+
+

‘क्रसिङ’ नराखिंदा वन्यजन्तुका लागि पासो बन्दैछन् विकासे पूर्वाधार

प्राकृतिक वासस्थल, ओहोरदोहोर (जैविक) मार्ग सहित सुरक्षा पक्षलाई ध्यान दिएर ‘वाइल्डलाइफ क्रसिङ’हरु समेत नराखी विकासका पूर्वाधारहरू बनाइँदा प्राकृतिक विचरणकै क्रममा वन्यजन्तुहरू मृत्युको मुखमा पुगिरहेका छन् ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ माघ १० गते १९:५५

१० माघ, काठमाडौं । आइतबार चितवन राष्ट्रय निकुञ्जको वरण्डाभार वन क्षेत्रमा सडकमा निर्माणाधीन नालीमा फसेर दुर्लभ एकसिङ्गे गैंडा मर्‍यो । वन्यजन्तु करिडोरमा लापरवाहीपूर्ण तवरले सडक विस्तार गर्दा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले नै बताएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार आवश्यक मापदण्ड र प्रक्रिया नपुर्‍याई काम भएको भन्दै निकुञ्जले सडक डिभिजन कार्यालय चितवनलाई पत्र नै काटेको छ ।

प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी, रुख कटानको अनुमति तथा कुनै राय समेत पनि नलिई सडक निर्माण गरेको र वन्यजन्तुको सुरक्षामा ध्यान नै नदिई निर्माणको काम हुँदा वन्यजन्तु असुरक्षित भएको निकुञ्जको ठहर छ ।

१५ चैत २०७७ मा चितवनकै ठोरीमा हुलाकी सडकमा बाघ र अटो ठोकिन पुग्दा दुर्घटना भएको थियो । अटो पल्टिएपछि भागेकाले घाइते बाघको स्वास्थ्य अवस्था पत्ता लाग्न सकेन । त्यसअघि १८ पुस २०७७ मा बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलमा कारसँग ठोक्किएर १० वर्षको पोथी बाघ मरेको थियो ।

वासस्थल, ओहोरदोहोर (जैविक) मार्गसहित सुरक्षा पक्षलाई ध्यान दिएर ‘क्रसिङ’हरु नराखी विकासे पूर्वाधारहरू बनाइँदा प्राकृतिक विचरणकै क्रममा जीवजन्तुहरू मृत्युको मुखमा पुगिरहेका छन् । यस्ता कारणाले मान्छेको सहजताका लागि बनेका पूर्वाधारहरू वन्यजन्तुका लागि ‘पासो’ बन्दैछन् ।

मुख्यगरी तराईका राष्ट्रिय निकुञ्जको घना जंगल चिरेका राजमार्गमा पछिल्ला वर्षमा वन्यजन्तुहरु दुर्घटनामा पर्ने क्रम बढेको छ । पशु अधिकारकर्मीहरु वन्यजन्तुको ओहोरदोहोर हुने मुख्य वन क्षेत्रको सडकमा निर्माण कार्य गर्दा वन्यजन्तुमैत्री नहुँदा यस्ता घटना भएको बताउँछन् ।

बढी वन्यजन्तु ओहोरदोहोर हुने क्षेत्रमा सडक मुनिबाट वन्यजन्तु हिंड्न अन्डरपास र  सडक माथिबाट वन्यजन्तु हिंड्ने ओभरपास बनाउनतर्फ ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार कुल १०२८ किलोमिटरको पूर्व-पश्चिम राजमार्गको करीब २०० किमि खण्ड निकुञ्जभित्र पर्छ । बाँके राष्ट्रिय निकुञ्जमा करीब सय किलोमिटर, बर्दिया राष्ट्रिय निकञ्जमा ३० किमि, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ किमि, पर्सामा २० किमि र चितवनमा ५ किमि राजमार्ग पर्छ ।

यसबाहेक राजमार्गको थप २०० किलोमिटर वन्यजन्तुको मुख्य वासस्थानका रुपमा रहेका जंगलभित्रै पर्छन् । घना वन क्षेत्र भएर जाने मध्यपहाडी, मदन भण्डारी, हुलाकी, उत्तर-दक्षिण करिडोर राजमार्ग सहित रणनीतिक तथा ग्रामीण सडकहरुमा पनि यही समस्या छ। । करीब एक लाख किलोमिटर सडक सञ्जाल रहेको नेपालमा कति किमि वन क्षेत्रबाट गुज्रिन्छ र त्यसमध्ये कति क्षेत्र वन्यजन्तुको जैविक करिडोरमा पर्छन् भन्ने अध्ययन भने भएको छैन ।

राजमार्ग, विभिन्न आयोजनाका पहुँचमार्ग र ग्रामीण सडकहरु बनाउँदा मुख्य गरी मुआब्जा विवाद छल्न वन क्षेत्र नै रोज्ने गरिएको छ । पछिल्लो समयमा कच्ची सडकहरुले पक्की रुप लिने क्रम पनि बढेको छ । यसले गर्दा वन्यजन्तुमाथि दिनदिनै खतरा बढेको विभागको ठहर छ ।

वन्यजन्तुका लागि फराकिलो कालोपत्रे सडकमा तीव्र गतिमा चल्ने सवारी ठूलो खतरा बनेका छन् भने निकुञ्ज क्षेत्रभित्र तोकिएको गतिमा गुड्दा यात्रु पनि वन्यजन्तुको आक्रमणमा पर्ने जोखिमको अवस्था छ । निर्माणको क्रममा पर्याप्त सावधानी नअपाउनेदेखि निर्माणपछि पूर्वाधारलाई वन्यजन्तुमैत्री बनाउनेसम्मका पक्षमा सरकार चुकिरहेको छ ।

पासो बन्दै पूर्वाधार

वर्षैपिच्छे सडक दुर्घटना र विकासका संरचनाहरुको पासोमा परेर मर्ने वन्यजन्तुको संख्या ठूलो छ । आर्थिक वर्ष २०७६/७७ मा मरेका ५९१ मध्ये १०८ वन्यजन्तुको मृत्युको कारण सडक दुर्घटना थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार त्यसअघि आव २०७५/७६ मा ११९, २०७४/७५ मा १२४ र २०७३/७४ मा १३३ वटा वन्यजन्तु सवारीको ठक्करबाट सडकमा मारिएका थिए ।

विकासे संरचनाहरु वन्यजन्तुमैत्री नहुँदा दुर्घटनामा परी वन्यजन्तुले अकालमा मर्नु परिरहेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै दुर्घटनामा परेर ४३ वन्यजन्तु मरेका थिए । सो निकुञ्जमा आर्थिक वर्ष २०७१/७२ देखि २०७७/७८ सम्मका सवारी दुर्घटनामा परेर मर्ने वन्यजन्तुको संख्या ३५८ थियो ।

राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापरवाही मात्रै नभएर असुरक्षित सडक संरचना पनि दुर्घटनाका कारण बनेका छन् । घना वन क्षेत्र चिरेर बनेका राजमार्ग सहित विभिन्न पूर्वाधार आयोजनाहरु धेरै वन्यजन्तु दुर्घटनामा पर्ने कारक बनेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व वन्यजन्तु कोष, नेपाल बताउँछ । सडक दुर्घटनामा मरेका वन्यजन्तुको संख्या हाल रेकर्ड भएकोभन्दा निकै हुनसक्ने कोषका संरक्षणविद्हरु बताउँछन् ।

सवारीको ठक्करबाट घाइते भएर जंगलमा पुगेर मर्ने वन्यजन्तुको गणना भएको छैन । वन्यजन्तु मरेका सबै सडक दुर्घटना रेकर्डमा आएको भनेर मान्न सकिने स्थिति पनि छैन । जंगल क्षेत्रमा मात्र नभई नहर, विद्युत प्रसारणलाइन आदिका पूर्वाधार क्षेत्रमा पनि वन्यजन्तुहरु दुर्घटनामा पर्ने गरेका छन् ।

विशेषतः पानी, कन्दमूल वा शिकारको खोजीका भौंतारिएका वन्यजन्तु बढी सडक दुर्घटनामा परेको अध्ययनले देखाएको छ । विश्व वन्यजन्तु कोषले गरेको अध्ययन अनुसार धेरैजसो वन्यजन्तु हिउँद मौसममा सडक दुर्घटनामा पर्ने जोखिम रहेको पाइएको छ ।

कोषले मुग्लिन-नारायणगढ सडकको रामनगर र आपँटारी खण्डको चार ठाउँमा बनाइएको वन्यजन्तु अण्डरपासमा सन् २०१७ अगस्टदेखि २०१८ जूनसम्म अध्ययन गरेको थियो । वन्यजन्तुकै लागि भनेर नेपालमा पहिलोपटक अण्डरपास बनेका हुन् ।

वासस्थानमा पानी र आहारको अभाव हुने समयमा सडक क्षेत्रमा वन्यजन्तुको ओहोरदोहोर बढी हुने अध्ययनले देखाएको छ । हिउँदमा अन्डरपासबाट ओहोरदोहोर गर्नेमा मृग, बँदेल, दुम्सी, न्याउरी मुसा, लंगुर, वन बिरालो बढी थिए भने १० प्रतिशत बाघ, चितुवा, गैंडा जस्ता ठूला स्तनधारी थिए । यो अनुभव र अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर नेपालले वन्यजन्तु र यात्रु सुरक्षाका लागि घना वनबाट गुज्रने राजमार्गहरुमा अण्डरपास, ओभरपास संरचना बनाउनुपर्ने विश्व वन्यजन्तु कोषको सुझाव छ ।

असुरक्षित पूर्वाधार

निकुञ्ज, आरक्ष र वनभित्र वन्यजन्तुको ओहोरदोहोर गर्दा अवरोध नहुने सुनिश्चित गर्नु मुख्यतया विकासे निकायहरुको जिम्मेवारी हो । सडक, रेल, प्रसारण लाइन, जलविद्युत आयोजना, ग्याँस तथा खानेपानीको पाइपलाइन, नहर सहित नदी तटबन्ध जस्ता आयोजनाले वन्यजन्तुको वासस्थान र जैविक मार्ग खल्बल्याउन नहुने संरक्षणको विश्वव्यापी मान्यता छ ।

दुर्लभ वन्यजन्तुको चहलपहललाई सुरक्षित राख्न, मान्छे र वन्यजन्तु द्वन्द्व घटाउन र  दुर्घटना कम गर्न विकासे मन्त्रालयले वन्यजन्तुको संरक्षणलाई ध्यान दिएर पूर्वाधार बनउनुपर्ने हुन्छ । निर्माणाधीन तथा निर्माण सकिएका पूर्वाधारले प्रकृतिमा रमाइरहेका कमिलादेखि हात्तीसम्मका जीवजन्तु र चराचुरुंगीको ओहोरदोहोरलाई प्रभावित गर्न हुँदैन । वन्यजन्तुको वासस्थल जोगाएर पारिस्थितिकीय प्रणालीलाई जीवन्त राख्न तथा  पर्यावरणीय सन्तुलन कामय गर्न पूर्वाधार वन्यजन्तुमैत्री हुनुपर्ने मान्यता छ ।

तर, जथाभावी विकासका संरचना तयार गर्ने परिापाटी बढ्दै जाँदा वन्यजन्तुहरु समस्यामा पर्दै गएका छन् । अहिलेसम्म विभागले वन, निकुञ्ज, संरक्षण क्षेत्रको सम्वेदनशील क्षेत्रमा कस्ता पूर्वाधार बनाउँदा कस्तो मापदण्डको ओभरपास, अन्डरपास वा र्‍याम्प बनाउने भन्ने तय गरेको छैन ।

पछिल्लो समय राजमार्गमा मात्रै हैन, ठूला नहर, प्रसारणलाइन जस्ता रेखीय प्रकृतिका ठूला पूर्वाधारहरुमा पनि वन्यजन्तुको ज्यान जाने क्रम बढदो छ । विश्व वन्यजन्तु कोषका वैज्ञानिक डा. गोकर्णजंग थापा नेपालका राजमार्ग सहितका पूर्वाधारमा वन्यजन्तुका लागि अन्डरपास र ओभरपास जस्ता ‘क्रसिङ’ अनिवार्य भएको बताउँछन् ।

अहिले वन्यजन्तुलाई आफ्नो वासस्थानभित्रै विचरण गर्न पनि सडकमा पुग्न वा वारपार गर्नुपर्ने बाध्यता बढेको छ । तराईका सीधा र फराकिला राजमार्गमा अन्धाधुन्द गतिमा गाडी हाँक्ने प्रवृत्ति पनि संरक्षित वन्यजन्तुका लागि काल बन्दैछन् ।

‘घना वनलाई विभिन्न रेखीय पूर्वाधारले खण्डित गरेकोले वन्यजन्तुको प्राकृतिक विचरण बिथोलिएको छ’ संरक्षणविद डा. थापा भन्छन्, ‘विकास पूर्वाधारको अवरोधले वन्यजन्तुलाई मृत्युको जोखिम मात्र पारेको छैन, उनीहरुको आनुवंशिक विकासमा समेत असर गरिरहेको छ ।’

उनका अनुसार एकबाट अर्को क्षेत्रमा सहजै जान नपाए वन्यजन्तुको एउटै वंशभित्र प्रजनन कायम रहन्छ । त्यसले वन्यजन्तुको नयाँ पुस्तामा आनुवंशिक गुण विकास गर्न प्राकृतिक अवरोध गर्छ । यसबाट वन्यजन्तु संरक्षणमै चुनौती थपिने बताउँदै डा. थापा भन्छन्, ‘आहार र पानीकै लागि पनि सीमित क्षेत्रमा खुम्चिंदा वन्यजन्तुको संरक्षणमा नयाँ-नयाँ समस्याहरु आउँछन् ।’

वयस्कबाट लखेटिने बुढो वन्यजन्तुलाई मानव वस्ती छिर्नबाट रोक्न पनि विकास पूर्वाधार भएका वन क्षेत्रमा अन्डरपास र ओभरपासका साथै नहरहरुमा पानी खान सजिलो पार्न ‘र्‍याम्प’हरु बनाउनुपर्ने थापाको भनाइ छ ।

सिंगापुरमा सडकमाथि बनेको ओभरपास

विज्ञहरुले दिएका सुझावलाई सरकारले अहिलेसम्म चासो दिएको छैन । वन्यजन्तु संरक्षण विभागले यस्ता पूर्वाधार बनाउन अपनाउनुपर्ने पक्षलाई निर्देशित गर्न निर्देशिका ल्याउन तयारी थालेको पाँच वर्ष नाघिसक्यो । विभागले निर्देशिकाको मस्यौदा तयार गरे पनि मन्त्रिपरिषद पुगेर पारित भएको छैन ।

काठमाडौं-निजगढ द्रुतमार्ग र नारायणगढ-बुटवल सडक विस्तार आयोजनामा भने वन्यजन्तुका लागि केही पासहरु बनाइँदैछ । अन्य ठाउँका बनिसकेका सडकहरुमा भने तत्काल त्यस्ता ‘क्रसिङ’ पूर्वाधार राख्ने सडक विभागको योजना छैन ।

सडक स्तरीकरण गर्दा जहाँ-जहाँ जनावरको लागि अण्डरपास आवश्यक पर्छ, त्यहाँ बनाउन सकिने भए पनि विस्तार नहुने सडकहरूमा तत्काल अण्डरपास राख्ने योजना नरहेको विभागका अधिकारीहरु बताउँछन् ।

विभागका प्रवक्ता शिवप्रसाद नेपाल सडक पूर्वाधार बनाउँदा मानवीय तथा जीवजन्तुको सुरक्षालाई ध्यान दिनुपर्ने कोणबाट केही वर्षयता मात्रै सकारात्मक बहस हुन थालेको बताउँछन् ।

चितवनको रामनगरमा बनाइएको वन्यजन्तुकाे अन्डरपास

‘वन्यजन्तुका करिडोरबारे हामीसँग पर्याप्त तथ्यांक, विवरण, जनशक्ति र विशेषज्ञहरु छैनन्, अब जसरी यो पक्षको सम्वेदनशीलतालाई हेरेर बहस हुँदै, त्यसले भविष्यमा बन्ने पूर्वाधार वन्यजन्तुमैत्री बनाउन प्रयत्न गर्नैपर्ने देखिन्छ’ उनी भन्छन्,’अब वन्यजन्तु संरक्षण विभागले कुन क्षेत्रमा कुन सिजनमा के-कस्ता वन्यजन्तुको मूभमेन्ट हुन्छ भनेर अध्ययन गरेर हामीसँग नियमित र निरन्तर छलफल गरोस् ।’

सडक विभाग पूर्वाधारलाई सबैको लागि सुरक्षित हुने गरी बनाउन  तयार रहेको भन्दै त्यसका लागि सबैको एकतावद्ध प्रयास आवश्यक पर्ने प्रवक्ता नेपाल बताउँछन् । भविष्यमा कमलादेखि पथलैया हुँदै नारायणगढसम्म सडक विस्तर गर्दा मुख्य सडकमार्ग नै निकुञ्जभित्र पर्ने भएकाले सो खण्डको काम गर्दा पर्याप्त पासहरु बनाउने गरी तयारी र छलफल गर्नुपर्ने विभागको मत छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?