+
+

११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आईसीयू

रासस रासस
२०७८ माघ २९ गते १४:२९

२९ माघ, भक्तपुर । स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आईसीयू सेवा आइतबारदेखि सुरु हुने भएको छ । अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो । अब सो अवस्थाको अन्त्य हुने भएको छ ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले अस्पतालमा पहिलोपटक बच्चाका लागि भेन्टिलेटरसहितको एनआईसीयू सञ्चालनमा ल्याउन सफल भएको बताइन् । ‘प्रसूति सेवा राम्रो रहेको भक्तपुर अस्पतालमा बच्चाको आईसीयू नहुँदा बेला बेलामा समस्या हुने गरेको थियो, अब त्यसको अन्त्य भएको छ, २० शय्याको एनआईसीयु सञ्चालनको तयारी पूरा भएको छ’ उनले भनिन् ।

फागुन १ गतेदेखि बच्चाका लागि १० शय्या र १८ वर्षभन्दामुनिकाका लागि १० शय्याको भेन्टिलेटरसहितको आईसीयू सञ्चालनमा आउने गौतमले जानकारी दिइन् । आवश्यक सबै तयारी पूरा गरेर जनशक्तिसमेत परिचालन गरिएको छ ।

मेसु डा गौतमका अनुसार भेन्टिलेटरसहितको ६ शय्याको आईसीयू कोरोना संक्रमितका लागि प्रयोग भइरहेको छ भने भेन्टिलेटरसहितको १० शय्याको आईसीयू अरु बिरामीका लागि प्रयोग भइरहेको छ । आइतबारदेखि बच्चाको २० शय्याको आईसीयू सुरु भएसँगै भक्तपुर अस्पतालमा भेन्टिलेटरसहितको ३६ शय्याको आईसियु सञ्चालन हुनेछ । डा गौतमले भनिन्, ‘भक्तपुर अस्पतालमा उपचारका लागि आएका बिरामीले अब आईसीयू छैन, डाक्टर छैनन्, सुविधा छैन भनेर अन्यत्र जानु पर्दैन, भक्तपुर अस्पताल बिरामीलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्षम भएको छ ।’

अस्पतालले अक्सिजनसमेत उत्पादन सुरु गरेको छ । अस्पतालले सञ्चालनमा ल्याएको लिक्विड प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ भने फागुन २ गतेदेखि ग्याँस अक्सिजन पनि उत्पादन सुरु गर्नेछ । मेसु डा. गौतमले भनिन्, ‘फागुन २ गतेदेखि दैनिक १५० सिलिण्डर ग्याँस अक्सिजन उत्पादन सुरु गर्दैछौँ, लिक्विड र ग्याँस गरेर २०० सिलिण्डर अक्सिजन उत्पादन हुन्छ, अब अक्सिजनको अभाव हुँदैन, हामी अरु अस्पताललाई पनि अक्सिजन दिन सक्छौँ ।’

भक्तपुर अस्पतालको सबै वार्डमा अक्सिजन फाइप जडान गरी वितरण सुरु गरेसँगै सिलिण्डर घिसार्दै बेडमा लैजानुपर्ने समस्याको पनि अन्त्य भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीले अल्जाइमरका रोगी बढेपछि अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिकसमेत सञ्चालनमा ल्याएको छ । अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार सुरु गरेको हो ।

कोरोना सङ्क्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र स–साना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम बढ्दै गएपछि अस्पतालमा अल्जाइमरको सेवासमेत सञ्चालनमा ल्याइएको हो ।

अस्पतालले सेवा विस्तार गनुका साथै बेरुजु शून्यमा झारेको छ । मेसु डा गौतम आएपछि भक्तपुर अस्पतालमा भएको सुधारकै कारण अस्पताल सुदृढीकरण मूल्याङ्कन ३८ बाट ८२ पुर्‍याउन सफल भएपछि बागमती प्रदेश सरकारबाट यस वर्ष उत्कृष्ट अस्पतालको पुरस्कारसमेत पाउन सफल भएको छ ।

तीन वर्ष अगाडिसम्म रिफर सेन्टरको रुपमा परिचित यस अस्पतालमा अस्पतालमा दैनिक ८० देखि १५० जनासम्म बिरामी आउने गरेकामा अस्पतालको सेवामा सुधार भएपछि दैनिक ७५० देखि ८०० बिरामी आउन थालेका छन् ।

अस्पतालमा बिरामीको बढ्दो चाप र सेवा विस्तारका कारण भवन अभाव भइरहेको अवस्थामा साझा औषधि लिमिटेडले ओगटेको भवन नछाड्दा नयाँ निर्माण गर्न सकिएको छैन । साझालाई भवन छाड्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेको अस्पतालले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?