+
+

एम्बुलेन्सले नै पाउँदैनन् बाटो, कसरी गर्ने समाधान ?

आशिष गजुरेल आशिष गजुरेल
२०७८ माघ १२ गते १२:२९
फाइल तस्वीर

१२ माघ, काठमाडौं । हरेक वर्षको वर्षायाममा पहिरोका कारण त्रिभुवन राजपथको नौबिसे-नागढुंगा सडकखण्डमा हुने जाममा घण्टौंसम्म एम्बुलेन्स समेत फस्ने गरेको समाचार आउने गर्दछ । आधारभूत सुविधा समेत नभएका बिरामी बोक्ने एम्बुलेन्समा यसरी घण्टौंसम्म जाममा  फस्नुपर्दा बिरामीको हालत झनै बिग्रिने सम्भावना हुन्छ ।

लामो जाममा जतिसुकै संवेदनशील अवस्था भएपनि एम्बुलेन्सहरु अघि बढ्नसक्ने सम्भावना हुँदैन । दुई लेनको राजमार्गमा दुवैतर्फको सवारी जाममा परेपछि एम्बुलेन्समा जतिसुकै गम्भीर बिरामी भएपनि कुर्नुको विकल्प छैन ।

राजमार्गमा मात्रै होइन, केही समयअघिसम्म काठमाडौं उपत्यकाकै शहरी सडकमा पनि यस्तो अवस्था थियो । ट्राफिक बत्ती जडान गरेपछि अहिले यस्तो अवस्थामा केही सुधार भने देखिएको छ । अझै पनि ट्राफिक बत्ती नभएका चोकमा अस्तव्यस्त जाम हुँदा कैयौं मिनेट एम्बुलेन्स र दमकल पनि फस्ने गरेका उदाहरण भेटिन्छन् । काठमाडौंमा हुने अव्यवस्थित जाम होस् वा राजमार्गमा दुवैतर्फ हुने ट्राफिक जाममा रोकिएका एम्बुलेन्समा कैयौंको ज्यान जोखिममा पर्ने गरेको छ ।

यातायातविज्ञ आशिष गजुरेल

विश्वभर एम्बुलेन्स र दमकल सडकमा पहिलो प्राथमिकतामा पर्छन् । नेपाल मात्रै होइन बाहिरको कुरा गर्ने हो भने एम्बुलेन्स र दमकललाई क्रसिङमा पनि सिधै अघि जान दिइन्छ । यो व्यवस्था हाम्रोमा कानूनी व्यवस्था भएपनि व्यावहारिक रुपमा लागू हुन सकेको छैन । नेपालमा उल्टै अर्काे गाडीले एम्बुलेन्सलाई नै ओभरटेक गर्ने परिपाटी देखिन्छ । यस्तो मानसिकताले अकालमा धेरैको ज्यान लिने गरेको देखिन्छ ।

एम्बुलेन्स होस् वा दमकल नै किन नहोस्, यी दुवैलाई एक सेकेण्डको समय पनि महत्वपूर्ण हुन्छ । तर यति संवेदनशील सवारीलाई पनि किन बाटो दिइँदैन त ? सामान्यतया हामी नेपालमा एम्बुलेन्स र दमकलले समयमा बाटो नपाउनुमा मुख्यतया निम्न कारण हुन्छन्-

– सडक अत्यन्त साँघुरो हुनु

– एम्बुलेन्स र दमकललाई बाटो छाड्नुपर्छ भन्ने मानसिकताको विकास नहुनु

– आपतकालीन सेवाको लागि छुट्टै बाटो तयार पार्न नसक्नु

– ट्राफिक व्यवस्थापन व्यवस्थित नहुनु

भक्तपुर र मुग्लिनको पहेंलो लेनबाट के सिक्ने ?

काठमाडौंको कोटेश्वर-भक्तपुर ६ लेन सडकमा यात्रा गर्दा हामीले छेउको दोहोरो पहेंलो लाइनबाहिर पनि एउटा सवारी साधन छिर्ने बाटो देख्न सक्छौं । जापान सरकारले बनाएको यो सडकमा यति ठाउँ किन राखिएको होला ? धेरैलाई यसको अर्थबारे जानकारी नहुन सक्छ । यो यस्तै आपतकालीन अवस्थाका सवारी र बिग्रिएका सवारी मर्मतका लागि राख्न बनाइएको लेन हो, जसलाई रोड सोल्जर भनिन्छ । शहरी क्षेत्रमा सडक निर्माण वा डिजाइन गर्दा आपतकालीन सवारी साधनको लागि रोड सोल्जर राख्ने चलन नेपालमा मात्रै नभएर विश्वभर रहेको छ । नारायणघाट-मुग्लिन सडकखण्डमा पनि यही आपतकालीन अवस्था र सवारी बिग्रिँदाको लागि रोड सोल्जर राखिएको छ । यी दुई सडकबाहेक अन्यत्र यस्तो उपाय अपनाएको देखिँदैन ।

कसरी गर्न सकिन्छ समाधान ?

हामी कुनै पनि सडक बनाउँदा वा डिजाइन गर्दा सवारीको लागि मात्रै सोच्ने गर्छाैं । सोही सोचमा आधारित भएर सडक डिजाइन गरिएको हुन्छ । त्यसैले आपतकालीन सवारी, साइकलमा यात्रा गर्नेहरु, दृष्टिविहीन, फरक क्षमता भएका व्यक्ति, बालबालिका, वृद्धवृद्धाको लागि त्यति ध्यान दिने गरिएको पाइँदैन । त्यसैले सडकको डिजाइन बनाउँदादेखि नै कमजोरी शुरु हुन्छ ।

अहिले सडक निर्माणको क्रममा बल्ल आएर फुटपाथ चाहिँदो रहेछ भन्नेमा ध्यान दिन थालिएको छ । अहिले बाटो बनाउँदा फुटपाथ पनि बनाउनुपर्छ भन्ने चेतनाको विकास हुन थालेको छ । अहिले नयाँ सडक बनाउँदा साइकल लेन बनाउनेबारे पनि चर्चा हुन थालेको छ । यसैलाई नै हामीले इमर्जेन्सी लेन बनाउन सकिन्छ ।

कार्यालय समयमा त काठमाडौं उपत्यकामा यति बढी भीड हुन्छ कि चाहेर पनि त्यस्ता सवारीलाई बाटो छाड्न सक्ने अवस्था छैन । नेपाल बाहिरको उदाहरण हेर्ने हो भने दमकल र एम्बुलेन्सको लागि भनेर कतै पनि छुट्टै लेन बनाउने गरिएको हुँदैन । सडक जहाँ पनि साँघुरो नै हुन्छ, त्यसैले यो सम्भव पनि छैन । विदेशतिर कम्तीमा सवारी चलाउँदा एम्बुलेन्स र दमकल आयो भने बाटो छाडिन्छ । तर नेपालमा कमजोरी भनेको पहिलो त काठमाडौंमा आपतकालीन सवारी आउँदा छाड्छु भने पनि सम्भव नहुने साँघुरा बाटाहरु छन् । अर्काे कुरा हाम्रोमा धेरैले एम्बुलेन्स र दमकल आउँदा बाटो छाड्नेभन्दा पनि ओभरटेक गरेर हिँड्ने चलन पनि देखिन्छ । यो मानसिकतालाई भने सुधार गर्नुपर्छ ।

अहिले सडकमा देखिने अव्यवस्थालाई पूर्वाधार थपेर समाधान गर्छु भन्ने हो भने धेरै समय लाग्छ । तर यसलाई प्रयोगकर्ता सचेत भएर समाधान गर्न लाग्ने हो भने यो तत्कालै समाधान गर्न सकिन्छ । शहरी भेगबाहेक राजमार्गका सबै स्थान र ग्रामीण भेगमा ट्राफिक प्रहरी नहुने भएकाले त्यस्तो ठाउँमा गाउँलेहरुले नै स्वयंसेवाको हिसाबले ट्राफिक व्यवस्थापन गरेर एम्बुलेन्सलाई बाटो दिनुपर्छ । ट्राफिक तथा नेपाल प्रहरीले पनि सडक सुरक्षाको लागि जसरी सचेतनामूलक कार्यक्रम चलाउने गरिएको छ, त्यसरी नै एम्बुलेन्स र दमकललाई सडकमा पहिलो प्राथमिकता दिनुपर्छ भन्नेमा पनि सचेतनामूलक कार्यक्रम चलाउन आवश्यक छ ।

(यातायातविज्ञ गजुरेलसँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?