+
+

शुक्रबार युट्युबमा आए यस्ता गीत

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १९:०६
मोडल सुधीर श्रेष्ठ र उषा उप्रेती

२१ माघ, काठमाडौं । युट्युबमा सार्वजनिक हुने म्युजिक भिडियोको संख्या अन्य दिनको तुलनामा शुक्रबार ह्वात्तै बढ्छ । बिदालाई लक्षित गर्दै धेरैले शुक्रबार आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने गर्दछन् ।

गीतसंगीत नेपालमा मात्र नभई बाहिर पनि हेरिने र धेरै मुलुकमा शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएकाले पनि धेरैले म्युजिक भिडियो सार्वजनिकका लागि शुक्रबार रोज्दै आएका हुन् । शुक्रबार झण्डै एक दर्जन म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएका छन् । जसमा भगवान भण्डारी, रामप्रसाद खनालदेखि मेलिना राई, शान्तिश्री परियारसम्मको स्वर रहेका गीत छन् । शुक्रबार सार्वजनिकमध्ये पाँच गीत यस्ता छन् ।

झ्यालैमा ऐना

अमेरिकामा बस्दै आएका लोकगायक भगवान भण्डारीले शुक्रबार नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेका छन् । ‘खैरेनीमा गेट, वनमा काँडा छ, भूलमा भमरा’जस्ता थुप्रै लोकप्रिय लोकदोहोरी गीत दिएका भण्डारीले आफ्नै शब्द, संगीत र स्वरमा ‘झ्यालैमा ऐना’ बोलको गीत सार्वजनिक गरेका हुन् । उनलाई गायनमा लक्ष्मी खड्काले साथ दिएकी छन् ।

श्यामश्वेत रसाइलीको संगीत संयोजन रहेको गीतमा गायक भण्डारीलाई गायनमा लक्ष्मी खड्काले साथ दिएकी छन् । भण्डारीले विगतका गीतहरुमा जस्तै यसमा पनि मौलिकतालाई ध्यान दिएका छन् । सुधीर श्रेष्ठ र उषा उप्रेतीको अभिनय रहेको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । भण्डारीले आफ्नै युट्युब च्यानलमा भिडियो सार्वजनिक गरेका हुन् ।

शुभ होस् माया

टंक बुढाथोकी र मेलिना राईको स्वर रहेको ‘शुभ होस् माया’ बोलको गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । यस गीतको म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरु विश्व बस्नेत, शर्मिला मल्ल, प्रकाश अधिकारी, रश्मी भट्टको साथमा प्रज्वल सुजल गिरी, समीक्षा क्षेत्री, मोडल विना राउत, बाल कलाकारहरु एआर बुढाथोकी, आदित्यदेव रुपाखेती, आशिषदेव रुपाखेती लगायतको अभिनय छ ।

विवाहको माहोलमा गीतको भिडियो तयार पारिएको छ । वेदेन्द्र ढकालको शब्द रहेको गीतमा टंक बुढाथोकीको संगीत छ । कृष्णदेव रुपाखेतीको निर्देशन, मुकेश हुमागाईं एण्ड टिमको छायांकन रहेको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् ।

एउटा ढुकुर उडिगयो

अमेरिका बस्दै आएका लोकगायक रामप्रसाद खनालले शुक्रबार ‘एउटा ढुकुर उडिगयो’ बोलको गीत सार्वजनिक गरेका छन् । उनको शब्द, थानेश्वर गौतमको संगीत, कमल सौरागको संगीत संयोजन रहेको गीतमा उनी र गायिका सुनिता बुढा क्षेत्रीको स्वर छ ।

निर्मल शर्माको निर्देशनमा तयार गीतको भिडियोमा गायक खनाल स्वयंले अभिनय गरेका छन् । उनीसँगै भिडियोमा गायिका शोभा त्रिपाठीको अभिनय हेर्न सकिन्छ । खनालले गीतलाई फरक शैलीको सेन्टिमेन्टल गीत भएको बताएका छन् ।

राजु केसीको छायांकन रहेको भिडियोलाई गौतमराज खड्काले सम्पादन गरेका हुन् । गायक खनालले आफ्नै ‘रामप्रसाद खनाल’ युट्युब च्यानलमा भिडियो सार्वजनिक गरेका छन् ।

झम्के फुली

नेत्रप्रसाद भण्डारी र सुमित्रा कोइरालाको स्वर रहेको ‘झम्के फुली’ बोलको गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । यो डान्सिङ विटको गीतको भिडियोमा अभिनेता पल शाह र मोडल अञ्जली अधिकारीको अभिनय छ ।

रमेश परियारको शब्द, नेत्रप्रसाद भण्डारीको संगीत रहेको गीतलाई एचबीएन किस्मतले एरेन्ज गरेका हुन् । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा गीतको भिडियो तयार भएको हो । अर्जुन तिवारी एण्ड टिमको छायांकन रहेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् ।

चौतारीमा पिपलु वर

शिव विकको निर्देशन रहेको ‘चौतारीमा पिपलु वर’ गीतको भिडियो पनि शुक्रबार सार्वजनिक गरिएको छ । शान्तिश्री परियार र ईश्वर पाण्डेको स्वर रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र भीम विकको अभिनय छ । प्रल्हाद सुवेदीको शब्द रहेको गीतमा वसन्त थापाको संगीत र सुनिल परियारको संगीत संयोजन छ । अजय रेग्मी एण्ड टिमको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

शुक्रबार ‘मुटुको घाउ’, ‘मीठो बोली’, ‘आकांक्षा’, ‘के पारा हो यस्तो’, ‘चुँडेको चंगा’, ‘कोठा यतै सार’ लगायत अन्य गीतको भिडियो पनि युट्युबमा सार्वजनिक भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?