+
+
भाग-२ :

त्यो रात के भएको थियो ?

भूमिकाकुमारी बिष्ट भूमिकाकुमारी बिष्ट
२०७८ माघ २९ गते ९:००

राति २ बजे नाइके दाइको ढोका कसैले ढक्ढक्याएको थियो । गाउँमा आफ्नो बारेमा चलेको हल्लाले नाइके दाइ डराएका पनि थिए । नाइके दाइको घरमा यसरी रातिमा कोही पनि आउँदैनथ्यो । अचानक रातिमा ढोका ढक्ढक्याएपछि उनले डराउँदै को हो हँ ? भनेर सोधेका थिए । बाहिरबाट म प्रेम के दाइ, एकछिन ढोका खोल्नुस् न भनेर प्रेमले भनेका थिए । ढोका ढक्ढक्याउने मान्छे प्रेम हो भन्ने थाहा पाएपछि नाइके दाइ झनै डराएका थिए । उनलाई थाहा थियो प्रेम आजै मात्र इन्डियाबाट गाउँ आएका थिए । प्रेमको आवाजबाटै उनले पहिले नै धेरै रक्सी खाइसकेको प्रष्टै बुझिन्थ्यो । नाइके दाइले डराउँदै ढोका खोल्दा हृवास्स रक्सीको गन्ध भित्र पसेको थियो । प्रेम भाइ यो बेला किन भनेर नाइकेले सोध्दा प्रेमले चुप लाग्ने इशारा गर्दै भित्र पस्न भनेका थिए । रक्सीले मातेको प्रेमसँग बहस गर्नु अनुचित ठानेर नाइकले उनलाई भित्र लगे । प्रेमलाई यसरी आफ्नो घरभित्र आएको देखेर नाइक दाइलाई डरले पसिना आइसकेको थियो । नाइके दाइको अवस्था देखेर प्रेमले दाइ तपाईं किन डराएको हँ ? बसौं न दाइ-भाइ अलिकति खाउँ भनेर भने । प्रेमको कुरालाई नाइकेले टार्न सकेनन् ।

नाइके दाइको घर भारतको मुरादावाद भन्ने ठाउँमा हो । उनी धेरै वर्ष पहिले त्यहाँबाट आएर नेपालमा काम गर्न थालेका थिए । सुरु सुरुमा पिपलबोट छेउमा कुर्सी र ऐना राखेर कपाल काट्न सुरु गरेका उनले अहिले सानो कोठा भाडामा लिएर सैलुन चलाएका थिए । वर्षमा १-२ दिनको लागि मात्र उनी आफ्नो घर फर्किन्थे । त्यसैले उनी बाहिरबाट आएका भए पनि गाउँका स्थानीयसँग निकै घुलमिल भइसकेका थिए । ठूलो शरीर, गोरो अनुहार, लामो-लामो कपाल पाल्ने नाइके दाइको वास्तविक नाम नवाब खान थियो । उनी कपाल काट्ने आफ्नो पेशा बाहेक राम्रो भलिबल पनि खेल्थे साथै क्यारमबोर्डमा त उनलाई कसैले हराउनै सक्दैनथ्ो । सुरु सुरुमा उनी आउँदा सबैले उनलाई नाई भनेर बोलाउँथे । पछि खेलकुदमा भाग लिन पाएपछि उनी गाउँको भलिबल टिमको क्याप्टेन नै बनेका थिए । त्यो बेलादेखि उनको नाम नाईबाट नाइके भएको थियो । अहिले त उनलाई गाउँका बुढापाका, युवायुवती सबैले नाइके दाइ नै भन्छन् । नाइके दाइ गाउँमा बसेको धेरै लामो समय भए पनि उनले आफ्नो परिवारका कसैलाई पनि गाउँमा ल्याएका थिएनन् । उनी विवाहित थिए वा अविवाहित कसैलाई थाहा नै छैन । कसैले सोधे पनि उनले त्यो कुरालाई सधैं रहस्यमै राखेका थिए ।

नाइके दाइको कोठामा पसेपछि रक्सीले मातेको प्रेमले जिब्रो लर्बराउँदै भने- नाइके दाइ तपाईंको र मेरो श्रीमतीको बारेमा मैले भारतमा बस्दा गाउँबाट धेरै हल्ला सुनें । गाउँबाट जानेहरूले सधैं तिम्रो र मेरो श्रीमतीको चक्कर चलेको कुरा सुनाउँथे । म त्यसैले पनि लामो समयदेखि घरमा आएको थिइनँ । मलाई अब त्योसँग बस्नु छैन । तपाईंले नै उसको जिम्मा लिनुस् । प्रेमको कुरा सुनेर नाइके दाइले हात जोड्दै त्यस्तो के भनेको भाइ ? तपाईंलाई एकदमै गलतफहमी भएको छ । त्यस्तो केही पनि छैन । किन आफ्नो देवी जस्तै श्रीमतीलाई शंका गर्छौं । नाइकेको हातमा विस्तारै हिर्काउँदै प्रेमले भने नाटक नगर यार दाइ, मलाई तिमीसँग केही गुनासो छैन । तिमी त लोग्नेमान्छे पाएपछि तबला बजाइहाल्छौ नि ! त्यो … पो हो कुलंगार, ठूलो जातको भन्ने घमण्ड होला त्यसलाई, त्यसैले मलाई धोका दिई भन्दै प्रेमले फेरि रक्सीको पौवा (क्वाटर) निकालेर मुखमा लगायो । नाइके दाइलाई एकदमै असजिलो अवस्था भइसकेको थियो । प्रेमसँग बहस गर्दा चर्काचर्की परे अरू गाउँलेले थाहा पाउने र आफ्नो रामधुलाइ हुने उनलाई डर लागिरहेको थियो । नाइके दाइले प्रेमलाई सम्झाउने कोशिश गरे, हात जोडे तर प्रेमले उनको कुरालाई हाँस्दै मजाक बनाए । दाइ तिमीले त्यस्लाई सन्तुष्ट पारेका छौ शायद, त्यो तिमीसँग खुसी हुन्छे । अब त्यसलाई तिमीले राख भनें।

लिरहेको प्रेमको लास देखेर उसले मनमनै भन्यो- त्यो प्रेमले गरेको आत्महत्या होइन । यो त गाउँमा हल्ला फैलाउनेले उनको मनमा आगो लगाएर गरेको हत्या हो । उसलाई निर्दोष बसन्तीको भविष्यको चिन्ता लाग्यो

नाइके दाइले प्रेमलाई अरूको कुरा नसुनेर आफ्नो परिवार नबिगार्न आग्रह गरे । तर प्रेमको मस्तिष्कमा त श्रीमती अरूसँग पल्केकी भन्ने मात्र थियो । प्रेमले एकोहोरो बोल्न थालेपछि नाइके दाइले प्रेम भाइ तिमी आफ्नो श्रीमतीको मलाई आरोप लगाउँदैछौ यार । के भएको थियो त्यो त बुझ । के भएको थियो भन न त, केही फरक पर्दैन अब मलाई कसरी कसरी, के के गर्‍यौ सबै भन केही फरक पर्दैन । त्यो… हो ।

नाइके दाइले उनलाई पुरानो कुरा सम्झाउँदै भने । म तिम्रो घरमा कहिल्यै पनि पसेको छैन । तिम्रो छोराको कपाल काट्ने दिन तिम्रो श्रीमतीले मलाई कपाल काटिदिन बोलाएकी हुन् । त्यही दिन हो म तिम्रो घरमा पसेको, कपाल काटेपछि उनले मलाई प्रसाद दिइन् । तिम्रो घरमा बोलाएका पाहुनाहरू धेरै जना नआएकोले त्यो दिन बनाएको खाना धेरै बचेको थियो । त्यसैले साँझको बेला तिम्रो श्रीमतीले दाइ खाना धेरै बचेको छ, तपाईं यहीं खानुहोला न भनेर भनेकी थिइन् । साँझ पसल बन्द गरेपछि म खोलापारिको गाउँमा गएको थिएँ, त्यहाँ साथीभाइसँग बसेर रक्सी खान थालेपछि अबेर भयो । त्यहाँबाट निस्किंदा साथीहरू खाना यतै खाएर जा भन्दै थिए तर मैले दिउँसोको प्रसादको खाना खानुपर्नेछ भन्दै त्यहाँबाट हिंडेर राति १० बजे मात्र म आफ्नो घरमा आएँ । त्यसपछि मलाई खानाको याद आएर खाना माग्न तिम्रो घरमा गएको थिएँ । तर तिम्रो श्रीमती, आमा र बच्चाहरू सबै सुतिसकेका थिए । उनीहरूले ढोका खोलनन् । रक्सी धेरै खाएकोले त्यहाँबाट फर्किने बेला मैले खुट्टा राम्रोसँग टेक्न सकेको थिइनँ । अनि आँगनमा लडें । रातभरि त्यहीं लडेको म बिहान ५ बजे निद्रा खुलेपछि आफनो घर जाँदै गर्दा, गाउँका केटाहरूले तिम्रो घरबाट निस्केको जस्तो माने । अनि गाउँमा नाइके दाइले प्रसाद खायो भन्दै हल्ला चलाएका हुन् । मेरो तिम्रो श्रीमतीसँग केही पनि सम्बन्ध छैन । तिम्रो छोराको कपाल काटेको दिन पछि म उनीसँग बोलेको समेत छैन । अल्लाहको कसम ।

नाइकेको कुरा सुनेपछि प्रेम फेरि हाँसे । ल दाइ तपाईंले केही गरेनौ, मानें तर गाउँका सबै तिमी मेरो स्वास्नीको ‘नाठो’ हो भन्छन् । एकजना दुई जना भए पो हो, मलाई त गाउँबाट गएका सबैले त्यस्तै भनेका थिए । अब जे हुनु थियो भइगयो । मलाई अब त्यससँग बस्नु छैन, मैले आफ्नो बन्दोबस्त गरिसकेको छु भन्दै प्रेम त्यहाँबाट उठ्न थालेका थिए । नाइकेले के बन्दोबस्त गरेको भनेर सोधे । प्रेमले भने यार दाइ, यी आईमाइ भनेका यस्तै हुन् । यिनीहरूलाई एक्लो छोडे कोही न कोही खोजिहाल्छन् भन्दै भारतमा हुँदाको घटना सुनाए ।

तिमीहरूको हल्ला भारतमा चलेपछि मैले काम गर्न छोडिदिएको थिएँ । धेरै दिन मैले रक्सी खाएर बिताएँ । विस्तारै मैले यसलाई फोन गर्न पनि छोडिदिएको थिएँ । म काम गर्ने ठाउँमा एकजना बंगाली आइमाई पनि काम गर्थी । उनको श्रीमान् र छोराछोरी गाउँमा बस्थे । उनी भने सहरमा पैसा कमाएर घर पठाउँथिन् । मलाई पनि बेला बेला घरमा पैसा पठाउँछौ कि नाइँ भनेर सोध्थिन् । उनैले भनेर म काममा फर्किएको थिएँ । एकदिन हाम्रो कम्पनीमा बिदा थियो, उनले मलाई आफ्नो घरमा खाना खान बोलाइन् । म उनको घरमा गएँ । उनले राति पनि त्यहीं बस्नको लागि जिद्दी गरिन्, मलाई पनि श्रीमतीको हल्ला सुनेर दिक्क लागेको थियो । उनको प्रस्तावले मलाईं पनि हौस्यायो । म त्यहीं बसें । भोलिपल्ट उनको घरबाट फर्किंदा मलाई एउटा कुरा स्वाभाविक लाग्यो । जसरी त्यो महिला मसँग रात बिताउन तयार भई त्यसरी नै मेरी श्रीमती पनि तिमीसँग खुल्न तयार भएकी होली ।

नाइकेले प्रेमको कुरामा असहमति जनायो । त्यस्तो हुँदै होइन । तिमी अरुको तुलना आफ्नो श्रीमतीसँग नगर भनेर सम्झायो । तर प्रेमले भने उसको कुरा मानेन । नाइके दाइ अब म भारत फर्किन्छु । र त्यही बंगाली आइमाईसँग बस्छु । तिमी मेरो श्रीमतीलाई राख वा जे गर्छौ गर । त्यो अब मेरो श्रीमती नै होइन, त्यो त मेरो छोराकी आमा मात्र हो । त्यो छोरो पनि मेरो हो कि होइन अब त शंका नै लाग्न थालिसकेको छ । मलाई सानो जातको भनेर त्यसले आफ्नै जातको कोहीसँग सम्पर्क गरेर त्यो बच्चा जन्माएकी पनि हुनसक्छे । त्यो बच्चाको अनुहार पनि मसँग मिल्दैन होइन त ? … कति नाटक गर्न जानेकी रहिछ भने‌ं, म आज घर आउँदा मायाको नाटक गरेर मसँग टाँसिन खोजिरहेकी थिई । त्यसको शरीरलाई त म अब छुन पनि छुन्न । तिमीसँग रासलीला मच्चाउने त्यो मेरो अगाडि भने सती-सावित्री बनेर नाटक गर्छे । यार, नाइके दाइ यी आइमाई यस्तै हुन्छन् भन्दै प्रेम त्यहाँबाट निस्केको थियो । ऊ त्यहाँबाट निस्किंदा रातिको ३ बजेको थियो ।

बिहान प्रेम खोला नजिक झुण्डिएको अवस्थामा फेला परेको खबर सुनेर नाइके दाइ पनि दगुर्दै त्यता गएको थियो । उनको मन बेस्सरी डराएको थियो । रातिमा प्रेम उनको घरमा आएको कुरा कसैले देखेको भए त प्रेमको हत्याको आरोप उसलाई लाग्न सक्थ्यो । अनाहकमा हल्ला चलाउने प्रवृत्ति गाउँमा थियो । त्यसैले पनि नाइके दाइ एकदमै डराएको थियो । तुरुन्तै गाउँबाट भागेर जाउँ भन्ने पनि उसलाई लाग्यो । तर कहिल्यै गाउँ नछोड्ने मान्छे गाउँबाट भागे शंकाको सुई आफूतिरै सोझिने कुरा सम्झियो । अनि ऊ सचेत हुँदै घटनास्थलतर्फ लाग्यो । प्रहरीले मुचुल्का उठाउँदै थिए । सबै जना के भयो होला भनेर कुरा गरिरहेका थिए । नाइके दाइ पनि त्यही भीडमा सामेल भयो । त्यही बेला बसन्ती दुगुर्दै आएर प्रेमको लासलाई अँगालो हालेर रुन थाली । उनले लगाएको धोती नमिलेर उनको सेतो कम्मर देखिइरहेको थियो । ब्लाउजबाट उसका स्तनहरू देखिइरहेका थिए तर बसन्तीलाई होसै थिएन । नाइके दाइको नजर त्यहीं पर्‍यो । महिलाहरू बसन्तीलाई सम्झाउँदै थिए । प्रहरीले मुचुल्का उठाएर लासलाई पोस्ट-मार्टमको लागि पठायो । गाउँका सबै जना लासलाई कुरेर बसे । पोस्ट-मार्टममा आत्महत्या नै भन्ने रिपोर्ट आएपछि प्रहरीले लास बसन्तीको जिम्मा लगायो । बसन्ती त होसमा थिइनन् गाउँले मिलेर लासलाई बाँधेर घाटमा लगे । नाइके दाइ पनि मलामी गएका थिए ।

जलिरहेको प्रेमको लास देखेर उसले मनमनै भन्यो- त्यो प्रेमले गरेको आत्महत्या होइन । यो त गाउँमा हल्ला फैलाउनेले उनको मनमा आगो लगाएर गरेको हत्या हो । उसलाई निर्दोष बसन्तीको भविष्यको चिन्ता लाग्यो । प्रेमले राति भनेको कुरा याद आयो । अनि केहीबेर पहिला देखेको बसन्तीको शरीर सम्झियो । उसलाई लोभ पनि लाग्यो । आफ्नो कारणले बसन्तीको जीवन एक्लो हुन लागेको ठानेर प्रेमले भनेझैं बसन्तीलाई विवाहको प्रस्ताव गर्छु भन्ने सोच्यो । तर फेरि सोच्यो- बसन्तीलाई अपनाएँ भने, गाउँलेले चलाएको हल्ला साँचो साबित हुनेछ । अनि आफूलाई भावनामा बग्नुहुँदैन भनेर सम्झायो ।

भाग -१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?