+
+

वसन्तले आरोप प्रमाणित गर्न सक्नुपर्छ, नत्र मानहानीकाे मुद्दा दायर गर्छु : महेश खड्का

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १५:०१

२८ माघ, काठमाडौं । संगीतकार महेश खड्काले चर्चामा आउनका लागि संगीतकार वसन्त सापकोटाले आफूमाथि संगीत चोरीको आरोप लगाएको दाबी गरेका छन् । कानुनी रुपमा आरोप प्रमाणित गरेर देखाए आफू सजाय भोग्न तयार रहेको खड्काको भनाइ छ । आरोप प्रमाणित गर्न नसके मानहानीको मुद्दा दायर गर्न सक्ने समेत उनले बताए ।

अहिले ट्रेन्डिङमा रहेको गीत ‘नोगेन’को संगीत आफ्नो गीत ‘सागर सरी’सँग मिलेको सापकोटाले आरोप लगाएपछि संगीतकार खड्काले शुक्रबार पत्रकार सम्मेलन गर्दै सापकोटाले यो आरोप प्रमाणित गर्न चुनाैती दिए । खड्काले भने, ‘कि चोरेको हो, मिलेको हो भनेर आरोप प्रमाणित गरेर देखाउनुपर्छ । नत्र म कानुनी उपचारमा जान्छु । मेरो मानहानी भएको छ । मैले ३० वर्ष लगाएर यो क्षेत्रमा कमाएको ख्यातिको अपमान भएको छ ।’

कानुनी उपचारको बाटो हुँदाहुँदै पनि संगीतकार सापकोटाले कुण्ठित मनसायले आरोप–प्रत्यारोप लगाउँदै मिडियाबाजी गर्दै हिंडिरहेको उनले बताए । संगीतकार खड्काले प्रश्न गरे, ‘उहाँलाई एकाएक अहिले चर्चाको खाँचो किन पर्यो ? चर्चाको विषय बनेर आफू अघि आउनुपर्ने कारण के पर्‍यो ? यही कुरामा छक्क परिरहेको छु । उहाँ त चर्चित संगीतकार नै हो ।’ सापकोटाले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले नै यो कुरा उठाइरहेको खड्काले जिकिर गरे ।

संसारभर भएका ताल, सुर र रागबाटै संगीत सिर्जना हुने र त्यसलाई आफ्नो प्रकारले ढालेर गीत–संगीत तयार गरिने खड्काले बताए । एकले अर्कालाई आरोप लगाउने हो भने नेपाली संगीत क्षेत्र अघि नबढ्ने उनको भनाइ छ ।

‘कुनै गीतमा दुई नोट मिल्यो भन्दैमा अर्कालाई चोर भन्ने, त्यो खालको आरोप प्रत्यारोप गर्नै हो भने संगीत गर्छु भनेर कोही अगाडि नबढे हुन्छ,’ उनले भने, ‘यो कुराले घात त अब वसन्त भाइ स्वयंलाई गर्छ । उहाँका पनि केही कृतिहरु होलान् जहाँ दुई नोट, चार नोट मिलेका होलान् । त्यो निस्किए भने के हुन्छ ? उहाँले अरुलाई के भन्नुहुन्छ ?’

काम गर्दै जाँदा कहिलेकाहीं केही कुरा मिलिरहेको हुनसक्ने भन्दै उनले अरुको सिर्जना चोरेको वा नचोरेको कुरामा सचेत रहेको खड्काले बताए ।

उनले अगाडि भने, ‘सम्पूर्ण नोट, कर्ड, ताल मैले निर्माण गरेको होइन । नोटभित्रबाट म खेल्ने हो । र, नयाँ प्रकारको मेलोडी निर्माण गर्ने मेरो काम हो । त्यसमा पनि गायनमा कसरी गाइएको छ, त्यसलाई लिने तरिका कस्ता हुन्छन् ? मुर्गीहरु कहाँ कति घुमाइएको छ । उच्चारण कसरी गरिएको छ ? यी सबै कुरालाई ध्यान दिन जरुरी छ ?’

प्रतिलिपि अधिकारसम्बन्धी ऐनअनुसार छानबिन गरेर आफू दोषी देखिए दण्डित हुन तयार रहेको समेत खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?