+
+

लोकतन्त्र, निर्वाचन र युवा सहभागिता

युवाको भूमिका निर्वाचनमा भाग लिनेमा मात्र सीमित नगरी निर्वाचन अघि, पछि र मतदानको दौरानमा सक्रिय भूमिका सुनिश्चित गर्न आवश्यक छ । किनकि युवाहरू आफैंमा लोकतन्त्रको संवाहक हुन् ।

जगदीश ऐर जगदीश ऐर
२०७८ माघ २६ गते १४:५६

आवधिक निर्वाचन लोकतन्त्रको सबैभन्दा उत्कृष्ट पक्ष हो । लोकतन्त्र र निर्वाचन अन्तर सम्बन्धित छन् । यी दुई एकअर्काको परिपूरक हुन् र एक विना अर्कोको अर्थ रहन्न । त्यसैले आवधिक निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड पनि भनिन्छ ।

निर्वाचनमा सबैभन्दा ठूलो भूमिका हुन्छ, मतदाता अर्थात् जनताको । मतदाताले आफ्नो मतको महत्व बुझेमा मात्र लोकतन्त्र सुदृढ गर्न सकिन्छ । मतदाताले चुनेकै व्यक्तिहरूले नै लोकतन्त्रमा निश्चित अवधिको लागि शासन सत्ता चलाउने अवसर पाउँछ ।

निर्वाचनमा एक व्यक्ति एक मत प्रयोग हुने भएकोले सबैको मतको मूल्य बराबर हुन्छ । लोकतन्त्रले कुनै पनि व्यक्तिलाई वर्ण, वर्ग, लिङ्ग, जातका आधारमा भेदभाव गर्दैन । त्यसैले यो लोकमत मापन गर्ने वैधानिक विधि हो ।

जनताको अभिमतलाई प्रतिनिधिको रूपमा रूपान्तरित गर्ने वैधानिक तरिका निर्वाचन हो । यसमा दुई वा दुईभन्दा बढी उम्मेदवार वा दल मध्येबाट आफ्नो मत जाहेर गरी चयन गर्न पाउने अधिकारको प्रयोग हुन्छ । सरोकारवालाहरूको वास्तविकता परीक्षण पनि निर्वाचनमै हुन्छ ।

युवा परिवर्तनका संवाहक हुन् । त्यसैले निर्वाचनमा युवा सहभागिता महत्वपूर्ण हुन्छ । नेपालमा सबै वर्ग र समुदायमा (महिला, जनजाति, मधेशी, मुस्लिम, अपाङ्गता भएका, दलित) युवाको बाहुल्य रहेकोले निर्वाचनमा युवाको भूमिका अपेक्षित हुन्छ । शासकीय प्रक्रिया र सामाजिक, आर्थिक एवं सांस्कृतिक रूपान्तरणमा युवाको सार्थक सहभागिताको लागि निर्वाचनमा युवा सहभागिता अभिवृद्धि गर्दै जानुपर्छ । अधिकारप्रति सचेत र कर्तव्यप्रति जागरुक स्वावलम्बी, सिर्जनशील, उद्यमशील र चरित्रवान युवाहरूको परिचालनबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र मितव्ययी बनाउन ठूलो योगदान पुग्दछ ।

सरकारको वैधताको प्रणेता जनता नै हो । निर्वाचन गराउने निकाय र निर्वाचनका प्रक्रिया विश्वसनीय हुनुपर्दछ । निर्वाचनको लागि कानुनी संरचना स्पष्ट हुनुपर्दछ । चाहे त्यो संविधानमा होस् या निर्वाचन सम्बन्धित ऐनमा निर्वाचनलाई लिएर सबैले बुझ्ने गरी प्रावधानहरूको व्यवस्था हुन आवश्यक छ । मतदाता नामावली शुद्ध हुनुपर्दछ । भयरहित चुनावी वातावरणको सुनिश्चितता हुनुपर्दछ । सबै दल तथा उम्मेदवारका लागि अवसर समान हुनुपर्दछ । गोप्य मतदानको सुनिश्चितता हुनुपर्दछ । सही मतदाताले मात्र मताधिकार प्रयोग गर्ने हुनुपर्दछ । मतदान गोप्य, मतगणना पारदर्शी र निर्वाचन परिणाम स्वीकार्य हुनुपर्दछ ।

युवाको निरपेक्ष परिभाषा नभए पनि नेपालमा भने १८–४० वर्ष उमेर समूहका मानिसलाई जनाउँछ । नेपालमा लगभग ४०.३५ प्रतिशत जनसंख्या यस समूहमा पर्दछ । युवा उमेरभन्दा पनि जोस, जाँगर र उत्साहको अवस्था हो । युवा कुनै पनि मुलुकको वास्तविक पूँजी हो । कुनै पनि समाजको क्रियाशील जनशक्तिको महत्वपूर्ण र निर्णायक हिस्सा यसैमा पर्दछ । आशा र आकांक्षाका पुञ्जको रूपमा युवालाई चित्रण गरिन्छ ।

जागरण, आन्दोलन र क्रान्तिका स्वस्फूर्त ऊर्जाको रूपमा युवालाई लिइन्छ । युवालाई राष्ट्र निर्माणको आधार, परिवर्तनको कारक र संवाहक हो । समाज र पुस्ताको सम्बन्ध सेतु हो युवा । समृद्धि, रूपान्तरण र सशक्तीकरणका लागि सक्रिय, सुसूचित, सुविज्ञ, स्वचालित र स्वनिर्देशित युवा आवश्यक पर्दछ ।

मतदाता नामावली दर्ता तथा मताधिकार उपयोग गर्न युवालाई उत्प्रेरित गर्न आवश्यक छ । उम्मेदवारको रूपमा निर्वाचनमा उम्मेदवारी दिनका लागि युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ । युवाले अभियन्ताको रूपमा निर्वाचन तथा मतदाता शिक्षालाई बृहत् रूपमा सञ्चालन गर्न आवश्यक छ । राजनीतिक प्रक्रियाप्रति युवा वर्गमा रहेको वितृष्णा हटाई नयाँ जोस र जाँगर ल्याउनका लागि उत्प्रेरणामूलक गतिविधिहरू सञ्चालन गर्नुपर्दछ । युवालाई नै लक्षित गरेर निर्वाचनको दौरानमा निर्वाचन आयोगले पनि पूर्व तयारीको रूपमा कार्यक्रमहरू जानकारी दिन जरूरी देखिन्छ ।

युवाहरूलाई निर्वाचन, यसको प्रक्रिया र युवाले खेल्ने भूमिकाको बारेमा स्पष्ट पार्नुपर्छ । यसो गर्दा उनीहरूले अरूलाई पनि निर्वाचनको बारेमा सूचना दिन सकून् ।

हाम्रो देशमा १६ वर्ष उमेर पुगेकाले नागरिकता पाउने व्यवस्था छ । नागरिकता प्राप्त १६ वर्ष उमेर पूरा गरेका व्यक्तिले मतदाता हुनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् । तर १८ वर्ष उमेर पूरा भएपछि मात्र मताधिकार उपयोग गर्न पाउने प्रावधान छ । स्थानीय तहको निर्वाचनमा २१ वर्ष उमेर पूरा भएका व्यक्ति उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ ।

प्रदेशसभा सदस्यको निर्वाचनमा २५ वर्ष उमेर पूरा भएका व्यक्ति उम्मेदवार हुन पाउने तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २५ वर्ष उमेर पूरा भएका व्यक्ति उम्मेदवार हुन पाउने प्रावधान छन् । यस्तै, राष्ट्रियसभा सदस्यको निर्वाचनमा ३५ वर्ष उमेर पूरा भएका व्यक्ति उम्मेदवार हुन पाउनेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ४५ वर्ष उमेर पूरा भएका व्यक्ति उम्मेदवार हुन पाउने प्रावधान कानुनमा राखिएको छ ।

राष्ट्रिय युवा परिषद्ले प्रत्येक स्थानीय तहमा गठन गरेको युवा क्लबको काम, कर्तव्य र अधिकारमा निर्वाचन व्यवस्थापनका प्रक्रियालाई लक्षित वर्ग तथा समुदायसमक्ष पु¥याउने सवाललाई पनि समेटिएको छ । यस्ता क्लबलाई निर्वाचन व्यवस्थापनमा नागरिकको संलग्नता अभिवृद्धि गर्ने कार्यमा सहकार्य तथा समन्वय गरिने भनिएको छ ।

युवाको भूमिका निर्वाचनमा भाग लिनेमा मात्र सीमित नगरी निर्वाचन अघि, पछि र मतदानको दौरानमा सक्रिय भूमिका सुनिश्चित गर्न आवश्यक छ । किनकि युवाहरू आफैंमा लोकतन्त्रको संवाहक हुन् । कुनै पनि मुलुकको लोकतन्त्र कतिको बलियो छ भन्नको लागि त्यस मुलुकको आवधिक निर्वाचनमा युवाहरूले खेलेको भूमिकामा निर्भर रहन्छ ।

त्यसैले नेपाल सरकारले पनि ३० वैशाखमा एकै चरणमा ७५३ वटै स्थानीय तहमा निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ । स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशसभाको निर्वाचन हुनेछ । स्थानीय निर्वाचन गर्नको लागि त सरकारले निर्वाचन आयोगलाई गृहकार्य अघि बढाउनको लागि समेत सन्देश दिइसकेको छ ।

नेपालको लोकतन्त्रमा महत्व मानिएका आउने तीन तहको निर्वाचनमा नेपाली युवाहरूको भूमिका महत्वपूर्ण हुन्छ । आशा छ, नेपालको लोकतान्त्रिक अभ्यासलाई थप चलायमान बनाउनको लागि युवाहरू सक्रिए हुनेछन् र हुनुपर्छ ।

(लेखक नेपाल युवा संस्था सञ्जाल (आयोन)का अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?