+
+
संगीत :

‘रियालिटी शो’ले फेरिदिएको कर्णराजको जिन्दगी

काठमाडौंको भीडमा सामान्य ट्याक्सी चालकको परिचय बनाएका उनको जिन्दगीको लय र रंग तब बदलियो जब उनी भ्वाइस अफ नेपालको मञ्चमा उभिए ।

अंगद सिंह अंगद सिंह
२०७८ माघ २२ गते ११:३५

२२ माघ, काठमाडौं । नाम- कर्णराज गिरी, पेशा- ट्याक्सी चालक, ठेगाना- सर्लाही । गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’मा आउनुअघि यतिमै सीमित थियो भन्दा हुन्छ उनको परिचय ।

काठमाडौंको भीडमा सामान्य ट्याक्सी चालकको परिचय बनाएका उनको जिन्दगीको लय र रंग तब बदलियो, जब उनी भ्वाइस अफ नेपालको मञ्चमा उभिए ।

काठमाडौंका गल्ली-गल्ली, चोक-चोकमा ट्याक्सी कुदाएर नाम र दाम खोजिरहेका कर्णको दैनिकी त्यसपछि बदलियो । भ्वाइस अफ नेपालको तेस्रो संस्करणबाट उनी ट्याक्सी चालक कर्णराजबाट गायक कर्णराज गिरी बने ।

उनी अहिले ट्याक्सी चलाउन छाडेर गीत गाइरहेका छन्, संगीतमा रमाइरहेका छन् । एक वर्षको अवधिका करिब डेढ दर्जन बढी गीत गाइसकेका छन् ।

संघर्षका पर्यायीजस्तै बनेका कर्णराजलाई भ्वाइस अफ नेपालमा सहभागी भइरहँदा पनि दुःखले पछ्याइरहेकै थियो । ब्लाइण्ड अडिसन दिइरहेको बेला उनकी आमा भेन्टिलेटरमा मृत्युसँग लडिरहेकी थिइन् ।

‘भ्वाइस अफ नेपालले सर्लाहीको सामान्य ठिटोलाई गायक बनाइदियो, परिचय फेरिदियो, गायक बन्ने सपना पूरा गरिदियो,’ कर्णराज भन्छन्, ‘भ्वाइस अफ नेपालले मलाई ठूलो गुन लगाएको छ मेरो पहिचान फेरेर सपनाको दुनियाँ संगीतमा स्थापित गराएको छ ।’

रियालिटी शोले दिलाएको उपलब्धिबाट खुशी छन् कर्ण । उनले काठमाडौंमा पेटका लागि गर्नुपरेको संघर्ष र भोग्नुपरेको सास्तीबाट पार पाएका छन् । यद्यपि उनले सांगीतिक क्षेत्रमा भने संघर्ष गर्नु त छँदैछ ।

गायक बन्ने सुनौलो सपनालाई टाढाबाट महसुस मात्रै गर्थे कर्ण । कहिले आउला मेरो पालो । कहिले म गायक बनुँला, कहिले स्टुडियोमा गीत गाउन पाउँला सोच्थे उनी ।

आज कर्णको सपना पूरा भएको छ । कल्पनामा मात्रै सीमित भएको सपनालाई आज उनी नजिकबाट स्पर्श गरिरहेका छन् । बाल्यकालदेखिको सपनालाई पछ्याइरहेका छन् ।

‘सानैदेखि गायक बन्ने सपना पालेको भएपनि पूरा गर्न सक्छु कि सक्दिन भन्ने दोधारमा थिएँ । तर भ्वाइस अफ नेपालले मेरो जिन्दगीका रंगहरु नै बदलिदियो,’ उनी भन्छन्, ‘ट्याक्सी चालक कर्णलाई गायक कर्णराज गिरी बनाइदियो ।’

गल्ली र चोकमा दौडधुप गर्नुपर्ने उनको दैनिकी अहिले फेरिएको छ । हिजोआज उनी स्टुडियो छिर्छन्, अनि स्टेज उक्लिन्छन् । ट्याक्सी चलाउन छाडेर उनले पूरै समय संगीतलाई दिन थालेका छन् । ट्याक्सीलाई स्टेरिङ समात्ने उनका हातले अहिले माइक समाउन थालेका छन् ।

अब उनको सपना नै संगीत, कर्म संगीत र धर्म पनि संगीत भएको छ ।

सपना पूरा गर्न गरेको संघर्ष

गायक बन्ने आफ्नो सपनालाई पूरा गर्न केसम्म गरेनन् कर्णले । कहिले बिस्कुट फ्याक्ट्रीमा काम गरे भने कहिले फेन्सी स्टोरमा काम गरे । यो सबै काठमाडौं टिक्नका लागि उनले गरे ।

गायक बन्ने सपना बोकेर सर्लाहीको हजरियाबाट २०६५ सालमा कर्णराज काठमाडौं हानिएका थिए । तर काठमाडौंको भीडमा जम्न कहाँ सजिलो थियो र ।

काठमाडौंको बसाइ उनका लागि सहज थिएन । घरमा एकल त्यसमाथि बिरामी आमालाई छाडेर आफ्नो सपना पूरा गर्न काठमाडौं आएका उनलाई गुजारा कसरी गर्ने भन्ने पिरलो शुरुमै आइपर्‍यो । हातमुख जोर्नका लागि पारलेजी बिस्कुट कम्पनीमा काम पाए । त्यसपछि उनले फेन्सी स्टोरमा पनि काम गरे ।

गुजारा गर्ने काम त पाए कर्णले । तर आफ्नो सपना त संगीत थियो, गायक बन्नु थियो । तर काममा व्यस्त हुनुपर्दा संगीत सिक्ने समय हुँदैनथियो । समय नमिलेपछि उनले फेन्सी स्टोरको काम छाडे । चिनेजानेका साथीहरुले बरु ट्याक्सी चलाए संगीत सिक्नका लागि समय निकाल्न सकिने सल्लाह दिएपछि उनले ड्राइभिङ सिक्न थाले ।

ड्राइभिङ सिकेपछि उनले साहुको ट्याक्सी चलाउन थाले । लगातार आठ वर्ष ट्याक्सी चलाउँदा पनि उनको संगीतप्रतिको लगाव र मोह कहिल्यै घटेन । एक दिन आफ्नो सपना पूरा होला भन्ने आश गर्दै कर्णराजले ट्याक्सी कुदाइरहे ।

बिरामी आमा र संगीत सपना

काम नगरी खान पुग्दैन थियो । लामो समयदेखि दमको बिरामी आमाको उपचार खर्च जुटाउनु पनि छँदैथियो । ट्याक्सी चलाएर आफ्नो खर्च, आमाको औषधिको खर्च र घर खर्च मुस्किलले जुटाउँथे ।

संगीत सपना बोकेर हिँडेका कर्णराज रियालिटी शोहरुलाई पछ्याइरहन्थे । उनलाई चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ले निकै आकर्षित गरेको थियो । कर्णराजको संगीतप्रतिको लगावबारे थाहा भएका साथीभाइले उनलाई भ्वाइस अफ नेपालमा जानुपर्छ भने सल्लाह दिए । साथीहरुको सल्लाहअनुसार उनी भ्वाइस अफ नेपालमा भाग लिन गए र टप १० सम्म पुग्न सफल भए ।

‘संगीतप्रति लगाव भएकाले सबै रियालिटी शो हेर्थें, फलो गर्थें,’ उनी भन्छन्, ‘तर भ्वाइस अफ नेपालले मलाई निकै आकर्षित गरेको थियो । मैले चाहेर पनि गर्न नसकेको कुरा भ्वाइस अफ नेपालले दिएको छ ।’

भ्वाइस अफ नेपालको चमकधमकपूर्ण स्टेजमा ट्याक्सी सर्भिस लेखिएको ज्याकेट लगाएर पुगेका उनको त्यसपछि परिचयको दायरा फराकिलो भयो । उनी गायक भए ।

सफलतातिर पाइला लम्किँदै गर्दा आमालाई यो सब देखाउन नसकेकोमा उनलाई पछुतो छ । ‘आमा र मेरो एक मात्रै सपना थियो, कर्णले गायक बन्नुपर्छ, तर जिन्दगीमा सोचेका सबै कुरा कहाँ पुग्दो रैछ र,’ कर्ण भन्छन् ।

संघर्षका पर्यायीजस्तै बनेका कर्णराजलाई भ्वाइस अफ नेपालमा सहभागी भइरहँदा पनि दुःखले पछ्याइरहेकै थियो । ब्लाइण्ड अडिसन दिइरहेको बेला उनकी आमा भेन्टिलेटरमा मृत्युसँग लडिरहेकी थिइन् ।

त्यसअघि आमा सर्लाही घरमै थिइन् । २० वर्षभन्दा बढी समयदेखि दमको रोगबाट पीडित आमालाई स्वास्थ्यमा थप समस्या भएपछि कर्णले काठमाडौं ल्याए । काठमाडौंमा उपचार गराउन अस्पताल पुर्‍याए । बिरामी आमालाई अस्पतालमा छाडेर गीत गाउनु पर्दा उनी भक्कानिए, आँखाबाट आँशु बग्यो ।

आमाको पनि सपना छोरो गायक बनोस् भन्ने थियो । आमाको सपना सम्झिएर त्यो पीडामा पनि उनले गाउन छाडेनन् ।

‘आमाको सपनाले पनि हिम्म्त दिलाएको भएर गाउन सकेको थिएँ हुँला । अहिले सम्झिँदा पनि आङ सिरिङ्ग हुन्छ कसरी गाउन सकें जस्तो लाग्छ,’ कर्णराजले सुनाए ।

चिकित्सकहरुले स्वास्थ्यमा सुधार आउन नसक्ने बताएपछि उनले आमालाई घर पठाए । तर कर्णराज संगीतको संसारमा प्रवेश गर्दै गर्दा उनकी आमा भने संसारै छाडेर गइन् । आमाको मृत्युको शोकमा रहेका बेला पनि उनले संगीतप्रतिको लगावलाई मर्न दिएनन् । भ्वाइस अफ नेपालको स्टेजमा उनले गीत गाइरहे ।

‘आमा भगवानको स्वरुप, आज मेरो भगवान मबाट टाढा जानुभयो । जानी नजानी कुनै गल्ती भए माफ गरिदिनु होला आमा, आशा छ तपाईले माफ गरिदिनुहुने छ । ‘फेरि अर्को जन्म पाए भने हजुरकै कोखबाट जन्मिन चाहन्छु,’ यति भन्दै उनले आमाको नाममा मर्मस्पर्शी शब्दले भरिएको गीत गाउन थाले ।

पिठ्युँमा स्याउलाको भारी

खाली गोडा गेगरु बाटो

गाउँबेंसी गर्ने कुनै नारी

भेट्यौ भने चिन्नु सोह्रै आना

तिनै हुन् तिनै मेरी आमा..

आँखाभरि आँशु र भारी मन लिएर यो गीत गाउँदा उनी आफू मात्रै भक्कानिएनन्, जज र दर्शकलाई समेत भावुक बनाए ।

झिसमिसेमा खोज्दै जानु होलिन् पँधेरीमा

घाम लाग्दा भाका हाल्दै पाखा पखेरीमा

चलचित्र ‘मुग्लान’का लागि यम बरालले गाएको यो गीत कर्णले मुटुमाथि ढुङ्गा राखेर गाए । गीतका हरेक शब्दमा पीडा थियो र त्यसमार्फत उनले आमालाई श्रद्धाञ्जली दिइरहे । ‘छोरा म पनि तैसँग जान्छु भन्नुहुन्थ्यो, तर जुरेन’ भन्दै उनी स्टेजमै भक्कानिए ।

कर्णराजको संसार थिइन् आमा

कर्ण डेढ वर्षको हुँदा बुवाले संसार छाडिसकेका थिए । आमाले धेरै दुःख गरी हुर्काइन्, पढाइन् । उनको संसार नै आमा थिइन् । आमाको सपना थियो, छोरो गायक बनेर नाम कमाओस् ।

सपना विस्तारै पूरा हुँदै थियो । अवसरका ढोकाहरु खुल्दै थिए । तर शायद दैवले उनको खुशी हेर्न चाहेन कि आमालाई ‘म गायक बनें आमा’ भन्न नपाउँदै उनी अस्ताइन् ।

‘भाग्यमै आमालाई खुशी दिन नसक्ने लेखेको रहेछ,’ कर्ण भन्छन्, ‘सपना पूरा हुँदै थियो, अंगालो हालेर खुशी साट्न नपाउँदै छाडेर जानुभयो ।’

बुवाको त उनलाई अनुहारसम्म पनि याद छैन । त्यसैले धेरै याद आउँदैन । तर आमाले उनका लागि गरेको दुःख र संघर्षले भने पिरोलिरहन्छ । सोच्छन्, ‘आमा अझै दुई चार वर्ष बाँचिदिनु भएको भए…’

सर्लाहीको निम्नमध्यम वर्गीय परिवारमा जन्मेका कर्णराज ६ जना दाजुभाइमध्ये कान्छा हुन् । ६ जनामध्ये कोही कलाकार बनोस् भन्ने आमा चाहन्थिन् ।

स्कुलमा हुने हरेक कार्यक्रममा गीत गाइरहन्थे कर्ण । गीत गाउँदा सधैं प्रथम हुन्थे । साथीभाइ र शिक्षकहरुले राम्रो गायौ भनेर हौसाइरहन्थे ।

अहिले कर्णको संगीतयात्राले लय समात्न थालेको छ । भ्वाइस अफ नेपालले चिनाइदिएपछि उनको दैनिकी रेकर्डिङ स्टुडियोमा बित्दैछ ।

तर सफलतातिर पाइला लम्किँदै गर्दा आमालाई यो सब देखाउन नसकेकोमा उनलाई पछुतो छ । ‘आमा र मेरो एक मात्रै सपना थियो, कर्णले गायक बन्नुपर्छ, तर जिन्दगीमा सोचेका सबै कुरा कहाँ पुग्दो रैछ र,’ कर्ण भन्छन् ।

आमाले संसार छोड्ने बेला कर्ण साथमा थिएनन् । उनलाई यसमा पनि निकै पछुतो छ । तर पनि आमा आफ्नो स्मृति र गायकी दुवैमा छिन् र यसमा पूरापूर आमाको नै योगदान छ भनेर उनले चित्त बुझाएका छन् । आमाले छाडेर गएपछि उनले ‘आमा’ नाममा गीत निकालेर आमालाई समर्पित गरेका छन् ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?