+
+
क्रिकेट ग्रेडिङ :

सोमपाल ग्रेड ‘ए’मा, शेख दाजुभाइ बढुवा, भेषावकर घटुवा

विक्रमको इन्ट्री, पारस खड्का र सन्दिप जोरा हटे

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १०:२२

१४ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पछिल्लो पटक सार्वजनिक गरेको क्रिकेट खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टमा सोमपाल कामी, कुशल भुर्तेल र शेख दाजुभाइको स्थान सुधार भएको छ । तर शरद भेषावकर घटुवामा परेका छन् । यसअघि ग्रेड ‘ए’मै रहेका पूर्वकप्तान पारस खड्का अब ग्रेडिङबाट हटेका छन् भने विक्रम सोबको इन्ट्री भएको छ ।

भैरहवामा बिहीबार सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले सन् २०२२ को ग्रेडिङ सार्वजनिक गरेको छ । कूल १८ खेलाडी ग्रेडिङमा समावेश हुँदा ५ खेलाडी ग्रेड ‘ए’ मा छन् भने ६ खेलाडी ग्रेड ‘बी’मा र ७ खेलाडी ग्रेड ‘सी’ मा छन् ।

पुरुषतर्फ ग्रेड ‘ए’ मा परेका खेलाडीले ५० हजार, ग्रेड ‘बी’ मा रहेका खेलाडीले ४० हजार र ग्रेड ‘सी’ मा रहेका खेलाडी ले मासिक ३० हजार पाउने छन् ।

क्यानको बोर्ड बैठकले ओमान भ्रमणमा रहेका तर यसअघि अनुबन्धनमा नरहेका खेलाडीहरू विक्रम सोब, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप १–१ लाख प्रदान गर्ने निर्णय समेत गरेको छ ।

कुन ग्रेडमा को ?

क्यानले सोमपाललाई ग्रेड ‘ए’ मा राखेको छ । कुशल भुर्तेल, आरिफ शेख र आसिफ शेखलाई ग्रेड ‘बी’ मा समावेश गरिएको छ ।

सोमपाल कामी झण्डै एक दशकदेखि नेपाली टिमबाट खेलिरहेका छन् । पछिल्लो समय चोटका कारण प्रदर्शनमा उतारचढाव आए पनि सोमपाललाई क्यानले अन्ततः ए ग्रेडमा बढुवा गरेको हो । आसिफ र कुशलले सन् २०२१ मा टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गर्दै ओपनिङ गर्दै आएका छन् ।

यस्तै नयाँ कप्तान सन्दीप लामिछानेसहित पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वउपकप्तान दीपेन्द्र सिंह ऐरी, करण केसी गरी ५ खेलाडी ग्रेड ‘ए’ मा छन् । यसअघि ग्रेड ‘ए’मै रहेका पूर्वकप्तान पारस खड्कालाई क्यानले अब ग्रेडिङबाट हटाएको छ ।

पारससँगै सन्दिप जोरा ग्रेडिङबाट बाहिरिँदा रोहित कुमार पौडेल ग्रेडिङमा फर्केका छन् भने विक्रम सोबले पनि इन्ट्री मारेका छन् ।

अनुशासन उल्लघंन गरेको भन्दै पूर्वकप्तान ज्ञानेन्द्रसहित चार खेलाडीलाई कारवाही गर्दै २०२२ को सुरुको ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने यसअघि क्यानले बोर्ड बैठकबाट निर्णय गरेको थियो । तर त्यसपछि विवाद र खेलाडीहरुको गुट प्रष्ट देखिँदा राष्ट्रिय टिमलाई नै असर गर्ने देखिएपछि क्यानले चार खेलाडीको केन्द्रीय सम्झौतामा नराख्ने निर्णय फिर्ता गर्न सहमत भएको थियो । त्यही अनुसार पछिल्लो बोर्ड बैठकले ज्ञानेन्द्रसहित दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंहलाई ग्रेडिङमा राखेको छ ।

यस्तै गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका ओपनिङ जोडी आसिफ शेख र कुशल भुर्तेल ग्रेड ‘बी’ मा बढुवा भएका छन् । टी–२० आई त्रिकोणात्मक सिरिजमा दुवैले डेब्यु गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । कुशलले टी–२० आई सिरिजमा पाँच खेलमा चार अर्धशतकसहित सर्वाधिक २७८ रन बनाएका थिए । यस्तै ओमान भ्रमणमा कुशलले ओडीआईमा ६ खेलमा १ अर्धशतकसहित १४४ रन बनाएका थिए । आसिफले टी–२० सिरिजमा १५४ रन बनाएका थिए भने ओमान भ्रमणमा ६ खेलमा १ अर्धशतकसहित १८९ रन बनाएका थिए ।

यसैगरी आसिफका दाइ अलराउन्डर आरिफ शेख पनि ग्रेड ‘बी’ मा बढुवा भएका छन् । टी–२० सिरिजमा खासै मौका नपाएका आरिफले ओमान भ्रमणमा दुई खेल खेल्दै नौ रन बनाएका थिए ।

शरद भेषावकरको घटुवा

यसैगरी अनुभवी खेलाडी शरद भेषावकर पहिलो पटक ग्रेड ‘बी’ मा घटुवा भएका छन् । अविनाश बोहरा र विनोद भण्डारी पनि ग्रेड ‘बी’ मा छन् ।

यसअघि ग्रेड ‘बी’ मा रहेका युवा अलराउन्डर कुशल मल्ल र स्पीनर सुशन भारी भने ग्रेड ‘सी’ मा घटुवा भएका छन् । पछिल्लो समयमा राष्ट्रिय टिममा कुशलको प्रदर्शन राम्रो छैन ।

यसैगरी ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गर्दै २ अर्धशतकसहित २१७ रन बनाएका रोहित कुमार पौडेल ग्रेड ‘सी’ मा फर्केका छन् । त्यही टुरमा ओडिआईमा डेब्यु गरेका विक्रम सोब पहिलो पटक ग्रेडिङमा समावेश भएका छन् ।

यस्तै स्पीनर शाहब आलम, मिडियम पेसर कमल सिंह ऐरी र अलराउण्डर पवन सर्राफ पनि ग्रेड ‘सी’ मा छन् । यसअघि ग्रेड ‘सी’ मा रहेका सन्दीप जोरा भने ग्रेडिङबाट बाहिरिएका छन् ।

२०२२ को लागि पुरुषतर्फको केन्द्रीय खेलाडी सम्झौता

ग्रेड ए : सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी

ग्रेड बी : कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी

ग्रेड सी : कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी, पवन सर्राफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?