+
+
सज्जा चौलागाईं :

ठमेलको ब्याण्डदेखि नेपाल आइडलसम्म

अंगद सिंह अंगद सिंह
२०७८ माघ २९ गते १९:३७

२९ माघ, काठमाडौं । बाध्यताले घचेटेको कामले कहिलेकाहीं अवसरसमेत जुराइदिन्छ । बाध्यताबीच रहर र सपनाका पत्र पनि लुकेका हुन्छन् । र, तिनै पत्रहरुले जीवनमा सुवास भर्दै जान्छन् ।

गायिका सज्जा चौलागाईंका लागि संगीत सुरुमा रहर थिएन । काठमाडौंमा गुजाराका लागि मात्रै यसलाई अपनाएकी थिइन् । तर गुजाराभित्रै उनले सपना पनि खोज्न थालिन् । गायनसँग विस्तारै उनको प्रेम झाँगिदै गयो । बाध्यताले संगीतमा होमिएकी सज्जाको सपना नै गायिका बन्ने भयो । त्यो सपना उनको एकहिसाबले अहिले पूरा भएको छ । उनी अहिले देशकी चर्चित गायिका बनिसकेकी छन् । उनीसँग आफ्नै गीतहरु छन् ।

कुनै समय संगीत व्यवसाय, पेशा थियो उनको । तर अहिले जिन्दगीको तमन्ना, धर्म र कर्म बनेको छ । उनका इच्छा, चाहना सबै यही संगीतका देखिने तीन शब्दबीच लुकेका छन् । ‘सुरुमा बाध्यताले गाउन सुरु गरेपनि अहिले रहरले गाइरहेकी छु,’ सज्जा भन्छिन्, ‘बाध्यताले रहर जन्मायो, रहरले संगीत र संगीतले सज्जा चौलागार्इं जन्मायो ।’

सज्जाको परिचय यतिमा मात्रै सीमित छैन । उनी गायन रियालिटी शो ‘नेपाल आइडल सिजन-३’की विजेता समेत हुन् । संगीतमा भविष्य, भाग्य र जिन्दगीको भरथेग खोजिरहेकी सज्जाको परिचयलाई नेपाल आइडलले फराकिलो बनाएको हो ।

नेपाल आइडलको यात्रा रहर थियो सपना थिएन उनका लागि । तर रहर गरे के पुग्दैन र । उनको रहरले सपना जन्मायो र जुन पूरा पनि भयो । ‘रहर र बाध्यताबीच रुमल्लिएकी मलाई नेपाल आइडलले पहिचान दियो, स्थापित ग¥यो, मजबुरीबीच लतारिएका सपनालाई पूरा गर्ने मौका दियो,’ उनले सुनाइन् ।

कुनै समय गाउन सक्दिनथिन् उनी । सज्जाले गाउन सक्छे भन्ने न आँट थियो न त थाहा नै । तर बाथरुममै भएपनि गुन्गुनाउन भने कहिल्यै छाड्निन् । काठमाडौंका होटल, रेस्टुरेन्ट र क्लब गायिकामा सीमित थियो उनको परिचय । तर अहिले उनको परिचय फेरिएको छ । बाथरुम सिंगर, क्लबमा गाउने गायिकाबाट उनको परिचय बलियो गायिकाको रुपमा स्थापित भएको छ । जसलाई अधिकांश संगीतप्रेमी नेपालीले चिन्छन् ।

नेपाल आइडल सिजन-३ को उपाधि जितिसकेपछि सज्जाले आफ्नो संगीत जीवन तीव्र गतिमा अगाडि बढ्ला भनेर सोचेकी थिइन् । तर अहिले कल्पना गरे जसरी संगीतमा काम गर्न नसकिएको हो कि भन्ने लाग्न थालेको छ । कारण जसरी उनले संगीत बजारमा रफ्तारका साथ एकपछि अर्को गीत दिन्छु भनेर सोचेकी थिइन् त्यस्तो भएको छैन ।

‘आइडल जितेपछि ब्याक टु ब्याक गीत आउला भन्ने सोचेकी थिएँ, तर त्यो पूरा हुन पाएको छैन । समय पनि त्यस्तै आयो, अनि सोचेजस्तो मेरो जनराको गीत पनि पाइनँ,’ सज्जा दुःखेसो पोख्छिन् । नेपाल आइडल भएपछि अहिलेसम्म २५-३० गीतमा स्वर भरिसकेकी छिन् सज्जाले । तर उनका गीतले सोचेजस्तो बजार तताएका छैनन् ।

बजारले भाइरल खोज्छ । बजारमा देखिन केही न केही फन्डा गरिरहनुपर्छ । तर उनलाई फन्डा गर्न आउँदैन, मन पनि लाग्दैन ।  उनी अगाडि भन्छिन्, ‘म सधैं एकैनासले बाँच्ने सामान्य स्वभावको मान्छे हुँ । फन्डा गरेर कति नै समय टिक्न सकिन्छ र ?’ सज्जालाई मनपर्ने संगीतको जनरा रक, पप र सेन्टिमेन्टल हो । उनले रक पप गाएर नै नेपाल आइडल जितेकी थिइन् ।

संघर्षपूर्ण विगत

सज्जाले नेपाल आइडल विजेताको उपमा मात्रै पाएकी छैनन् त्योसँगै यसको बोझ र गरिमा पनि बोकिरहेकी छन् । कहिले लाग्छ आइडल त बनियो तर बजारमा निरन्तरता दिन निकै ढिला भइरहेको छ । मेरा श्रोता-दर्शकले के भन्लान्, के सोच्लान्

विगत सम्झिँदा सज्जा निकै भावुक हुन्छिन् । संगीतका लागि काठमाडौंका होटल, रेस्टुरेन्ट र क्लबमा मन नहुँदा हुँदै पनि राति-राति गीत गाएकी छन् । काठमाडौंमा बाँच्न सहज हुने कुनै अर्को पेशा, व्यावसाय अर्थात् काम भए उनी अहिलेकी गायिका तथा नेपाल आइडल विजेता  सज्जा कहलिंदैनथिइन् शायद ।

‘यहाँसम्म आइपुग्न दुःखले धेरै सिकाएको छ,’ उनी सुनाउँछिन्, ‘विभिन्न पीडा, मजबुरी, बाधा र बाध्यतालाई छिचोलेर सज्जाको संगीत यात्रा यहासम्म पुगेको हो, संगीतका खातिर मैले धेरै गर्नुछ ।’

उनलाई यहाँसम्म पुग्नुथियो र त सज्जाले क्लब, होटल तथा रेस्टुरेन्टमा पाँच वर्षसम्म निरन्तर गीत गाइन् । त्यो पाँच वर्ष सम्झिँदा अहिले पनि उनको मन दुख्छ । कारण, त्यहाँ गाउँदा कतिले नराम्रो नजरले हेर्ने गर्दथे । तर उनका ब्याण्ड मेम्बर उनका लागि सुरक्षादस्ता साबित भए । सज्जालाई कुनै असहज, असुरक्षा महसुस नै गर्न दिएनन् उनीहरुले । ‘पब तथा क्लबमा गाउँदा केहीले नराम्रो हर्कत देखाए भने केहीले ठमेलमा गाउने नराम्रो नै हो ठाने, तर साथीहरुले मेरा लागि सुरक्षादस्ता नै बनेर काम गरे,’ उनले अनलाइनखबरसँग भनिन् ।

साथीहरुसँग मिलेर ब्याण्ड स्थापना

काठमाडौंको इस्टपोल हाइयर सेकेन्डरी स्कुलबाट प्लस टु सकेर उनले संगीत रोजिन् । उनकी साथी पेम्बा छिरिङ तामाङ साउन्ड सिस्टममा काम गर्थिन् । पेम्बालाई सज्जाले गाउँछिन् र गाउन सक्छिन् भन्ने थाहा थियो । काठमाडौंमा गुजारा गर्नुपर्ने भएकाले पेम्बाले सज्जालगायतका साथीलाई लिएर ब्यान्ड स्थापना गर्ने सल्लाह गरिन् । र, आजभन्दा पाँच वर्षअघि ब्यान्डको स्थापना भयो ।

ब्यान्ड स्थापना गरी संगीतमा लाग्दा एकातिर रहर पूरा हुन्थ्यो भने अर्कातिर खर्च चलाउन सहज हुन्थ्यो । स्कुलको स्टेजमा एकपटक गीत गाएकी उनका लागि भने काठमाडौंमा गाउन सहज थिएन । तर उनले हिम्मत हारिनन्, बाध्यताबाट पार पाउन र सपनाका खातिर उनले ब्यान्डका साथ गाउने निधो गरिन् । संगीत नसिकेकी उनलाई सुरुमा गाउँदा निकै डर लागेको थियो । सुरताल मिलाउन सकिएला नसकिएला यस्तै कुराहरु खेलिरहन्थे उनको दिमागमा ।

तर, साथीहरुले तिमीले सक्छौं भनेपछि उनले गाउन थालिन् ‘सज्जा एण्ड द लोडिङ ब्यान्ड’मार्फत । सज्जाले काठमाडौंमा तारागाउँ फ्लेवर्स रेस्टुरेन्टबाट आफ्नो सांगीतिक यात्रा तय गरेकी थिइन् ।

सज्जाको आफ्नो पहिलो कमाइ पाँच सय रुपैयाँ थियो । त्यो उनको जिन्दगीको पहिलो कमाइ मात्रै थिएन त्यो । त्यो त उनको संगीतमा पनि बाँच्न सकिंदो रहेछ भन्ने कुराको अनुभूति थियो ।

तारागाउँ फ्लेवर्सबाट सुरु भएको उनको सांगीतिक यात्रा ठमेलको जर्सी हुँदै विभिन्न क्लब, रेस्टुरेन्टमा गरी पाँच वर्ष चल्यो । ‘म रहर र मजबुरीबीच च्यापिएकी थिए र क्लब, होटलमा गाउन थालें,’ सज्जा भन्छिन्, ‘विगतमा जे जस्तो दुःख भएपनि गायिका बन्ने सपना पूरा भएको छ, निकै खुसी छु ।’

नेपाल आइडलको ओज जोगाउनुपर्ने चिन्ता

नेपाल आइडलसँग उनको पहिचान पुरानो छ । सिजन-३ मा जानुभन्दा पहिलेदेखि नै उनी नेपालका गायन क्षेत्रका अन्य रियालिटी शो हेर्ने गर्थिन् । ठमेलमा गाउँदै गर्दा उनी रियालिटी शोमा आफ्नो प्रतिभा देखाउन नेपाल आइडलको सिजन-१ मा पुगेकी थिइन् ।

तर उनी अडिसन राउन्डबाटै बाहिरिइन् । त्यतिबेला उनको स्वर अहिलेको जस्तो थिएन उनले स्टेजमा गाउन नै सकिनन् । ‘सिजन-१ मा जाँदा स्वर अहिलेको जस्तो म्याच्युअर थिएन र स्टेजमा पनि गाउन सकिन । जजहरुले मेरो स्वर मन पराउनुभएन । मेरो स्वरमा म्याचुअरिटी नदेखिएका कारण म बाहिरिएकी हुँ,’ उनले सुनाइन् ।

सिजन-१ को अडिसन राउन्डबाटै बाहिरिएपछि सज्जालाई आफू रियालिटी शोका लागि होइन कि जस्तो लाग्यो । रियालिटी शोप्रति उनको धारणा नै परिवर्तन भयो । तर पनि उनको संगीत मोह भने कम भएन । आइडलको स्टेजमा उक्लिएका उनका कदम फेरि पनि ठमेलकै होटल, रेस्टुरेन्ट र क्लबमा पुगे ।

उनी ठमेलमै लाइभ गीत गाउँदै थिइन् । सिजन-१ पछि उनी सिजन २ मा गइनन् । तर तेस्रो सिजनसम्म पुग्दा उनको स्वरमा निखारता आइसकेको थियो । उनी ठमेलका क्लबहरुमा आफूलाई अपग्रेड गरिरहेकी थिइन् । तर रियालिटी शोमा भाग लिनेबारे भने सोचेकी थिइनन् । कारण, उनी सिजन-१ को अडिसन राउन्डबाटै बाहिरिंदा रियालिटी शो आफ्ना लागि होइन भन्ने परिसकेको थियो ।

तर, सिजन-३ चल्दै गर्दा ब्यान्डका साथीहरुले उनलाई एकपटक प्रयास गर्न भने । साथीहरुले कर गरेपछि उनले आइडलमा जाने विचार गरिन् । तर उनको नेपाल आइडल नै बन्ने सपना भने थिएन । जाउँ न त भए ठिकै छ नभए विदेश जानु त छँदै छ, यस्तै सोचेकी थिइन् उनले ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण आमा पनि विदेशिएकी थिइन् । सज्जा पनि सांगीतिक क्षेत्र छाडेर विदेश जाने तयारी गरिरहेकी थिइन् । सिजन-३ चलिरहँदा उनले अस्ट्रेलिया जाने तयारी गरिरहेकी थिइन् । पासपोर्ट बुझाइसकेकी थिइन् भने केही पैसा पनि खर्च भइसकेको थियो । ‘म त विदेश जान्छु भनेर तयारी गरिरहेकी थिएँ, तर मेहेनत र भाग्यले नेपाल आइडल बन्न पुगें,’ सज्जा भन्छिन्, ‘रहरले बाध्यतालाई जित्यो, सपनाले पूर्णता पायो ।’

उनले आफू बाहिरका लागि तयारी गरिरहेको ब्यान्डका सदस्यलाई पनि जानकारी दिइसकेकी थिइन् । तर साथीहरुको करकापले उनले फेरि अडिसन दिइन् र उनले नसोचेको कुरा नेपाल आइडल सिजन-३ को विजेता बनिन् । ‘आइडल जित्छु भनेर गएकी त थिइनँ, तर जितियो  चमत्कार भयो मेरो जिन्दगीमा,’ उनले खुसी हुँदै सुनाइन् ।

सुरुमा अस्ट्रेलियाका लागि तयारी गरेकी उनले तीन-चार लाख रुपैयाँ डुबेपछि भिसा पाउन सकिनन् । अनि पछि माल्टाको तयारी गर्दै थिइन्, त्यहाँको भिसा पनि रद्द भयो । फेरि उनले दोस्रो म्यानपावरबाट माल्टा भिसा लगाइन् तर ६ महिनासम्म पनि भिसा आएन ।

उता भिसा रद्द हुँदै गयो यता आइडलको सिजन-३ मा अगाडि बढ्दै गइन् सज्जा ।  आइडलको टप-१० पुग्ने बित्तिकै उनले पासपोर्ट फिर्र्ता मागिन् । अब भने उनमा केही आश पलायो, विदेश नजाने निर्णय गरिन् ।

आइडलको सिजन-३ मा जाँदा भने सज्जाका बुवाआमालाई थाहा थिएन । आइडलमा प्रोमो आएपछि मात्रै उनीहरुले थाहा पाएका थिए । सज्जा नेपाल आइडलको उपाधि उचाल्ने पहिलो नेपाली महिला हुन् । उपाधि जित्दा उनको संगीतमोह एक हदसम्म पूरा भएजस्तो लाग्यो ।  आइडल जित्दा बुवा मोरङमा थिए भने आमा साइप्रसमा थिइन् ।

आइडल जितिसकेपछि सज्जाले भिडियो कलमार्फत आमाबुवासँग खुसी साटिन् । आमाको आँखा रसायो, बुवा र सज्जाका पनि गह भरिए ।

सज्जाले नेपाल आइडल विजेताको उपमा मात्रै पाएकी छैनन् त्योसँगै यसको बोझ र गरिमा पनि बोकिरहेकी छन् । कहिले लाग्छ आइडल त बनियो तर बजारमा निरन्तरता दिन निकै ढिला भइरहेको छ । मेरा श्रोता-दर्शकले के भन्लान्, के सोच्लान् । तर काम गर्दा केही ढिलाइ हुने भएपनि आफू सक्दो राम्रो गर्ने प्रयास गरिरहेको उनी बताउँछिन् । उनका श्रोताले पनि अब गीत कहिले आउँछ भनेर उनलाई प्रश्न गरिरहन्छन् ।

डिजाइनर बन्ने सपना त्यागिन्

२०५४ सालमा काठमाडौंमा जन्मेकी हुन् सज्जा । काठमाडौंमा जन्मेपनि उनको बाल्यकाल भने मोरङको पत्थरी-शनिश्चरेमा बित्यो ।

उनले कक्षा १० सम्म गाउँमै पढिन् । घरमा हुँदा बुवाआमाले गुन्गुनाएको सुन्ने बानी परेकी उनी कहिलेकाहीं आफू पनि गुन्गुनाउँथिन् । एक्लै हुँदा बाथरुममा, घरमा आमाबुवासामु गाइरहने उनले आफ्नो प्रतिभा भने चिन्न सकेकी थिइनन् ।

निमोनिक मोर्डन स्कुलमा कक्षा आठमा पढ्दै गर्दा उनले पहिलो पटक गीत गाएकी थिइन् । जिल्लाका केही स्कुलहरुको आन्तरिक प्रतिस्पर्धामा उनी गीत गाउन छानिइन् । तर धेरै मान्छेको अगाडि गीत नगाएकी उनी भावुक बनिन् ।

‘सानोमा डिजाइनर बन्ने सपना पालेकी थिएँ, मैले गाउँदासम्म पनि म गायिका बन्छु भन्ने थिएन, तर चाहना थियो,’ उनी भन्छिन् ।

सज्जाले स्कुलमा ‘उकाली ओराली गीत’ गाउने प्रयास गर्दा तीनपटकसम्म सुरताल नमिल्दा रोएकी छन् । ‘स्कुलमा पहिलो पटक गाउँदा रोएकी थिएँ, सबैको अगाडि तीन-तीन पटकसम्म बिग्रेपछि म सक्दिन लागेको थियो,’ उनले सुनाइन् ।

तर शिक्षकले ‘तिमी सक्छौ सक्छौ नडराइकन आँखा चिल्मेर गाउनु, हामीलाई हारजितसँग सरोकार छैन’ भनेपछि उनको आँट बढेको थियो । र, आजसम्म पनि सज्जा गीत गाउँदा आँखा चिम्लेर गाउँछिन् ।

मोरङको निमोनिक मोर्डन एकेडेमीबाट एसएलसी दिंदा आमाले सज्जाले नर्सिङ पढोस् भन्ने चाहन्थिन् । तर सज्जालाई सानैदेखि सुई र रगत देख्दा डर लाग्थ्यो, जसका कारण नर्सिङप्रति उनको ध्यान नै गएन ।

डिजाइनर बन्ने सपना बोकेर उनी काठमाडौं आइन् । यहाँ आएपछि भने उनका वास्तविक दुःखका दिन सुरु भए । घरको आर्थिक अवस्था राम्रो थिएन, काठमाडौं बस्न आफ्नो खर्च आफैंले जुटाउनुपर्ने अवस्था थियो । घरमा भाइको हेरचाह गर्ने जिम्मेवारी पनि उनकै काँधमा थियो ।

बुवा टंकबहादुर चौलागाईं कामको सिलसिलामा यताउति गइरहन्थे । बुवाको व्यवसाय डुबेकाले पनि खर्च धान्न गाह्रो थियो । उनका बुवा अहिले धागो रंगाउने काम गर्छन् भने आमा नीता साइप्रसमै छिन् । आमा विदेशिएको आठ वर्ष भयो । नेपाल आइडल जितेपछि सज्जाले आमालाई घर बोलाउन चाहेकी थिइन्, तर घरको आर्थिक अवस्थाका कारण उनी आउन मानिनन् । अब केही महिनामा घर फर्किने उनले तयारी गरिरहेकी छन् ।

सज्जा अहिले संगीत कक्षा पनि लिइरहेकी छन् । आफ्नो ‘सज्जा एण्ड द लोडिङ ब्यान्ड’मार्फत ‘सुस्तरी’ र ‘प्राप्ति’ बोलका गीत बजारमा ल्याइसकेकी छन् । अब उनी सोलो एल्बम ल्याउने तयारीमा छिन् ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?