+
+

‘मधेशमा छोरी स्कुल पुग्ने सामाजिक प्रक्रिया’

चन्द्रकिशोर चन्द्रकिशोर
२०७८ माघ २१ गते २०:००

मधेशमा छोरी पढाउने क्रम कसरी बढ्योे ? यो थाहा पाउन सामाजिक प्रक्रिया बुझ्नुपर्छ । सबभन्दा मुख्य कुरा विवाहका लागि बेहुली खोज्न जाँदा छोरी पढेकी छ कि छैन भनेर सोध्न थालियो । अनि ‘ए अब त छोरी पढाउनुपर्छ’ भन्ने चेतना जाग्यो । कहाँ पढाउने त अब ? सरकारी स्कुलमा पठाइदिउँ न भन्ने भयो । अनि विस्तारै छोरीलाई शिक्षा दिंदा आदर्श विवाह, दाइजोमुक्त विवाह हुने रहेछ भन्ने सोच विकास भयो । त्यसपछि छोरीलाई ‘बोर्डिङ’ पढाउने वा उनको प्रतिभाले चाहे अनुसारको शिक्षा दिने भन्न थालियो ।

कतिपय छोरीले छोराले भन्दा पढाइमा राम्रो गर्न थाले । क्षमता, आर्थिक हैसियत, मिहिनेत, परिश्रम र प्रतिभाले छोरीको पढाइ अघि बढ्यो । हाईस्कुलको संख्या थपिंदै गयो । प्रत्येक चार/पाँच किलोमिटरमा हाईस्कुल आयो । हाईस्कुलसम्म त गराइयो, अब उच्च शिक्षाका लागि कहाँ पठाउने ? तराईमा होस्टलहरू थिएनन् । अनि काठमाडौंका होस्टलमा राखेर पढाउन सुरु भयो । काठमाडौंका ‘गल्र्स’ होस्टलहरूको सफलता देखेपछि तराईका शहरमा पनि ‘गल्र्स होस्टल’ हरू खुल्न थाले । मान्छेले छोरीहरूलाई त्यहाँ राखेर पढाउन सुरु गरे ।

त्योभन्दा अगाडि अलिक राम्रो शिक्षाका लागि हाईस्कुल वा राम्रो बोर्डिङमा पढाइरहेको छ भने शहरमा भाडाको कोठामा राखिन्थ्यो तर आमासँगै । राम्रो पढाइले छोरीको आत्मविश्वास बढ्दै गएपछि बाहिर देशमा पनि थप शिक्षाका लागि पठाउने क्रम सुरु भयो ।

यसपछि अभिभावकले छोरा मात्रै हैन छोरीलाई पनि भारत, बंगलादेश, चीन पढ्न पठाउन थाले । यसरी छोरी पढ्न पठाउँदा बाबुआमाले गर्वको अनुभूति गर्न थाले । मैले छोरीलाई बंगलादेश पठाएँ, चीन पठाएँ, अष्ट्रेलिया पठाएँ भनेर सामाजिक सञ्जालबाट प्रदर्शन पनि गर्न थाले ।

यसरी चरणवद्ध रूपमा सामाजिक मनोविज्ञानमा परिवर्तन आउँदै गयो । पहिला गाउँका सम्पन्न, वर्चश्वशाली, शासक वर्गमा यो सन्देश गयो, अब विस्तारै यो तल झर्दैछ । मध्यम वर्ग, अलिकति आर्जन छ, खर्च गर्न सक्छन् भने छोरीलाई बाहिर राखेर रोजेको विषय पढाउन थाले ।

पछिल्ला वर्षमा सरकारी स्कुलको तथ्याङ्क हेर्नुभयो भने छात्राको संख्या बढ्दै गएको देखिन्छ । त्यसले के देखाउँछ भने पिंधमा रहेका समुदायमा पनि छोराछोरी दुवैलाई पढाउनुपर्छ भन्ने मानसिकता विकास भएको छ । कतिपय विद्यालयमा त छात्र भन्दा छात्रा बढी छन् । त्यहाँ विपन्न, सामाजिक र आर्थिक रूपमा कमजोर, दलित सीमान्तकृत समुदायका छोरीहरू धेरै हुन्छन् । भलै उनीहरू माथिल्लो कक्षासम्म नजालान् तर निरक्षर रहँदैनन् । यस्तो सोचको विकास भएको छ ।

गणतान्त्रिक नेपालमा समावेशिताको सुरुवात भयो । मैले धेरै यस्तो कथाहरू हेरेको छु । जसको अनुहार चलनचल्तीमा भनिए जस्तो ‘राम्रो’ छैन । तर उनले लोक सेवा पढेर सुब्बामा नाम निकालिन्, त्यसपछि राम्रो भनिएको परिवारको केटा माग्न आयो र विवाह गर्न तयार भयो । भनेपछि पढेपछि मान्छे जस्तो भए पनि राम्रो अवसर प्राप्त हुने रहेछ । त्यसले पनि मानिसहरूलाई लाग्यो शिक्षा त गज्जब हुँदोरहेछ । सबै ठाउँमा महिलाको आवश्यकता हुँदोरहेछ । हामीले अलिकति मिहिनेत गरेर पढाइदियौं भने उसको जीवन ‘सेटल’ हुनेरहेछ ।

आमाबुवा, आफ्नो सन्तान समेत गरेर एक जनाले कमसेकम पाँच जनाको लालनपालन गर्न अबको प्रतिस्पर्धाको अवस्थामा सहज छैन । त्यसैले दुवै जनाले कमाउनु राम्रो मान्न थालियो । पहिला यस्तो स्थिति थिएन । मधेशमा छोरी बुहारीले काम गरेको राम्रो मानिंदैनथ्यो । ए छोरी बुहारीले कमाएको पनि खाने ? भनेर हेलाँको दृष्टिले हेर्ने गरिन्थ्यो । तर अब त्यसलाई सकारात्मक रूपमा लिन थालिएको छ । सरकारी होस् वा गैरसरकारी सेवामा अवसरहरू प्राप्त हुन थालेपछि छोरी पढाउनुपर्छ भन्ने दबाव वा चिन्ता मधेशमा बढेको देखिन्छ ।

देखासिकी त भइहाल्यो । अर्को समुदायको चेलीबेटी कसरी अगाडि बढिरहेका छन् । समाजमा त्यसको सिको पनि गर्न थाले । नर्सिङ पहाडी समुदायको छोरी पढ्ने विषय जस्तो मानसिकता थियो । ‘छोरा बिग्रे कमर्स छोरी बिग्रे नर्स’ भन्ने मान्यता थियो । तर पछिल्ला वर्षमा मधेशका छोरी पनि नर्सिङ पढिरहेका छन् । नेपालमै पनि जागिर गर्न सकिने र विदेशमा झनै राम्रो कमाइ हुने पेशा भन्ने मधेशीहरूले पनि बुझे । गैरपारम्परिक व्यवसायहरूमा छोरी, बुहारीलाई पठाउन थाले । अमेरिका जानुछ, नर्सिङ पढेकोले चाँडो जाने बाटो खुल्छ । वैदेशिक रोजगारीको संभावनाले पनि छोरी पढाउन हौस्यायो ।

राजनीतिक परिवर्तनले राज्यका संरचनालाई समावेशी बनाउँदै लग्यो, अवसरका ढोकाहरू खुल्दै गए । २०६२/६३ को होस् वा मधेश आन्दोलन, महिलाको सहभागिता देखिन थाल्यो । सार्वजनिक जीवनमा महिलाको उपस्थिति देखियो ।

पहिला गोष्ठी, जुलुसमा महिलाको उपस्थिति कमै हुन्थ्यो । अब करिमा वेगम सांसद, मन्त्री हुन सक्छिन्, निर्वाचित सांसद हुन सक्छिन् । कमलादेवी पासवान सांसद, मन्त्री बन्न सक्छिन् । यसपछि विपन्न समुदायलाई पनि लाग्यो कि आन्दोलनमा लागेपछि पार्टीले अवसर दिने रहेछ, त्यसलाई जनताले अनुमोदन गर्ने रहेछ । राजनीतिले अवसर दिएपछि समाजका अन्य क्षेत्रमा पनि त्यसका बाछिटा पर्दै गए ।

मधेश प्रदेशमा ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियानमार्फत साइकल वितरण गर्यो । साइकल वितरणमा भ्रष्टाचार, वितरण प्रणालीमा असन्तुलन त्यो बेग्लै पाटो हो । तर, साइकलले धेरै कुरामा परिवर्तन ल्याउँछ । साइकलले छोरीको ‘कन्फिडेन्स’ बढाउँछ । टाढाको विद्यालय पनि जान सक्छु भन्ने विश्वास बढाउँछ । यो ठूलो उपलब्धि हो ।

दोस्रो, ‘कनेक्टिभिटी’ बनायो, स्कुल, ट्युसन, लोक सेवाको तालिम वा गैरसरकारी संस्थाले तालिम वा अवसर दिएको छ भने उनले त्यो पनि भ्याउँछिन्

तेस्रो उनमा ‘क्यापासिटी विल्डिङ’ हुन्छ । ‘कन्फिडेन्स‘, ‘कनेक्टिभिटी’ बढेपछि उनको ‘क्यापासिटी विल्डिङ’ हुन्छ । कोही बिहान विद्यालय गएर, दिउँसो साइकलमा साग बेच्न जान सक्छन्, पानी लिन टाढा जानुपर्नेछ भने छिटो हुन्छ । घाँस, खेतबारीको काममा पनि सघाउँछन् ।

चौथो भनेको यसले उनको ‘करिअरलाई प्रमोसन’ गर्छ । गाउँ देहातका छोरीले पनि लोकसेवाको तयारी गर्नुपर्छ, गैरसरकारी संस्थामा काम गर्ने अवसर छ, कतै कम्प्युटर तालिम छ, सिलाई–कटाई वा अन्य सीपमूलक तालिम छ भने स्कुल बाहेकको समयमा भ्याउन सक्छिन् ।

एउटा साइकलले पाँचवटा ‘सी’ को साइकल उत्पन्न गर्नेरहेछ । ‘कन्फिडेन्स’ बनाउँछ, ‘कनेक्टिभिटी’ र ‘क्यापासिटी’ बढाउँछ, ‘क्यास’ प्रमोसन हुन्छ, ‘करिअर विल्डिङ’ हुन्छ । साइकलले विद्यालय, कलेज र छात्राबीचको दुरी घटायो । पहिलो चर्पी र दोस्रो साइकलले छात्रा र शैक्षिक संस्थासँगको दुरी घटाउने काम गरेको छ । यसले पनि अभिभावकलाई छोरी पढाउन हौस्याएको छ ।

(विश्लेषक चन्द्रकिशोरसँग अनलाइनखबरकर्मी सुरेश बिडारीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?