+
+
एक उच्च सरकारी कर्मचारीको बकपत्र :

अख्तियारको १३ पानेसँगको साक्षात्कार : साखुल्ले हुन खोज्दा खुस्किएका तार

पीरले सर्लक्कै निल्यो । कहींकतै गल्ती नगरेर के भयो त ? अख्तियारको एउटा पत्रले नै सखाप पार्दोरहेछ, कमाएको सारा इज्जत । मलाई सबैभन्दा बढी बदनाम, उपहास र दागको डर लाग्यो ।

लक्ष्मीविलास कोइराला लक्ष्मीविलास कोइराला
२०७८ माघ २७ गते १०:१५

सूचना विभागको महानिर्देशक र प्रेस काउन्सिल नेपालको सदस्य सचिवबाट लोक सेवा आयोगको सहसचिवमा सरुवा भएपछि गरिएको हार्दिक र न्यानो बिदाइले मन भावुक र भारी बनाइरहेको थियो । बिदाइको टीका, माला र उपहार सहित आयोग फर्कंदै थिएँ । लोक सेवा आयोगको न्यानो स्वागतले भारी मनलाई शान्त पार्न सकिरहेको थिएन । त्यसैबेला मेरो मोबाइलको पिसफूल स्ट्रम घण्टी बज्यो– ‘ट्रिङ्, ट्रिङ्, ट्रिङ् !’

‘हेलो !’ मैले मसिनु स्वरमा बोलें ।

‘सर ! अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बोलेको म’ थोरै दम्भ मिसिएको तर नरम स्वरमा फोनमा बोल्नेले मसँग केही बुझ्नु परेकाले एकदिन अख्तियार आउनु पर्‍यो भनेर खबर दियो ।

‘कहिले आउँ त ?’ मैले जिज्ञासा राखें ।

‘आजै आए पनि हुन्छ, भोलि पर्सि आए पनि हुन्छ, तर छिटो आएको बेस’ उसको स्वरमा निर्देशनात्मक भाव मिसिएको थियो ।

‘म अहिले नै आउँछु हुन्न ?’ मैले उसँग सोधें ।

‘सर डराउनुभएको हो र ?’ उसको स्वरमा धम्की मिसिएको थियो ।

‘होइन, होइन, फुर्सद भएर हो’ मैले छोटो स्पष्टीकरण दिएँ ।

‘आउनुस् न त सर, आउँदा सोझै मेरो कोठामा आउनुहोला । म गेटमा भन्दिरहन्छु’, उसले नरम स्वरमा भन्यो ।

‘हुन्छ’, मैले फोन राखें ।

अख्तियार रातो घरको उपनामले कर्मचारी वृत्तमा चिनिने गरेको थियो । मैले ड्राइभरलाई नक्साल अख्तियारको कार्यालय जान भनें । ड्राइभरले गाडी घुमायो ।

बिदाइ कार्यक्रममा चिसो पिएको कारण मेरो घाँटी खसखस गरिरहेको थियो ।

मलाई जागिरको दौरान अख्तियार दुरुपयोग, अनियमितता र भ्रष्टाचार गरेको आरोपमा उजुरी परेर अख्तियारले बोलाउला र जानुपर्ला भन्ने कहिल्यै लागेकोे थिएन । आज पर्‍यो । म जस्तालाई समेत अख्तियारले निगरानीमा राखेको छ भने अब देशबाट भ्रष्टाचार निर्मुल नै होला, म मनमनै खुसी पनि भएँ । अख्तियारले ‘तपाईंसँग बुझ्नुछ, आउनुस्’ भनेर बोलाएको कारण मन धेरथोर बेचैन भने भइरहेको थियो ।

अख्तियारको गेटका सबै फर्मालिटीहरू पूरा गरेर म बोलाइएको कोठामा पुगें । एकजना उपसचिवले बस्न भनेर कुर्सी देखाए । म टुसुक्क बसें ।

‘सरले १३ पाने फर्म भर्नुपर्छ । १५ दिनको समय छ । पुगेन भने म्याद थप गर्न सकिन्छ’ भन्दै उनले फारम र एउटा चिट्ठी दिए ।

‘कसले के विषयमा उजुरी गरेको रहेछ ? कि अख्तियारकै अनुसन्धानको घेरामा परेको हँु म ?’ मैले चिट्ठी बुझेर लिंदै घाँटी सफा गर्दै जिज्ञासा राखें ।

‘सर, डराउनुपर्दैन । सामान्य बुझ्ने मात्रै हो । कसले उजुरी गर्‍यो ? के विषयमा उजुरी गर्‍यो ? हामीले भन्न पनि मिल्दैन’ उसले गर्विलो स्वरमा मलाई सम्झायो ।

‘डराउने त कुरै छैन । खालि दुःख दिने को रहेछ ? भन्ने मात्र जान्न खोजेको हुँ’, मैले घाँटीको खसखस सहज बनाउँदै भनें ।

उसको अनुहारले मैले भनेको पत्याइरहेको थिएन । म चिट्ठी लिएर लुसुक्क निस्कें । अख्तियारमा प्रमुख आयुक्त, आयुक्त र सचिव मेरा पूर्व हाकिम नै थिए । ६–७ जना सहसचिवहरू साथी थिए । तर मलाई कसैसँग भेट्न मन लागेन । विशेष प्रहरी विभाग भएताका मुखमा मुकुण्डो लगाएर आफ्नै साथी कुट्ने नेपाली कर्मचारीको प्रवृत्तिसम्बन्धी कथाहरू मैले सुनेको थिएँ । म चुपचाप निस्किएँ, कसैलाई नभेटी ।

मनमा अनेकौं कुरा खेल्न थाले । मैले केही गल्ती गरेको छैन । घुस, कमिसन खाएको/लिएको छैन । आर्थिक अनियमितता गरेको छैन । मैले मेरो जागिरे जीवनका क्रियाकलापहरूको पूरै सिंहावलोकन गरें । झण्डै दश वर्ष केन्द्रीय तथ्यांक विभागमा काम गरें । तीनपटक जापान गएँ । सरुवा भएर जनसंख्या तथा वातावरण मन्त्रालय पुगें । उपसचिवमा बढुवा भयो तर त्यहीं बसें । त्यहाँबाट डेनमार्क र फिलिपिन्स भ्रमणमा गएँ ।

स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भयो । बैठक व्यवस्थापनको काम गर्थें । थाइल्याण्ड, भारत, कोरिया भ्रमण गर्ने अवसर मिल्यो । मन्त्रिपरिषदकोे कार्यालयबाट सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भयो । इरान, स्विट्जरल्याण्ड, अमेरिका र अष्ट्रेलिया जान पाएँ ।

सहसचिवको लिखित परीक्षा पास गरेर लोक सेवा आयोगका दुई वटा अन्तर्वार्ता बिग्रिएपछि फाइल बढुवाको अंक पुर्‍याउन अर्थ, गृह र स्थानीय विकास मन्त्रालय सरुवा हुन खोजें, तर सकिनँ । अन्त्यमा लोक सेवा आयोगको दाङ कार्यालयमा सरुवा भई गएँ । काम गर्दागर्दै सहसचिवमा बढुवा भएँ ।

मान्छेसँग दुईवटा मन हुँदा रहेछन् । एउटा बाहिरी मन जो अख्तियारको पत्र र मिडियाबाजीको प्रभावबाट आफ्नो इज्जतमा कालोपोतो लाग्ने भयभित्र छटपटाइरहेको थियो भने अर्को निर्भयको मन, नबिराउनु नडराउनु भन्थ्यो । म दोमन लिएर घरभित्र पसें ।

सूचना विभागको महानिर्देशक र सार्क सूचना केन्द्रको निर्देशक भएर पाँच वर्ष सेवा गरें । सार्क सूचना केन्द्रको निर्देशक हुँदा विदेशी मुद्रा डलरमा तलब पाइन्थ्यो र सार्क सदस्य देशहरूमा कार्यक्रम सञ्चालन गरेर हिंड्दा राम्रै आम्दानी हुन्थ्यो । प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य सचिव भएर पनि काम गरें । सूचना विभागको महानिर्देशक भएपछि मात्रै मैले निर्णय गर्ने अधिकारको प्रयोग गरेको थिएँ ।

सूचना विभागमा रहँदा सबै निकायमा मैले गरेका निर्णय, घटना र दृश्यहरू सम्झें । मैले कहिल्यै कसैले औंला उठाउन सक्ने गलत, अनियमित र भ्रष्ट हुने काम त गरेको थिइनँ । तर उजुरी किन पर्‍यो ? कसले गर्‍यो ? म गम्भीर सोचमा परें ।

पत्रिकामा सूचनामूलक सामग्री छपाएपछि वर्गीकृत पत्रिकाहरूले सूचना विभागबाट मासिक रूपमा पैसा पाउँथे । सामग्री तोकिए बमोजिम नछपाउनेहरू कारबाहीमा पर्दथे । पैसा रोकिन्थ्यो । पैसा नपाउनेले सम्पादक/प्रकाशकले उजुरी गरेछन् कि क्या हो ? एउटा शंका उठ्यो ।

सूचना विभागको महानिर्देशक पत्रपत्रिका संपरीक्षण समितिको अध्यक्ष भएर पत्रिकाहरूको क, ख, ग र घ वर्गमा वर्गीकरण गर्नुपर्दथ्यो । वर्गीकरणमा सबैको चित्त बुझ्दैनथ्यो । ती पत्रिकाहरूमध्ये के कुनै सम्पादक वा प्रकाशकले उजुरी गरे होलान् त ? तर्कना आयो । कुनै मिडिया हाउसले पत्रकारलाई न्यूनतम पारिश्रमिक दिएको देखिएन भने पत्रकारको प्रेस परिचय पत्र जारी हुँदैनथ्यो । तीमध्ये कसैले उजुरी गरे कि ? शंका फैलँदै गयो ।

केही सरकारी कर्मचारी काम छोडेर दिनभर सेयरको किनबेच गर्न भिड्ने रहेछन् । ती कर्मचारीहरूलाई बोलाएर हप्काएको थिएँ, उनीहरूमध्ये कसैले उजुरी गरेको पो हो कि ? आफ्नो कडा मिजासप्रति मलाई दया लागेर आयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएर आउन मलाई प्रमुख आयुक्त, आयुक्त, सचिव, सहसचिवहरूले पटक–पटक आग्रह गरेका थिए । मैले सार्क सूचना केन्द्रबाट राम्रै तलब पाइने भएकाले छोराछोरी पढाउन सजिलो भएको छ भन्दै टारेको थिएँ । त्यै भएर १३ पाने भराएको हो कि ? मन फूल–फूलमा भमराझैं शंका–शंकामाथि बेस्सरी डुलिरह्यो ।

शंका गरेर मन थाकेको थिएन । सूचना विभागको रङ्गरोगन गर्ने ठेकेदारले काम छिटो गरेको थिएन । उसलाई ‘छिटो काम सक’ भनेर कडा निर्देशन दिएको थिएँ । उसले पो उजुरी गरेको हो कि ? केही दिन अगाडि छिमेकीसँग ढल खन्ने विषयमा विवाद भएको थियो, उसले पो दुःख दिएको हो कि ? मैले मसँग संगत गरेका सबैलाई शंकाको दृष्टिले हेर्न थालें ।

प्रसिद्ध राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘शत्रु’ कथाको पात्रझैं मेरो मनमा पनि मानसिक उथलपुथल भइरह्यो । मैले सबैमाथि शंका गर्दै गएँ । बेचैनीको पारो बढिरह्यो ।

मिडियामा अख्तियारले मलाई १३ पाने भराएको खबर गएपछि त मान्छेले मलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । पीरले सर्लक्कै निल्यो । कहींकतै गल्ती नगरेर के भयो त ? अख्तियारको एउटा पत्रले नै सखाप पार्दोरहेछ, कमाएको सारा इज्जत । मलाई सबैभन्दा बढी बदनाम, उपहास र दागको डर लाग्यो । इमानदारीको वकालत गर्दै अर्ति दिने हाम्रा बाको इज्जतको बेइज्जत हुने कल्पनाले पोल्न थाल्यो, बेस्कन छटपटाएँ । कहाँ जाऊँ, के गरूँ भयो ।

मान्छेसँग दुईवटा मन हुँदा रहेछन् । एउटा बाहिरी मन जो अख्तियारको पत्र र मिडियाबाजीको प्रभावबाट आफ्नो इज्जतमा कालोपोतो लाग्ने भयभित्र छटपटाइरहेको थियो भने अर्को निर्भयको मन, नबिराउनु नडराउनु भन्थ्यो । म दोमन लिएर घरभित्र पसें ।

‘बाबा ! आर यु टायर्ड ?’ मुस्कुराउँदै छोरीले प्रश्न गरिन् ।

मन उदास, थकित र भयपूर्ण बनाउनुपर्ने कारणै छैन । मैले मनमनै सम्हालिंदै भनें– ‘हो र छोरी ?’

श्रीमती कलेजबाट फर्किएकी रहिनछिन् । आईएस्सी गरेकी उनले बिहेपछि नै केमेष्ट्रीमा मास्टर डिग्री लिएकी थिइन् । २०५५ सालदेखि उनी प्राइभेट कलेजमा पढाउँदै आएकी छन् । आफ्नो जिम्मेवारीप्रति निष्ठावान र अनुशासनकी कडा उनी मेरो अदम्य साहस हुन् ।

एमबीबीएस पढ्ने छोरो पनि मणिपाल कलेजमा शैक्षिक हड्ताल भएर घरतिरै थियो । छोराछोरीलाई पढाउन छाक टारेर हामीले थोरै–थोरै बीमा गरेका थियौं । कर्मचारीको छोरा डाक्टर पढ्न सरकारले पाँच लाख छात्रवृत्ति दिने व्यवस्थाले हामीलाई सजिलो मात्रै नभएर छोराको सपना पूरा गर्ने थप प्रेरणा दिएको पनि थियो ।

‘बुढी ! अख्तियारले अख्तियार दुरुपयोग, अनियमितता र भ्रष्टाचार गरेको भन्दै मलाई केही बुझ्न बोलायो र १३ पाने फारम भर्न दिएको छ । आफ्नो परिवार, दाजुभाइ, दिदीबहिनी, सासूससुरा, जेठान जेठानीको विवरण, पैत्रिक सम्पत्ति, स्वआर्जित सम्पत्ति, बैंक मौज्दात, नगद, घर विवरण, सेयर, संगठित संस्थामा गरेको लगानी, ऋण सापटी लिए÷दिएको विवरण, सवारी साधन, विद्युत् उपकरण सबै भर्नुपर्ने रहेछ’ मैले सबिस्तार सुनाएँ ।

‘हजुरलाई पनि अख्तियारले बोलायो र केरकार गर्‍यो भने को पो अछुतो रहला र ? हजुरले केको पीर गर्नुपर्छ र ?’ बुढीले मेरो कपाल सुमसुम्याउँदै सोधिन् ।

बुढीको मायाले म पल्लवित भएँ ।

‘मैले जानेर गल्ती गर्ने, सरकारी काम ठग्ने, सेवाग्राहीलाई दुःख दिने त कहिल्यै गरिनँ । अनियमित हुने कुनै काम गरेको पनि छैन । अन्जानमा केही गल्ती भयो कि ? शंकाले मन पोलिरहेको छ’, मैले छोटो जवाफ दिएँ ।

म १३ पानेको कुरा कसैलाई भन्न चाहन्नथें । तर विवरण अरूलाई नसोधी प्राप्त हुने खालका थिएनन् । दाइभाइको सम्बन्धमा, जेठान जेठानीको सम्बन्धमा, अफिसहरूबाट समय समयमा बुझेको भत्ता विवरण, विदेश जाँदा पाएको भत्ताको फेहरिस्त अर्कोलाई नसोधी नहुने हुँदोरहेछ ।

जसलाई पैसाप्रति लोभ छैन । टाइममा अफिस पुग्न दौडन्छ । जो बिदाको दिन सरकारी गाडी चढ्दैन, जो श्रीमतीलाई गाडीमा लिफ्ट दिन हिच्किचाउँछ, जसले सरकारी सम्पत्तिको आफ्नोभन्दा बढी हिफाजत गर्छ र जो आफ्नो टेबुलप्रति सदा जिम्मेवार र उत्तरदायी बनेर काम गरिरहेको छ, उसमाथि अनुसन्धान ? हजुरलाई त सरकारी गाडीमा किन छोराछोरी र श्रीमतीलाई नचढाएको हँ ? भनेर सोधेको होला !’ बुढीलाई मेरो इमानदारीप्रति पूर्ण विश्वास थियो । उनले हाँस्दै भनिन् ।

‘हुन त हो नि ! तैपनि बुढी, अख्तियारले बोलाएको खबर त भाइरल हुन्छ, मिडियामा । कसले के सोच्छ, के भन्छ, कुन दृष्टिकोण राख्छ । कोही न कोही खुच्चिङ भन्ने त छन् नै । खुब इमानदार भइटोपल्थ्यो ? निडर देखिन्थ्यो । बदमासको घण्ट घुस्याहा पो रहेछ, भन्लान् । कस–कसलाई जवाफ दिने ? कस–कसको मुख थुन्ने ?’ मैले संशय प्रकट गरें ।

सीताले त अग्निपरीक्षा दिनु परेको थियो, बाबा । अग्नि परीक्षामा हजुर अनुत्तीर्ण हुने होइन, के को चिन्ता ? तर, कुरा काट्ने, चुक्ली लाउने, उजुरी गर्नेहरूलाई निर्दोष मान्छेको मनमा कति पीडा हुन्छ भन्ने के थाहा र हगि ? बेफ्वाँकमा दुःख दिनेले त कहिल्यै शान्ति पाउँदैन’, बुढीले मलाई थप ढाडस दिंदै भनिन् ।

श्रीमतीको दह्रोे भरपछि म केही सम्हालिएँ । श्रीमती खाना बनाउन लागिन् । म आवश्यक कागजपत्र खोज्न थालें ।

वास्तवमा मैले सरकारी जागिर खान, लाउन, पैसा कमाउनका लागि खाएको थिइनँ । पैसा कमाउने र रामरमिता गर्ने सोच पनि कहिल्यै आएन । बाले कमाउनुभएको सम्पत्ति नै मनग्गे थियो, चितवनको गीतानगरमा । बुढी र म दुवै जागिरे थियौं, राम्रै कमाइ थियो । सुखमा नै थियौं ।

विदेश जाँदा खाई–नखाई जोगाएको पैसा र बाले दिनुभएको पैसा मिसाएर काठमाडौंमा जग्गा किनियो । त्यो जग्गा बेचेर अर्को ठाउँमा किनियो । सञ्चय कोषबाट थोरै ऋण सापटी लिएर एकतले घर बनाइयो । ऋण थपेर दुई वर्षपछि करीब आठ सय वर्गमिटरको घर बन्यो । सालसालै सञ्चय कोषको ब्याज तिर्दा तिर्दा पुट्ठा बसेको कथा अलग्गै थियो ।

पैसावाल साथीहरूले हरेक शुक्रबार रेस्टुरेन्टमा भेट हुने निम्ता गर्दथे । अफिस र घर बाहेक कतै जान्थिनँ, खर्च जोगाउन । गुजारा चलेकै थियो । आनन्दमा नै थियौं, चारजना । मन सम्झना र विरक्तिमा नाउबुडी हाल्दै गयो ।

खोइ कागजपत्र त राखिएन कि क्या हो ? काम सकिएका कागजपत्रहरू के काम भन्दै च्यातेर फालियो होला । झण्डै तीसवर्षे जागिरे जीवनको दुई तिहाइ समय त बिरालाले छाउरा सारेझैं डेरा सर्दैमा गयो । कति कागजपत्र छुटे । कति फालिए । कति हराए । तीन–तीन पटक त कोठामा चोरी भयो । चोरले बुढीका गहना र खुत्रुके फुटाएर पैसा मात्रै लगेन, हाम्रा महत्वपूर्ण कागजपत्र पनि च्यातेर धुजाधुजा बनाएको थियो । कताबाट, कहाँ खोज्ने, सबै चाहिने कागजात ? मेरो दिमाग चक्करायो ।

उठेर खाना खान गएँ । ‘बाबा ! हजुरलाई पनि अख्तियारले बोलायो रे त, हो ?’ छोराले हाँस्दै प्रश्न गर्‍यो ।

‘शत्रु लागे छोरा । ग्रहदशा ठीक रहेनछ । मेरो इज्जतमाथि चुनौती आयो । अख्तियारको सोधखोज मात्रैले पनि खोटो बनाउँछ बाबु, मेरो सारा इज्जतलाई’, मैले छोरासँग मनभित्रको वेदना पोखें ।

‘बाबा ! हाम्रो कलेजमा विद्यार्थी विद्यार्थीबीच झगडा पर्‍यो भने प्रिन्सिपल, एकेडेमिक इन्चार्जले हामी सबैलाई बोलाएर के भएको हो लेख भन्छन् । हामी त्यस्ता झै–झगडामा त समावेश भएका हुँदैनौं, तर लेख्न चाहिं पथ्र्यो, स्पष्ट पार्न । बाबाको पनि त त्यही हो । अख्तियारको काम पनि बुझ्ने जाँच्ने र कसुरदारलाई कारबाही गर्ने त हो नि ! हजुरले गल्ती नै गर्नुभएको छैन, के को डर । अख्तियारले खोजेको जस्तो गल्ती त हजुरले गर्नु नै हुन्न, गर्नुभएको पनि छैन । के गर्छ र सोधेर ?’ छोराको विश्लेषणले मलाई केही सान्त्वना दियो । मन बलियो पनि भयो ।

१३ पानेका प्रत्येक विवरण खोज्दा मुटु चसक्क चसक्क गर्दथ्यो । म १३ पानेको कुरा कसैलाई भन्न चाहन्नथें । तर विवरण अरूलाई नसोधी प्राप्त हुने खालका थिएनन् । दाइभाइको सम्बन्धमा, जेठान जेठानीको सम्बन्धमा, अफिसहरूबाट समय समयमा बुझेको भत्ता विवरण, विदेश जाँदा पाएको भत्ताको फेहरिस्त अर्कोलाई नसोधी नहुने हुँदोरहेछ । म विलखबन्दमा परें । कसरी माग्ने ? प्रश्न अजिङ्गर जस्तो बनेर मलाई तर्साइरहन्थ्यो । विवरण माग्ने, अनि किन भनेर सोध्दा नबताउन पनि सम्भव थिएन । बताउन पनि मन हुँदैनथ्यो । तैपनि निकै सोचे–सम्झेर मैले सबैसँग घुमाउरो गरी सम्भव भए जति विवरणहरू मागें । छात्रवृत्तिमा विदेश जाँदा पाएको पैसाको विवरण पनि भए जति राखें ।

ऋण–धन र सापटी गरेर जग्गा किनियो, काठमाडौंमा । जग्गा किन्दा सरकारी मूल्याङ्कनको आधारमा राजस्व तिरिएको थियो । जग्गाको खुद मूल्य त धेरै थियो । अब के गर्ने ? मन बेस्सरी डरायो । मैले गल्ती गरेको म आफैंले भेट्टाएँ । जग्गाको मूल्य अनुसार राजस्व तिरिएको थिएन । सरकारको मूल्यको आधारमा राजस्व त तिरिएको छ नि ! मन बुझाउने कोशिश गरें । तर एक इमानदार अफिसर चुकेको देखेर मलाई आफैंसँग रीस उठ्यो ।

बिहेदेखिको अलिअलि गरेर किनेका सुनका गहना थिए । बेला बेलामा जम्मा भएको पैसाले गहना बनाइएको पनि थियो । थोरै थोरै पैसा जम्मा गरेर किनेका थियौं, अब कताबाट प्राप्त भएको भन्ने आयस्रोत । झन् बिल पनि थिएनन् । विवरण भर्न मर्नु जत्तिकै कठिन भयो । तर मान्छेले अञ्जानमा पनि कतै केही राख्दोरहेछ भनुँ वा पुराना चिजबिज नफाल्ने हाम्रो नेपाली संस्कृतिले गर्दा धेरै जसो बिलहरू किताबको पाना पानाहरूबाट भेटिए । खोजेका बिलहरू भेटिंदा स्वर्ग पाए जस्तो हुन्थ्यो, मलाई । लामो सास फेर्दथें ।

सबैभन्दा कठिन काम नै आफ्नो पक्षका प्रमाणहरू बटल्नु थियो । जे किने पनि जताबाट पैसा पाए पनि प्रमाण राख्नुपर्ने रहेछ भन्ने शिक्षा मिल्यो मलाई ।

जता जागिर खायो उतै बैंकमा खाता खोल्ने तर बन्द नगर्ने मेरो बानीले धोका दिइरहेको थियो, आज । बैंक बैंक पुगेर स्टेटमेन्ट निकालें । स्टेटमेन्ट पढें । एभरेष्ट बैंकको स्टेटमेन्टमा एउटा शीर्षकमा पाँच लाख जम्मा थियो । पैसा कताबाट आयो । मैले खुट्याउन सकिनँ । कसैले पैसा खातामा जम्मा गरेर मलाई फसाउन त खोजेको होइन ? म रन्थनिएँ । दौडेर बैंक पुगें । बैंकमा पनि पत्ता लागेन । हतास मन लिएर छटपटिएँ । केही दिनपछि बैंकले पाँच लाख चेकबाट जम्मा भएको हो भन्नेसम्मको जानकारी दियो । म फेरि बैंक गएँ, अर्को दिन । बल्लतल्ल चेक कहाँको रहेछ भन्ने पत्ता लाग्यो । चेक छोरालाई डाक्टर पढ्न सरकारले दिएको पाँचलाख छात्रवृत्तिको रहेछ । धत्तेरी ! मैले आकाशतिर हेरेर खुइँ…य गरें ।

के अख्तियारमा उजुरी गर्नेलाई एउटै तथ्यपरक प्रमाण राख्न जरूरी छैन ? एउटा कागजमा लेखेर बेनामी निवेदन दर्ता गरेको भरमा मान्छेलाई यति धेरै सास्ती दिन हुन्छ, मिल्छ र ? अख्तियारले पनि उजुरी गर्नेलाई जिम्मेवार बनाउनुपर्ने होइन र ? म प्रश्नै प्रश्नको खातमा अल्झिएँ ।

१३ पाने भर्ने भनेपछि सबैले भ्रष्टाचारी भन्ठान्दा रहेछन् । कुरा काट्नेहरूको चालामाला देखेपछि मलाई ठूलै डरले गाँजेर राखेको थियो । नकारात्मकताको भाव बोकेको कारण नामले नै अख्तियार तर्साउने भूत जस्तो बनेको थियो ।

पहिले पहिले १३ पाने भर्नेहरूको पीडा सुनेर नेपालको संविधानको मस्यौदा लेख्ने बेलामा म एउटा प्रस्ताव लिएर मस्यौदाकारहरू कहाँ पुगेको थिएँ । मेरो प्रस्ताव अख्तियारको नाम फेरेर ‘अख्तियार सदुपयोग प्रवद्र्धन आयोग’ राख्ने थियो । राष्ट्रसेवकहरूलाई अधिकार प्रयोग गर्न सिकाउने, कानुनसम्मत ज्ञान दिने र अधिकारको सही प्रयोग गरी परिणाम प्राप्त गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने काम अधिकार सदुपयोग आयोगले गर्ने प्रस्ताव मैले गरेको थिएँ । म ती दिनहरू सम्झँदै टोलाएँ ।

१३ पानेका विवरण भर्दै जाँदा तेह्र पाने पनि सम्पत्ति विवरण भरे जस्तै कर्मचारी, व्यापारी, ठेकेदार र सबै पेशाकर्मीहरूले नियमित रूपमा भर्ने व्यवस्था गर्न पाए दाग लाग्ने डर हुँदैनथ्यो कि ! भन्ने पनि लाग्यो मलाई । त्यसोगर्दा अख्तियारको ढोकाबाट छिर्दा नै लाग्ने दोष लाग्दैनथ्यो कि ? म मनमा कुरा खेलाउँदै कागजपत्र बटुल्दै गएँ ।

सबैभन्दा कठिन काम नै आफ्नो पक्षका प्रमाणहरू बटल्नु थियो । जे किने पनि जताबाट पैसा पाए पनि प्रमाण राख्नुपर्ने रहेछ भन्ने शिक्षा मिल्यो मलाई । दशैंमा टीका लगाएर सासूले दक्षिणा दिंदा पनि भरपाई लिन बिर्सन नहुने रहेछ, धत् । मलाई एक्लै हाँसो उठ्यो । जोडले हाँसें ।

१३ पानेले खोजेको सबै विवरण र वर्षैपिच्छे भरेको सम्पत्ति विवरण राख्दा विवरणको एउटा ठूलै चाङ बन्यो । भारी मन, गह्रुङ्गो भारी बोकेर म्यादभित्रै म अख्तियार पुगें । कसैले देख्ला भन्ने डरले कसमकस भइरहेको थियो । फलानाले अख्तियारमा १३ पाने भरेर बुझायो भन्ने खबर मिडियासम्म पुग्ला र भाइरल होला भन्ने भय सधैं टाउको माथि जाँतो झुण्डिएझैं लाग्थ्यो । म सरासर फर्म लिएकोे कोठामा छिरें र फाइल बुझाएँ ।

उपसचिवले सरर्र पाना पल्टाए र भने, ‘सबै विवरण राख्नुभएछ सरले, राम्रो भयो ।’

मैले पसिना पुछें । मन केही हल्का भयो । ‘सर मिडियामा खबर नजाओस् है’ मैले विनम्रतापूर्वक अनुरोध गरें ।

‘प्रेसमा जाँदैन, सर ढुक्क भए हुन्छ’, उनले विश्वास दिलाए ।

‘कहिले हुन्छ त यसमाथि निर्णय ?’ मैंले जिज्ञासा राखें ।

‘तीन महिना यता त केही हुँदैन । अरु महत्वपूर्ण केसहरू छन् । त्यसपछि सरले पेश गरेको विवरण हेरेर थप कारबाही गर्न आवश्यक छ छैन निर्णय हुन्छ । हामी खबर गर्छौं’, उनले मलाई जानकारी दिए ।

म कसैले देख्ला कि, देख्ला कि भन्दै अख्तियारबाट छिट्छिटो निस्किएँ ।

१३ पाने भरेको र बुझाएको विषय मैले कसैसँग सेयर गर्न सकिरहेको थिइनँ । जोसँग भन्यो उही खुच्चिङ भन्ला जस्तो लाग्ने । १३ पाने भरेर बुझाएपछि ममा काम गर्ने, कसैलाई हप्काउने, निर्देशन दिने र छलफलमा कसैको मत विरुद्ध बोल्ने आँट र प्रेरणा सबै एकाएक हराएर गयो ।

अख्तियारका खबरहरू मिडियामा आइरहन्थे । राजनैतिक नेता, कर्मचारी, व्यापारी, पत्रकार, ठेकेदार सबै भयभीत भएको खबर पनि आउँथ्यो । म अख्तियारको खबर पढ्न कि त डराउँथें, कि त रुचाउँथिनँ । गफगाफमा साथीहरू भन्दथे, ‘१३ पाने त आफ्ना विरोधीहरूलाई ठेगान लगाउन अख्तियारले भरेर राखेको बन्दुक हो, कुनै पनि बेला पड्काइदिन सक्छ ।’

साथीहरूका कुराले म थप डराउँथें । दिन बिग्रिए भने कसले पो बचाउँछ र ? सबै बलेको आगो ताप्ने त हुन् नि ! अर्काको दुःखमा रमाउने हाम्रो प्रवृत्तिसँग म जानकार थिएँ । सचिव हुने बेलामा के दशा लाग्यो कुन्नि ? म भयको आवरणभित्र सातो गएको बच्चाझैं तर्सिरहन्थें ।

अख्तियारबाट मेरा सबै बैंक खाताहरू र लकर रोक्का गरिएको थियो । तलब बैंकमा जान्थ्यो, तर, म झिक्न सक्दिनथें । अफिसमा मलाई ‘नगदै दिनुस्’ भन्न पनि सक्दिनथें । म १३ पाने भरेको लख मात्रै काट्ने अवसर कसैलाई दिन चाहन्नथें ।

श्रीमतीको जागिर थियो र पैसाको जोहो हुन सक्यो । खर्च धानियो, जेनतेन । चाडबाड आयो, श्रीमतीलाई गहना लगाउनुपर्नेे, गहना सबै लकरमा बन्द थियो । म श्रीमतीले केही नभने पनि उनको वेदना बुझ्दथें र एकान्तमा एक्लै छटपटाउँथें ।

१३ पाने भर्न कठिन । भरेर बुझाएपछि के हुन्छ भनेर पर्खिन झन् कठिन हुँदोरहेछ । म मणि हराएको सर्पझैं भैरहेको हुन्थें । अख्तियारबाट फोन आयो कि डराउँथें । आफैंमाथिको विश्वास कम भए जस्तो ! साथीभाइ, इष्टमित्र, सहयोगी हाकिम कसैले पनि १३ पानेको कुरा गर्दा मात्रै पनि मैले १३ पाने भरेको थाहा पाएछन् कि क्या हो भनेर डराउँथें । मन हल्का र चङ्गा थिएन । साथीभाइसँगको भेटघाट घटेर गयो । रक्तचाप बढेर समस्या थपिएको थियो । डाक्टरले कहिले होल्टर झुण्ड्याई दिन्थे त कहिले ब्लुमियो, त कहिले के । तनावको ज्वालामुखी उम्लिरहेको थियो ।

म थप बिरामी हुँदै गएको देखेर श्रीमती एकदमै चिन्तित हुन्थिन् र मलाई ढाडस दिन्थिन्, ‘हजुरलाई जस्तोसुकै दाग लागे पनि म कपाल थाप्छु । कसैले अनुसन्धान गरे पनि हजुरलाई दोषी, कसुरदार देखाउन सक्दैनन् । किन आत्तिनुभएको ?’ परिवारको सपोर्ट र श्रीमतीको मप्रतिको विश्वासले म थोरै जुर्मुराउँथें ।

तर, अख्तियारको १३ पाने भरेको खबर त नखाए पनि लाग्ने विष हो नि ! सम्झेपछि म शान्त हुन नै सक्दिनथें ।

दिनहरू बितेर गए । छट्पटाहट रोकिएको थिएन । जतिसुकै पीडा भए पनि म गुहार माग्न भने कतै गइनँ । म आफैं विश्वस्त थिएँ कि भएको गल्ती छैन भनेर । केवल मेरो डर थियो ‘प्रेसको हल्लाले नमेटिने दाग लाग्छ कि भन्ने ।’

म छिटोभन्दा छिटो अख्तियारको छानबिन छिनोफानो होस् भन्ने चाहन्थें । पर्खनुको पीडा पर्खनेलाई मात्र थाहा हुन्छ । पर्खाइका दिनहरू पनि कति लामा लामा । लामो पर्खाइपछि बल्लतल्ल पाएको सफाइको सूचनाले सञ्चो भयो । सबै रोगहरू क्षणभरमा नै निमिट्यान्न भएर गए ।

लेखकको बारेमा
लक्ष्मीविलास कोइराला

कोइराला पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?