+
+
युवा र उद्यम :

युवाको ‘प्रविधि सपना’ पूरा गर्न सघाउँदै आविष्कार केन्द्र

केन्द्रमा जति सिद्धान्त पढेका विद्यार्थीहरु छन्, त्यही हाराहारीमा अन्य पेशामा संलग्न पेशाकर्मीहरुले अन्वेषणको काम गरिरहेका छन् । कुनै समय त गैरविद्यार्थीले नै धेरै परीक्षण पनि गरिरहेका हुन्छन् ।

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ माघ २२ गते १२:१०

२२ माघ, काठमाडौं । ‘सानो, मीठो, शान्त, सुगन्धी, अनुपम– बस ! मेरा निमित्त त्यही हो नेपाल ! यहाँ वाग्नर कोदालो खनिरहेछन्, शेक्सपियर हलो जोत्दा हुन्, टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटस गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलरहरु गीत गाउँदछन्, यहाँ कति सावित्रीहरु छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ ।’

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्धको अंश हो यो । देवकोटाले भनेजस्तै कैयौं आइन्सटाइनहरुले आफ्नो दिमागको परीक्षण गर्ने मौका नै पाएका छैनन् । कैयौं टिसियनहरुलाई चित्र कोर्ने क्यानभास दिन सकिएको छैन ।

योजना भएर पनि प्रयोग गर्ने ठाउँको अभावका कारण योजनालाई गर्भमै तुहाउन बाध्य छन् धेरै नेपाली युवायुवती । यिनै युवाहरुको दिमागमा जन्मिएको सिर्जनशील सोचलाई हुर्काउनका लागि उर्वर भूमि बनेको छ, राष्ट्रिय आविष्कार केन्द्र ।

हिजोआज ताप्लेजुङका सुमन लिम्बु दिनभर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हाताभित्र रहेको आविष्कार केन्द्रभित्र भेटिन्छन् । गाउँघरमा काठको काम गर्ने लिम्बुले जीवनको झण्डै आधा उमेरसम्म सोचेका पनि थिएनन् कि आफूले पनि कुनै नयाँ प्रविधिको आविष्कार गर्न सक्छु भनेर । गाउँघरमा सधैं मकै नङ्गाउने, छोडाउने, कोदो कुट्ने, पिस्ने जस्ता काममा झन्झट व्यहोरेका लिम्बुले यसलाई प्रविधिको प्रयोगबाट सहज बनाउन सकिन्छ भन्नेमा धेरै वर्ष पहिलेदेखि योजना बनाइरहेका थिए । गाउँघरमा काम गर्दैगर्दा उनले राष्ट्रिय आविष्कार केन्द्रले आफ्नो योजना सफल बनाउन सहयोग गर्छ भन्ने सुनेर केन्द्रका अध्यक्ष महावीर पुनसँग भेट्न पुगे । अहिले लिम्बु आफ्नो योजनाको अन्तिम परीक्षणमा लागिपरेका छन् ।

लिम्बुजस्तै कैयौं सिर्जनशील सोचले कीर्तिपुरको त्यही सानो घेराभित्र सार्थकता पाएको छ, केही योजना असफल पनि भएका होलान्, ती पनि थप अध्ययन गरेर परीक्षण सफल बनाउन प्रयासरत छन् । खेतबारीदेखि चुलोचौकालाई सजिलो गराउने प्रविधिको अहिले आविष्कार केन्द्रमा परीक्षण भइरहेको छ ।

नयाँ सोचलाई सार्थक बनाउने उद्देश्य बोकेर देशका विभिन्न भागबाट आएका युवाहरु बिहानैदेखि आविष्कार केन्द्र धाउने गर्छन् । यहाँ बसेर आफूलाई मन लागेको विषयमा अन्वेषण गर्छन् । निश्चित समयपछि फेरि अर्को टोली आउँछ । उनीहरु पनि त्यसैगरी अन्वेषणको काममा लागिरहन्छन्, यो क्रम निरन्तर चलिरहन्छ ।

मेकानिकल ओभरसियर पासआउट भएका हेटौंडाका प्रमेशराज गौतम केन्द्रमा तीन महिनादेखि मौलिक शैलीको मकै, गहुँजस्ता अन्न भुट्ने र खुवा घोट्ने मेसिन बनाउँदैछन् । विश्वविद्यालयमा सैद्धान्तिक ज्ञान लिएका उनलाई केन्द्रमा आएपछि लाग्यो ‘असली विश्वविद्यालय त यो पो रहेछ’ । ६ जना साथीहरुसँगै नयाँ प्रविधिको खोजीको लागि केन्द्रमा आएका उनी केन्द्रलाई अर्काे विश्वविद्यालयको संज्ञा दिन्छन्

धेरैलाई लाग्न सक्छ, यस्ता प्रविधिहरुको आविष्कार केवल विज्ञान पढेकाहरुले मात्रै गर्न सक्छन् । अर्थात्, सैद्धान्तिक ज्ञान भएकाहरुले मात्रै नयाँ–नयाँ प्रविधिको आविष्कार गर्न सक्छन् भन्ने सोचलाई आविष्कार केन्द्रमा आउनेहरुले गलत सावित गरिदिएका छन् । बरु लक्ष्मीप्रसाद देवकोटाले लेखेजस्तै आइन्स्टाइनहरु समेत हाम्रै समाजमा चुलोचौका गरेर बसिरहेका छन् भन्न सक्ने अवस्था आविष्कार केन्द्रले सिर्जना गरिदिएको छ ।

केन्द्रमा जति सिद्धान्त पढेका विद्यार्थीहरु छन्, त्यही हाराहारीमा अन्य पेशामा संलग्न पेशाकर्मीहरुले अन्वेषणको काम गरिरहेका छन् । कुनै समय त गैरविद्यार्थीले नै धेरै परीक्षण पनि गरिरहेका हुन्छन् । वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुन नयाँ प्रविधिको आविष्कारको लागि सैद्धान्तिक ज्ञान मात्रै सबै कुरा नरहेको बताउँछन् । जोसुकैले पनि नयाँ योजनालाई सार्थकता दिएर उद्यमशील बन्ने सोच राख्छ भने उसको लागि आविष्कार केन्द्रको ढोका सधैं खुला रहेको पुन बताउँछन् ।

आविष्कार केन्द्रमा अहिले गाउँघरको दैनिकीलाई सहज बनाउन मकै, गहुँ लगायतका अन्न भुट्ने मेसिनदेखि दूरदराजमा औषधि पुर्‍याउन प्रयोग गर्ने ड्रोनसम्मको परीक्षण भइरहेको छ । उनीहरुले बनाएका सामग्रीमध्ये केही सफल पनि भइसकेका छन् भने कुनै परीक्षणको क्रममा छ ।

मेकानिकल ओभरसियर पासआउट भएका हेटौंडाका प्रमेशराज गौतम केन्द्रमा तीन महिनादेखि मौलिक शैलीको मकै, गहुँजस्ता अन्न भुट्ने र खुवा घोट्ने मेसिन बनाउँदैछन् । विश्वविद्यालयमा सैद्धान्तिक ज्ञान लिएका उनलाई केन्द्रमा आएपछि लाग्यो ‘असली विश्वविद्यालय त यो पो रहेछ’ । ६ जना साथीहरुसँगै नयाँ प्रविधिको खोजीको लागि केन्द्रमा आएका उनी केन्द्रलाई अर्काे विश्वविद्यालयको संज्ञा दिन्छन् ।

कास्कीका भीमबहादुर क्षेत्रीको कथा अर्कै छ । पोखरामा गाडी मोटरसाइकल बनाउने काम गर्दै आएका क्षेत्रीले बिस्तारै वेल्डिङको काम पनि शुरु गरे । मेकानिकल काम गर्दैगर्दा नजिकै रहेको नर्सरी र खेतबारीमा प्रयोग गरेको मलले पर्याप्त उब्जनी नभएको देखे । उनलाई लाग्यो गोबरमा रहेको रसलाई निकालेर छोक्रा मात्रै राख्ने हो भने त्यसले बढी उब्जनी हुन्छ ।

गोबरको रस र छोक्रा छुट्याउने मेसिन बनाउन पनि त सकिएला ? आविष्कार केन्द्रले आफ्नो सोचलाई पूर्णता दिन सहयोग गर्छ भन्ने सुनेका उनले पछिल्लो एक महिनादेखि सोही प्रविधिको विकासमा लागिरहेका छन् । त्यसमा प्रयोग हुने मोटरबाट अरु सबै प्रविधि आफैंले तयार पारेका उनले पहिलो परीक्षण सफल पनि गराइसकेका छन् । यो प्रविधिको विकास भएपछि एकातिर गाईभैंसीको सुख्खा मललाई ढुवानीमा सहज हुने र उत्पादन पनि बढी हुने क्षेत्री बताउँछन् ।

लिम्बु, गौतम र क्षेत्रीजस्ता नयाँ सोच लिएर आउनेहरुलाई अन्वेषणका लागि केन्द्रले निश्चित समय छुट्याएको छैन । आफूले गरिरहेको परीक्षण सफल नभएसम्म उनीहरु यहीं काम गर्न पाउँछन् । केन्द्रका अध्यक्ष पुन आफ्नो उद्देश्य नै यहाँ सफल परीक्षण गरिएका प्रविधिको व्यावसायिक उत्पादन गरेर उद्यमशील बन्न सकून् भन्ने रहेको बताउँछन् । केन्द्रमा परीक्षण हुने जुनसुकै प्रविधि पनि बजारमा पाइने अरु प्रविधिको तुलनामा सस्तो र थप विशेषतायुक्त हुनुपर्नेमा जोड दिने गरेको उनी बताउँछन् । बजारमा पाइनेभन्दा महँगो हुन्छ भन्ने भयो भने त्यसको परीक्षणमा बढी ध्यान नदिने गरिएको पुन बताउँछन् ।

यहाँ अन्वेषणका लागि आउनेहरुले परीक्षणमा लाग्ने सामग्रीको खर्च आफूले व्यहोर्नु पर्दैन । यसको खर्च केन्द्रले नै व्यहोर्ने भएकाले पनि पैसा नहुनेहरुलाई आफ्नो योजना कार्यान्वयन गर्ने अवसर बनेको छ ।

एसेम्बल होइनआविष्कार नै हो

राष्ट्रिय आविष्कार केन्द्रले गरिरहेको कामलाई कतिपयले ‘एसेम्बल’ पनि भन्ने गर्छन् । कच्चा पदार्थ बाहिरबाट ल्याएर गरिने नयाँ प्रयोगलाई आविष्कार भन्न नमिल्ने कतिपयको तर्क छ । तर राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुन विदेशी उत्पादन कम्पनीहरुको उदाहरण दिँदै यसलाई एसेम्बल भन्न नमिल्ने बताउँछन् ।

उनी भन्छन्, ‘विश्वको चर्चित विमान निर्माण कम्पनी बोइङले पनि धेरै सामान आउट सोर्सबाट नै ल्याउँछ । टाटा र टोयोटाले कति गाडी उत्पादन गर्छन्, तिनीहरुले पनि धेरै सामान आउट सोर्सबाट ल्याउँछन् । त्यसैले एउटै कम्पनीले सबै सामग्री उत्पादन गर्ने नभई नयाँ योजनाको विकास गर्ने हो, जुन आविष्कार केन्द्रले गर्दछ ।’

विदेशी बजारमा पाइने प्रविधि नै भएपनि सस्तो मूल्यमा नेपाली आवश्यकता अनुसारको प्रविधिको विकास गर्नुलाई एसेम्बल भन्न नमिल्ने उनी बताउँछन् ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?