२२ माघ, म्याग्दी । हिमपातका कारण मुस्ताङ र म्याग्दीको ग्रामीण क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम र सदरमुकाम जोमसोमदेखि जिल्लाका पाँचवटै स्थानीय तह र वडाका केन्द्र जोड्ने सडक अवरुद्ध भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सडकमा हिउँ जमेपछि सवारी साधन आवतजावत हुन नसकेको बताए । ‘आन्तरिक र बाह्य यातायात सम्पर्क बिच्छेद भएको छ’, उनले भने, ‘हिउँ पर्न रोकिएपछि एक्जााभेटर परिचालन गरेर सडक खुलाउने योजना बनाएका छौँ।’
बेनी–जोमसोम सडकको लेते–जोमसोमखण्ड, जोमसोम–मुक्तिनाथ र कागबेनी–कोरला सडकमा यातायातका साधन नचलेकाले स्थानीयवासी, तीर्थयात्री र पर्यटक गन्तव्यमा पुग्न सकेका छैनन् । ढुवानी र बिकास आयोजनाको काम पनि ठप्प भएको छ ।
बिहीबार दिउँसोदेखि सुरु भएको हिमपात आज बिहान रोकिए पनि सबैतिर तीन फिट बाक्लो हिउँ जमेकाले जोमसोम विमानस्थलबाट हवाई उडान पनि हुन सकेको छैन । पहाडी बस्ती र डाँडा सेताम्मे भएका छन् ।
उपल्लो मुस्ताङको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ । खोला, धारा र कुवामा पानी जमेको छ । घरभित्रै बसेका सर्वसाधारणले हिउँ पगालेर पानी उपयोग गरेका छन्। चौँरी, भेडा र च्याङ्ग्रालाई सुक्खा घाँस खुवाएर गोठमै राखिएको छ ।
मुस्ताङमा अहिले दोस्रो पटक हिमपात भएको हो । यसअघि गत पुस दोस्रो हप्ता हिमपात भएको थियो । हिमपातले स्याउ र हिउँदेबालीलाई फाइदा गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताए ।
हिउँले जमिनको सतहबाट भित्री सतहसम्म सिँचाइ गर्ने भएकाले अन्नबाली सप्रिनाका साथै फलफूल र तरकारीमा सिंचाइ हुने उनले बताए । स्याउको फूल खेल्न र परागसेचन प्रक्रियाका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ ।

उपल्लो मुस्ताङमा माइनस १५ डिग्री तापक्रम पुगेकाले स्थानीयवासीको जनजीवन अस्तव्यस्त बनेको छ । हिमपातका कारण म्याग्दीको ग्रामीण क्षेत्रको यातायात सेवा रोकिएको र दरबाङ–मुना, पोखरेबगर–चित्रे, फलामेडाँडा राम्चेलगायत ग्रामीण सडकमा हिउँ थुप्रिएपछि यातायातका साधन थन्किएका छन् ।
हिउँले पैदलमार्ग अवरुद्ध बनाएपछि धवलागिरि गाउँपालिका वडा नं १ गुर्जामा यातायात सम्पर्क बिच्छेद भएको त्यहाँका वडाध्यक्ष झंक छन्त्यालले बताए । उनका अनुसार २५० घरधुरीले उपभोग गर्दै आएको गुर्जाको इङलेखोला लघु जलविद्युत् परियोजना पनि बन्द भएको छ ।
धवलागिरि गाउँपालिका-२ लुलाङका वडाध्यक्ष गमप्रसाद विकले हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकर बनेको बताए । आवतजावत गर्न र गाईबस्तुलाई आहाराको समस्या भएको उनले जानकारी दिए ।
हिमपात कारण ताप्लेजुङवासीलाई समस्या
ताप्लेजुङमा पछिल्लो केही साता दिनहुँजसो हिमपात भइरहेको छ । माघ महिनाको दोस्रो सातायता प्रायः धुम्मिँदो मौसम रहेको छ भने जिल्लाको उच्च हिमाली क्षेत्रमा निरन्तर हिमपात हुँदै आएको छ ।
निरन्तरको हिमपातले हिमाली क्षेत्रको जनजीवन भने कष्टकर बन्दै गएको छ । निरन्तर हिमपात भइरहने र घाम नलाग्ने भएकाले यहाँको जनजीवन कष्टकर बन्दै गएको हो । हिमपात हुने क्रम अहिले पनि जारी छ । शुक्रबार बिहानैदेखि हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
स्थानीयवासीका अनुसार उच्च डाँडामा भारी हिमपात भइरहेको छ । हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङ्गोला, याङ्मा, फक्ताङ्लुङकै वडा नं ६स्थित लेलेपको घुन्सा, फले, ग्याब्लालगायत स्थानमा हिमपात भइरहेको छ। घुन्साका कासाङ शेर्पाले लामो समयदेखि हिमपात जारी रहँदा जनजीवन कष्टकर हुन थालेको बताए ।
गत पुस अन्तिम साता घुन्सालगायत हिमाली बस्ती तथा उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको र त्यसबेला परेको हिउँ नै अहिलेसम्म पग्लिन नपाएको उनको भनाइ थियो ।
लामो समयदेखि मौसममा सुधार नआएको र हिउँ पर्नेक्रम जारी रहेकाले सुरुमा परेको हिउँ अहिलेसम्म जमिरहेको छ । दिनहुँजसो सामान्य हिउँ परिरहेकाले घुन्सासहित फले, याङ्मा ओलाङचुङ्गोला, तोक्पेगोला, पाथीभरा फेदीबजारलगायत बस्तीमा सुरुदेखि परेको हिउँ नै अझै जमिरहेको छ ।

यसरी निरन्तर हिमपातको क्रमसँगै शुक्रबार बिहानदेखि झन बाक्लो हिउँ परिरहेको छ । स्थानीयवासिन्दाका अनुसार मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला, सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, मामाङ्खे, खेबाङ, सिदिङ्वा गाउँपालिकाको कालीखोला, सुरुम्खिम, मैवाखोला गाउँपालिकाको साँघु, फाकुम्बालगायत गाउँको उच्च भेगतिर हिमपात भएको छ ।
यता तीन हजार ७९४ मिटर उचाइ भएको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि हिउँ परिरहेको फेदी बजारका राजेन्द्र महतले जानकारी दिए । पाथीभरा धाम, फेदीबजार र तल्लो फेदी काफ्लेपाटी क्षेत्रसम्म हिमपात भएको उनको भनाइ थियो ।
जिल्लाको हिमाली क्षेत्रमा हिमपातका क्रम जारी रहेसँगै धेरै दिनदेखि मौसम धुम्मिँदा चिसोले दैनिक जीवन यापनमा असर परेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपायामा बढी समस्या परेको छ । यता चिसोका कारण अहिले धेरैजनालाई रुघाखोकीले सताउन थालेको पाइएको छ ।
दैलेखमा भारी हिमपात यातायात अवरुद्ध
दैलेख सदरमुकाममा १४ वर्षपछि हिमपात भएको छ । विसं २०५४ माघ महिनामा भिषण हिमपात भए पनि त्यसयता नभएको स्थानीयवासी राधा शाहीले बताए । यसअघि दैलेखको उच्च भूभागमा मात्रै हिमपात पर्ने गरेको थियो ।
बिहीबार रातिदेखि भने गुराँस गाउँपालिकाको गुराँसे क्षेत्र, रानीमत्ता, तिनचुले, महाबु गाउँपालिकाको महाबु हिमाललगायत जिल्लाका ११ वटै स्थानीय तहको उच्च भूभागमा भारी हिमपात भएको हो । गुराँसे क्षेत्रमा भारी हिमपातले यातायात अवरुद्ध भएको छ ।
नौमुले गाउँपालिकाको तोली, बालुवाटार, सल्लेरी, चौराठा, भगवतीमाई गाउँपालिकाको रुम, जगनाथ, कट्टी, मेहेल्तोली, मन्घर, वडाभैरव, डुङ्गेश्वर गाउँपालिकाको लाँकुरी, अवलपराजुलको माथिल्लो भूभाग, गुराँस गाउँपालिकाको गुराँसे, लाँलीकाडा, पिलाडी, घोडाबासलगायत क्षेत्रमा भारी हिमपात भएको हो ।

यस्तै महाबु गाउँपालिकाको काशिकाँध भाग, गैँडाबाज, रानीवन, भैरवी गाउँपालिकाको कुसापानी, चामुण्डाविन्द्रासैनी नगरपालिकाको काफलमेला, चापागाउँ, ठाटीकाँध गाउँपालिकाको विशाला, हिमपाइला, बिजारे, तोलीजैसी, आठबीस नगरपालिकाको सिंहासैन, पीपलकोट र तिलेपाटा र दुल्लु नगरपालिकाको मालिकाक्षेत्रमा पनि हिमपात भएको छ ।
गुराँसे क्षेत्रमा भारी हिमपात हुँदा यातायात सेवा अवरुद्ध भएको छ । दैलेखदेखि गुराँसे हुँदै सुर्खेतसम्मको यायातात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले बताए ।
हिउँ परेसँगै जिल्लाभर अत्यधिक चिसो बढेको छ। रातिदेखि नै हिमपात सुरु भएपछि जनजीवन कष्टकर बनेको छ । हिमपातले एक्कासि बढेको चिसोले विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्गलाई बढी समस्या भएको छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4