+
+

गैंडा मृत्यु प्रकरण : न सार्वजनिक भयो छानबिन प्रतिवेदन, न पक्राउ परे ठेकेदार

सुवास पण्डित सुवास पण्डित
२०७८ माघ २६ गते ८:३२

२६ माघ, चितवन । चितवनको भरतपुरमा निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकखण्डमा बनाइएको नालीमा परेर गत माघ ९ गते गैंडाको मृत्यु भएको घटना छानबिन समितिले प्रतिवेदन बुझाए पनि अझै सार्वजनिक गरिएको छैन ।

चितवन राष्ट्रिय निकुञ्जले सो घटनाका दोषी भन्दै सडक निर्माणको जिम्मा लिएका ठेकेदारलाई माघ १३ गते पक्राउ पूर्जी जारी गरे पनि उनी अझै पक्राउ परेका छैनन् ।

टिकौली जंगल नजिकै सडकको नाली छेउमा खनेर छाडिएको खाडलमा परेर १५ वर्षको दुर्लभ एक सिङे भाले गैंडा मरेको थियो ।

सो घटनापछि वन तथा वातावरण मन्त्रालयले माघ ११ गते, १० दिनभित्र यथार्थ प्रतिवेदन तयार पार्न भन्दै वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक राजेन्द्र केसीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिले तोकिएको समयभन्दा दुई दिन ढिला गरी माघ २३ गते मन्त्रालयमा आफ्नो प्रतिवेदन बुझाइसकेको छ । तर, समितिको प्रतिवदेन अझै सार्वजनिक गरिएको छैन ।

समितिका संयोजक केसीले आफूहरुले प्रतिवेदन तयार गरी बुझाएको तर सार्वजनिक भने मन्त्रालयले मात्रै गर्ने भन्दै केही बोल्न नमिल्ने बताए । स्रोतका अनुसार समितिले देवनगर पोष्टका तल्लो तहका कर्मचारीहरुले समयमा नै सडक विस्तारको अवस्थाको अनुगमन नगरेको, सडक डिभिजनले निकुञ्जसँग समन्वय नगरेको लगायतका विषय समेटेर प्रतिवेदन तयार पारिएको छ ।

संरक्षणकर्मी भन्छन्- निकुञ्ज नै दोषी

विस्तार भइरहेको राजमार्गको दक्षिण भाग निकुञ्जको बरण्डाभार क्षेत्रमा पर्दछ भने माथिल्लो भाग राष्ट्रिय वन क्षेत्र पर्दछ ।

निकुञ्जको बरण्डाभार क्षेत्रमा ठेकेदारले सडक विस्तारका लागि खाडल खन्दा पनि निकुञ्जले बेवास्ता गर्दा सो घटना भएको संरक्षणकर्मीहरुले जनाएका छन् ।

‘सडक विस्तारका बारेमा निकुञ्जले बेलैमा चासो राख्नुपर्दथ्यो, तर सो गरेको नदेखिंदा अकालमा गैंडा मर्यो’ संरक्षणकर्मीसमेत रहेका पत्रकार अपिल घिमिरेले भने, ‘म त भन्छु यो गैंडाको हत्या नै हो ।’ निउरो टिप्न जाँदा पक्रेर थुन्ने निकुञ्जले आफ्नो संरक्षण क्षेत्रभित्र सडक बनाउँदा पनि चुपचाप बसेको उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जका एक पूर्वसंरक्षण अधिकृतले निकुञ्जको शतप्रतिशत गल्तीका कारण घटना भएको बताए । उनले भने, ‘आफ्नो अधिकार क्षेत्रमा कसैले सडक या कुनै संरचना बनाउँदैछ भने हेर्नु, जानकारी लिनु, चासो राख्नु निकुञ्जको काम नै हो, तर यहाँ त्यसो गरिएको देखिएन, मैले दोष निकुञ्जको देख्छु, ठेकेदारको त छँदैछ ।’ निकुञ्जको क्षेत्रमा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काउँदै हिंड्ने निकुञ्जले बरण्डाभार क्षेत्रमा धराप बन्दा पनि किन देखेन भनेर उनले प्रश्न गरे ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बरण्डाभार क्षेत्रमा सडक निर्माण गर्नुपर्दा आवश्यक पर्ने प्रक्रिया पूरा नगरी काम गरिएको आफैंले बताउँदै आएका छन् । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको निकुञ्जले निष्कर्ष निकालेको थियो ।

बरण्डाभार क्षेत्रमा सडक बनाउँदा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, सो काम नगरी सडक विस्तार गरेको पाइएको छ ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले सो क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन नै नगरिएको बताए । ‘पहिला आईई गर्न भनेर प्रकृया अघि बढाएको पनि हो, बीचमा कानुन नै परिवर्तन भयो,’ इन्जिनियर खनालले भने, ‘सडक विभागले नै १० किलोमिटरभन्दा कम दूरीको, राजमार्ग क्षेत्रमा आईई गर्न नपर्ने नियम राखेकाले गरिएन ।’

राजनीतिक दबावमा परेर निकुञ्जले ठेकेदारलाई पक्राउ नगरेको आरोप संरक्षणकर्मीहरुले लगाएका छन् ।

खनालले यसो भने पनि वन क्षेत्रमा पर्ने राजमार्गको सडकमा आईईविना कुनै काम गर्न नपाइने संरक्षणकर्मीहरु बताउँछन् । प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले गैंडा मृत्यु प्रकरणमा सम्वन्धित पक्षबाट गम्भिर त्रुटी भएको बताए । वन तथा वरण्डाभार क्षेत्रमा अण्डरपास वा ओभरपास बनाउने कन्सेप्ट अझै पनि नहुँदा यस्ता दुर्घटनाहरु निम्तिने क्रम बढेको उनको भनाइ छ ।

यसअघि, चितवन राष्ट्रिय निकुञ्जले बुटवल-नारायणगढ सडकखण्ड विस्तारमा वातावरणीय प्रभाव मूल्यांकन नगरिएको भन्दै तीन महिनासम्म काम रोकेको थियो । अहिले सो सडकखण्डमा विभिन्न ठाउँमा अण्डरपास बनाउने गरी संरचना तयार गरिंदैछ । तर, निकुञ्जको आँगनमै नारायणगढ-पुल्चोक-गोन्द्राङ सडकखण्डमा भने चासो नदिएको भनेर निकुञ्जको आलोचना हुँदै आएको छ । निकुञ्जले सडक विस्तारको काम भइरहेकोबारे अहिलेसम्म सामान्य पत्रसमेत लेखेर चासो नदेखाएको सडक डिभिजन कार्यालयको भनाइ छ ।

निकुञ्जका वार्डेन नै छानबिन समितिमा

वन तथा वातावरण मन्त्रालयले बनाएको स्थलगत छानबिन कार्यदलको सदस्यमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलाई राखेको भन्दै सांसदहरुले आपत्ती जनाएका छन् ।

छानबिन समितिमा डिभिजन वन कार्यालय र निकुञ्जका प्रतिनिधि राखे पनि सडक डिभिजनका प्रतिनिधि भने राखिएको छैन ।

मंगलबार बसेको संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरुले निकुञ्जले समयमा नै उचित ध्यान नदिंदा गैंडाको मृत्यु भएकाले निकुञ्जका प्रमुखलाई स्पष्टीकरण सोध्नुपर्नेमा उल्टै छानबिन समितिमा राखेर चोख्याउन खोजिएको भन्दै आपत्ति जनाए ।

निकुञ्जको बरण्डाभार क्षेत्रमा सडक खन्दा थाहा नपाउने निकुञ्ज प्रमुख छानबिन समितिमा बसेर आफैंले प्रतिवेदन लेख्न नमिल्ने कुरा समितिमा राखेको सांसद शान्ता चौधरीले बताइन् ।

संसदीय समितिका सचिव उदय भण्डारीले नालीमा खसेर गैंडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्ज र सडक डिभिजन कार्यालय दुवैको लापरवाही देखिएको कुरा समिति सदस्यहरुले उठाएको बताए । संसदीय समितिले छानबिन समितिको सार्वजनिक नगरिएको प्रतिवेदन तत्कालै पठाउन निर्देशन दिएको सचिव भण्डारीले बताए ।

अझै पक्राउ परेनन् ठेकेदार

खाल्डो धरापमा परेर गैंडाको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जले सडक विस्तार गरिरहेको ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरे पनि उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।

सडक विस्तार गरिरहेको इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध गत माघ १३ गते पक्राउ पुर्जी जारी भएको थियो । अनुसन्धानका लागि भन्दै पक्राउ पुर्जी जारी गरे पनि उनी अहिलेसम्म पक्राउ नपरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

भरतपुरको सिटी हलसमेत निर्माण गरिरहेको सो कम्पनीका सञ्चालकलाई राजनीतिक संरक्षणमा राखिएको स्रोतको दाबी छ । राजनीतिक दबावमा परेर निकुञ्जले ठेकेदारलाई पक्राउ नगरेको आरोप संरक्षणकर्मीहरुले लगाएका छन् । ‘विचरा गैंडाले नेतालाई केही दिन सक्दैन, चुनाव आउन लागिरहेको छ, ठेकेदारले त पैसा दिन्छ, स्रोत साधन जुटाइदिन्छ,’ मध्यवर्ती क्षेत्रका एक संरक्षणकर्मीले अनलाइनखबरसँग भने, ‘लापरवाही गर्नेहरुले सजाय भोग्नुपर्छ ।’

खड्कालाई पक्राउ नगर्न माग गर्दै निर्माण व्यवसायी महासंघ लगायतका ठेकेदार आवद्ध संघसंस्थाहरुले दबाव दिंदै आएका छन् ।

गैंडा मृत्युका घटनामा यस्ता छन् नजिर

२०७५ चैत १० गते पश्चिम चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टको सेफ्टी ट्यांकीमा २५/३० वर्षको पोथी गैंडा खसेर मरेको घटनामा निकुञ्जले त्यसका सञ्चालकलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । घटनालगत्तै होटलका सञ्चालक अजित विक्रम राणा पक्राउ परेका थिए । निकुञ्जले होटलसँग सम्बन्धित व्यक्तिहरु सञ्चालक शाहसँगै प्रद्युम्न घिमिरे, दीपक खनालसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

यस्तै पश्चिम चितवनको मेघौलीस्थित होटल मेघौली सेराईमा २०७३ साउन २५ मा करेन्ट लागेर एक गैंडा मरेको घटनामा पनि निकुञ्जले ४ जना होटलका कर्मचारीहरु विरुद्ध दायर गरेको मुद्दामा चितवन अदालतले जरिवाना तिराएको थियो ।

२०७४ को माघमा सौराहाको एक होटलको सेफ्टी ट्यांकीमा परेको गैंडाको जीवितै उद्धार गरिएको थियो । चितवन निकुञ्ज कार्यालयले २०७६ पुस २० गते कावासोती नगरपालिका-१० रतौलको तोरीबारीमा अन्दाजी ७-८ वर्षको गैंडा मृत अवस्थामा भेटिएपछि सो जग्गा धनी मोहनलाल पन्थीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी केही समय जेलमा समेत बसे ।

गैंडा बाली खान आउने भएकाले त्यसबाट जोगाउन भन्दै नांगो तारमा करेन्ट छाड्दा गैंडा मरेको अभियोग पन्थीमाथि लागेको छ ।

लोपोन्मुख दुर्लभ गैंडा मारेमा वा त्यसको अंगको कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना, पाँचदेखि १५ वर्षसम्म कैद वा कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?