+
+

दैनिक २० हजार संक्रमित थपिन सक्छन्, बेड अभाव हुनसक्छ

मन्त्रालयका अधिकारीहरूका अनुसार अब एक हप्ता संक्रमणदर बढ्दै जाने छ र माघ दोस्रो उच्च बिन्दुमा पुग्नेछ । तेस्रो साताबाट विस्तारै घट्दै जाने आकलन गरिएको छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७८ माघ ३ गते १५:४१

३ माघ, काठमाडौं । पछिल्लो दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २५ पुसमा परीक्षण गरिएको नमूनामध्ये ९.१ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । २ माघमा आइपुग्दा यो संक्रमण दर बढेर ३२.८ प्रतिशतमा पुगेको छ ।

मन्त्रालयका अधिकारीहरूका अनुसार अब एक हप्ता संक्रमणदर बढ्दै जाने छ र माघ दोस्रो उच्च बिन्दुमा पुग्नेछ । तेस्रो साताबाट विस्तारै घट्दै जाने आकलन गरिएको छ ।

अहिले दैनिक थपिने संक्रमितको संख्या पनि ५ हजार आसपास छ । तर यो संख्या आगामी दुई हप्तासम्म अझै उकालो लाग्दै जानेछ र दैनिक २०–२२ हजारसम्म नयाँ संक्रमित थपिनसक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको प्रक्षेपण छ ।

डेल्टा भेरियन्टको संक्रमण फैलिएको दोस्रो लहरमा सबभन्दा धेरै २८ वैशाखमा ९ हजार ४८३ जनामा पुष्टि भएको थियो । संक्रमण दर ४४.४९ प्रतिशत थियो । त्यसबेला बेड अभाव, अक्सिजन तथा अन्य व्यवस्थापन राम्रो हुनसक्दा थुपैै व्यक्तिले ज्यान गुमाउनु परेको थियो । जनस्वास्थ्य विज्ञहरूका अनुसार डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कम घातक देखिएको छ । तर डेल्टाभन्दा तीन गुणा बढी रफ्तारमा फैलिने भएकाले छोटो समयमा धेरै मानिस संक्रमित हुन्छन् ।

संक्रमितमध्ये ८५ प्रतिशतलाई सामान्य असर देखिनेछ भने १० प्रतिशत अस्पताल पुग्नुपर्छ, ५ प्रतिशतभन्दा कमलाई आईसीयू तथा भेन्टिलेटर सपोर्ट चाहिन सक्ने मन्त्रालयको विश्लेषण छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेल भन्छन्, ‘ओमिक्रोन भेरियन्ट कम घातक भएकाले कमै संख्यामा आईसीयू तथा भेन्टिलेटरमा जान सक्छन् । त्यसकारण हामीसँग भएका आईसीयू तथा भेन्टिलेटरले धान्न सक्ने अनुमान छ, तर जनरल बेडको अभाव हुने देखिन्छ ।’

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल देशभरमा ८ हजार २०२ वटा आइसोलेसन बेड, ३ हजार ८४६ एचडीयू, २७९७ आईसीयू र १००८ वटा भेन्टिलेटर सहितका बेड छन् ।

यो निजी तथा सरकारी अस्पतालको बेड संख्या हो, जहाँ कोभिडसँगै नन् कोभिडका विरामीहरूको उपचार भइरहेको छ ।

तर संक्रमण तीव्र गतिमा फैलिएर दैनिक २० हजार सक्रिय संक्रमित थपिए ७ दिनमै १४ हजार बेड आवश्यकता पर्नसक्ने मन्त्रालयको प्रक्षेपण छ । ‘बेड अभाव भएको अवस्थामा अन्य निजीमा रहेका नन् कोभिड विरामीहरूको व्यवस्थापन गरेर भए पनि सेवा दिने योजना बनाइरहेका छौं’, डा. पोखरेलले भने ।

त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा. निरज बम पनि नन् कोभिड बिरामीले शय्या भरिएको अवस्थामा कोभिडका बिरामीलाई बेड व्यवस्थापन गर्न चुनौती रहेको बताउँछन् । ‘अहिले भर्ना गरेका बिरामीलाई घर पठाउन मिल्ने अवस्था छैन’ डा. बम भन्छन्, ‘त्यसैले अहिले अक्सिजन तथा जटिल खालका संक्रमितलाई मात्रै भर्ना लिएका छौं ।’

आईसीयूमा भर्ना हुने संख्या बढ्यो

आईसीयू तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या क्रमशः बढिरहेको छ । मन्त्रालयको तथ्यांक अनुसार, २३ पुसमा ८१ जनाको आईसीयूमा उपचार भएको थियो । २ माघमा यो संख्या बढेर १२२ पुगेको छ ।

आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने विरामीहरू सात–दश दिन नभई डिस्चार्ज हुँदैनन् । तर ठूलो संख्यामा संक्रमित थपिंदै जाँदा अस्पतालमा भर्ना हुने संक्रमितहरूको संख्या स्वतः बढ्छ । यसले स्वास्थ्य प्रणाली कोल्याप्स हुनसक्ने संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन् ।

‘ओमिक्रोन कम घातक भए पनि संक्रमण गर्ने क्षमता धेरै भएकाले डेल्टाभन्दा ठूलो संकट आउन सक्ने सम्भावना देखिन्छ’ डा. सुवेदीले अनलाइनखबरसँग भने, ‘सरकारको यस्तै व्यवस्थापनका कारण बेड अभावले सामान्य निमोनिया भएका मानिसको पनि अकालमै मृत्यु हुनसक्छ ।’

केही दिनयता अस्पतालमा बढ्दो स्वास्थ्यकर्मी संक्रमण हेर्दा जनशक्ति अभाव हुने देखिएको निजामती अस्पतालका मेडिकल निर्देशक डा. अनुजजंग रायमाझी बताउँछन्

आफैं संक्रमित छन् स्वास्थ्यकर्मी

ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएकाले अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ । उपत्यकाका ठूला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुने संख्या दिनदिनै बढ्दै जाँदा जनशक्ति अभाव त हुने होइन भन्ने आशंका पैदा भएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मात्र ३०० भन्दा बढी कर्मचारीमा संक्रमण पुष्टि भएको छ । ‘एकैपटक धेरै स्वास्थ्यकर्मी कोरोना पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । जनशक्ति अभावले मेडिकल आईसीयूबाट सेवा दिन सकिएको छैन’ अस्पतालका कोरोना फोर्कल पर्सन डा. बम भन्छन्, ‘भएका बेड पनि सञ्चालन गर्न सकिएको छैन जसका कारण सिरियस बिरामी समेत लिन नसक्ने अवस्थामा पुगेका छौं ।’

वीर, पाटन, निजामती कर्मचारी, प्रसूति लगायत सरकारी अस्पतालमा पनि ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू संक्रमित हुँदा अस्पतालको सेवा प्रवाह प्रभावित बनेको छ ।

कोभिड १९ युनिफाइड अस्पताल (वीर) का प्रमुख डा. भुपेन्द्र बस्नेत जनशक्ति व्यवस्थापन कठिनाइ हुने देखिएको बताउँछन् । वीरमा दुई दिनमा ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएको भन्दै उनले भने, ‘अहिलेको अवस्थालाई मध्यनजर गर्दै हामीले नन् कोभिडका बिरामी विस्तारै कम गर्दै लगेका छौं । तर जनशक्ति अभावका कारण हामीले कठिन परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ ।’

केही दिनयता अस्पतालमा बढ्दो स्वास्थ्यकर्मी संक्रमण हेर्दा जनशक्ति अभाव हुने देखिएको निजामती अस्पतालका मेडिकल निर्देशक डा. अनुजजंग रायमाझी बताउँछन् । ‘अस्पताल भर्ना हुने संक्रमितको संख्या बढेको छ । तर स्वास्थ्य जनशक्तिमा संक्रमण देखिएकाले काम गर्नसक्ने जनशक्तिको संख्या घट्छ । यसले सेवा प्रवाहमा असर पर्ने देखिन्छ’, डा. रायमाझी भन्छन् ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी पनि तेस्रो लहरमा ठूलो जनशक्ति अभाव हुने देखिएको बताउँछन् । ‘अस्पतालको जनशक्ति संक्रमित हुँदै जाँदा सेवा सञ्चालन गर्न समस्या देखिएको संकेत पाएका छौं’ डा. अधिकारीले भने, ‘अहिलेको अवस्थामा कोभिड र नन्–कोभिडका बिरामीको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा झनै चुनौती देखापरेको छ ।’

स्वास्थ्यकर्मीको अभाव हुन नदिन करारमा राखिएका स्वास्थ्यकर्मीको सेवा अवधि तीन महीना थप गरिएको छ । आवश्यक परे छात्रवृत्तिमा पढेका चिकित्सक तथा एमबीबीएस पढ्दै गरेका विद्यार्थीलाई पनि काममा लगाउने मन्त्रालयको योजना छ ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?