+
+

‘गंगुबाई काठियावाडी’सँग जुध्न किन तयार भयो ‘म यस्तो गीत गाउँछु २’ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १२:३३

२६ माघ, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरका कारण २७ दिनसम्म बन्द भएका देशभरका सिनेमा हलहरु फागुन १ गतेबाट सञ्चालनमा आउँदैछन् । हल खुलेसँगै यसअघि बीचैमा प्रदर्शन रोकिएका दुई चलचित्र ‘चपली हाइट ३’ र ‘कठपुतली’ पुनः रिलिज गर्ने तयारी भइरहेको छ ।

फागुन १३ गतेबाट भने चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने भएको छ । तीन पटक प्रदर्शन मिति सार्न बाध्य भएका निर्देशक सुदर्शन थापाले शिवरात्रीको अवसरमा यो चलचित्र रिलिज गर्न लागेका हुन् । चलचित्रमा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा छन् ।

लामो समयदेखि बक्स अफिसमा देखिएको दर्शकको अभावलाई पूरा अभिभारा चलचित्र ‘म यस्तो गीत गाउँछु २’माथि देखिएको छ । किनकि, दुई वर्षयता चलचित्र ‘कठपुतली’को इनिसियल व्यापारलाई छाड्ने हो भने रिलिज भएका अन्य चलचित्रले दर्शकको माया पाउन सकेका छैनन् ।

तर, यही मितिमा बलिउडको प्रतिक्षित चलचित्र ‘गंगुबाई काठियावाडी’ रिलिज हुँदैछ । यो चलचित्र पनि नेपाली दर्शकका लागि प्रतीक्षामा छ । सञ्जय लीला भन्सालीको निर्देशनमा तयार भएको यो चलचित्रमा आलिया भट्ट र अजय देवगण मुख्य भूमिकामा छन् ।

प्रायः नेपाली निर्माताहरु बलिउडका ठूला चलचित्रसँग भिड्न डराउँछन् । तर, यसपटक सुदर्शन थापाले किन सञ्जय लीला भन्सालीको चलचित्रसँग ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने निर्णय गरे ? भन्ने प्रश्न चलचित्रवृत्तमा उठेको छ ।

यो विषयमा चलचित्रका निर्देशक थापा भन्छन्, ‘कुनै पनि चलचित्र निर्माण गर्दा नेपाली निर्माताको दिमागमा कुनै न कुनै विदेशी चलचित्रसँग जुध्नुपर्छ भन्ने सेट पहिले नै हुन्छ । अर्कोतिर मुख्यतया मेकरलाई आफ्नो चलचित्रसँग पूरा विश्वास हुनुपर्छ । हामीलाई ‘म यस्तो गीत गाउँछु २’को कथावस्तु र मेकिङप्रति पूरा विश्वास छ । यसैले हामी बलिउडका सबैभन्दा ठूला निर्देशक सञ्जय लीला भन्सालीको चलचित्रसँग एकसाथ रिलिज गर्न तयार भएका हौं ।’

सुदर्शनले सबै निर्माता–निर्देशक बलिउड वा हलिउडका चलचित्रसँग तर्किएर हिंड्छन् भन्ने बुझाइ पनि गलत भएको बताए । उनले भने, ‘नेपाली चलचित्रका पनि आफ्नै दर्शक हुनुहुन्छ । राम्रो चलचित्र बन्यो भने दर्शकले साथ दिएका उदाहरण यसअघि पनि थुप्रै देखिएका छन् । हामीले नै तयार गरेका चलचित्र पनि दर्शकले खुबै मन पराउनुभएको थियो । चलचित्रका गीत, ट्रेलरलाई दर्शकले मन पराउनुभएको छ । यसैले विदेशी चलचित्र आउँदैमा हाम्रो चलचित्रको व्यापारलाई फरक पर्छ जस्तो लाग्दैन ।’

हलमा विदेशी र नेपाली चलचित्र एकसाथ चल्दा माहोल अझै बन्ने विश्वास चलचित्रकर्मीको छ । किनकि, दर्शकले नेपाली वा हिन्दी चलचित्रको नाम सुनेर हलसम्म जान सक्छन् । जसले गर्दा दुवै चलचित्रलाई फाइदा पुग्न सक्छ भन्ने बुझाइ पनि नेपाली मेकरको छ ।

हुन त, ‘म यस्तो गीत गाउँछु २’ मात्र होइन, त्यसपछि रिलिज हुन लागेका अधिकांश चलचित्र पनि बलिउड र हलिउड चलचित्रसँग जुध्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?