
१७ माघ, वीरगञ्ज । रौतहटको एक जना कोरोना संक्रमित पुरूषको वीरगञ्जमा मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारको क्रममा रौतहट राजपुर नगरपालिका-१ निवासी ७७ वर्षीय वृद्धको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि माघ ११ गते उनलाई नारायणी अस्पतलमा ल्याइएको थियो । कोभिडसँग मिल्दोजुल्दो लक्षण देखाएपछि माघ १४ गते एन्टीजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोभिड आईसीयूमा उपचारका क्रममा सोमबार मध्यान्ह १२ बजेर ५ मिनेटमा वृद्धको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिँहले जानकारी दिए । उनका अनुसार मृतकमा कोभिड-१९ विरुद्धको खोप नलिएका वृद्धमा गम्भीर प्रकृतिको कोभिड निमोनिया देखिएको थियो।
‘निमोनियाले फोक्सोलाई नराम्रोसँग प्रभावित गरेको रहेछ । कोभिड आशंकामा एन्टीजेन गराएका थियौं, पोजेटिभ नै देखियो ।’ उनले भने ‘ सिप्यापको सपोर्टमा अक्सिजन दिँदापनि स्वास प्रश्वास प्राणालीमा सुधार आएन, बचाउन सकिएन ।’
कोरोना संक्रमणका कारण माघ महिनामामात्रै नारायणी अस्पतालमा ६ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये ३ जना बारा, २ जना पर्सा र १ जना रौतहटका छन् । खोप नलगाएका र दिर्घरोग भएका व्यक्तिलाई बचाउन मुस्किल भइरहेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।
हाल अस्पतालमा १० जना संक्रममितको उपचार भइरहेको छ। जसमध्ये २ जना भेन्टिलेटर र २ जनालाई हाईफ्लो अक्सिजन सपोर्टमा राखिएको छ ।
प्रतिक्रिया 4