+
+

नङसम्बन्धी कस्ता कस्ता समस्या आउँछन् ? बच्न के गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १६:११

२८ माघ, काठमाडौं । नङ वरपरको छालामा धेरै समस्या देखिने गर्दछ । गहिरो गरी उक्किने, फुट्ने, पिप जम्ने, नङ टुक्रिने र पाकेर झर्ने जस्ता समस्या लिएर अस्पताल आउनेहरु बढेको चिकित्सक बताउँछन् ।

नङ र त्यस वरपरको छालामा हुने विभिन्न समस्या लिएर हरेक दिन तीनदेखि पाँच जना उपचारका लागि आउने गरेको नेपाल मेडिकल कलेज (एनएमसी)को छाला तथा यौनरोग विभागकी सहप्राध्यापक डा. एलिज अर्याल बताउँछिन् ।

नङका कारण पोल्ने, ज्वरो आउने जस्ता समस्या हुने गरेको छ । यसलाई मेडिकल भाषामा ‘एक्युट प्यारोनेकिया’ भनिन्छ । उपचार गर्न आउनेहरु वर्ग, उमेर, पेशाअनुसार कारण विभिन्न भएको पाइएको डा.अर्यालको भनाइ छ ।

नङमा समस्या आउने कारण

डा. अर्यालका अनुसार वर्ग, उमेर अनुसार नङमा आउने समस्या फरक–फरक देखिन्छ । ह्याण्ड सेनिटाइजर, हात धुने साबुनका कारण सबै वर्ग, उमेर, पेशाका मानिसहरुमा यो समस्या बढेको देखिएको उनको अनुभव छ । पछिल्लो समय देखिएको समस्याको नयाँ कारणमा यो पनि एक भएको डा. अर्याल बताउँछिन् ।

बारम्बार ह्याण्ड सेनिटाइजर र हात धुने साबुनको प्रयोगका कारण नङ वरपरको छालाको माथिल्लो तह निस्केर त्यो भाग कमजोर हुन गई छाला फुट्ने, गहिरो गरी उक्किने समस्या देखिन्छ । कतिपयको नङमा फङगल इन्फेक्सन भएर नङ नै खस्नेसम्मको समस्या आउने डा. अर्यालले बताइन् ।

सामान्यतः गृहिणीहरुमा यो समस्या बढी देखिने गरेको छ । किनकि, तुलनात्मक रुपमा अरुभन्दा उनीहरु बढी साबुन चलाउँछन् । लुगा धुने साबुन, डिटर्जेन्ट पाउडर, भाँडा धुने साबुन चलाइरहनुपर्ने हुन्छ ।

यस्तै केमिकल उद्योगमा काम गर्नेहरुमा पनि नङसम्बन्धी समस्या धेरै देखिन्छ । जसलाई कन्ट्याक्ट एलर्जी भनिन्छ । किसान, गार्डेनरहरुमा माटोसँग धेरै खेलाउँदा पनि समस्या हुने गरेको डा. अर्याल बताउँछिन् । त्यस्तै निर्माण कम्पनीमा कार्यरत मजदुरहरुले सिमेन्ट छोइराख्नुपर्ने कारणले पनि फुट्ने समस्या देखिन्छ ।

किशोरी तथा युवतीहरुले मेनिक्युर, पेडिक्युर गर्दा नङ र नङको वरपरको छाला घोटेर सफा गर्दिन्छन् । त्यसले छाला घोटिई पातलो हुन जान्छ र टुक्रिने, फुट्ने समस्या हुन्छ । कतिपयको नङमा फङ्गल इन्फेक्सन भई नङ पाकेर समेत झर्छ ।

यसैगरी वृद्ध उमेरका व्यक्तिमा पनि नङ र छालाको समस्या धेरै देखिन्छ । धार्मिक मन भएकाहरु दैनिक पूजा गर्दा अबीर छुन्छन् । आजभोलिको अबीर केमिकलयुक्त हुन्छ । त्यसले छाला फुट्छ । फुटेको छालामा पटकपटक अबीर पस्दा संक्रमण हुन्छ । जसका कारण पिप जम्ने समस्या हुन्छ । विस्तारै नङसम्म समस्या पुग्छ । नङको वरपरको छाला भनेको नङको घर भएकाले त्यसमा समस्या आउँदा नङमा स्वतः असर पर्ने डा. अर्याल बताउँछिन् ।

‘नङको वरपरको छाला भनेको नङको घर हो । वरपरको छालामा समस्या देखिन थालेपछि नङमा असर देखिन थाल्छ । नङ कालो, पहेंलो, कालो देखिने र टुक्रिने हुन्छ । त्यसैले वरपरको छालाको ख्याल राख्नुपर्छ,’ उनी भन्छिन् ।

नङसम्बन्धी समस्याबाट बच्न के गर्ने ?

नङ र त्यस वरपरको छालामा आउने समस्याबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने डा. अर्याल बताउँछिन् । ह्याण्ड सेनिटाइजर र साबुनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुपर्छ । यस्तै केमिकलयुक्त चीज कम छुने, छुनैपरे पञ्जाको प्रयोग गर्ने, किसान, मजदुर र गृहिणीले आफ्नो काम गर्दा पनि पञ्जा लगाएर गर्नुपर्ने डा. अर्यालको सुझाव छ ।

मेनिक्युर–पेडिक्युर पनि सकेसम्म गर्नुहुँदैन । घरैमा बिहान बेलुका दुईपटक नङ सफा गरेमा यसको आवश्यकता नहुने उनी बताउँछिन् । हातमा चिल्लो क्रिम, मोस्चराइजर, भ्यासलिन पेट्रोलियम जेली, अलिभ अयल लगाउन सकिन्छ । नरिवलको तेल, खाना पकाउने तेल, घिउ, नौनी आफूसँग जे छ त्यही प्रयोग गरेर पनि नङमा आउने समस्याबाट छुटकारा पाउन सकिने डा. अर्याल बताउँछिन् ।

नङ धेरै गहिरोगरी काट्न हुँदैन । नङ गहिरोगरी काट्दा छाला काटिने र संक्रमण हुने जोखिम भएकाले छालाको तहलाई जोगाएर काट्नुपर्छ ।

यसैगरी नङपालिस किन्ने बेला पनि ख्याल गर्नुपर्दछ । बजारमा पाइने गुणस्तरहीन नङपालिसको प्रयोगले समस्या निम्त्याउन सक्ने डा. अर्याल बताउँछिन् । नङपालिस लगाउँदा नङमा मात्रै नभएर वरपरको छालातिर लाग्ने हुँदा त्यसले छालामा असर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?