+
+

विमान कम्पनीको विरोधपछि अमेरिकामा फाइभ जी सेवा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते ८:१७

६ माघ, काठमाडौं । अमेरिकी मोबाइल सेवा कम्पनीहरु विमानस्थलहरुमा फाइभ जी सेवा स्थगति गर्न सहमत भएका छन् । विमान कम्पनीहरुले फाइभ जी सेवाले उडानमा असर पुर्याउने भन्दै अमेरिका आउ-जाउ गर्ने उडान रद्द गरेका थिए । त्यसपछि अमेरिकाका एटी एण्ड टी र भिरिजोनले फाइभ जी सेवा हाललाई स्थगित गरेका बीबीसीले जनाएको छ ।

यी कम्पनीहरुले अमेरिकामा बुधबारदेखि फाइभ जी सेवा सुरु गर्ने निर्णय गरेका थिए । एटी एण्ड टीका प्रवक्ताले समाचार एजेन्सी पीटीआईलाई प्रतिक्रिया दिंदै आफूहरुले ४० बढी देशमा यो सेवा सुरु गरिसकेको तर अमेरिकामा सुरु गर्न नसक्दा निराश भएको बताएका छन् ।

फाइभ जी सेवा सुरु हुने जानकारी पाएलगत्तै भारतको ध्वजाबाहक एयर एण्डिया, इमिरेट्स लगायतका कम्पनीहरुले अमेरिकाको उडान रद्द गरेका थिए । अमेरिकाकै अमेरिकन एयरलाइन्स, डेल्टा, युनाइटेड लगायतका १० भन्दा बढी एयरलाइन्स कम्पनीहरुले पनि फाइभ जी मोबाइल फोन सेवा सुरु नगर्न आग्रह गरेका थिए ।

फाइभ जीले विमानमा कस्तो असर पुर्याउँछ ?

फाइभ जी सिग्नलको सी ब्याण्डले हवाई उडानमा असर पुर्याउने चेतावनी एयरलाइन्स कम्पनीहरुले दिएका छन् । यसले विमानको नेभिगेसन सिस्टम (दिशानिर्देश प्रणाली)लाई असर गर्ने एयरलाइन्स कम्पनीहरुको भनाइ छ ।

विमानमा रेडियो अल्टिमिटर जडान गरिएको हुन्छ । यसले विमानको गतिविधिको जानकारी दिनुका साथै पाइलटलाई सुरक्षित तरिकाले विमान उडाउन सहयोग गर्दछ । फाइभ जीले त्यही रेडियो अल्टिमिटरमा असर पुर्याउने चेतावनी दिइएको छ । यसले विमानको ब्रेकिङ सिस्टममा पनि असर गर्ने र रनवेमा विमानलाई रोक्न नसकिने हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

एयरलाइन्स कम्पनीहरुले फाइभ जी सिग्नललाई हवाई अड्डाभन्दा करिब दुई माइल टाढा राख्नुपर्ने माग गरेका छन् । यदि यसो नगरिएमा फाइभ जीले विमान उद्योग, यात्रु, आपूर्ति प्रणाली, भ्याक्सिन वितरण र अर्थव्यवस्थामा असर पर्ने चेतावनी उनीहरुले दिएका छन् ।

‘तथ्यलाई तोडमोड गर्न खोजियो’

मोबाइल कम्पनीहरुले उच्च गतिको इन्टरनेट सेवा फाइभ जी लागू गर्नका लागि आफ्नो नेटवर्क प्रणालीलाई अपग्रेड गरेका छन् । यस कार्यमा अरबौं डलर खर्च गरिएको छ । तर एयरलाइन्स कम्पनीहरुको विरोधका कारण त्यो लगानीमा जोखिम पैदा भएको विश्लेषण गरिएको छ ।

अमेरिकाको वायरलेस उद्योगको समूह सीटीआईएले भने फाइभ जी प्रणाली सुरक्षित रहेको जनाएको छ । एयरलाइन्स कम्पनीहरुले तथ्यलाई तोडमोड गरेर डर पैदा गर्न खोजेको आरोप पनि उसले लगाएको छ ।

एटी एण्ड टी कम्पनीका प्रवक्ताले फाइभ जी सेवा ४० देशमा लागू गरिसकेको र त्यसबाट विमान सेवामा असर नपरेको बताएका छन् । तर अमेरिकामा यो सेवा लागू गर्न नसक्दा आफू निराश भएको बताउँदै उनले भनेका छन्- अमेरिकी नियामक निकायलाई हामी अनुरोध गर्दछौं कि समयबद्ध तरिकाले यो लागू गर्नुस् ।

फाइभ जी सेवा हाललाई स्थगित गर्ने निर्णयको अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले स्वागत गरेको छ । बाइडन प्रशासनले भनेको छ- यो निर्णयबाट यात्रुहरुको आउजाउ र कार्गो विमान सन्चालनमा हुने रोकावट हट्नुका साथै अर्थव्यवस्था सही बाटोमा आउने काम पनि जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?