+
+

६ महिनामा उठ्यो ५ खर्ब ७६ अर्ब राजस्व, कसको योगदान कति ?

अच्युत पुरी अच्युत पुरी
२०७८ माघ २८ गते १८:४२

२८ माघ, काठमाडौं । चालु आर्थिक आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले राजस्व संकलन लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । साउनदेखि पुस मसान्तसम्म सरकारले कुल ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १०३ प्रतिशत प्रगति हो ।

यस अवधिमा ५ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । यसमध्ये अन्तःशुल्कबाट मात्र ८५ अर्ब भन्दा माथि राजस्व उठेको छ । यस्तो राजस्व अन्तःशुल्कमा दर्ता भएका मदिरा, वियर, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थमा लाग्ने शुल्कबाट संकलन हुन्छ । साथै यस्तो वस्तुको पैठारीमा समेत अन्तःशुल्क लाग्ने गर्छ ।

अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार पहिलो ६ महिनामा आन्तरिक उत्पादनतर्फ ५० अर्ब ७२ करोड र पैठारीतर्फ ३४ अर्ब ५१ करोड गरी कुल ८५ अर्ब २३ करोड अन्तःशुल्क राजस्व उठेको हो । यो वर्ष आन्तरिक उत्पादनतर्फ उठेको अन्तःशुल्क गत आवको यसै अवधिको तुलनामा ३४.०४ प्रतिशत बढी हो ।

समग्र अन्तःशुल्कमा ४३ प्रतिशतको वृद्धि देखिएको अर्थ मन्त्रालयले जनाएको छ । नेपालको कर संकलनमा अन्तःशुल्कको हिस्सा १७.०६ प्रतिशत रहेको देखिन्छ ।

आन्तरिक उत्पादनमा कुन वस्तुबाट कति अन्तःशुल्क ?

  • चूरोट र सुर्ती : ११ अर्ब ९१ करोड
  • मदिरा : १३ अर्ब ८६ करोड
  • बियर : १३ अर्ब ६४ करोड
  • अन्य उत्पादन : ११ अर्ब २८ करोड

भ्याट लक्ष्यभन्दा बढी, अन्य लक्ष्यको नजिकै

अर्थ मन्त्रालयका अनुसार अन्तःशुल्क गत वर्षको तुलनामा बढी संकलन भएपनि यो वर्षको लक्ष्यको तुलनामा भने कम संकलन भएको हो ।  पहिलो ६ महिनामा संकलन भएको अन्तःशुल्क यस अवधिमा उठाउने भनि लिइएको लक्ष्यको ९५.३० प्रतिशत मात्र हो ।

यो वर्ष उठेको समग्र राजस्वको संरचनामध्ये मूल्य अभिवृद्धि कर (भ्याट) लक्ष्यको १०३.६० प्रतिशत संकलन भएको छ । अन्य शीर्षकको राजस्व भने लक्ष्यको हाराहारी पुगेको छ ।

शीर्षक  पुससम्मको लक्ष्य      पुससम्मको संकलन    लक्ष्यअनुसार प्राप्ति ( प्रतिशत)  
भन्सार महसुल १ खर्ब ३३ अर्ब ४६ करोड १ खर्ब ३० अर्ब ६५ करोड ९७.९०
मूल्य अभिवृद्धि कर १ खर्ब ५० अर्ब १३ करोड १ खर्ब ५५ अर्ब ६० करोड १०३.६०
अन्तःशुल्क ८९ अर्ब ४५ करोड ८५ अर्ब २३ करोड ९५.३०
शिक्षा सेवा शुल्क ५० करोड २८ करोड ५६.४०
आयकर १ खर्ब ३१ अर्ब ५ करोड १ खर्ब २२ अर्ब २३ करोड ९३.३०
गैरकर ५५ अर्ब १५ करोड ४८ अर्ब ६ करोड ८७.१०
कुल ५ खर्ब ५९ अर्ब ७४ करोड ५ खर्ब ७६ अर्ब २४ करोड १०२.९

भन्सार राजस्व बढ्यो

यो वर्ष आयातमा उच्च वृद्धि भएको छ । यसले भन्सारतर्फको राजस्व संकलनमा समेत वृद्धि देखिएको छ । अर्थ मन्त्रालयका अनुसार भन्सारतर्फको राजस्व संकलन लक्ष्यको तुलनामा १०१.६८ प्रतिशत देखिएको छ ।

आन्तरिक राजस्व भने ९३.७८ प्रतिशत मात्र संकलन हुन सकेको छ । कोभिड १९ का कारण अघिल्लो वर्ष प्रभावित भएको अन्तर्राष्ट्रिय व्यापार यो वर्ष सहज भएका कारण आयात बढेको विश्लेषण मन्त्रालयले गरेको छ । जसले गर्दा आयातबाट हुने राजस्वमा लक्ष्य भन्दा बढी प्रगति देखिएको हो ।

मूल्य अभिवृद्धि करमा भएको राजस्व वृद्धिमा भने आयातको योगदान ठूलो देखिएको छ । तर, आन्तरिकतर्फको भ्याटमा भने कमी आएको छ । यसो हुनुमा पूँजीगत खर्च कम हुनुलाई एक कारण मानिएको छ । यसबाट ठेक्का तथा परामर्श सेवाबाट संकलन हुने मूल्य अभिवृद्धि करमा कमी आएको हो ।

पूँजीगत लाभकरमा सुधार, तरलता अभावले असर

आयकरतर्फ यो वर्ष सरकारले कुल १ खर्ब २२ अर्ब २३ करोड रुपैयाँ संकलन गरेको छ । यसमा संस्थागततर्फ ५१ अर्ब २५ करोड, व्यक्तिगततर्फ ५२ अर्ब ९४ करोड  र लगानीको आयकर ३७ अर्ब १५ करोड संकलन भएको छ । मन्त्रालयका अनुसार संस्थागत आयकरमा प्राइभेट लिमिटेड र संस्थान दुबैतर्फको राजस्व गत आवको पुस मसान्तसम्मको तुलनामा बढेको देखिन्छ ।

व्यक्तिगत आयकरतर्फ पारिश्रमिकमा लाग्ने कर २३.३८ प्रतिशतले बढेको छ । तरलता अभावका कारण ब्याजकर र लाभांश करको वृद्धिदरमा भने गिरावट आएको छ । कोभिड १९ का कारण सुस्त रहेको घरजग्गा र शेयर कारोबार बढ्दा पूँजीगत लाभकरमा सुधार आएको अर्थले बताएको छ ।

पूँजीगत लाभकर ६ महिनामा १९ अर्ब १२ करोड रहेको छ । गत आवको यसै अवधिमा पूँजीगत लाभकर ९ अर्ब १२ करोड रुपैयाँ मात्र थियो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?