+
+

भारतमा भेष बदलेर बसेका थिए प्रहरीको मोटरसाइकल लिएर भागेका कैदी यमराज

आँखा र ट्याटुले चिन्न सकियो : प्रहरी

आभास बुढाथोकी  आभास बुढाथोकी 
२०७८ माघ ११ गते ८:२०
फरार हुनिअघि र फरारपछि लुकेको अवस्थामा यमराजको भेष ।

११ माघ, दाङ । प्रहरीकै मोटरसाइकल लिएर दाङको घोराही कारागारबाट फरार भएका कैदी यमराज परियारलाई  एक महीनापछि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ गरिएको भनिए पनि उनी भारतबाट पक्राउ परेको उच्च स्रोतले बताएको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यमराज गत पुस ८ गते उपचारका क्रममा प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । उनी भागेको दोस्रो दिन मोटरसाइकल भने लमही नगरपालिका-६ बेलदमारको जंगलमा फेला गरेको थियो ।

स्रोतका अनुसार उनी केही दिन हिंडेर जंगलको बाटो हुँदै भारत पुगेका थिए । ‘रातारात लमहीको जंगल हुँदै नेपाल-भारत सीमाबाट भारत गएको देखियो’ उनले भने, ‘हिंडेरै नाकाको बाटो हुँदै भारत पुगेको खुलेको छ ।’

उनलाई त्यहाँ रहेका अफ्ना भाइ र साथीहरूको सहयोगमा भारतको पञ्जावको लुधियाना पुग्न सफल भएका थिए । त्यहाँ उनी भेष बदलेर लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको एक अनुसन्धान अधिकारीले बताए ।

कारागारमा हुँदा नाइके परियारले कपाल र दाह्री लामो पालेका थिए । त्यतिबेला उनको हुलिया अहिलेको भन्दा बिल्कुल फरक देखिन्थ्यो । पहिले दाह्री र कपाल लामो पालेका परियार त्यहाँ कपाल र दाह्री फालेर फरक हुलियामा बसेका थिए । ‘हुलिया नै बदलेर बसेपछि प्रहरीलाई पनि चिन्न गाह्रो परेको थियो’ ती अधिकारीले भने, ‘हुलिया बदले पनि आँखा हेरेर चिन्न सकियो । शरीरमा खोपेको  ट्याटुले पक्राउ गर्न सजिलो भयो ।’

उनी फरार भए लगत्तै प्रधान प्रहरी इन्टरपोल खटिएको थियो ।  कैदी यमराज बस्न सक्ने सम्भाव्य स्थानहरू, उनले प्रयोग गर्ने फोन, भाइवर, ह्यटएपलगायतका माध्यमबाट परियारको लोकेसन पत्ता लगाइयो । त्यसक्रममा उनले विभिन्न फोन र सिम प्रयोग गरिएको पाइएको अनुसन्धान अधिकारीले बताए ।

अन्ततः एन्की अपरेसन मार्फत फरार कैदी यमराजलाई महीना दिनमै पक्राउ सोमबार दाङ ल्याएको छ । यसलाई  सफलता हात पारेको एसपी काफ्लेले बताए ।

यसअघि सो प्रकरणमा संलग्नता रहेको आशंकामा घोराही कारागारका जेलर युवराज परियारलाई पदमुक्त गरी अनुसन्धानका लागि केही दिन हिरासतमा राखिएको थियो । अनुसन्धानका क्रममा उनी दोषी नदेखिएपछि पुस १६ गते छुटेका थिए ।

यमराज फरार प्रकरणमा प्रहरी जवान चौधरी र तुलसीपुर उपमहानगरपालिका-१० की २२ वर्षीया समी चौधरी पुर्पक्षका जेल चलान भइसकेका छन् ।

त्यस्तै सोही प्रकरणमा संलग्नता रहेको भन्दै घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारु पाँच हजार धरौटीमा छुटेका छन् ।

यो प्रकरणमा युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको आरोप लागेकी घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका-१६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश भएको थियो ।

त्यसपछि तुलसीपुर कारागारका जेलर अमर वलीलाई घोराही कारागारमा खटाइएको थियो ।

यसरी भागेका थिए…

गर्भवती प्रेमीकाको हत्यामा जन्मकैदको सजाय काटिरहेका यमराज घोराही कारागारमा राम्रो छवि बनाएर नाइके बनेका थिए । परियारलाई बजार जाउआउ गर्न छुट थियो ।

कारागारका कैदीहरूका लागि आवश्यक पर्ने सामानको व्यवस्था गर्ने जिम्मेवारी पनि उनको थियो । एकजना प्रहरीलाई साथमा लगेर उनी  जहाँ पनि जान सक्दथे ।

गत पुस ८ गते बिहान प्रहरी जवान धनबहादुर चौधरीसँग उनी  उपचारका लागि अस्पताल गएका थिए ।

छालाको उपचारका लागि गएका प्रहरी जवान चौधरी र कैदी यमराज अस्पताल नगएर घोराही वीपी चोकस्थित थकाली भान्सा घर एण्ड लजमा दुई महिला सहित गएका थिए।

त्यही क्रममा कैदी यमराज प्रहरीको लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर भागेका थिए । भागेको दोस्रो दिन सो मोटरसाइकल लमही नगरपालिका-६ बेलदमारको जंगलमा फेला परेको थियो ।

परियारको खोजीमा डीएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा प्रहरी टोली खटिएको र घटनाको गम्भीर अनुसन्धान गरेको थियो ।

यमराजले जन्मकैद सजायमा ७ वर्ष काटिसकेका थिए । प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार  कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैदम्याद तोकिएको कैदी भागेमा बाँकी कैदको डेढी बढाई कैद सजाय गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?