+
+

वर्षौंसम्म पनि लिलाम हुन नसकेपछि मोटरसाइकलले भरियो कैलाली भन्सार कार्यालय

रासस रासस
२०७८ माघ १७ गते २०:२०
फाइल तस्वीर

१७ माघ, कैलाली। कैलालीको टीकापुर नगरपालिका-९ मा रहेको सत्ती भन्सार कार्यालयको परिसरको एक भाग बरामद गरिएका मोटरसाइकलले भरिएको छ । भन्सार कार्यालयले वर्षौंदेखि बरामद गरिएका मोटरसाइकल लिलाम गर्न नसक्दा भन्सार कार्यालयको परिसर मोटरसाइकलले भरिएको हो ।

भन्सार कार्यालयमा अहिले ५०० भन्दा बढी मोटरसाइकल थन्किएका छन् । कार्यालयले मुख्य भन्सार कार्यालय स्थापना भएदेखि नै नियमविपरीत सञ्चालनमा आएका मोटरसाइकलको लिलाम प्रक्रियाबाट बिक्री गर्नुपर्ने भए पनि भन्सारले मोटरसाइकलको लिलाम प्रक्रिया सुरु गर्दै आएको बताउँदै आएको छ, तर भन्सारले ती मोटरसाइकल बिक्रीका लागि कुनै पहल गर्न नसकेको गुनासो पटक–पटक आउने गरेको छ ।

कार्यालयका प्रमुख विमलकुमार शाहले मोटरसाइकलको लिलाम प्रक्रिया धेरै लामो र झन्झटिलो रहेको भन्दै त्यसको समाधानका लागि भन्सार कार्यालय गम्भीर रहेको बताए।

‘हामीलाई पनि त्यो मोटरसाइकल लिलाम गर्न सकेको भए एउटा आनन्द हुने थियो । त्यसको प्रक्रिया नै लामो हुने र प्रक्रिया पुर्‍याउँदै कोरोनाको सङ्क्रमणका कारण फेरि शून्यबाट प्रक्रिया सुरु गर्दा लामो समयसम्म मोटरसाइकलको लिलाम हुन नसकेको हो’, उनले भने, ‘अब चालू आर्थिक वर्षभित्रै मोटरसाइकलको लिलाम हुन्छ भन्नेमा हामी विश्वस्त छौँ । त्यसैअनुसार काम भइरहेको छ।’

उनले यातायात कार्यालयले मोटरसाइकलको मूल्याङ्कन गरेर मात्रै लिलाम प्रक्रिया पूरा नहुने बताउँदै त्यसभित्र थुप्रै अन्य प्रक्रिया पनि पूरा गर्नुपर्ने भएका कारण ढिलाइ भएको बताए। दुई वर्षदेखि कोरोना सङ्क्रमणका कारण हुँदै आएको बन्दाबन्दीले पनि मोटरसाइकलको लिलाम प्रक्रियामा असर पारेको भन्सार प्रमुख शाहले बताए ।

‘भन्सार आएको मोटरसाइकलको व्यवस्थापन हुनसकेको छैन । हामी चाहान्छौँ छिट्टै लिलाम होस भन्ने हामी चाहन्छौँ’, शाहले भने, ‘आउने काम मात्रै भएको छ । जाने काम नहुँदा अब व्यवस्थापन गर्न हामीसँग ठाउँ पनि छैन ।’ भन्सार कार्यालयमा आउँदासम्म प्रयोगमै आएका मोटरसाइकल भन्सार कार्यालयभित्र पुगेपछि त्यसका बाहिरी पार्टपूर्जा नै हराउने गरेका छन् ।

कतिपय मोटरसाइकल भारतबाट चोरी गरेर नेपालमा सस्तोमा बिक्री गर्ने र ट्राफिक प्रहरीको फन्दामा परेपछि भन्सार कार्यालयमा जान्छन् । भन्सारका कर्मचारीकै मिलेमतोमा मोटरसाइकलका आवश्यक पार्टपूर्जा गायब हुनेगरेको स्थानीयवासी बताउँछन्। अहिले पनि भन्सारमा पार्किङ गरेर राखेका मोटरसाइकल नचल्ने अवस्थामा छन् । अधिकांशका बाहिरी पार्टपूर्जा छैनन्।

भन्सार प्रमुख शाहले बाहिर राख्दा केही पार्टपूर्जा खिया लागेर काम नलाग्ने भए पनि भन्सारको बदमासीमा पार्टपूर्जा निकाल्ने काम भएको भन्नु गलत भएको बताए । उनले भने, ‘भन्सार बाहिर के हुन्छ त्यो हामीलाई थाहा छैन । कार्यालय परिसरमा क्यामरा जडान गरेका छौँ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?