
२४ माघ, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अवैतनिक वाणिज्य दूतको सवारी साधनमा निलो नम्बर प्लेट र झण्डा राख्न दिने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ ।
नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवालले कूटनीतिक विशेषाधिकारका रुपमा प्रयोग गरेको सवारी कालोबजारीमा प्रयोग गरेको भेटिएपछि सरकारले दुई वर्षअघि यो सुविधा खारेज गरेको थियो । तर परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रीस्तरीय निर्णय गरी अवैतनिक वाणिज्य दूतको सवारी साधनमा निलो नम्बर प्लेट र झण्डा राख्न दिने व्यवस्था ब्यूँताए ।
समितिकी सभापति पार्वती निरौला खरेलकाअनुसार सरकारले यो सुविधा खारेज गर्न परामर्श गरेको थियो । अहिले यो सुविधा ब्यूँताउँदा कुनै परामर्श नगरेको भन्दै समितिको बैठकले अवैतनिक वाणिज्य दूतको सवारी साधानमा निलो नम्बर प्लेट र झण्डा राख्न नदिन भनेको छ । साथै सरकारले यसबारे मापदण्ड बनाउन र छिटो समितिलाई पठाउन समेत भनेको छ । समितिले १० माघमा परराष्ट्र मन्त्रालयलाई मापदण्ड मागेको थियो ।
प्रतिक्रिया 4