+
+

केयूले बाल संगठनको जग्गामा गैरकानुनी रुपमा भवन बनाएको आरोप

नगरपालिकासँग सम्झौता भएपछि तेस्रो पक्ष छ भन्ने सोचिएन : केयू

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १३:३५
तस्वीर : काठमाडौं विश्वविद्यालयका फेसबुक पेजबाट

२४ माघ, काठमाडौं। काठमाडौं विश्वविद्यालय धुलिखेलले पाँचखालमा बाल संगठनको जग्गामा गैरकानुनी रुपमा भवन बनाएको बाल संगठनले जनाएको छ ।

विश्विद्यालयले पाँचखाल नगरपालिकास्थित बाल संगठनको पाँच रोपनी जग्गामध्ये कित्ता नम्बर १०, ११, १२ र १३ मा गैर कानुनी रुपमा काठमाडौं विश्वविद्यालयले भवन बनाएको बाल संगठनकी अध्यक्ष विद्या उपाध्यय न्यौपानेले जानकारी दिइन् ।

पाँचखालको बाल संगठनका निमित्त केन्द्र प्रमुख राजभक्त श्रेष्ठले करिब दुई महिनाअघि बाल संगठन केन्द्र नक्साललाई नगरपालिकाले ट्रष्ट बनाउन लागेको जानकारी गराएका थिए । तर संगठनले निमित्त केन्द्र प्रमुखलाई रोक्न अनुरोध गर्दा पनि निर्माण नरोकिएपछि अध्यक्ष न्‍यौपाने नगर प्रमुखलाई भेट्न नगरपालिकामा जाँदासमेत मेयर सम्पर्कमा नआएको जिकिर छ ।

यता, काठमाडौं विश्वविद्यालयले भने पाँच खाल मेयरले सार्वजनिक जग्गा भएकोले १० वर्ष चलाउनु भनेर दिएको बाल संगठनसँग जिकिर गर्दै आएको छ ।

पाँचखाल नगर प्रमुखले मौखिक अनुरोध बेवास्ता गरेपछि पाँच खाल बाल संगठनका निमित्त केन्द्र प्रमुख श्रेष्ठले फोटो पत्राचार गरी निर्माण रोक्न अनुरोध गरे ।

दोस्रो पटक छलफलका लागि प्रयास गर्दा पनि समय नदिएपछि जिल्ला प्रशासनलाई बोधार्थ दिएर नगर प्रमुखलाई पत्र दर्ता गरेर बाल संगठन केन्द्रीय कार्यलयले जिल्ला प्रशासन प्रमुखसँग बैठक राखेको बाल संगठनको भनाइ छ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र काठमाडौं स्कुल अफ इन्जिनियरिङका डीन प्रा.मनिष पोख्रेलले पटक-पटक छलफलमा आउने र बसेर समस्याको समाधान गर्ने मौखिक सहमति गरे पनि नआएको संगठनकी अध्‍यक्ष न्‍यौपानेले बताइन् ।

उनले भनिन् ‘सुरुमा नै निर्माण रोक्न पटक पटक मौखिक र लिखित दुवै रुपमा अनुरोध गरेका थियौं । तर उहाँहरुले त साह्रै हेपाहा प्रवृत्ति देखाउनुभयो।’

सरस्वती पूजामा विश्वविद्यालयको गृह प्रवेशको कार्यक्रम सामाजिक सञ्जालमा देखेर फोन गरेपछि छलफलका लागि आउने काठमाडौं स्कुल अफ इन्जिनियरिङका डीन प्रा.मनिष पोख्रेलले आश्‍वासन दिएको उनले बताइन् ।

विश्वविद्यालयले आइतबार सरस्वती पूजाको अवसर पारेर बाल संगठनको जग्गामा स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साईन्सको नवनिर्मित भवनमा गृह प्रवेश गरेको छ ।

उनले भनिन्, ‘गैर कानुनी तरिकाले बाल संगठनको सम्पत्तिमा बनाएको भवनमा छलफल नै नभई कसरी गृह प्रवेश गरेको फोटो सार्वजनिक भएको छ। यस्तो प्रतिष्ठित संस्थाका शिक्षित व्यक्तिहरुबाट यस्तो खुराफाती शैलीमा काम हुन्छ भन्ने त मैले कल्पना गरेकी थिइन ।’

नगरपालिकासँग सम्झौता भएपछि तेस्रो पक्ष छ भन्ने सोचिएन : काठमाडौं विश्वविद्यालय

यता, काठमाडौं विश्वविद्यालयले भने नगरपालिकासँग सम्झौता भएकोले तेस्रो पक्ष हुनसक्ने अनुमान नगरी बनाएको जिकिर गरेको छ ।

समाज कल्याण प्राथमिक विद्यालय रहेको विद्यालय अर्को विद्यालयमा मर्ज भएपछि नगरपालिकाले आईसोलेसन केन्द्र राखेको थियो । कोभिड संक्रमण घटेपछि नगर प्रमुखले नै काठमाडौं विश्वविद्यालय आए दिने कुरा गरेकोले त्यहि अनुसार सहमतिमा गएको विश्वविद्यालयले जिकिर गरेको छ ।

काठमाडौं विश्वविद्यालयका सह-प्रवक्ता उद्धव प्याकुरेलले भने ‘हामी जाँदा त्यहाँ आईसोलेसन केन्द्र थियो । नगर प्रमुख ज्यूले काठमाडौं विश्वविद्यालय यहाँ आयो भने त हाम्रो पाँचखाल नगरपालिका कै गौरवको कुरा हुन्छ । हामीलाई पनि त्यो अवसर दिनुहोस भनेपछि हामीले नगरपालिकासँग अर्को व्यवस्था नभएसम्म त्यो कार्यक्रम त्यहाँ चलाउने र अर्को व्यवस्था भएपछि त्यो संरचना नगरपालिकालाई छोडेर जाने सर्तमा चलाएका हौं ।’

सोही सम्झौता अनुसार त्यहाँ संरचनालाई सुधार गरेर चलाउन लागेको सह प्रवक्ता प्याकुरेलले बताए ।

‘विद्यालयको भवन भएको र माध्यामिक तहसम्मको शिक्षाको सन्दर्भमा स्थानीय सरकारले जिम्मेवारी भएकोले नगरपालिकाले त्यस्तो भनिसकेको अवस्थामा हामीले तेस्रो पक्षबारे सोँचेनौं ।’ सह प्रवक्ताले प्याकुरेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?