+
+

‘सत्यम्’ र ‘एक्स ९’ : फिल्म बन्ने छैन टुंगो, हल्ला बक्स अफिसमा सुनामीको 

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १३:३५
चलचित्र 'सत्यम्'का लागि बनाइएको सेट । फाइल तस्वीर

७ माघ, काठमाडौं । नेपाली चलचित्र क्षेत्र हल्ला बढी काम कम हुने ठाउँ हो । यहाँ चलचित्र निर्माणको घोषणा गरेर निर्माताहरु यसरी हल्ला गर्छन् कि मानौं त्यो चलचित्र रिलिज नहुँदै हिट भइसकेको छ । तर, पछि चलचित्र बनाउन नसक्दा उनीहरुको हल्ला व्यर्थ हुन्छ ।

एक वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा दुईवटा चलचित्रको चर्चा खुबै भयो । अभिनेता राजेश हमालले चार वर्षपछि कमब्याक गरेको भन्दै ‘सत्यम्’ नामक चलचित्रको निकै चर्चा भयो । हरेक भूमिकामा नाम चलेका कलाकार राख्नका लागि निर्माता रेशम सापकोटाले कुनै कञ्जुस्याइँ गरेनन् । राजेश हमाल, पल शाह, मलिका महत, अनुपविक्रम शाहीजस्ता चलचित्रलाई चलचित्रका लागि साइन गरियो । पोखरामा भव्य सेट पनि बनाइयो ।

शंकर कार्कीले निर्देशन गर्न लागेको यो चलचित्रले बक्स अफिसमा सुनामी नै ल्याउने हल्ला गरियो । धम्पुस पुगेर वर्कसप पनि भयो । वर्कसपमै निर्माताले लाखौं रकम खर्च गरे । तर, एक वर्षसम्म पनि यो चलचित्रको छायांकन शुरु हुन सकेको छैन । अब यो चलचित्र बन्ने कुरामा यसको टिम नै विश्वस्त छैन । बरु चलचित्रमा आवद्ध कलाकारहरु अन्य प्रोजेक्टमा व्यस्त हुन थालिसकेका छन् ।

चलचित्र ‘एक्स ९’को हल्ला पनि यस्तै हो । निर्देशक मुकुन्द भट्टले अनमोल केसीदेखि पुष्प खड्का, सौगात मल्ल, राज कटुवालसँग सम्झौता गरे । पाँचतारे होटलमा कलाकार भेट्दै गरिएको सम्झौता मुम्बईसम्म पुग्यो । बलिउड अभिनेता सुनिल सेट्टीले समेत चलचित्र साइन गरेको हल्ला पिटाइयो । अभिनेता अनमोल केसीसँग निर्देशक भट्टका सेल्फी, भिडियो, तस्वीर सबै सार्वजनिक भए ।

पाँच करोड भन्दा बढी बजेटमा युरोपका विभिन्न देशमा छायांकन गरिने भनिएको चलचित्रका लागि कलाकारले शरीर समेत बनाए । तर, अब यो चलचित्र नबन्ने निश्चित जस्तै छ । यता निर्देशक भट्टले भने कलाकारको भिसा प्रक्रियामा समय लागेकाले छाया‌ंकन केही पछाडि धकेलिएको भएपनि चलचित्र नै नबन्ने भन्ने कुरा निराधार भएको बताए ।

चलचित्र नबन्दै हल्ला धेरै गरिएका यी दुवै चलचित्र नमच्चिने पिङको सय झट्का भनेजस्तै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?