+
+
अग्रपथ :

भारत-चीन-अमेरिका त्रिकोण : नेपालका लागि अभिशाप कि वरदान ?

भारत-चीन-अमेरिका रणनीतिक स्वार्थको त्रिकोणभित्र नेपाल रूपी जहाज हराउँछ भन्ने भाष्य सत्य हो कि बर्मूडा त्रिकोणबारे कुत्सेको दाबी झैं अतिशयोक्तिपूर्ण चर्चा मात्र ? यो ‘हाइपोथेसिस’ अब सम्परीक्षणको चरणमा प्रवेश गरेको छ ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७८ माघ २ गते १३:२१

नेपालमा यतिखेर भारत-चीन-अमेरिका त्रिकोणात्मक विश्व शक्ति सन्तुलनको प्रष्ट प्रभाव देखिन्छ । यो कुनै लुक्ने, लुकाइनुपर्ने कुरा अब रहेन । बरु अझ पारदर्शी विमर्श गर्नुपर्ने, अवसर र चुनौती पर्गेल्नुपर्ने र देशको हित सुनिश्चित गर्नुपर्ने विषय बन्न पुग्यो । भारत-चीन-अमेरिका त्रिकोण नेपालका लागि अभिशाप हुने हो कि वरदान ? यो प्रश्न आज नेपाल र नेपालीका लागि अहम् महत्वको विषय बनेको छ ।

समकालीन विश्व सोभियत संघको विघटनपछिको जस्तो एकध्रुवीय वा शीतयुद्धकालको जस्तो दुई ध्रुवीय हैन, बहुध्रुवीय हो । स्वाभाविक छ- बहुध्रुवीय विश्वमा अरू पनि शक्तिकेन्द्र छन् । जस्तै, विघटित सोभियत गणराज्य र पूर्वी तथा मध्य युरोपमा रूस अझै शक्ति राष्ट्रको रूपमा छ । दक्षिण अमेरिकामा ब्राजिल र अर्जेन्टिना उदीयमान विश्वशक्ति मानिन्छन् ।

बेलायतको बहिर्गमनपछि पनि युरोपियन युनियनभित्र जर्मनी, इटाली र फ्रान्स जस्ता शक्तिराष्ट्र छन् । ब्रेक्जिटपछि बेलायतले आफ्नै प्रकारले आफ्नो भूमिका खोजिरहेको छ । पुराना कमलवेल्थ राष्ट्रहरूमा बेलायतको भूमिका र प्रभावलाई कम आँक्न मिल्दैन । एशियामा जापान र दक्षिण कोरिया सैन्य दृष्टिकोणले नभए पनि आर्थिक दृष्टिकोणले शक्तिराष्ट्रको भूमिकामा छन् । अफ्रिकामा दक्षिण अफ्रिकाको उदय भइरहेको छ । अष्ट्रेलिया अर्को शक्तिराष्ट्रको रूपमा उदित छ ।

दुर्भाग्यपूर्ण त्रिकोणको मिथक

त्रिकोणहरू सर्वथा दुर्भाग्यपूर्ण मात्र हैन, वरदान सावित हुन सक्दछन् । तर, अक्सर त्रिकोणलाई दुर्भाग्यपूर्ण मान्ने परम्परा जस्तै भइसकेको छ । दुर्भाग्यपूर्ण त्रिकोणको मिथ उत्तरी प्रशान्त महासागरबाट बनेको थियो- जसलाई बर्मूडा त्रिकोण भनिन्छ । तर, यो राजनीतिक नभएर भौगोलिक त्रिकोण थियो ।

बर्मूडा त्रिकोण प्रशान्त महासागरको करीब १३ लाख वर्गकिमी क्षेत्रफल भएको त्यो क्षेत्र हो जहाँ पुगेपछि उड्दा उड्दैको हवाईजहाज र चल्दाचल्दैका पानीजहाज एकाएक गायब हुन्छन् । ती किन र कसरी गायब हुन्छन् ? कसैले भन्न सक्दैनथ्यो । त्यसभित्र निकै ठूलो प्राकृतिक रहस्य हुनुपर्दछ भन्ने विश्वास गरिन्थ्यो ।

सन् १९७५ मा ल्यारी कुत्सेले त्यसमाथि एक किताब लेखे- द बर्मूडा ट्रयाङ्गल मिस्ट्रीः सोल्भड अर्थात् बर्मूडा त्रिकोणको रहस्य समाधान भयो । कुत्सेको तर्कमा समुद्रको जुन क्षेत्रलाई बर्मूडा त्रिकोण भनिन्छ, र त्यहाँ जेजति दुर्भाग्यपूर्ण दुर्घटना भएको तथ्य दिइन्छ, ती सत्य हैनन् । एक- ती अधिकांश दुर्घटना त्रिकोण भनिएको क्षेत्रभन्दा बाहिरका हुन् । अर्को, बर्मूडा त्रिकोणभित्र जेजति दुर्घटना भए, त्यो कुनै अस्वाभाविक संख्या हैन । समुद्रका अन्य विभिन्न क्षेत्रमा पनि त्यस्ता दुर्घटना भएका छन् । बर्मूडा त्रिकोणको अतिशयोक्तिपूर्ण चर्चा भएको मात्र हो ।

भारत-चीन-अमेरिका रणनीतिक स्वार्थको त्रिकोणभित्र नेपाल रूपी जहाज हराउँछ भन्ने भाष्य सत्य हो कि बर्मूडा त्रिकोणबारे कुत्सेको दाबी झैं अतिशयोक्तिपूर्ण चर्चा मात्र ? यो ‘हाइपोथेसिस’ अब सम्परीक्षणको चरणमा प्रवेश गरेको छ ।

राजनीतिक त्रिकोणको भाष्य

बर्मूडा त्रिकोण सत्य होस् वा गलत- आधुनिक विश्व-राजनीतिमा त्रिकोण विश्लेषणको आफ्नै परम्परा छ ।

सन् १९८३ मा प्रकाशित अमेरिकी सार्वजनिक बौद्धिक नोम चोम्स्कीको ‘द फेटफुल ट्रयाङ्गलः द युनाइटेड स्टेट्स, इजरायल एण्ड प्यालिस्टिनिज’ त्यो बेला खूबै चर्चामा थियो । यसले इजरायल राज्यको स्थापनापछि फिलिस्तिनी जनताले भोग्नु परेका पीडा र अरब क्षेत्रमा परेको प्रभावको कथा भन्छ । सन् १९२६ को बालफोर घोषणादेखि सन् १९८२ को लेवनान युद्धसम्म अमेरिकाको कारणले अरब क्षेत्रमा परेको प्रभावको विश्लेषण गर्दछ ।

अर्को एउटा रोचक प्रतिवेदन पाइन्छ कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा राजनीतिशास्त्री गि्रगोरी मेट्रोबीचको, नाम हो- द फेटफुल ट्रयाङ्गलः द युनाइटेड स्टेट्स, ग्रेट बि्रटेन, जर्मनी एण्ड रिभरी त्याट फोज्र्ड अमेरिकन सेन्चुरी ।

भारतीय अनुसन्धानकर्ता तथा लेखक तान्भी मदनको सन् २०२० मा प्रकाशित पुस्तक फेटफुल ट्रयाङ्गलः हाउ चाइना साप्ड युएस-इन्डिया रिलेसन डुरिङ द कोल्ड बार अहिले चर्चामा छ । यसमा उनले सन् १९४८ देखि यताका भारत-अमेरिका सम्बन्धका ती आयामको चर्चा गरेकी छन्, जो चीनको कारणले प्रभावित थिए ।

अमेरिकी युगको उदय

भारत र चीन सर्वथा नेपालका लागि त्यसै महत्वपूर्ण देश छँदै थिए । यी दुई ठूला छिमेकी फेरिने हैनन् । अमेरिका अघि भने पश्चिमा देशमध्ये बेलायत नेपालका लागि महत्वपूर्ण थियो । जब अमेरिकाको उदय भयो, विश्वमा जस्तै नेपालका लागि पनि बेलायतको महत्व घट्दै र अमेरिकाको महत्व बढ्दै गयो ।

गि्रगोरी मेट्रोबीचका अनुसार अमेरिकी युगको उदय त्रिकोणको प्रतिफल थियो । उनका अनुसार दोस्रो विश्वयुद्धमा नाजी जर्मनको पराजय नै अमेरिकी युगको उदयको प्रमुख कारण थियो भने बेलायतसँगको सहकार्य र प्रतिस्पर्धा दोस्रो महत्वपूर्ण कारण बन्यो ।

सन् १९४५ मे ७ को बिहानको २.४१ बजे जर्मन अधीनस्थ फ्रान्सको एक सैन्य शिविरमा अमेरिका, बेलायत, फ्रान्स र सोभियत सैनिक अधिकारीसामु जर्मन अधिकारीले आत्मसमर्पण पत्रमा हस्ताक्षर गरेका थिए । त्यहाँ अमेरिकी जर्नेल डीडी आइजेनआवार थिए । उनले जर्मन सैनिक अफ्रेड जोडललाई सोधेका थिए रे- भर्खरै तिमीले जुन आत्मसमर्पण पत्रमा हस्ताक्षर गर्‍यौ, त्यसको अर्थ र ऐतिहासिक प्रभाव के हुन्छ भन्ने ठानेका छौ ?

हरुवा जर्नेलले कुनै उत्तर दिन सकेनन् । अन्ततः विजेता आइजेनआवारले आफैं भने- आजबाट युरोपको युग सकियो, अमेरिकी युग प्रारम्भ भयो । यो जर्मनको मात्र हैन, बेलायतको पनि हार हो ।

नभन्दै दोस्रो विश्वयुद्धको अन्त्यपछि बेलायतले आफ्नो विश्व भूमिका निरन्तर गुमाउँदै गयो । अमेरिकाको अकल्पनीय उदय भयो । केही दशक सोभियत संघ अमेरिकासँग टकरायो, तर सन् १९९१ मा सोभियत संघको युग पनि अन्त्य भयो ।

कुनै बेला थोमस जेफरसनले भनेका थिए- अमेरिकी गणतन्त्र सामन्ती राजतन्त्रहरूको स्वार्थले चर्मराएको बूढो युरोपमाथि उदाउँदो तारा हो । तेस्रा राष्ट्रपति जेफरसनको यो घोषणा ३२औं राष्ट्रपति फ्राङ्कलिन डी रुजबेल्टको पालामा सत्य सावित भयो । तिनै जर्नेल आइजेनआवार पछि अमेरिकाको ३४औं राष्ट्रपति भए ।

चिनियाँ सपना

जर्मन दार्शनिक हिगेलले पृथ्वीमा मानव सभ्यताको विकास चक्रबारे विचित्रको घोषणा गरेका थिए । उनले भनेका थिए- सूर्यको पहिलो झुल्को पृथ्वीको जुन भागमा परेको थियो, मानव सभ्यताको शुरुआत पनि त्यहींबाट भएको हो, अन्ततः सभ्यताको सार त्यहीं पुग्छ । हिगेलको विचारमा त्यो राष्ट्र चीन थियो । प्राचीनकालमै चीनले ग्रेटवाल, सिल्क रोडदेखि टेराकोटा वारियर जस्ता अनेक आश्चर्य निर्माण गरेको थियो ।

तर, प्राचीन चीनका गौरवगाथा दोस्रो विश्वयुद्ध ताका विश्वले बिर्सिसकेको थियो । त्यो एक अफिमची राष्ट्रमा परिणत भएको थियो । पश्चिमाहरू ‘एशियाको बिमार राष्ट्र’ भनेर चीनलाई जिस्क्याउँथे ।

माओत्सेतुङले चीनलाई बिल्कुलै नयाँ प्रकारको राजनीतिक मोड दिए । कन्फुसियस, ताओवाद र बुद्धिज्म जस्ता विचारले रोमरोम भरिएका चिनियाँहरूको रगतमा हुँदै नभएको साम्यवादको विचार चिनियाँ राष्ट्रवादको रंगमा मिसाएर घोलिदिए ।

माओ भन्थे- चीन सुतेको बाघ हो, जब ब्यूँझन्छ, कसैलाई छोड्दैन, अमेरिका पनि कागजी बाघ सावित हुनेछ चीनसामु । नभन्दै चीनको पुनरोदय भयो । हिगेलको दाबी झैं विकास र समृद्धिको सार फेरि चीनतिर सर्‍यो । माओको चिनियाँ सपनालाई सन् २०१४ पछि वर्तमान राष्ट्रपति सी जिन पिङले आक्रामक पुनर्जागरण गरे ।

सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीका अनुसार विगत १०० वर्षको चीनका मुख्य तीन चरण पूरा भएका छन् । एक- कम्युनिष्ट पार्टी स्थापना र राजनीतिक शक्ति निर्माणको चरण । यो चरण सन् १९२१ देखि सन् १९४९ सम्म रहृयो । दुई- समाजवादी राज्य सत्ता र अर्थतन्त्रको जग निर्माणको चरण । यसको अवधि उनीहरूले सन् १९४९ देखि सन् १९७८ सम्मलाई मानेका छन् । तेस्रो- महान सुधारहरूको चरण । सन् १९७८ देखि २०१४ सम्म यो चरण थियो ।

अहिले चीन चौथो चरण- चिनियाँ विशेषता सहितको समाजवाद र नयाँ विश्व व्यवस्था निर्माणको चरणमा छ ।

को कति शक्तिशाली ?

तान्भी मदनको विश्लेषणको सार नै चीनको उदय जति तीव्र हुन्छ भारत र अमेरिका उत्तिकै नजिक हुन बाध्य हुन्छन् भन्ने हो । पहिलो शीतयुद्धको समय ठीक उल्टो थियो । अमेरिका र सोभियत संघ शीतयुद्धका दुई महाशक्ति थिए । भारत सोभियत संघको नजिक थियो र सन् १९७० पछि चीन अमेरिकाको नजिक

आधुनिक राष्ट्रिय-राज्यहरूको शक्तिलाई कसरी मापन गर्ने ? त्यसको कुनै स्थापित मानक त छैन तर, केही आधार तय गर्न नसकिने पनि हैन ।

त्यसको पहिलो आधार क्षेत्रफल र जनसंख्या हो । सानो क्षेत्रफल र अतिकम जनसंख्या भएका देशहरू शक्तिराष्ट्रका रूपमा उदय हुने सम्भावना आज त्यति बलियो देखिन्न । हिजो त्यो युग थियो । युरोपका साना देशहरूले पनि ज्ञान, प्रविधि र हतियारका आधारमा ठूल्ठूला साम्राज्य खडा गरेका थिए । हिजोका शक्तिराष्ट्र बेलायत, प|mान्स, पोर्चुगल, जर्मनी आदि धेरै ठूला हैनन् ।

चीन क्षेत्रफलमा रूस र क्यानडापछिको तेस्रो ठूलो देश हो । अमेरिका चौथो र भारत सातौं । विश्वमा तेस्रो भए पनि त्रिकोणमा भने चीन पहिलो ठूलो देश हो तर, जनसंख्यामा भने विश्वकै पहिलो ठूलो देश ।

चीनको जनसंख्या करीब १ अर्ब ४५ करोड छ भने भारतको १ अर्ब ३८ करोड । जनसंख्यामा चीन र भारत दुवै अमेरिकाभन्दा धेरै ठूला छन् । करीब ३३ करोड मात्र जनसंख्या भएको अमेरिका विश्वको तेस्रो जनसंख्या भएको देश भने हो । यसले के देखाउँछ भने चीन र भारत जनसंख्याको दबाबमा छन् तर अमेरिका छैन । विशालकाय भूभागका बाबजूद अमेरिकाको जनसंख्या अनुपात सीमित छ, तर विश्व शक्ति हुनका लागि उल्लेख्य जनसंख्या पनि ।

दोस्रो आधार शायद अर्थतन्त्रको आकार हो । अर्थतन्त्रको आकारमा भने अमेरिका अझै पनि चीनभन्दा अगाडि छ । चीन दोस्रोमा छ भने भारत सातौं स्थानमा । भारतभन्दा सानो क्षेत्रफल र कम जनसंख्या भएका जापान, जर्मनी, युके, फ्रान्स भारत भन्दा अघि छन् ।

तेस्रो आधार शायद सैन्य शक्ति हो- यस मामिलामा भने उच्च तीनभित्र यिनै तीन देश छन् । सैन्यशक्तिको संख्यामा चीन पहिलो, अमेरिका दोस्रो र भारत तेस्रो स्थानमा छन् । चीनको सेना करीब २० लाख, अमेरिकी सेना १५ लाख र भारतीय सेना करीब १४ लाखको छ । तर, अमेरिकाको सैन्य बजेट भने चीन र भारतको भन्दा धेरै उच्च छ । सन् २०२१ मा अमेरिकाको सैन्य बजेट ७३८ बिलियन डलरको थियो भने चीनको त्यसको आधाभन्दा कम २१० बिलियन डलर । भारतको झनै कम ९४ बिलियन डलरको मात्र ।

तर, डलरको भाउमा राख्दा यो चित्र यस्तो देखिएको हो । चीन र भारतको मुद्रा डलरको तुलनामा कम मूल्यको छ । चीनमाथि अमेरिकाले मुद्राको कृत्रिम अवमूल्यन गरेको आरोप लगाउँदै आएको छ, जसले गर्दा चिनियाँ अर्थतन्त्र सस्तो बन्न पुगेको छ । राष्ट्रिय बजेट अनुपातका दृष्टिकोणबाट भने चीन र भारतको सैन्य बजेट पनि कम हैन ।

शक्तिराष्ट्रहरूको चौथो आधार उनीहरूको राजनीतिक स्थिरता, विश्व प्रभाव र भूमिका मान्न सकिएला । यस दृष्टिकोणबाट हेर्दा तीन वटै देशको राजनीतिक प्रणाली फरक-फरक तर स्थिर छ । संघात्मकता र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अमेरिकामा २४५ वर्षदेखि निरन्तर छ । चीनमा एकदलीय कम्युनिष्ट शासन व्यवस्था लागू भएको ७२ वर्ष पुग्यो । भारत स्वतन्त्र भएदेखि नै संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा निरन्तर छ । यी तीनै देशमा तत्काल कुनै ठूलो राजनीतिक क्रान्तिको सम्भावना देखिन्न ।

अमेरिका र चीन संयुक्त राष्ट्रसंघका भिटो राष्ट्र हुन् । भारत हैन, तर भारतले खुलेर भिटो राष्ट्रको मान्यता माग गर्दै आएको छ । विश्वमा राजनीतिक प्रभावको दृष्टिकोणले भने अमेरिका सुविधाजनक स्थितिमा देखिन्छ । सन् १९८९-९१ मा कम्युनिष्ट विश्वका देशहरूको व्यापक पतनपछि कम्युनिष्ट अन्तर्राष्ट्रियको सम्भावना बाँकी रहेन । तर, अमेरिकाले लोकतान्त्रिक विश्वको नेताको छवि अझै गुमाएको छैन । वार्सा प्याक्ट विघटन भए पनि नेटो विघटन भएको छैन ।

चीन आफ्नो भिन्नै विश्व व्यवस्था बनाउन चाहन्छ भन्ने विश्लेषण पछिल्लो समय तीव्र भएका छन् । तर, चीनको राजनीतिक प्रणाली समकालीन विश्वका लागि सहज स्वीकार्य हुनसक्ने सम्भावना कम छ । ‘लोकतान्त्रिक घाटा’ चीनको सबैभन्दा ठूलो असुविधा हो तर यसलाई चीनले वस्तु, सेवा र पूँजीको विश्वव्यापी प्रवाह मार्फत पुर्ताल गर्न खोजेको छ ।

भारत : त्रिकोणको फेच्चा, नेपालका लागि पहिलो

अमेरिका र चीनको तुलनामा भारत अझै पुगिसकेको छैन । तर, यी तीनमध्ये अझै पनि नेपाल सबैभन्दा ‘इंगेज’ हुने देश भारत नै हो । भारत त्रिकोणको फेच्चा देश भए पनि नेपालका लागि पहिलो महत्वको देश हो ।

गज्जब रमाइलो के छ भने जससँग हाम्रो अन्तरनिर्भरता बढी छ, तिनैप्रति राजनीतिक द्वेष र घृणा भावना बढी देखिन्छ । जसप्रति हाम्रो अन्तरनिर्भरता कम छ, उसैप्रति हाम्रो मनोविज्ञान सकारात्मक छ । यो प्रवृत्ति के-कति ठीक हो वा बेठीक ? नेपालले एकपटक पुनर्विचार गर्नै पर्दछ

भारत र नेपाल बीच जुन भौगोलिक, सांस्कृतिक र आर्थिक सम्बन्ध छ, त्यसलाई चीन र अमेरिकाले चाहेर पनि प्रतिस्थापन गर्न सक्दैनन । अमेरिका नेपालसँग सिमाना जोडिएको देश हैन । चीन भारत जत्तिकै नजिक भए पनि हिमालयले प्राकृतिक व्यवधान सृजना गरेको छ । चीनतिर नेपालसँग जम्मा दुई वटा मात्र औपचारिक र नियमित नाका छन्- केरुङ र तातोपानी तर भारततिर २६ वटा ।

चीन धार्मिक, सांस्कृतिक दृष्टिले बुद्धिज्मको गहिरो प्रभाव भएको देश हो । तर, त्यो भारततिर जस्तो सामाजिक स्तरमा व्यक्त छैन । भारततिर नागरिकस्तरमै ‘रोटी-बेटी’ को सम्बन्ध छ । रोटी- अर्थात् रोजगारको सम्भावना । भारततिर २० लाख बढी नेपाली श्रमिक अनौपचारिक श्रमबजारमा व्याप्त हुन्छन् । नेपाल-भारत बीच खुला सीमा छ । तर, चीनले नेपाली कामदारलाई श्रम अनुमति दिंदैन मात्र हैन, बन्द सीमाका कारण नेपाली चीनतिर सहज पहुँच राख्दैनन् ।

नेपालको अर्थतन्त्र केही दशक यता कृषिप्रधानबाट विप्रेषण प्रधान बनेको छ । नेपाललाई सबैभन्दा धेरै रेमिटेन्स दिने पहिलो देश कतार हो भने दोस्रो भारत । नेपाल आउने कुल रेमिटेन्सको १७ प्रतिशत कतारले दिन्छ, करीब १४ प्रतिशत भारतले । नेपाललाई रेमिटेन्स दिने देशको सूचीमा नवौं स्थानमा अमेरिका छ । अमेरिकाले नेपालको कुल विप्रेषणमा ७.५ प्रतिशतको योगदान गर्दछ । चीन यो सूचीमा उच्च २० भित्र पनि देखिन्न ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । नेपालको कुल वैदेशिक व्यापारको करीब ६८ प्रतिशत भारतसँग हुन्छ । सबैभन्दा धेरै आयात हुने देश पनि भारत नै हो, निर्यात हुने देश पनि भारत नै हो । रोचक यथार्थ चाहिं के छ भने चीन नेपालले आयात गर्ने भारतपछिको दोस्रो साझेदार हो तर निर्यात व्यापारमा भने नेपालका लागि चीनको स्थान पाँचौं छ जबकि अमेरिका भारतपछि दोस्रो । नेपाललाई सबैभन्दा बढी वैदेशिक अनुदान दिने देशमा भने भारत र चीन दुवैभन्दा अमेरिका अगाडि छ ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एशियाली विकास बैंकपछि अमेरिकाको स्थान आउँछ । नेपाल आउने कुल अनुदानमा करीब ६ प्रतिशतको योगदान अमेरिका एक्लैको हुन्छ । अमेरिका भारतपछि नेपालको सबैभन्दा धेरै डायस्पोरिक सम्बन्ध भएको देश पनि हो । डीभी भरेर होस् वा विद्यार्थी भएर अमेरिका छिर्ने नेपाली निरन्तर थपिंदैछन् ।

उदाउँदो चीनले निर्माण गर्ने नयाँ समीकरण

तान्भी मदनको विश्लेषणको सार नै चीनको उदय जति तीव्र हुन्छ भारत र अमेरिका उत्तिकै नजिक हुन बाध्य हुन्छन् भन्ने हो । पहिलो शीतयुद्धको समय ठीक उल्टो थियो । अमेरिका र सोभियत संघ शीतयुद्धका दुई महाशक्ति थिए । भारत सोभियत संघको नजिक थियो र सन् १९७० पछि चीन अमेरिकाको नजिक ।

दोस्रो शीतयुद्ध भनिएकोे अमेरिका-चीन व्यापार युद्धमा भने अमेरिकाको नजिक भारत छ र चीनको निकटस्थ रूस । यी चारमध्ये रूस नेपालका लागि उति धेरै महत्वको रहेन, जुन पहिलो शीतयुद्धको समयमा थियो । जारी दशकमा अमेरिका-भारत एकातिर, चीन अर्कोतिर भएको विश्व शक्ति-सन्तुलन नेपालले सामना गर्नुको कुनै विकल्प बाँकी देखिन्न ।

बिप्पा, बीआरआई र एमसीसी

भारत, चीन र अमेरिकाको रणनीतिक स्वार्थ नेपालभित्र के कसरी प्रकट भइरहेको छ, त्यसका कैयौं दृष्टान्त छन् । तर, रणनीतिक स्वार्थ हुँदैमा नेपाल डराउनुपर्ने कुनै कारण भने छैन । शक्ति राष्ट्रहरूको रणनीतिक स्वार्थ हुनु भू-अर्थ राजनीतिक दृष्टिकोणबाट नराम्रो कुरा हैन । बरु त्यो अवसर हो र त्यसको अधिकतम उपयोग गर्नुपर्छ भन्ने धारणा विकास हुनुपर्ने हो ।

तर, नेपालको राजनीतिक मनोबनोट भने त्यस्तो छैन । भारतसँग बिप्पा सम्झौता हुँदा नेपालमा व्यापक विरोध भयो । त्यो कार्यान्वयनमै आउन सकेन । बिप्पाको अर्थ हुन्थ्यो- वैदेशिक लगानीलाई आकषिर्त र सुरक्षित गर्नु । भारतबाट आउने पूँजी नै विश्वस्त नहुन्जेल अन्य देशबाट आउने पूँजीले सुरक्षित महसूस गर्न सक्दैन । जुनसुकै देशको पूँजी नेपाल आए पनि त्यसले भारतको बजार ताक्नै पर्छ । यो स्थितिबाट नेपाल अझै मुक्त छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक सरकारमा आएपछि महत्व साथ लगानी सम्मेलन गरे । भव्य सम्मेलन भयो तर उल्लेखनीय लगानी भने आएन । चीनको कम्युनिष्ट पार्टीले बडो शानले नेपालका कम्युनिष्ट पार्टीलाई सी जिन पिङ विचारधाराको प्रशिक्षण दियो । चीनसँग भएका सन्धि-सम्झौताको ठूलो चर्चा भयो । राष्ट्रपति सी नेपाल आए । तर कार्यकालको अन्त्यतिर पुग्दा नपुग्दै स्वयं ओलीले आत्मसमर्पण गरे र सामन्त गोयलको शरणमा पुगे । यी घटनाक्रममा सामान्य राजनीतिक स्वार्थ त थिए नै होलान्, त्योभन्दा बढी ओलीले नेपालका लागि चीनको सीमा र सीमितता बुझेको हुन सक्दछ ।

अमेरिकासँगको अनुदान सम्झौता एमसीसी अहिले विवादित छ । बिप्पाको जस्तै अहिले त्यसको पनि जोडतोडले विरोध भइरहेको छ । जबकि बिप्पा र एमसीसी दुवै प्राकृतिक स्रोतसाधनसँग जोडिएका सम्झौता हैनन् । एमसीसी अनुदान सम्झौता मात्र हो, त्यो पनि पाँच वर्षभित्र फिर्ता हुने । कुनै अवाञ्छित क्रियाकलाप भए एक महीनाको सूचनामा खारेज हुने ।

बीआरआईको भने भव्य स्वागत भयो । सन् २०१७ मे १४ मा त्यो सम्झौता भएको चार वर्ष बढी भयो तर त्यस अन्तर्गतको कुनै पनि परियोजना अहिलेसम्म शुरुआत नै भएको छैन । अर्कोतिर एमसीसी भने हामीले चार वर्षदेखि अड्काएर राख्यौं, जबकि त्यस अन्तर्गतका योजना अहिलेसम्म पूरा भइसक्थे ।

तथ्यसँग नमिल्दो मनोविज्ञान

नेपाल भूगोल, जनसंख्या, अर्थतन्त्रको आकार र सैन्य शक्ति- यी कुनै पनि दृष्टिकोणबाट भारत, चीन र अमेरिकासँग तुलनीय छैन । नेपालको भू-अर्थ राजनीतिक संलग्नता र हित हेर्दा पहिलो स्थान भारतको र दोस्रो स्थान अमेरिकाको देखिन्छ । त्यसपछि मात्र चीनको योगदान देखिन्छ । जस्तो कि विप्रेषण र निर्यात व्यापार अवसरका दृष्टिकोणले नेपालका लागि चीन धेरै पर छ ।

तर, गज्जब रमाइलो के छ भने जससँग हाम्रो अन्तरनिर्भरता बढी छ, तिनैप्रति राजनीतिक द्वेष र घृणा भावना बढी देखिन्छ । जसप्रति हाम्रो अन्तरनिर्भरता कम छ, उसैप्रति हाम्रो मनोविज्ञान सकारात्मक छ । यो प्रवृत्ति के कति ठीक हो वा बेठीक ? नेपालले एकपटक पुनर्विचार गर्नै पर्दछ ।

चीनले भूमिका खोजेको हो भने …

यसको अर्थ यो हैन कि चीनसँग हामीले कुनै नकारात्मक भावना राख्नुपर्दछ । चीन पनि नेपालका लागि उत्तिकै महत्वको देश हो । तर, भारत र अमेरिकालाई प्रतिस्थापन गर्न सक्ने हैसियत र योगदान चीनको नेपालमा अझै छैन । यदि चीन त्यस्तो चाहन्छ भने तुरुन्त निम्न पाँच वटा काम उसले गर्नुपर्ने हुन्छ ।

एक– नेपालसँग १० वटा भन्दा बढी सहज, नियमित र औपचारिक नाका खोल्नुु ।

दुई– नेपाली कामदारलाई चिनियाँ श्रम बजारमा श्रम अनुमति र रोजगारको अवसर दिनु ।

तीन– नेपालतिर चिनियाँ माल निर्यात गर्ने मात्र हैन, नेपाललाई पनि चीनतिर निर्यातको अवसर दिनु ।

चार– बीआरआई अन्तर्गत गर्ने भनिएका रेलमार्ग लगायत परियोजना एक दशकभित्रै तीव्र ढंगले निर्माण गर्नु ।

पाँच– नेपालमा केवलमा केवल पूँजी र ऋण मात्र हैन, यथोचित अनुदान र भौतिक पूर्वाधार लगानीमा सहयोग गर्नु ।

त्यति ठूलो जनसंख्या, अर्थतन्त्रको आकार र रोजगारीको सम्भावना भएको चीनले केही लाख नेपाली कामदारलाई श्रमबजारमा अनुमति दिनु शायद ठूलो कुरा हुने थिएन । तर, चीनले त्यसरी सोचेको पाइँदैन । चीनमा के-कति नेपाली के कसरी बसेका छन्, के कस्तो रोजगारीमा छन् वा छैनन्, त्यसको कुनै आधिकारिक तथ्यांक पाइँदैन ।

जबसम्म यी काम चीनले गर्दैन, नेपालमा जुनसुकै विचारको पार्टी सरकारमा आए पनि भारत र अमेरिकाको भूमिका घट्दैन । करीब दुई तिहाइको कम्युनिष्ट सरकारलाई सी जिन पिङ विचारधाराको प्रशिक्षण दिंदैमा कुनै सार्थक परिणाम आउँदैन भनेर चीनले बुझिसक्यो होला ।

अभिशाप कि वरदान ?

नेपाल जस्ता साना र अल्पविकसित देशहरूको काम शक्ति राष्ट्रहरूसँग अनावश्यक निहुँ खोज्नु हुँदै होइन । त्यो बिल्कुलै गलत रणनीति हुनेछ । कि त ठूला शक्तिराष्ट्रमध्ये कुनै एकसँग गठबन्धनमा जाने आँट हुनुपर्‍यो, त्यो राष्ट्रले परेको बेहोर्ने जिम्मा लिनुपर्‍यो । त्यसो गर्ने अनुमति हाम्रो वैदेशिक नीति, संविधान र भू-राजनीतिक अवस्थितिले नै दिंदैन । त्यसो भए दोस्रो कसैलाई नचिढ्याउने र सबैबाट फाइदा लिने बाटो हो ।

हामी पहिलो बाटोमा जानै सक्दैनौं, दोस्रो बाटोमा जान पनि अलमल गर्दैछौं । तेस्रो बाटो छँदै छैन ।

बर्मूडा त्रिकोण मिथ मात्र हो, सत्य हैन भन्ने ल्यारी कुत्सेले ‘द बर्मूडा ट्रयाङ्गल मेस्टरीः सोल्भड’ मा पुष्टि गरिदिए । भारत-चीन-अमेरिका त्रिकोणको दुर्भाग्य पनि नेपालका लागि मिथ मात्रै हुन सक्दछ । यदि यो त्रिकोणको रहस्य फुकाउन जान्ने दक्ष नेतृत्व नेपालसँग हुने हो भने त्रिकोण अभिशापभन्दा बढी वरदान सावित हुन सक्दछ । सैद्धान्तिक विश्लेषण गर्दा चुनौती कम र अवसर बढी छन् । तर, व्यवहार कसरी जान्छ शायद आउँदो दशकसम्म पर्खेर हेर्नुपर्ने हुन्छ ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?