+
+

कति पुरानो हो स्वस्थानी कथा ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १४:०९

३ माघ, काठमाडौं । सोमबारदेखि शुरु भएको स्वस्थानी व्रत हरेक वर्ष विभिन्न बहसका कारण चर्चाको विषय बन्ने गर्छ । स्कन्ध पुराणको केदार खण्डमा रहेको माघ महात्म्यमा समेटिएको यो कथालाई कसैले नारी अधिकारको कुरा गरेर आलोचना गर्छन् भने कसैले तत्कालीन समयको समाजसँग चित्रित गरेर यसलाई स्वाभाविक मान्छन् ।

यत्तिका बहस चलिरहँदा पनि स्वस्थानीको कथा शुरुआती अवस्थामा नै यस्तै अवस्थामा थियो कि थिएन ? यो कतैको सत्य घटनामा आधारित कथा हो कि होइन ? भन्ने जस्ता मूलभूत विषयमा भने अझै यकिन हुन सकिरहेको छैन ।

२०७६ माघ २८ गते प्रतिनिधिसभामा बोल्दै सत्तारुढ तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकी सांसद यशोदा सुवेदी गुरुङले महिनावारी हुँदा छोइछिटो गर्ने परम्परालाई मजबुत पार्ने स्वस्थानी व्रतकथा र ऋषिपञ्चमीका कथाहरु च्यात्नुपर्ने बताएकी थिइन् । धार्मिक अन्धविश्वास र परम्परालाई भत्काउने मजबुत खालको अभियानको खाँचो परेको उनको अभिव्यक्तिले उनलाई विवादमा तान्यो ।

त्यसो त जब माघ महिना शुरु हुन्छ, स्वस्थानी व्रत कथामाथि यावत टीकाटिप्पणी आउने गर्छन् । व्रतमाथि अनेक बहस पनि हुने गर्छन् । तर यसको कथाको प्रसंग र कुन अवस्थामा यसको शुरुआत भएको थियो त ?

अमेरिकाको पेनस्टेट विश्वविद्यालयमा एसियाली अध्यययन, महिला अध्ययन, लैंगिकता तथा यौनिकता पढाउने जेसिका भेन्टिन बिर्कन्होल्जले चार वर्षअघि नेपालमा स्वस्थानी व्रतसँग सम्बन्धित एउटा पुस्तक तयार पारिन् । दुई दशकको अध्ययनपछि उनले प्रकाशित गरेको पुस्तकमा स्वस्थानीको बारेमा हुने दुईवटा मिथकलाई विश्लेषण गरिएको छ । मिथकहरूमा महिलालाई प्रायः दुई स्वरूपमा देखाइएको हुन्छ । पहिलो : शान्त, भद्र र नरम, अनि सधैं उनीहरूका पतिका साथमा रहने, जस्तो, पार्वती । अनि दोस्रो : अविवाहित तथा पुरुष साथीबिना एक्लै रहेकी, अनि आक्रामक र लडाकु स्वभावकी, जस्तो, दुर्गा वा काली । तर, स्वस्थानी देवी एक जटिल चरित्र हुन् र अन्य सबैभन्दा फरक छिन् । शान्त र भद्र भइकन पनि उनलाई चन्द्रावतीको कथामा उग्र र माफी दिन नसक्ने जसरी देखाइएको छ ।

कति पुरानो हो स्वस्थानी कथा ?

स्वस्थानी व्रत कथा कति पुरानो हो भन्नेमा विद्वानहरुबीच एक मत छैन । तर यो एउटा सत्य कथामा आधारित पुस्तक हो भन्नेमा भने धेरै सहमत छन् । शुरुमा नेवारी भाषामा लेखिएकोमा नेपालीकरण गर्ने बेलामा यसलाई केही अतिरञ्जित पनि गरिएको पाइन्छ । तर यसमा समेटिएका अधिकांश कथा काठमाडौं उपत्यका र त्यसमा पनि साँखु क्षेत्रको कथासँग सम्बन्धित रहेको कुरामा धेरै सहमत देखिन्छन् ।

नेवारी समाजमा र यसबाहिर छुट्टाछुट्टै पाण्डुलिपिहरु भेटिएका छन् । यसमा गोमा, नवराजको मुख्य कथा छन् । यद्यपि अठारौं शताब्दीमा गोरखाबाट पाइएको अर्काे पाण्डुलिपिमा भने नवराजसँगै महादेव र पार्वतीको कथा पनि जोडिएको कुरा प्राचीन नेपालमा प्रमोद बस्नेतले लेखेको ‘कसरी शुरु भयो स्वस्थानीको कथा’ नामक अनुसन्धानमूलक आलेखमा उल्लेख छ । पछि तयार पारिएका पाण्डुलिपिमा मात्रै शिव पार्वतीको चर्चा थपिएको कुरामा दुई दशकसम्म स्वस्थानीको अध्ययन गरेकी जेसिका भेन्टिन पनि सहमत छिन् ।

दुई वर्षअघि अनलाइनखबरसँगको अन्तर्वार्ताको क्रममा भेन्टिनले भनेकी थिइन्, ‘मैले करिब ८०० प्रकारका स्वस्थानीका किताब फेला पारें र तीमध्ये १२५ को जाँच गरें । त्यसमध्ये पनि प्रकाशन मिति उल्लेख गरिएका, आकारप्रकार नबिग्रिएका र पूरा कथा भएका करिब दुई दर्जन छानेर पढें ।’ १७ औं शताब्दीदेखि २१ औं शताब्दीसम्म आइपुग्दा स्रोत पुस्तक र अहिलेको पुस्तकमा धेरै भिन्नता आएको उनी बताउँछिन् ।

बस्नेतको अनुसन्धानमूलक आलेख अनुसार हालसम्म पाइएको सबैभन्दा पुरानो स्वस्थानी भनेको नेपाल संवत् ६९३ (वि.सं. १६२९) को स्वस्थानपरमेश्वर्या व्रतकथा हो । जुन हस्तलिखित पुस्तक हो । यो संस्कृत भाषामा लेखिएको छ । त्यसको ३० वर्षपछि नेवारी भाषामा लेखिएको स्वस्थानी भेटियो । यो अहिले राष्ट्रिय अभिलेखालयमा संग्रहित छ । त्यसको झण्डै ११८ वर्षपछि मैथिली भाषामा लेखिएको स्वस्थानी भेटिएको छ । नेपाली भाषामा भने पहिलो पटक वि.सं. १८६७ मा लेखिएको हस्तलिखित स्वस्थानी भेटिएको छ ।

यिनै प्रमाणको आधारमा स्वस्थानी कथा १७ औं शताब्दीभन्दा पुरानो मान्न सकिन्छ । तर यही नै समयमा शुरु भयो भन्ने तथ्य भने भेट्न सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?