकारी सहप्राध्यापक पदमा पदोन्नतिका लागि अन्तर्वार्तामा सहभागी हुँदै थिए । मदन कट्टेल हेटौंडाको क्याम्पसमा कार्यरत थियो ।

सहप्राध्यापकको दरबन्दी एउटामात्रै थियो र त्यो गण्डकी क्याम्पसमा थियो जहाँ राजहरि अधिकारी कार्यरत थियो । दरबन्दी एउटामात्रै भएको कुराले राजहरि अधिकारीको मुटु घोचेको घोच्यै थियो यो विज्ञापन प्रकाशित भएदेखि नै ।

२५ मिनेटपछि मदन कट्टेल निक्लियो । राजहरि अधिकारी उम्मेदवार सूचिमा हस्ताक्षर गरेर भित्र पस्यो ।

उसले ‘गुड आफ्टरनुन सर्स !’ भनिनसक्दै उसलाई टेबुलको एक छेउमा रहेको कुर्सीतिर इशारा गरियो । प्रमाणपत्रहरुको फाइल टेबुलमा राखेर राजहरि अधिकारी कुर्सीमा बस्यो ।

अण्डाकार टेबुलको तीनतिर गरेर पाँचजना बसिरहेका थिए । केन्द्रीय क्याम्पसको प्राध्यापक र नाष्टको वरिष्ठ वैज्ञानिकलाई ऊ चिन्दथ्यो, तिनीहरु त्यहाँ विज्ञका रुपमा थिए । तेस्रो व्यक्ति नेपाल सरकारको यातायात विभागको सचिव थियो, टिभीमा दुई–तीन पटक देखेको थियो राजहरिले । पल्लो छेउमा बसेको व्यक्ति मानव स्रोत आयोगको अध्यक्ष थियो । राजहरि अधिकारीले नचिनेको पाँचौ व्यक्ति लोक सेवा आयोगको प्रतिनिधि थियो शायद ।

‘मिष्टर राजहरि अधिकारी…!’ मानव स्रोत आयोगका अध्यक्षले चश्मा मिलाउँदै राजहरि अधिकारीको बायोडाटा हेर्दै नाम पढ्यो र अन्तर्वार्ता शुरु गर्‍यो, ‘प्लीज इन्ट्रड्युस योरसेल्फ ।’ राजहरि अधिकारीले कनीकनी अंग्रेजीमा आफ्नो अहिलेसम्मको शिक्षा र प्राध्यापन अनुभवसहितको परिचय दियो ।

‘अनि तपाईं किन पढाउन लाग्या त ? इञ्जिनियर भएपछि सरकारी जागिर खान मन लागेन ?’ उसले आफ्नो परिचय सक्न नपाउँदै सचिवले नेपालीमा सोध्यो । नेपालीमा सोधेकोमा राजहरि अधिकारीलाई एकातिर अलि–अलि खुशीपनि लाग्यो, अर्कोतिर सचिवले आफ्नो अंग्रेजी देखेर हेपेजस्तो पनि लाग्यो ।

आफूलाई बच्चैदेखि प्राध्यापन पेशा मन पर्ने, देशको इञ्जिनियरिङ शिक्षामा योगदान दिनु सरकारी जागिर खानुभन्दा राम्रो लाग्ने आदिजस्ता आफ्ना केही बनिबनाउ ‘डाइलग’हरु दिएर यो प्रश्नको सामना गर्‍यो उसले ।

यसपछि विज्ञहरुले अंग्रेजीमा प्रश्न सोधे, धेरैजसोमा ‘आइ एम सरी, आइ डण्ट ह्याभ एनी नलेज अन द्याट…’ भन्न परेकाले उसको पेट बाउँडिन थाल्यो । सचिवले पनि अंग्रेजीमै केही प्रश्नहरु थप्यो । लोक सेवा आयोगबाट आएको मान्छेले शैक्षिक संस्था चलाउने बारेमा केही प्रश्न सोध्यो ।

ती बीस मिनेट राजहरि अधिकारीलाई बीस वर्ष लागे ।

अन्तर्वार्ताबाट पसिना–पसिना भएर निक्लेको राजहरि अधिकारीले बाहिर मदन कट्टेललाई देखेन ।

ऊ मानव स्रोत आयोगबाट निक्लेर परीक्षा नियन्त्रण कार्यालय अघिल्तिर रहेको चिया पसलमा पुग्यो । त्यहाँ एक कप चिया र एउटा चुरोट मगाएर टुलमा बस्यो ।

अन्तर्वार्ताको परिणाम पाँच बजेपछिमात्रै टाँसिने कुरा थियो । आफ्नो हुँदैन भन्ने कुरामा ऊ लगभग पक्काजस्तै थियो तर पनि उसले अध्ययन संस्थान र विश्वविद्यालमा आफूले चिने–जानेजति सबैसंग हार–गुहार गरेको थियो, अन्तर्वार्तामा आफ्ना लागि चलखेल गरिदिनका लागि । सबैले राम्रै आश्वासन दिएका थिए उसलाई । जति चलखेल गरेपनि हुने सम्भावना भने थिएन ।

साथीहरुलाई भेट्न जान पनि मन लागेन उसलाई । जसले पनि ‘यो पालि पनि भएन है !’ भनेर दया देखाउलान् भन्ने डर थियो उसलाई ।

साढे पाँचतिर गएर मानव स्रोत आयोगको सूचना पाटीमा राखिएको परिणाम पढ्यो । उसको नाम थिएन । उ लुईँलुइँ हिँड्दै विश्वविद्यालय मूलद्वार बाहिर रहेको गेष्ट हाउसमा गयो र झोला कोठामा फ्याँक्यो ।

निक्लेर नजिकैको एउटा भोजनालयमा छिर्‍यो र रक्सी खान थाल्यो।

*****

राजहरि अधिकारी भोलिपल्ट बिहान एघार बजे कुलसचिवको कार्यकक्ष अगाडि पुग्यो । त्यहाँ बसिरहेको कर्मचारीले एउटा ढड्डामा उसको नाम लेख्यो र भित्र गयो ।

‘जानुस्, सरले बोलाउनुभएको छ ।’ कर्मचारी बाहिर आयो । राजहरि अधिकारी भित्र पस्यो ।

‘राजहरि सर, ल आउनुस्’ हात जोड्दै भित्र पसेको राजहरि अधिकारीलाई देख्नासाथ कुलसचिव करायो । कुलसचिवको कार्यकक्षमा १५–२० जना विद्यार्थीहरु बसिरहेका थिए ।

कुलसचिवले विद्यार्थीहरुलाई “एकछिन है“ भन्यो र ‘…ल आउनुस्’ भन्दै राजहरि अधिकारीलाई लिएर संगैको सानो बैठककक्षतिर पस्यो ।

‘दुःख लाग्यो, तपाईँको भएनछ । मैले मानव स्रोत आयोगको अध्यक्षसंग सोधेको थिएँ । जति गरे नि सकिएन भन्दैथ्यो ।’ कुलसचिवले दुःखमनाउ गर्‍यो ।

‘भएन सर । फ्रष्टेट भ’को छु म त ।’

‘यत्तिकैमा नहुनुस्, हामीजस्तो बुद्धिजीविले यति सजिलै फ्रष्टेट हुन कहाँ मिल्छ ? हामी मिलाउँछौं । तपाइर्‌ंकै लागि भनेर त्यो सिट खोलेको हो । त्यो कट्टेल पीएचडी सकेर फर्किहाल्ला भन्ने लाग्याथेन । फेरि उसको पेपर पनि टन्नै थ्यो रे । तपाईंको पनि पेपर अलिकति भइदिया भए हुन्थ्यो भन्दै थियो अध्यक्षले ।’

‘नेपाल बसेर के पेपर लेखिन्छ सर ! पीएचडीको नम्बरै दिन नहुने…।’ राजहरि अधिकारीले मदन कट्टेलको पीएचडी सम्झँदै घृणाको थुक घुटुक्क निल्यो । ‘…पीएचडी गरेको भन्दैमा त्यस्ता फुच्चेचाहिँ रिडर हुने, हामीजस्ता सिनियरचाहिँ नहुने ?’

‘दिँदै नदिन त मिलेन नि । घटाउन सकेजति त घटाएकै हो नि । पोहोरसम्म बीस थियो पीएचडीको, यसपालिदेखि दशमात्रै हुने बनाइयो, तपाईंहरुकै लागि । हेटौंडाको क्याम्पस चिफसंग कुरा गरेर त्यसलाई कार्य–सम्पादनमा पनि दुईमात्रै दिन लगा’को हो । तैपनि उसैको नम्बर बढी भयो । तपाईँको फेरि आइएस्सी, बिइ, एमई सबै सेकेण्ड डिभिजन रहेछ ।’

सेकेण्ड डिभिजनको कुरा आएपछि राजहरि अधिकारी एकछिन चुप लाग्यो ।

‘म त अब कांग्रेस बनौं कि जस्तो लाग्यो सर ।’ राजहरि अधिकारीले कुलसचिवलाई घुर्क्यायो ।

‘के कुरा गर्नुहुन्छ सर ! हिजो एमाले बनेर के पाउनुभयो र अब कांग्रेस बनेर के पाउनुहुन्छ ?’ कुलसचिव राजहरि अधिकारीलाई थुम्थुम्याउन थाल्यो, ‘तपाईंलाई गर्ने हामीले नै हो । तपाईंलाई जसरी पनि रिडर बनाउने जिम्मा मेरो भयो । एक वर्षभित्र अर्को विज्ञापन खुलाउँछु म, तपाईंलाई मात्रै मिल्ने गरेर । ‘उनीहरुले पनि मान्छन्, उनीहरुका पनि छन् तपाईंजस्तै १–२ जना ।’

‘हो सर, नत्र त मेरो बिजोग हुने भो ।’

‘बरु यसो गर्नुस्, तपाईंहरुकोमा प्राध्यापक संघको चुनाव होइन अर्को महिना ? कांग्रेस– एमाले जोसंग मिलेर भएपनि अध्यक्ष हाम्रो बनाउनुपर्‍यो । हाम्रो पक्षमा माहौल बनाएर क्याम्पस हाम्रो भागमा ल्याउनुपर्‍यो । त्यसपछि तपाईं क्याम्पस चिफ हुनुपर्‍यो’ कुलसचिवले बुनिदिएको सपनाले राजहरि अधिकारीको अनुहार उज्यालिन थाल्यो ।
‘बरु पोखरा कहिले फर्किनुहुन्छ ?’ कुलसचिवले सोध्यो ।

‘अब यहाँबाट कलंकी गएर माइक्रो समात्ने हो सर ।’

‘प्लेनमा जानुस् । म टिकट काट्न लगाइदिउँला । अहिलेलाई यति नै गरौं । विद्यार्थीहरु कुरिराख्या छन् । सबै हाम्रै संगठनका हुन् । यिनीहरु साह्रै सुस्ताए, एक–दुईटा जुलुस–सुलुस तालाबन्दीका कार्यक्रम गर भनेर सल्लाह दिनुपर्नेछ ।’

राजहरि अधिकारीलाई छोड्न कुलसचिव कार्यकक्ष बाहिरसम्म आयो । ‘उहाँलाई एउटा टिकट काट्देऊ त’ भनेर त्यहाँको कर्मचारीलाई आदेश दियो र भित्र फर्कियो । कर्मचारीले राजहरि अधिकारीको नाम र मोबाइल नम्बर टिपेर टिकटका लागि फोन गर्न थाल्यो ।

विश्वविद्यालयको मूलद्वारमा पुग्ने बेलामा राजहरि अधिकारीको मोबाइल थर्थरायो । पोखरा जाने टिकट आएको रहेछ एसएमएसमा ।

टिकट साढे तीन बजेको थियो । बाह्र बज्दै थियो भर्खर । राजहरि अधिकारीले विश्वविद्यालय मूलद्वार अगाडिबाट रत्नपार्क जाने बस समात्यो । समय जतिपनि भएकाले पहिला रत्नपार्क जाने र त्यहाँबाट विमानस्थल जाने योजना थियो उसको ।

त्रिपुरेश्वर पुग्ने बेलामा बस एकछिन जाममा पर्‍यो । एउटा जुलुस थियो । चार सयजति मान्छेहरु थिए जुलुसमा, तर नाराबाजी भने थिएन । प्रहरीले सुन्धारातिर जाने बाटो खाली गराइरहेको थियो । रङ्गशाला पुग्ने बेलामा राजहरि अधिकारी चढेको बसले जुलुसलाई उछिन्यो । राजहरि अधिकारीले जुलुसको सबैभन्दा अगाडि ’बुद्ध वाज नेपाली’ लेखिएको ठूलोे ब्यानर देख्यो । अरुका हातमा पनि नेपाली वा अंग्रेजीमा त्यही आशयका सन्देश लेखिएका प्लेकार्ड  थिए ।
राजहरि अधिकारी सुन्धारामै बसबाट ओर्लियो ।

एकछिनमा जुलुस सुन्धारा आइपुग्यो, राजहरि अधिकारी जुलुसमा पस्यो ।

जुलुस टुँडिखेलभित्र पस्यो र एक ठाउँमा गोलो भएर थुप्रियो । उसले यसअघि नाम नसुनेको ‘बुद्धवादी शान्ति जागरण मञ्च’ रहेछ जुलुशको आयोजक । तीन दिन पहिला भारतका प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघमा बोल्दा ‘भारतले संसारलाई बुद्ध दियो !’ भनेकोमा आपत्ति जनाउँदै जुलुसको आयोजना गरिएको रहेछ । कार्यक्रमका संयोजकको मन्तव्यपछि परेवा उडाएर कार्यक्रमको समापन हुने सुनायो उद्घोषकले ।

राजहरि अधिकारी ‘म पनि बोल्छु ।’ भन्दै नाम टिपाउन अगाडि गयो । उद्घोषकले छक्क परेर एकछिन उसलाई हेर्‍यो र भन्यो, ‘मिल्दैन ।’

राजहरि अधिकारी भिडतिरै फर्कियो र एउटा प्लेकार्र्ड बोकेर आफ्नो फोटो खिचाउन थाल्यो ।

उद्घोषकले परेवा उडाउने घोषणा गरेपछि राजहरि अधिकारीले पनि एउटा परेवा समात्यो । तुरुन्तै परेवा समातेको फोटो पनि खिचाइहाल्यो ।

‘बुद्ध वाज नेपाली !’ भन्दै परेवा लिने सबैले परेवा उडाए ।

‘ओ दाइ, उडाउनुस् न, किन नउडाको ?’ राजहरि अधिकारीलाई परेवा नउडाई बेस्सरी च्यापेरमात्रै बसेको देखेर एउटा केटो करायो । राजहरि अधिकारी झस्कियो र परेवा उडायो ।

जुुलुसका सबै लाखापाखा लागे । राजहरि अधिकारी नेवानिको कार्यालय अगाडिबाट साझा बस चढेर विमानस्थलतिर लाग्यो ।

जहाज सवा चार बजे मात्रै उड्यो ।

डम्म बादल लागेकोले पोखरा अँध्यारो देखिन्थ्यो, तर विमानस्थल वरपर पानी परेको भने थिएन । सिमलपाटनतिर पुग्दा अलि–अलि पानी परेर भर्खरै रोकिएको जस्तो देखिन्थ्यो । त्यहाँबाट माथि भने १०–१५ मिनेट अगाडिसम्म ठूलै पानी परेर रोकिएकोजस्तो लाग्थ्यो । फ्याक्ट्री चोकको चौबाटोमा त अझै ठूलो भल बग्दैथियो ।

त्यहाँबाट गण्डकी क्याम्पसतिरको बाटो सोझिएपछि भने अचम्मको दृश्य देख्यो राजहरि अधिकारीले । रुखहरुमा पात एउटै थिएनन् र बारीका तरकारीका बोट सोत्तर भएका थिए । सडकमुनिको खोल्सामा असिनाका डल्ला अझै बाँकी थिए । त्यहीँ सिमलपाटन उता केही भएको छैन तर यता यस्तो बिजोग !

क्याम्पसभित्र पसेपछि त झन् महाबिजोगनै देखियो । रुखहरुमा हरियो भनेको अलिकति पनि थिएन । तर क्याम्पसभित्रका सडक झरेका पातले छोपिएर हरियै थिए ।

चउरहरु हिऊँ परेजसरी सेतै थिए । विद्यायार्थीहरु असिनाले एक–अर्कालाई हिर्काएर खेल्दै थिए र तस्वीर खिच्दै थिए ।

रमिता हेर्दै हिँडेका उसका सहकर्मीहरुले उसलाई बताए अनुसार आधा घण्टाजति भीषण हावाहुरी चलेछ र ठूल्ठूला डल्ला असिना परेछ । खुल्ला ठाउँमा राखिएका बाइक र गाडीका सीसा नै फटाउने गरी ठूला रहेछन् असिनाका डल्ला ।

उसको अन्तर्वार्ताको परिणाम अपेक्षित नै भएकाले भेटिएका कसैले पनि त्यस बारेमा कुरै गरेनन् ।

आवास क्षेत्रमा पनि त्यस्तै थियो । उसकी स्वास्नी आवासपछाडिको बारीमा असिनाले सोत्तर बनाएको केराउका बोट हेर्दै छिमेकीहरुसंग गफ गर्दै थिई ।

‘ओ राजहरि सर, तपाईँका परेवाहरु म कहाँ पुगे है उडेर हा हा हा !’ राजहरि अधिकारी क्वार्टरमा पुग्ने बेलामा क्याम्पस प्रमुखसंग भेट भयो । उसले के भन्न खोजेको हो राजहरि अधिकारीले बुझेन ।

‘चिफले के भनेको हो, हाम्रो परेवाहरु उसकहाँ पुगे भनेर ?’ स्वास्नी भित्र आएपछि राजहरि अधिकारीले सोध्यो ।

‘के हुनु नि, असिनाले हानेर ४–५ वटा परेवा मरेका थिए हाम्रो बारीमा, त्यही लिएर गयो । सिनु खान घिन पनि नलाग्ने छ्या !’

‘हो र ? तैंले राख्नु पर्दैनथ्यो त ! यस्तो जाडो दिनमा परेवाको मासु खान कस्तो मजा आउँथ्यो ।’

‘छ्या छ्या के बोलेको त्यस्तो ! त्यस्तो सिनु पनि खान्छन्, त्यै पनि परेवा !’

‘कता नि फेरि ?’ राजहरि अधिकारी लुगै नफेरी बाहिर निक्लन लागेको देखेर स्वास्नीले सोधी ।

‘परेवा खोज्न, बारीमा ।’

‘छ्या छ्या’ श्रीमतीचाहिँ कराउँदै थिई, राजहरि अधिकारी बारीमा पुगिसकेको थियो ।

बारीमा र पर्खालको कुनाकानी सबैतिर हेर्‍यो, तर राजहरि अधिकारीले परेवा देखेन । कुर्सीमा चढेर ढोकामाथिको पालीमा हेर्‍यो । त्यहाँ छ वटा घाइते परेवा लुगलुग काँपिरहेका थिए । उसले एउटा मोटो लठ्ठी ल्यायो र ड्याम कि ड्याम हानेर पाँचवटा परेवा मार्‍यो । एउटा भने अलिक सद्दे रहेछ, भुर्र उडेर गएर रुखमा बस्यो ।

‘ओई अपराधी, किन मारेको परेवा !’ हातमा मरेका परेवा झुण्ड्याएर आएको देखेर उसकी स्वास्नी कराई ।

‘खान मारेको नि ! तँ नि खान्छेस् ?’ राजहरि अधिकारीले अनुहारमा ठूलै बहादुरीको हाँसो पोत्दै स्वास्नीलाई जिस्क्यायो ।

‘पर्‍या छैन खान । म राक्षस हुँ र ?छि छि छि !’

‘अहिले भित्र लाने होइन । छोरालाई ख्वाएर म माथि जान्छु अनि बनाएर घिचे हुन्छ’ स्वास्नीले आदेश दिई ।

परेवालाई बाहिरै छाडेर राजहरि अधिकारी भित्र पस्यो । एउटा सानो डेक्चीमा उम्लेको पानी, चक्कु र दुईटा कचौरा लिएर बाहिर आयो । परेवा भुत्लायो, काटकुट पार्‍यो र मासुको कचौरा भित्र फ्रिजमा राखेर क्याम्पस गेटतिर लाग्यो ।

विद्यार्थीहरुको रमाइलो एकछिन हेर्‍यो राजहरि अधिकारीले र एउटा पसलमा गएर गोल्ड प्यालेस ह्विस्की एक हाफ किन्यो ।

फर्केर आउँदा छोरालाई लिएर स्वास्नी माथि कोठामा उक्लिसकेकी थिई । ऊ एउटा चुरोट सल्काएर परेवाको मासु भुट्न थाल्यो ।

मासु तयार भएपछि लुगा फेरेर मुख धोएर आयो । टिभी अन गर्‍यो र रक्सी र मासु लिएर होचो खाटमा बस्यो ।

अलिकति ह्विस्की घुटुक्क पार्‍यो र एक चोक्टा मासु चपायो । हात चाट्यो र त्यही हातले मोबाइल चलाउँदै आफूले प्लेकार्ड बोकेको र परेवा च्यापेको दुईटा फोटा फेसबुकमा राख्यो ।

फोटासंगै रोमन नेपालीमा लेख्यो ‘बुद्ध वाज नेपाली अभियानमा सहभागी भइयो आज । शान्तिको प्रतीक परेवा पनि उडाइयो । एक सचेत बुद्धिजीविको दायित्व पूरा गरियो । वास्तवमा बुद्धलाई आफ्नोमात्रै बनाउन हामीले जुलुस र र्‍यालीमात्रै गरेर पुग्दैन । यसका लागि नेपालले लडाईँको तयारीसमेत गर्नुपर्छ, तीन करोड नेपाली नै बम बनेर भारतका विरुद्ध पड्किनुपर्छ र भारतका विरुद्ध परेवाबम उडाउनुपर्छ । भारतीय विस्तारवाद मुर्दाबाद !’

परेवाको मासु एक चोक्टा चपायो, अनि आधा गिलास ह्विस्की स्वाट्ट पार्‍यो ।

त्यसपछि मदन कट्टेललाई गाली गर्दै गिलासलाई टेबुलमा ठोक्यो राजहरि अधिकारीले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?