
२३ माघ, काठमाडौं । अष्ट्रेलियाले विद्यार्थी र दक्ष कामदारका लागि आफ्नो अन्तर्राष्ट्रिय सीमा अंशिक रुपमा खुला गरिसकेको छ । यसैबीच, त्यहाँका प्रधानमन्त्रीले विदेशी पर्यटकका लागि समेत छिट्टै नै अन्तर्राष्ट्रिय सीमा खुला गर्न सकिने बताएका छन् ।
आइतबार पत्रकारसँग कुरा गर्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पर्यटकका लागि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने दिन टाढा नभएको बताएका हुन् । ‘सबैलाई थाहा नै छ कि हामीले दक्ष आप्रवासी कामदार, विद्यार्थी र ब्याकप्याकर (नव आगन्तुक)का लागि हाम्रो सीमा खुला गरिसकेका छौं’, मोरिसनले भने, ‘केही महिनादेखि यो भइरहेको छ ।‘
दक्ष कामदार र विद्यार्थीका लागि सीमा खुला गर्ने कार्य राम्रोसँग अघि बढिरहेको भन्दै अवस्था सुरक्षित भएपछि चाँडोभन्दा चाँडो विदेशी पर्यटकका लागि सीमा खुला गर्न सकिने मोरिसनको भनाइ थियो ।
‘हामीले विदेशी पर्यटकका लागि समेत सीमा खुला गर्ने विचार गरिरहेका छौं’, उनले थपे, ‘यो कार्य त्यति टाढा छैन भन्ने मेरो प्रस्ट बुझाइ छ ।‘
त्यस्तै, आज नै एबीसी समाचारसँग कुरा गर्दै अष्ट्रेलियाकी गृहमन्त्री करिन एन्ड्रुजले समेत विदेशी पर्यटकका लागि अन्तर्राष्ट्रिय सीमाना खुलाउने कुरा आफूहरूको प्राथमिकतामा रहेको बताइन् । छिटोभन्दा छिटो पर्यटकका लागि सीमा खुला गरिने पनि उनको भनाइ थियो ।
प्रतिक्रिया 4